बाल–मथिंगलमा त्रासदी
२९ वैशाख मध्याह्न अफिसको जरुरी मिटिङबाट फर्केपछि एकछिन यसो पल्टिन मात्र के लागेकी थिएँ, बेस्सरी हल्लाउन थाल्यो।
पहिलो तलामा रहेको सानो छोरा दाजुसँग आँगनमा पुगिसकेछ। मलाई बोलाउन थाल्यो ठूलठूलो स्वरमा। बोलौँ भने तल पुगिसकेको छोरो माथि आउन खोज्ला। त्यसैले म चुपचाप दोस्रो तलामा कोठाको ढोका समातेर कम्पनको अन्त्य कुरेर बसिरहेँ। भर्याङका चार खण्ड कुन निमेषमा झरे, पत्तै भएन।
परिवारका सब सदस्य त्राहिमाम देखिन्थे। साढे ६ वर्षे छोरो आश्रवको अनुहार कालोनीलो भइसकेछ। १२ वैशाखको पहिलो भूकम्प आएको दिनभरि सुकसुकाइरहेको थियो। केही खाँदा पनि खाएन। हामीले घन्टौँ काखमै राखिरह्याँै। धन्न उसको निद्रा भने खलबल्याएनछ। छिमेकमा रहेको कलेजको कोठामा रातभर सुतेर भोलिपल्ट ब्यूँझिँदा उसभित्रको त्रास हल्का कम भएको थियो। १७ दिनसम्म भूकम्पमय वातावरणमा अभ्यस्त हुँदै गएकाले होला, मेरो साथ पाउनासाथ उज्यालियो।
आश्रवको कलिलो मथिंगल भूकम्पमय भएको छ। खाँदा, बस्दा, खेल्दा र भविष्यको योजना बनाउँदा कतै न कतै भूकम्पको प्रसंग छिरिहाल्छ। ‘खाजा तयार भयो, माथि आऊ’ भनेर बोलाउँदा भर्याङ चढ्न मन गर्दैन। बरू भन्छ, ‘तलै ल्याइदिनू। भूकम्प आयो भने भाग्न सजिलो हुन्छ।’
उसो त भुइँचालोबारे शान्तदास मानन्धरले लेखेको हजुरआमाको कथा (०६५) उसले केही वर्षपहिले बाबाको सहयोगमा दोहोर्याई तेहेर्याई सुनिसकेको छ। हृषीकेश शाहको आत्मकथा प्रारब्ध र पुरुषार्थमा रहेको ९० सालकै भुइँचालोको प्रसंग पनि अब उसलाई कण्ठ भइसक्यो।
शाह नौ वर्षको हुँदा हजुरबासँग बूढानीलकण्ठ गएका दिन रेसुंगा महाप्रभुले भने रे, ‘बूढानीलकण्ठका बूढा नारायण रिसाएर आज काँप्न खोजिरहेका छन्। मचाहिँ उहाँलाई थामथुम गर्न भरमग्दुर कोसिस गरिरहेको छु।’ बच्नका लागि खुला चौरमा बस्न महाप्रभुले सुझाव दिएको पनि शाहले आत्मकथामा उल्लेख गरेका छन्।
नभन्दै त्यसै दिन ठूलो भूकम्प आएछ।
‘तुलसीको मठ भनेको नारायण बस्ने ठाउँ होइन? हामी पनि प्रार्थना गरौँ न त्यहाँ,’ त्यही प्रसंग अहिलेको सन्दर्भमा जोडेर आश्रव ठट्टा गर्छ, ‘यसपटक कति दिनसम्म काँप्न मन लागेको होला नारायणलाई?’
