सौरभको अलग धार
दुई दशक पुग्न आँट्यो, दिनेश सत्यालले मेरो कापी जाँच गरेर लेखिदिएका थिए- मिहिनेत गर्यो भने राम्रो पत्रकार बन्ने सम्भावना छ।
सौरभका लेखरचना या पुस्तकको प्रसंग चल्नासाथ मान्छेहरू भन्छन्, बुझिन्छ र पढ्ने? गाईको बाच्छो, भैँसीको पाडो या बाख्राको पाठो सानो छँदादेखि हरेक दिन उचाल्ने बानी बसाल्यो भने त्यो वयस्क भइसक्दा पनि गह्रौँ लाग्दैन भन्ने मान्यता छ। त्यही नियम लागू हुन्छ, असली पाठकको हकमा।
धेरै पहिल्यै सुनिएको हो, केशर महलस्थित पुस्तकालयका सबै पुस्तकको जानकारी सौरभले राखेका छन्। त्यति मात्रै होइन, कुन पुस्तक के बारेमा लेखिएको हो र त्यसका कुन पानामा के जानकारी छ भन्ने पनि यिनलाई कण्ठस्थ छ। यस्ता जानकारीका खानी सौ रभको पछिल्लो पुस्तक हो, असहमति। विचार, आनीबानी र तर्क सुन्दा लाग्छ, सौरभ अलग धारका प्रतिनिधि लेखक हुन्। पुस्तकको शीर्षकले पनि त्यसै कुराको संकेत गर्छ। अझ त्यसभित्रका लेखोटमा छिर्ने हो भने त असहमतिका विषय कति हुन् कति ! आफूलाई लागेको लेख्न र असहमतलाई ठेगान लगाउन यिनका शब्दका बाण यति धारलिा छन् कि जस्तै बलवान् पनि उठ्न नसक्ने गरी घाइते हुन्छ।
पाँच खण्डमा विभाजित पुस्तक ३१ वटा लामा-छोटा रचनाको संकलन हो। यीमध्ये तीनवटा लेख क्रमशः नेवार संवादबारे, 'जम्बुद्वीप'को विचरण र तौलको आँखा दर्शन मात्रै नवीन हुन्। अरू विभिन्न समयमा अखबार र म्यागेजिनमा प्रकाशित भइसकेका छन्। सौ रभले पहिलो अप्रकाशित लेख एक दैनिक अखबारमा छापिएको माणिकलाल श्रेष्ठको अन्तर्वार्तामा आधारति भएर लेखेका छन्। किराँत, लिच्छवि र मल्लकालमा नेपाल भक्तपुर, पाटन र कान्तिपुर गरी तीन राज्यमा विभाजित थियो भन्ने माणिकलालको भनाइमा सत्यता नभएको सौरभको जिकिर छ। यक्ष मल्लले तीन छोरालाई राज्य बाँडेपछि उपत्यकामा तीन राज्य बनेको वास्तविकतालाई पनि तोडमरोड गर्ने बुज्रुकप्रति उनले टीठ व्यक्त गरेका छन्। जतिसुकै ठूलो वामपन्थी हुँ भने पनि आफू ठूलो वर्गको नेवार हुँ र ज्यापू तल्लो वर्गको हो भन्ने सामन्ती सोच माणिकलालमा पाइएको सौरभको कथन छ।
जम्बुद्वीपको विचरण शीर्षक लेख सौरभले हुतराम वैद्यप्रति समर्पित गरेका छन्। मिडियाले हुतरामलाई वाग्मतीका संरक्षक माने पनि बिरुवाको रैथाने प्रजातिप्रति पनि उत्तिकै चिन्तित रहेको उनको भनाइ छ। टुँडिखेल वरपिरि लगाइएका रूखहरू राणाहरूले रोपेका र तिनलाई काट्न विभिन्न व्यक्ति उद्धत रहेको जानकारी सौरभले दिएका छन्।
