एक बौद्धिकलाई प्रश्न
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद्ध किसानलाई, तपाईंको कुन वादले सम्बोधन गर्छ ? (कविता)
वर्षौंअघि
युद्धमा आफ्नो छोरा गुमाएकी
आमा प्रश्न गर्छे–
कति हुन्छ, बन्दुकको एउटा गोलीको मूल्य
अनि,
कति हुन्छ, रगतको मूल्य ?
मेरो देशको एक बौद्धिक
तपाईंको राष्ट्रवाद सामुन्ने
यी आमाको प्रश्न
‘प्रश्न’ नहुन सक्छ
सिद्धान्तका कुराहरू भरिएका
ठूलाठूला ठेलीहरूको आधारमा
जे कुरा बोल्नुहुन्छ तपाईं
असत्य भन्ने सामर्थ्य नहोला कसैसँग
तर भोकका अक्षरहरूमा
सिद्धान्त हुँदैन
र तपाईंलाई
सिद्धान्तइतरका कुराहरू मन पर्दैनन्
तपाईंभित्रको
कुन सिद्धान्तले सम्बोधन गर्छ
खल्तीमा भएको
प्रेमिकाले पठाएको चिठी
पढ्न नपाईं युद्धभूमिमा
अलपत्र परेको सिपाहीको नियति ?
दाइले लगाएको पुरानो जुत्ता
पहिलो पटक लगाएर
हिँडेको भाइ
आफ्नो भाइको खुट्टामा नबिझोस् भनेर
जुत्ता दिएपछि
फेरि खाली खुट्टा कसरी हिँड्न सक्छ
सिमाना जोगाउनलाई ?
तपाईंलाई पनि
बौद्धिकताको ताज लगाउन
कदापि छैन होला सजिलो
तर सजिलो त छ नि
मृत्युलाई संख्यामा बताइदिन
दैनिक अन्तर्वार्ता
दैनिक भाषण
हप्तैपिच्छे पत्रपत्रिकामा लेख
र महिनैपिच्छे
अन्तर्राष्ट्रिय संघसंस्थाको सम्मेलन
यति साह्रो व्यस्तताको बाबजुद
तपाईंका लागि
तथ्यांकमा सीमित हुन्छ
एउटा साधारण मान्छे
हजार, पाँच हजार वा दस हजार
संख्या मात्रै हो
दलिनबाट अब कहिल्यै ननिकालिने झोलाहरू
स्कुल पुग्ने खुट्टाहरू
रगतमा लतपतिनुले अर्थ राख्दैन तपाईंलाई
अर्थ राख्छ, केवल
यो देशको अर्थतन्त्र र राजनीतिले
गाउँभरि युवाहरूको अभावमा
खेत बाँझो देख्न नसकी
घरका हल गोरुसँगै
आफ्नो पनि हत्या गर्ने वृद्ध किसानलाई
तपाईंको कुन वादले सम्बोधन गर्छ ?
मेरो देशको एक बौद्धिक
तपाईंको लोकतन्त्र र प्रजातन्त्रको भुमरीमा
अटाउँछ कि अटाउँदैन एउटा साधारण मान्छे ?
तपाईंले लेख्ने कविता र कथाहरू
भोलि भेटिन्छ कि भेटिँदैन
दैनिक तपाईंको घर सामुन्ने
आफ्नो तरकारीको विज्ञापन गर्ने त्यो मानिस ?
यो तपाईंको आलिसान घरको बगैँचाको
हेरचाह गर्ने मानिसले
कसरी बनाउँछ, आफ्नो सन्तानलाई
पढ्न तपाईंका अन्तर्राष्ट्रिय लेखहरू ?
भोलि
यिनले प्रश्न गरेका
तपाईंको जीवनमा आफ्नो जीवनको अस्तित्वबारे
के जवाफ दिन्छन्
हजुरका राजनीतिक विचारधाराले भरिभराउ
बेस्ट सेलिङ पुस्तकहरूले ?
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...