'म महेश'मा विवादास्पद बयान
वाईसीएललाई ‘काउन्टर’ दिन खोलिएको संगठनका संयोजक थिए, महेश बस्नेत । वाईसीएलसँगको त्यही भिडन्तबाट निर्माण भएको आफ्नो छविलाई सार्वजनिक गर्ने क्रममा बस्नेतद्वारा ल्याइएको संस्मरणात्मक पुस्तक हो, म महेश ।
पहिलो संविधानसभा निर्वाचन–२०६४ पछि तत्कालीन नेकपा माओवादी पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित भयो । अर्धसैन्य संरचनाको माओवादी भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) त्यतिबेला कानुनलाई हातमा लिने र भौतिक कारबाहीमा उत्रिने शैलीका कारण आतंक र विवादको केन्द्रमा थियो । वाईसीएल उत्कर्षमा पुगेका बेला एमालेले त्यस्तै प्रकारको संगठन निर्माण गर्यो, युथ फोर्स ।
वाईसीएललाई ‘काउन्टर’ दिन खोलिएको उक्त संगठनका संयोजक थिए, महेश बस्नेत । वाईसीएलसँगको त्यही भिडन्तबाट निर्माण भएको आफ्नो छविलाई सार्वजनिक गर्ने क्रममा बस्नेतद्वारा ल्याइएको संस्मरणात्मक पुस्तक हो, म महेश । भर्खरै ४१ वर्ष टेकेका बस्नेतले पुस्तकमार्फत आफ्नो दुई दशकको राजनीतिक जीवनलाई नियाल्ने र आफ्नो राजनीतिक छविलाई उजिल्याउने प्रयास गरेका छन् ।
वाईसीएलद्वारा हत्या गरिएका जितपुर फेदीका रेस्टुराँ व्यवसायी विवेक देवकोटाको उपचारको प्रसंग होस् या जोग गुरुङको खुट्टा काटिएको सन्दर्भ । बुटवलका प्रचण्ड थैवको हत्या प्रसंग होस् वा बैतडीका देवसिंह विष्ट, दाङका बुद्धि केसी, बाग्लुङका सन्तोष छन्त्याल, हेटौँडाका सन्तोष कार्की र ओखलढुंगाका छवि कार्कीजस्ता युवाको हत्या प्रसंग, ज्यादै दर्दनाक र मनै उद्वेलित हुने खालका घटना हुन्, जसलाई बस्नेतले मार्मिक ढंगले पस्केका छन् ।
आत्मकथा शैलीमा लेखिएको यस पुस्तकलाई बस्नेतले ‘युवावस्थाको इमानदार अभिलेखीकरण’को संज्ञा दिएका छन् । तर, लेखनमा उनी कति इमानदार रहे ? त्यो त पुस्तकमा उल्लेख गरिएका विभिन्न प्रसंग र घटनामा मुछिएका व्यक्तिका बयान सार्वजनिक भएपछि मात्र थाहा होला । तर, बस्नेतले व्यक्तिगत रूपमा आफ्नै पार्टीका फरक मतका नेता–कार्यकर्तालाई जुन स्तरमा झरेर गालीगलौज र व्यक्तिगत आरोप/प्रत्यारोप र आक्षेप लगाएका छन्, त्यो भने नसुहाउने खालको छ ।