चाँपको रूखबारे पनि सौरभको ज्ञान बृहत् छ। भक्तपुरमा रहेको च्यामासिं चाँपको अपभ्रंश हो। पचपन्नझ्याले दरबार सामुन्ने रहेको च्याँसी मण्डप चाँपकै काठले बनेको हो। नजिकैको चाँगु नाम नै चाँपको जंगलबाट बनेको हो। कीर्तिपुरको पुरानो नाम पदमकाष्ठपुरी हो। त्यसको एभेन्यु पनि चाँपबाटै बन्छ। यस्तै टोखाको चम्पादेवी र चापागाउँ पनि अशुद्ध रूप हो। यस लेखमा उनले नेवार, तामाङ, राईलगायतको खानपान, चालचलन र भाषामा समेत एकरूपता पाइने गरेको सप्रसंग व्याख्या गरेका छन्।
अर्को अप्रकाशित लेख तौलको आँखा दर्शनमा लालगेडी कसरी हाम्रो नापतौलको आधार बन्यो भन्ने रोचक ढंगले उल्लेख गरेका छन् सौरभले। जोखेर परमिाण निक्र्योल गर्ने विधि विशुद्ध नेपाली हो भन्ने अनेकानेक तर्क पेस गरेका छन् लेखकले। १० मास बराबर एक तोला हुन्छ, यही तुला (तराजु) बोधक तोला नेपाली तौल प्रणालीको सबैभन्दा प्रचलित एकाइ हो। पश्चिमा न्यायप्रणालीले तुला बोकेकी महिलाको आँखामा पट्टी बाँध्ने गरेको छ। यो तुला शब्द २५ सय वर्षअघि मात्र पश्चिम लागेको र तुला शब्द चोरेर न्यायकी देवीका दुइटै आँखालाई अबुझ पश्चिमाहरूले नदेख्ने बनाइदिएको पनि उनको भनाइ छ। तुला शब्द पहिलोपटक शुक्ल यजुर्वेदमा भेटिन्छ, जसलाई नेपालको जनकपुरमा लेखिएको मानिएको छ। सौरभ प्रश्न गर्छन्, राजा महेन्द्रलाई आधुनिकताको नाममा ०२६ सालमा यो नेपालको मौलिक प्रणाली छाडेर मेटि्रक प्रणालीमा जानुपर्ने आवश्यकता के परेको थियो?
त्यसो त प्रकाशित लेखहरू पनि अत्यन्त बौद्धिक र जनचासोका छन्। नेपालको राष्ट्रिय झन्डा फेर्न नपर्ने तर्क प्रस्तुत गर्दै उनले यो संसारकै अनौठो र बेग्लै भएकाले संरक्षण गर्नुपर्ने भनेका छन्। नेपालको झन्डा पुरातात्त्विक भएको तिथिमिति नै लेखिदिएका छन्। संघीयता, धर्मसंस्कृति, जातजाति, बीउबिजन, रूखबिरुवाजस्ता विषयमा सौरभको स्पष्ट दृष्टिकोण छ। अचम्म के भने विभिन्न स्वनामधन्य विद्वान्लाई चुनौती दिँदै यिनले प्रश्न गर्दा पनि कसैले त्यसमा प्रतिवाद गर्न सकेका छैनन्। यसले पनि सौरभको जानकारीको भण्डारण कति गहिरो र गहकिलो छ भन्ने प्रस्टिन्छ।
पुस्तक पढ्दै जाँदा सौरभजस्ता 'इन्साइक्लोपेडिया'ले छापिएका भन्दा नछापिएका विषयमा लेखिदिए हुन्थ्यो भन्ने लाग्छ नै। सौरभमाथि लाग्ने गरेको अर्को आरोप हो, यिनको भाषा क्लिष्ट हुन्छ। आकाश र पाताल जोडेर विषयवस्तुलाई प्रस्ट्याउन सक्ने उनको खुबीको जति प्रशंसा गरे पनि कम हुन्छ। तर, यिनै विषयवस्तुलाई पनि अलि सरल भाषामा प्रस्तुत गर्ने बाटाहरू हुँदै नभएका होइनन्। आफ्नो स्वभाव अनुरूप सौरभले भन्न सक्छन्, 'बुझिन्न भने जसले बुझ्छ त्यसले पढ्छ।' कुरो पूर्ण गलत होइन पनि ।
असहमति
लेखक ः सौरभ
प्रकाशक ः अर्किड बुक्स
पृष्ठ ः २७१+११
मूल्य ः ३७५ रुपियाँ
०००००००००००००००००००००००००००००००००००००००००००००००००
पचास वर्षका कविता
