केही बीउ कविताहरू
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस...

ऐना
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ
जब चिच्च्याउन थाल्छ कोही नाङ्गो मानिस
'मेरो नग्नता
तिम्रो अनुहार हेर्ने ऐना हो ।’
बीउको कथा
भाँडाको पानीको सतहमा
हल्लिरहेको थियो एक पपेटा
फूर्तिसाथ भन्यो,
'हेर म सबैभन्दा बढी गतिशील छु ।'
भर्खरै बजारबाट आएको
प्लास्टिकको बीउ पनि तैरिँदै थियो छेउमा
गर्वसाथ भन्यो,
'म सबैभन्दा बढी वेगवान छु ।'
पिँधमा थिग्रिएर जरा हालिरहेको बीउले
चक्कर लगाइरहेको मृत किरा देखाउँदै सुनायो,
'लास सर्वाधिक गतिशील हुन्छ पानीमा ।'
पजल बक्स
दुनियाँ केवल एक पजल बक्स हो ।
नमरुञ्जेल
आफ्नै उद्दारको लागि सही बाटो खोज्दा खोज्दै
जीवन सकिन्छ ।
चम्चा

गाडिन्छु, डुब्छु, पौडिन्छु, उत्रिन्छु
संसारका हरेक व्यञ्जनहरूमा
तर मलाई पटक्कै थाहा छैन
कुनै पनि खानाको मिठास,
म त केवल
औँलाको स्पर्श पर्खिएर टेबलमा
हातको आदेश पछ्याउँदै
मालिकको मुखसम्म मिठास पुर्याउन अभिशप्त
फगत एक चम्चा हुँ ।
लठ्ठी
बाले उपहारमा छोडी जानुभएको
लठ्ठी टेकेर
अझै पनि गाउँको गोरेटोमा हिँड्नुहुन्छ आमा
आफू त आमाका लागि
त्यही लठ्ठीजति पनि भरपर्दो बन्न सकिएन ।
चरा
अब चरा बन्ने रहर छ
एउटा पिँजडा बनाऊ
त्यसभित्र राख मलाई र तिम्रो कोठामा झुन्ड्याऊ
मानिस भएर म त्यहाँ प्रवेश गर्न सकिनँ ।
मजाक
'देख, देख सपना
सपना देख्न पैसा लाग्दैन ।'
कसैले मेरो गरिबीको मजाक उडायो ।
कुनै दिन थाहा हुनेछ उसलाई
म सर्वस्व लुटाएर सपना देख्ने मानिस थिएँ !