मुसे धान
त्यसकै एक दानो म। जसको कारणले फुल्ने, फल्ने र फैलिने गरेको रहेछु।

त्यसकै एक दानो म। जसको कारणले फुल्ने, फल्ने र फैलिने गरेको रहेछु। त्यो त्यही जरो, जुन हरेक चैतमा सुकेर ओइलाउँछ र आउँदो वैशाखमा उम्रिन्छ फेरि।
घरमा मुसाले किताब काटेर हैरान पारेको छ। अझ निद्रा बिगार्नमा मुसाले जति दिक्क अरू कसले लाउँछ र? तर, मैले कुनै समय मुसाका दरबार भत्काएको छु। आज पढ्ने रहर भो आफैँलाई। एउटा पुरानो पाना...।
धेरैजसो त दसैँ सकिएलगत्तै धान काटिन्थ्यो। कहिलेकाहीँ हो, दसैँमै धान काटी नयाँ धानको चिउरा कुट्ने।
साह्रै पर्दा मात्र हो, नयाँ धानको चिउरा खाने। नत्र, पुराना धानकै चिउरा कुटिन्थ्यो भकरङभकरङ। त्यस बेला नयाँ धानका बाला यताउता काटेको देख्दा खासै वास्ता हुँदैनथ्यो। तर, भनिन्थ्यो, 'मुसा यता पल्कियो कि?'
दसैँ सकिएलगत्तै धान काट्ने चटारो भइहाल्थ्यो।
मधेसका पारलिा दिनमा कतिपटक त धान खुर्रिएर गइसक्थ्यो। तैपनि, पिङमा मच्चिने र चाडबाडको अलमलले छेको हालिरहन्थ्यो।
मंसिरपछि खेतमा मुसाले हुलेका धान टिप्न म जान्थेँ। मुसालाई दोहोलो काढ्नु पनि त पथ्र्यो। त्यही भएर बाआमाले खेतका मुसा खेद्ने कुरामा नाइँनास्ति गर्नुभएन। भन्नुहुन्थ्यो, "घरको भकारी नि रित्याउने, खेतकै पनि बुत्याउने !"
त्यो एक खालको रोष हुन्थ्यो। त्यसले मलाई खेत डुल्न र चहार्नमा सघाउँथ्यो अघोरै। म आमा र बुबाको त्यो भनाइलाई उचालेर भन्थेँ, "मुसा नखेदी हुन्न !"
हुन त धान काटिसकेपछि मुसे धान खन्नुपथ्र्यो। तर, म मुसाको धान निकाल्न त्यतिन्जेल पर्खिने धैर्यमा हुन्नथेँ। जतिसुकै चाँडो धान खन्न जुट्थेँ, फरुवा, कोदालो र कुटो चलाएर।
गाउँमा भुराहरूको स-सानो झुन्ड थियो, मुसे धान खन्ने। तिनको तन, मन हमेसा मुसे धानमै अडिएको हुन्थ्यो। तिनले यही कमाइबाट आफ्ना धेरै रहर पूरा गर्ने लक्ष्य लिन्थे।
'माघको पिकनिक यसैबाट टारिन्छ !'
'नयाँ वर्षमा लुगा हाल्ने पैसा नि यसैबाट बनाउनुपर्ला !'
'बजारको खुर्मा खाने पैसा यसैबाट जोगाइन्छ !'
'कालो चस्मा किन्ने खर्चका लागि यही हो !'