बिल्डिङ ब्लक्स (ससाना काठका टुक्रा भएको खेलौना)मा हिजोआज उसका दुईथरी घर बन्न थालेका छन्। कहिले भूकम्प आएको जनाउ दिने किसिमका धरहरासहितका कमजोर र अग्ला घर बनाउँछ। राती सुत्ने बेला कोठाको छेउमा कमसल घर बनाएर छोड्छ र भन्छ, ‘राती भूकम्प आयो भने यसलाई भूकम्पले भत्काइदिन्छ अनि बिहान उठेर हेर्दा थाहा पाउँछु।’
दिउँसो भने धेरैजसो बलियो घर बनाउँछ। भन्छ, ‘यो मैले नौ रेक्टर स्केलको भूकम्पले पनि भत्काउन नसक्ने बलियो घर बनाएको छु है † हजुरको अफिस सारेको एनसेटको भवनजस्तै।’ बीबीसी नेपाली सेवाले अस्थायी कार्यालय खडा गरेको ठाउँमा ऊ पनि जिद्दी गरेर मसँगै पुग्यो र त्यहाँ पुगेर हेरेपछि भूकम्प प्रविधि समाज नेपाल (एनसेट) पनि उसको शब्द भण्डारमा थपिएको छ।
बारम्बार भूकम्पका परकम्पका शक्तिशाली झड्काहरू झेलिरहेका बेला उसले मलाई एक दिन सोध्यो, ‘संसारमा कतै भूकम्प नआउने ठाउँ पनि छ?’ मैले पत्रपत्रिकामा पढेका आधारमा संसारका धेरै ठाउँमा भूकम्प आउने तर थोरै ठाउँमा नआउन पनि सक्ने कुरा गरेँ र सजिलोका लागि लन्डन एवं अमेरिकाको उदाहरण दिएँ। जापानलगायतका ठाउँमा बलियो घर बनाइएको बुझाएपछि उसले भन्यो, ‘लन्डन त नजाने किनभने म त्यहाँ धेरैपटक गइसकेँ। बरू यताको घर बेचेर अमेरिकाको भूकम्प नआउने ठाउँ रोजेर उतै जाऔँ।’
कहिले भन्छ, ‘पोखरा जाऔँ र एकतले घर बनाएर बसौँ न त !’ मामाघरमा भुइँचालोले त्यति असर नपारेको बुझेपछि उसले काठमाडौँभन्दा पोखरा सुरक्षित छ कि भन्ठानेको छ। एक दिन सुत्ने बेलामा उसले जिज्ञासा राख्यो, ‘आमा वैज्ञानिक बन्न के गर्नुपर्छ?’ धेरै पढ्नुपर्छ भनेपछि उसले भन्यो, ‘त्यसो भए म भुइँचालोबारे भविष्यवाणी गर्न सक्ने वैज्ञानिक बन्छु।’ कहाँ खतरा छ भूकम्प आउने भन्न सकिन्छ तर कहिले र कत्रो आउँछ भन्न सकिन्न भन्ने मेरो जवाफमा उसको कलिलो मस्तिष्कको मन्थनको परिणति होला सायद।
हिजोआज उसले खानी विभागमा बेलाबखत फोन गरेर कतिबेला कति रेक्टर स्केलको भूकम्प गयो भनेर बुझ्ने गरेको छ र सबैलाई ‘ह्यान्ड्स फ्रि’ गरेर भूकम्पको जानकारी दिन थालेको छ। आफ्नो ज्ञानेन्द्रियका एन्टेना फिजाएर संसार बुझ्ने चरणमा रहेको एउटा बालकको कलिलो मस्तिष्कमा भूकम्पको छाप गहिरो छ।
घर बस्दा बस्दा उसलाई दिक्क लागिसकेको छ। भुइँचालो आउनुअगावै पाँच साता छुट्टी बिताइसकेको उसले अझै विद्यालय जान पाएको छैन। भुइँचालो आएकै पनि चार साता पुगिसकेको छ। छरछिमेक नभएको यान्त्रिक काठमाडौँमा केटाकेटी भुलाउने अनेक थरी उपाय छैनन्। बेलाबखत दोहोर्याइरहन्छ, ‘आमा स्कुल जान पाए पढ्न पनि पाइन्थ्यो, साथीहरूसँग खेल्न पनि पाइन्थ्यो।’
स्कुलमै भूकम्प आयो भने के गर्छौ? मेरो जिज्ञासामा उसले निर्धक्क भन्यो, ‘पहिले भुइँचालो नआउँदा त हामीलाई ‘ड्रिल’ (भूकम्प आउँदा के गर्ने भन्ने अभ्यास) गराइसके स्कुलमा। भुइँचालो रोकिनेबित्तिकै लाइन लागेर हामी ‘बिग फिल्ड’मा गइहाल्छौँ नि !’
24.12°C