जनप्रशासनका प्राध्यापक भीमदेव भट्ट निवृत्तिपछिको जीवन अखबारी लेखनमा बिताइरहेका छन्। लामो समय प्राध्यापन, अनुसन्धान र नीति निर्माणको तहमा योगदान गरेका भट्टले आफ्नो कवि प्रतिभाको समेत परचिय दिएका छन्, नौलो यात्रा कवितासंग्रहमार्फत। राजनीति, समाज र प्रेमप्रसंगका विषयमा लेखिएका ५८ वटा कविता यसमा संग्रहित छन्। विसं २०२० देखि नै कविता लेखनमा लागे पनि बीचमा अनुसन्धान र जागिरे व्यस्तताका कारण यस क्षेत्रमा धेरै समय दिन नसकिएको कविको स्वीकारोक्ति छ। तर, संख्यात्मक रूपमा कम भए पनि उनका कविता विषयगत रूपमा विविधतायुक्त, प्रस्तुतिमा सरल तर भावपूर्ण रहेका छन्।
उनले राजनीतिक र सामाजिक क्षेत्रका विकृति विसंगतिप्रति व्यंग्य गरेका छन्। नोकरशाही संरचनामा देखिने अनियमितता, पक्षपात र ढिलासुस्तीका कथालाई काव्यात्मक रूपमा व्यक्त गरेका छन्। प्रशासनविद्का आँखाले देखिएका शासन-प्रशासनका क्षेत्रका विक ृतिहरू उनका व्यंग्यबाणका तारो बनेका छन्। कर्मचारी समयमा कार्यालय नआउने, डाक्टर इन्जिनियरहरूको ध्यान बिरामीको रोगभन्दा अन्यत्रै हुने, परयिोजनाका काम जहिले गरे पनि भइहाल्छ नि भन्ने इन्जिनियरहरू उनका कवितामा पात्र वा विम्बका रूपमा आएका छन्। आफू सिन्को नभाँच्ने, आफ्नो दायित्व कोही पूरा नगर्ने तर अरूलाई आदेश दिने हाम्रो शासकीय संस्कृतिप्रति पनि उनले मार्मिक प्रहार गरेका छन्।
संसद्ले सरकारलाई, सरकारले कर्मचारीलाई, कर्मचारीले जनतालाई आदेश गर्ने अन्त्यहीन शृंखलाबारे कविताले जवाफदेहिताविहीन शासन-प्रशासनको विकृत रूपको चित्रण गर्छ। मुख्यतः विदेशिँदै गरेको युवाशक्ति, नेता र प्रशासकहरूमा हराएको नैतिक मूल्य, राज्यकोषमा चलेको ब्रह्मलूट अनि पछिल्ला दिनमा चलेका साम्प्रदायिक विद्वेश र विखण्डनका प्रयासप्रति उनका कवितामा चिन्ता व्यक्त गरएिको छ। राजनीति, शासन र प्रशासनले गलत बाटो लिँदा उनी आक्रोशित हुन्छन्। बेलाबेला उनी देशभक्तिमा आएको ह्रासप्रति चिन्तित हुन्छन् त कहिले प्रकृतिवर्णनमा हराउँछन्। एकै छिनमा उनी प्रेमालापमा रम्छन्। मुक्तक शैली उनको अर्को वैशिष्ट्य हो। यहाँ केही मुक्तक आकारका कविता छन् भने केही मुक्तक शैलीमा लेखिएका तर एउटै भावमा बुनिएका तीन-चार श्लोकका कविता छन्। समग्रमा ५० वर्षको अवधिमा चलेका राष्ट्रिय बहसका मुद्दा, समाजले लिएको गति र त्यसप्रति समाजको एक बुद्धिजीवीका मनमा उब्जेका भावनाहरूको कलात्मक अभिव्यक्ति हो, नौलो यात्रा।
- रामबहादुर रावल
नौलो यात्रा
लेखक ः प्रा भीमदेव भट्ट
प्रकाशक ः श्रीमती इन्दिरा भट्ट
पृष्ठ ः ८१
मूल्य ः १०० रुपियाँ
०००००००००००००००००००००००००००००००००००००००००००००००००
वृद्धवयको बयान