मंसिरपछि गाउँका खमार र खेतमा बढ्थ्यो चहलपहल। पर्म लाउने र खेताला खोज्नेको दोहोरीलत्तो हुन्छ गाउँमा। हतार हतार धान नकाटे कहिलेकाहीँ त रहलपहल मनसुनले असिना बर्साउँथ्यो। अनि, धानका बाला त बाटामै सोत्र्याम्मै।
वर्षभरिको पसिना बन्थ्यो सोत्तर।
धान कहिले काट्लान्? किन ढिलो गरे? चाँडो गरे कति राम्रो हुन्थ्यो ! यस्ता उखरमाउलाले मलाई घोचेका हुन्थे।
धान काटिसकेपछि हाम्रो बसाउठी बाक्लिन्थ्यो। भेटघाट तारन्तार हुन थाल्थे। अनि, फटाफट निर्णय हुन्थे, 'मुसे धान खन्न यो बार, यो दिन, यति बजे जाने।' बार वरै हुन्थे, दिन अझ तोकिन्थे, बजे पनि चाँडचाँडै हुन्थे।
'शुक्रबारको हाफ छुट्टीपछि पुग्ने है !'
'शनिबार छुट्टीमा जाऔँ न !'
'साताको पहिलो दिन आइतबार जाँदा राम्रो !'
मुसे धान खन्न जानेबारे मैले यी छलफल सुन्नुपथ्र्यो। सँगसँगै तिनका तर्कमा उभ्याएर आफूलाई पार्नुपथ्र्यो घोलघाल।
सर्वमान्य तर्क र कुरोले विजय पाउँथ्यो। अरू पाखा लाग्थे। मिल्नेहरूका बोलीमा उर्दी हुन्थ्यो, 'फरुवा बोक्नू ! कोदालो नि ल्याउनू !'
म र अनुयायीहरूले बोरा, धोक्रा, टिनका बट्टा बोक्ने आदेशसमेत पाउँथ्यौँ।
मुसे धान खोज्न प्रायः आइतबार जान्थ्यौँ हामी।
स्कुलका लागि किताब, कापी वा झोलामा डटिएर अघिपछिभन्दा एक घन्टा चाँडै हिँडिन्थ्यो। अघिल्लो दिनको साँझ वा शनिबारकै कुनै समयको तारतम्य मिलाई साथीहरूले फरुवा लगिसकेका हुन्थे। कतिले धानबारीमा लुकाइसकेका हुन्थे बोरा, धोक्रा, चोयाका डाली।
कतिपटक त मेरा किताब खन्याएर मुसे धान पनि कोचिएको थियो, भाँडोको अभावमा। के गर्नु, मुसे धान खोज्ने युद्धमा सामेल भएपछि सघाउपगाउ नगरी भयो त !
साँच्ची कहाँबाट सुरु गर्ने धान खोज्न? खुब वादविवाद पथ्र्यो। चार-पाँच किशोरका चार-पाँच सय अनुमान र ठोकुवाले दह्रो गाउँसभा बन्न पुग्थ्यो।
'पैनी छेउबाट मुसे धान खोज्नुपर्छ !'
'गैरा खेतमा मुसे धान धेरै पाइन्छ !'
'खाडीतिर पो खन्नुपर्छ !'
'यसपालि त पोहोरतिरका ठाममा नखन्ने !'
आइतबारदेखि मुसे धान खोज्ने पक्कापक्की भयो।
म पनि स्कुल जाने बाटो मोडेर गएँ, पैनीको डिलैडिल। तीन-चार दिनअघिको सल्लाहले गरेका बुँदामा टेकिएर साथीहरू आएका थिए। ती प्राण जाला वचन खेर नजाला भन्ने सिद्धान्तमा अडिग।
फरुवा चले खेतमा। सुरुमा कसैले धानका पाँजा पन्छाएर कोदालो चलाएका थिए। फेरि कसैले भन्यो- 'धानका बिटा सारेका निहुँमा पोहोर मेरा कन्सिरी तानेथे, जमरकट्टेल काकाले। भो, धान उठाएका ठाममा मात्र मुसे धान खोजौँ !'
कुटाइ खाने कुरामा धेरै परै हुन्छन्। बरू कुट्ने कुरामा एक मत हुन पुग्छन्। मेरो नि जोडबल पछिल्लोमै भयो।
'हो, त्यसै गरुम् न !'
