पूर्वीय दर्शन र सञ्चार
हिन्दुलाई राज्य धर्म बनाउनुपर्ने राजनीतिक नाराले बजार गर्माएका बेला प्राध्यापक तथा पत्रकार पी खरेलको पुस्तक द ह्विल अफ कम्युनिकेसन :
वर्तमानको मूलधारमा रहने पुस्तक होइन द ह्विल अफ कम्युनिकेसन। पश्चिमी दर्शन र मान्यताले पूरै थिचेको समयमा पूर्वीय दर्शन र मान्यताका विवरण र विश्लेषण सामान्य मानिसका रुचिभित्र पर्दैनन्। किनभने, रोजगारको बजारमा पूर्वीय दर्शनलाई राज्यले पाखण्डपूर्ण पुरोहितवादमा सीमित गरेको छ। हामीकहाँ दिइने संंस्कृत शिक्षाको उद्देश्य कर्मकाण्डको सुरक्षा गर्नु हो। पूर्वीय दर्शन र ज्ञानको उद्दीपन गर्न चाहनेका लागि कुनै अवसर उपलब्ध छैन।
पुस्तकमा हजाराँै हजार श्लोक र सूत्र रचना गरेर स्मृतिमा थन्क्याउने, मुटुले पढ्ने र अर्को पुस्तालाई हस्तान्तरण गर्ने मौखिक परम्पराको चर्चा र विवेचना छ। हामीले अहिले गरेका बौद्घिक अभ्यासको जन्म धवल अतीतमा भएको छ। प्राचीन समयको संस्कृति समृद्ध थियो। अहिले पनि त्यो महसुस गर्न सकिन्छ। प्राध्यापक खरेल लेख्छन्, ‘हिमवत्खण्डको आत्मिक र बौद्धिक परम्पराको अध्ययन व्यापक र चाखलाग्दो विषय हो। सञ्चारका विस्तारित सञ्जालहरू आधुनिक आविष्कार होइनन्। ती धेरै पहिलेदेखि थिए।’ जिज्ञासुहरूले प्राचीन स्मारकबारे जानकारी लिन्छन्। जहाँसुकैका लेखकले पनि आफ्नो भूमिलाई अध्ययनको केन्द्रविन्दु बनाउँछन्। कसरी र कस्तो वातावरणमा संस्कृतिको विकास हुन्छ र सञ्चार प्रक्रियाले मानिसको विचार प्रक्रिया र प्राथमिकतामा प्रभाव पार्छ, त्यसैद्वारा विषय र दृष्टिकोण बन्ने गर्छ।
पश्चिमी दार्शनिक अवधारणामा पूर्वीय दर्शनको प्रभाव नपरेको होइन। तैपनि, हिमवत्खण्ड युरोपका विद्वान् र इतिहासकारको प्राथमिकतामा परेन। त्यसैले पनि यहाँको सभ्यता र संस्कृति ओझेलमा परेको छ। प्राध्यापक खरेलको यो भनाइसँग असहमति राख्नु पर्दैन। आफ्नै आर्थिक विपन्नताका कारण पनि हामी सांस्कृतिक इतिहासको संवद्र्धन गर्न सकिरहेका छैनौँ।
प्राध्यापक खरेलले ६ प्रभागमा हिमवत्खण्डको इतिहासलाई पहिचान गर्ने प्रयत्न गरेका छन्। हिमवत्खण्ड–नेपाल र भारतखण्ड हिन्दु, बौद्ध र ओमकार विश्वको उद्गमस्थल हो। दक्षिण एसियाका भुटान, श्रीलंका र म्यानमारका जनता नेपाल र भारतको हिन्दु र बौद्ध धर्मबाट प्रभावित छन्। पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश मानसरोवर र दक्षिणमा गंगाभित्रको भूमि हिमवत्खण्ड–नेपालका भनिन्थ्यो। प्राचीन समयमा कामरूप ( आसाम)देखि कर्पूर (कुमाउ)सम्मको भूभाग नेपालका रूपमा परिचित थियो।
हिमालयको भूगोल सबभन्दा प्राचीन हो। यो भूगोलभित्र पूर्वीय संस्कृतिको ठूलो भण्डार अध्ययन र अनुसन्धानको आयाम पर्खिरहेको विश्वास जीवित छ। नेपालको निर्माणबारे मानिसका विचार अपभ्रंश र एकलकाँटे छन्। नेपाल कसैले निर्माण गरिदिएको देश होइन। यो देश विश्वका २० प्राचीनतम देशमध्ये हो, जसको संस्कृति र इतिहास अहिलेसम्म जीवित छ। मिथिला र नेवार विश्वका सर्वाधिक प्राचीन र समृद्ध संस्कृति हुन्। यी दुवै नेपालका अभिन्न र अविभाज्य अंग हुन्।
पुस्तकमा पूर्वीय सञ्चार पद्धतिको विशद् चर्चा गरिएको छ। सभ्यताको विस्तारमा सञ्चार पद्धति र अर्थको ठूलो महत्त्व हुन्छ। हिमवत्खण्डका रूपमा कुनै बेला नेपाल आर्य, किराँत, द्रविड र अन्य जातजातिको मिलनविन्दु थियो। सिंजा, लुम्बिनी, वाग्मती र जनक सभ्यताको केन्द्रविन्दुका रूपमा नेपालको प्रतिष्ठा फैलिएको थियो। कुती र केरुङका दुई मुख्यमार्गले हिमालपारि र वारिको सभ्यतालाई जोडेका थिए। भूगोलका ती विन्दु अहिले पनि व्यापारिक नाकाका रूपमा जीवित छन्।
नेपालको धार्मिक व्यवस्था संस्कृतिबाट निर्देशित हुने गरेको छ। प्राचीनकालमा कट्टर हिन्दुको कोपबाट बच्न बौद्धजन र मुगलकालमा मुसलमानहरू पनि ओतको खोजीमा नेपाल पसेका थिए। नेपालका हिन्दु कहिल्यै कट्टर भएनन्। सर्वधर्म समभावको सूत्र नै नेपालको सांस्कृतिक आधार बन्यो। सभ्यता र संस्कृति एकअर्काका पूरक हुन्छन्। दोस्रो विश्वयुद्धपछिको समयमा पश्चिमी दर्शनका आधार फराकिला भए। भाषा, साहित्य, सीप र कौशलमा नयाँ नयाँ प्रयोग भए। स्वभावत: विकासको यो लहरमा पूर्वीय दर्शन समेटिन सकेन।
पूर्वीय दर्शनको पहिचान गर्ने कसैले पनि हिन्दु संस्कृतिलाई धर्मबाट निरपेक्ष रहेको सभ्यताका रूपमा व्याख्या गर्न चाहेको छैन। प्राध्यापक खरेलको पुस्तकले हिन्दु धर्मका नाममा राजनीतिक र बौद्धिक समाजमा चलाइएका अहिलेका बहसलाई छिचरो साबित गरेको छ। द टाइम्स अफ इन्डियाको सम्पादकीय पृष्ठमा छापिने नियमित स्तम्भ ‘द स्पिकिङ ट्री’ पढेर रमाउने बौद्धिक जमात र नेपाली सभ्यता र संस्कृतिको गहन अध्ययनमा रुचि राख्ने सबैले एकपटक पढ्न र मनन गर्नैपर्ने पुस्तक हो यो ।
द ह्विल अफ कम्युनिकेसन – हिमवत्खण्ड एन्ड नेवरहुड
स्रष्टा : पी खरेल
प्रकाशक : कमला खरेल
मूल्य : ३०० रुपियाँ
पृष्ठ : ८+२१२
25.12°C