व्यवस्थाको विरोध गरेका नाममा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता शमशेरबहादुर खत्रीको टाउको गिँडेर झोलामा राखी गुल्मीको पूर्वी भेग चोरकाटेबाट तम्घास पुर्याइएको घटना कतिलाई थाहा होला? केशरबहादुर थापाले राजनीतिक रूपमा आफूलाई कांग्रेसमा लाग्न प्रेरति गर्ने नातामा भिनाजु पर्ने दँगासे साइँलाका नामले बोलाइने शमशेरबहादुरलाई १५ जेठ ०१९ सालमा निर्मम ढंगले हत्या गरएिको ज्यादै कारुणिक र दर्दनाक सन्दर्भ कोट्याएका छन्, आत्मकथात्मक पुस्तक जीवनका आठ दशकमा।
राणाविरोधी आन्दोलनको लहर गुल्मीसम्म कसरी पुगेको थियो र आफूहरू त्यस आन्दोलनमा सरकि हुँदाको बालसुलभ संस्मरण पनि पुस्तकको उल्लेख्य पक्ष हो। तर, शमशेरबहादुरको टाउको राखिएको झोला बोकेर तम्घास ल्याइपुर्याउने कवि दलबहादुर महत क्षेत्रीका बारेमा पाठक रुचिपूर्वक जिज्ञासु बनिरहँदा थापा अन्यत्रै मोडिएका छन्। नढाँटीकन आफ्ना कुरा लेख्ने उपयुक्त माध्यम सायद आत्मकथा नै हो। ८६औँ वर्षमा प्रवेश गररिहँदा आफूले भोगेको जीवनलाई गुल्मीका केशरबहादुरले पनि त्यही शैलीमा सम्झना गरेका छन्, पुस्तकमा।
थापाले एक वर्ष लगाएर टिपोट गरेका बुँदा/विवरणलाई पुस्तकाकार कृतिमा प्रकाशित गर्ने क्रममा विभिन्न १६ उपशीर्षक दिएका छन्। आत्मकथा जन्मथलोको सेरोफेरोबाट सुरु भएर धार्मिक सम्पदा ः कृष्णगण्डकी रुरुक्षेत्रसम्म गएर टुंगिएको छ। यसभित्र उनले राजनीतिको अधुरो चस्कादेखि टुटेको पहिलो विवाह र जारी प्रथाको सन्दर्भसमेतका यथार्थ विवरण बुनेका छन्।
थापा-क्षेत्रीको सामाजिक-सांस्कृतिक पक्षको उद्घाटनका साथै सामान्य रोगव्याधबाट बच्ने उपायका बारेमा पनि आफ्नो अनुभव र अनुभूतिका आधारमा वर्णन गरेका छन्। घुँडा दुख्ने रोगीले बाघको बोसोले घुँडा सेके बिसेक हुने र गाउँघरतिर पाइने जडीबुटीबारे मा अनुभवका आधारमा बेलीविस्तार लगाएका छन्।
पहिली श्रीमतीलाई छोड्दा र जारी बुझ्दाको सनसनीपूर्ण विवरण समावेश गरेका लेखकले पहिली पत्नी र उनीतर्फकी एक छोरीको तस्बिर भने राखेका छैनन्। 'माइला पाङ्ग्रे भन्ने श्री .....लाई' र 'मैले अहिले साल मिति भुलेँ' जस्ता शब्दावली राख्नुको साटो हटाउँदा नै बेस हुन्थ्यो। यज्ञोपवितलाई कोष्ठमा डोरा भनेर उल्लेख गरिएको छ। डोरा भनेको हातमा बाँधिने धागो र यज्ञोपवित भनेको शरीरमा धारण गरनिे जनै हो। सम्पादनका क्रममा यस्ता कुरामा सावधानी अपनाइएको भए पुस्तक थप सुन्दर बन्थ्यो।
केही भाषिक कमजोरी पनि छन्। 'सहभागी भई भाग लिएँ', 'सुनचाँदीका धजा', 'अष्टमीको राती मध्यान्हमा', 'प्रायःजसो धेरै महिलाहरू', 'बढुवा-प्रमोसन' जस्ता कुरामा हेक्का पुर्याएको भए दाँतमा ढुंगा लाग्नबाट जोगिन्थ्यो।
- ईश्वरी ज्ञवाली
जीवनका आठ दशक
लेखक ः केशरबहादुर थापा
प्रकाशक ः ईश्वरादेवी थापा
पृष्ठ ः १४०
मूल्य ः २५० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...