फरुवा चले, आलीछेउका उरुङखात बुरबुरे माटो उठाइएका ठाउँमा। मुसाले घर बनाउँदा भित्रबाट बाहिर थुपाथ्र्यो, बुनियाँका डल्लाजस्तो फुस्रो माटो। हामीलाई पनि मुसाको दुलो चिन्न यतिखेर ठूलो सहयोग हुन पुग्थ्यो।
जान्नेहरूले फरुवा बिस्तारै चलाउँथे। नजान्नेहरूको कुरै भिन्नै हुन्थ्यो। सम्भवतः जानेको वा बुझेको भए यत्ति एक झोला धानका लागि स्कुल छोडिन्नथ्यो होला। पराजय भनेको हरेक कोणमा उभिएको हुँदो रहेछ। कति छल्ने, त्यो हो आफ्नो कुरा।
कोदालो चल्थे फटाफट।
अनि, मुसाले कति मिहिनेतले बनाएको प्वाल रैँदालो पार्न थाल्थ्यौँ। कुनै निर्माण छरेर वा कुनै ठूलै योजनाले चाँडो सार्थकता पाउने शुभ मुहूर्त हो यो। यस्तै विश्वासमा म मुसे धानका निम्ति पसिना खर्चिरहेको हुन्थेँ।
मुसाहरू पनि कति धेरै चलाख! धेरै भित्रसम्म प्वाल पारी धान थन्काउथेँ। आलीमा सानो प्वाल हुन्थ्यो तर भित्र त कहाँ हो कहाँ दुलो बनाएर राखेका हुन्थे धान।
एकपटक झन्डै एक बोराजस्तो धानका सग्ला-सग्ला बाला थन्काइएको भेटेँ मैले, मुसाको दरबारमा। तह तह बनाइएको दुलोमा राम्रा राम्रा बाला एउटा दानासम्म नखाई राखिएको थियो।
"मुसाले मंसिरमा पाँचवटीसम्म स्वास्नी भित्र्याउँछ। अनि, धानका बाला बोकाउन ती रूपसीलाई खटाउँछ। जब पुसको जाडो बढ्छ, त्यसपछि सबैलाई खेदेर एक्लै धान खान थाल्छ !" गाउँका मेकचन धिमालले भनेको सम्झन्छु म।
उनी जानकार लाग्थे, मुसाका, खेतका, धानका वा कुलोपैनीका। मैले निकै पत्याएँ, उनका कुरा। आधार के भने मुसे धान खोज्दा प्रायः मुसो भेटिँदैनथ्यो। भेटिहाले एउटा सम्भ्रान्त अनुहारको मुसो लडबडी गररिहेको हुन्थ्यो, त्यही दरबारमा।
कतिपटक मुसे धानको एक गेडो पनि देख्न पाइएन। बरू धानका नलले तह तह खापेर बनाइएको छ, न्यानो बिछ्यौना। त्यहाँ आँखासम्म नउघि्रएका राता बच्चाहरू गुँडुल्किएका हुन्थे।
मुसे धान नपाएको झोँकमा फरुवा चलाउनेले माया वा करुणाको अर्थ भुलिसकेका हुन्थे अनि ती छिन्नभिन्न हुन पुग्थे। तिनको बोलीसम्म सुन्न पाइन्थ्यो।
धान त कहाँ हो कहाँ? दुःख मात्र दिएको आक्षेप मुसाले पाउँथे। हुन पनि एक घन्टामा मुसे धान भेटिने-नभेटिने संकेत पाइन्थ्यो। एक अर्थमा यो परीक्षा हुन्थ्यो। हाम्रो धैर्य र खटनको जाँच।
मुसाले रत्तिा पारेका दुलो त्यतिखेर फटाफट हेरे पनि अर्को दिन धीत मर्ने गरी म त्यहीँनिर आएको थिएँ, कतिचोटि। यो मेरो एक्लो भाव, एकान्तपन र एकाग्र रूपको अंकमाल हुनुपर्छ।
मुसे धान नभए पनि मुसाले पारेका प्वालमा पुसे शीत वा कुइरोले एक खालको चिसो ओराल्छ। त्यो शीतले माटोमा नपत्याउँदो कलाकारतिा समाउँछ। मलाई त्यो कलात्मकताले तान्छ, तानिरहन्छ।
मुसे धान खन्दा धेरै साक्षी भेट्न सकिन्छ। कति प्वालमा बांगोटिंगो तरिकाबाट बाला लगिएको हुन्छ। कतिपय दुलामा मुसाले सीधै लगे पनि गहिरा खण्डमा धानका बाला बडो मिलाएर राखेको देखेँ।
अरूका किताब, कपडा, अन्न खाँदा फोहोर पारे पनि मुसाले आफ्ना दुलामा सफा-सुग्घर र जतनसँग धान थन्क्याएको देखिन्थ्यो। सायद आफ्नो श्रमको मूल्यलाई ऊ अर्चना गररिहेको थियो।
मुसे धानका निम्ति निकै खट्नुपथ्र्यो। फाल्दा फाल्दा पसेका माटोले तन्केर दुख्थे, औँलाका नङहरू। पटपटी फुटेर राती त चर्किन्थे हत्केलाहरू।
'एक बालो पनि फरुवाको धारमा नपरोस् !'
'एक दाना पनि नधुलियोस् !'
मुसे दरबार निहालेर बसेका साथीहरू सुझाव दिन्थे। कोदालो चलाउनेहरूले तिनका कुरामा कति मन दिएका हुन्थे, थाहा छैन। तर, तिनका मुन्टो हल्लाइ र फरुवा उचालाइमा समानता भेटिन्थ्यो।
अर्थ यही थियो, 'सँगै आएका हुनाले सुन्नमा तलमाथि भए पनि गुन्नमा पछि छैन म !'
त्यसमा लगाउने समय वा परश्रिमको कुरो गर्ने हो भने धान खोजेर ल्याउनु, चुट्नु, सुकाउनु, बताएर माटो भुस छुट्याउनु वा बेच्न लाउनु, सहज कदापि होइन। तैपनि, म मुसे धानतिर अनाकषिर्त हुन सकिनँ। भएँ... भएँ एकोहोरो। मुसे धानले तानेको तान्यै गर्यो। भेटियोस् वा नभेटियोस्, एक खालको लोभ हट्नै सकेन।
हुन त मुसाले गहुँ, आलस, तोरी, जुट, मकै पनि आफ्नो दुलोमा लैजाँदो हो। तर, म र दौँतरीका निम्ति धानको सिलोबालोमा मन जोडियो हरेक वर्ष। यो अपराजित खुसीजस्तै, यो अत्यावश्यक प्राप्तिजस्तै, यो अविदित हर्षजस्तै।
मुसे धानले गर्दा कक्षा छुटेको बहस भएन। कोदालो चलेको कुराले नै पायो महत्त्व। गुरु, पाठ वा ज्ञान मेरा लागि थोरै अर्थ हुन सके, मुसे दरबार रुङरिहँदा।यो व्यवहारले बाँचेको समयको सानो अनुहार थियो, हामी सबैको।
म मुसे धान भित्रिने प्वालका तह र त्यहाँ जोडिएको खण्ड खण्डबाट हरेकपटक लोभिएँ। कति धेरै सीप, कति धेरै श्रम, कति धेरै कारगिरी, यी मुसे दरबारमा।
कतै धान, कतै पात, कतै घाम छिर्ने प्रकाशको व्यवस्था। भोजन, आराम वा योजनाको संयोजन। मुसासँग मैले सिक्ने कुरा हो, अरूकै भए पनि व्यवस्थित प्रयोगबाट जीवन बनाऊ सम्पन्न र सुखद। नदेखाऊ तर तृप्तिमा डुब निष्कपट।
मुसे धानका लागि खेत जान छाडेको छैन मैले। मंसिर-पुस मेरा लागि झन् झन् आवश्यक महिना भए। दुला वा बुरबुरे माटोले ढिस्को उठेका ठाउँतिर गइरहेछु।
धान होइन, मुसा चिन्नुपरेको छ मलाई ।