पुस्तकमा उनले मुलुकका कतिपय गम्भीर अनि शान्ति सुरक्षा र अमनचैनमै दखल पुर्याउने कुरा पनि सार्वजनिक गरेका छन्, पूर्वसेनापतिसँगको सम्बन्ध, अर्काका नाममा रेडियो/पत्रिकामा अन्तर्वार्ता दिएका प्रसंग हुन् वा वहालवाला लेक्चररलाई युथ फोर्समा संगठित गरेको प्रसंग । त्यसै गरी, जनार्दन शर्मालाई आक्रमण गर्ने गुरुयोजना होस् वा दिनेश अधिकारी (चरी)मार्फत वाईसीएलका कार्यकर्ताको हत्या गरेको सन्दर्भ अथवा वाईसीएलविरुद्ध लड्ने क्रममा उनले सदुपयोग/दुरुपयोग गरेको सरकारी सहयोग, प्रहरी प्रशासन र हतियार आदिको प्रयोग । यी कुरा उनले कतै खुलाएका छन् भने कतै लुकाउने प्रयास गर्दा पनि बुझिने छन् ।
वाईसीएलविरुद्ध लड्ने क्रममा जुन जुन प्रहरी अधिकारीले सघाए भनेर नाम/नामेसी दिएका छन्, त्यसले ती अधिकारीलाई समस्यामा पार्न सक्नेतिर उनले आँखा चिम्लिएका छन् । माओवादी दस्ता वाईसीएलविरुद्ध गलत आचरणका व्यक्ति र समूहको सहयोगमा उनले लडेको राजनीतिक लडाइँको इतिहासमा कस्तो मूल्यांकन होला भन्ने प्रश्न पनि अनुत्तरित नै छ ।
माओवादी सशस्त्र विद्रोह होस् वा नेपाली कांग्रेस र नेकपा एमालेले विगतमा गरेका सशस्त्र क्रान्ति, तिनमा सरिक भएर कुनै क्रान्तिकारीले भोगेका रहस्यमयी र जादुयी घटनाभन्दा कम छैनन्, महेशले वाईसीएलसँग लड्दाका अनुभूति । पुस्तक खास गरी वाईसीएलको गुन्डागर्दी र आतंकलाई परास्त गर्ने क्रममा बनेको उनको सार्वजनिक छविकै वरिपरि घुमेको छ । उनले लेखेका छन्, ‘युथ फोर्स नजन्मिएको भए सायद आतंकका विरुद्ध लड्ने सामथ्र्य भएको महेश बस्नेत पनि जन्मिने थिएन कि !’
भनिन्छ, सशस्त्र लडाइँमा जायज/नाजायज भन्ने कुरा नगन्य हुन्छ । तर, वाईसीएलविरुद्ध लडाइँको मोर्चामा सरिक हुने क्रममा महेश बस्नेतले बोलेका यी कुराले भने उनको दुस्साहस मात्र उजागर गर्छ । अन्ना क्यासिनोमा वाईसीएलविरुद्ध जाइलाग्ने क्रममा उनले उल्लेख गरेका छन्, ‘म चाहन्नथेँ, हाम्रा साथीहरूमाथि आक्रमण गर्ने एउटै माओवादी समर्थक पनि हाम्रो आक्रमणपछि सकुशल रहन सकोस् । म कसैको हातखुट्टा भाँचिएको र कसैको अनुहारबाट रगत बगिरहेको हेर्न चाहन्थेँ ।’ यो त हिंस्रक सोच भएन र ?
महेश बस्नेतले वाईसीएलसँग जुझ्दा जुन छवि निर्माण गरेका थिए, त्यसलाई विराटनगरका परशुराम बस्नेतको बचाउमा लाग्दा केही क्षीण गराएको कुरा घामजत्तिकै छर्लंग छ । तर, उनी यस कुरालाई स्वीकार्दैनन् । बरू, परशुरामलाई विराटनगर हुँदै काठमाडाँैसम्म ल्याएर लुकाउने र भूमिगत रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने काममा लागेको खुलमखुला स्वीकारेका छन् ।
वाईसीएलसँग लड्दा र माओवादी आमहडताल असफल पारेपछिको एक दिन कपनबाट ट्याक्सी चढेर तीनकुने आउने क्रममा ड्राइभरले उनका बारे बनाएको धारणाले बहालवाला उद्योगमन्त्री बस्नेतलाई किताब लेख्न हुटहुटी जगाएको बुझिन्छ । समानान्तर राज्यको अभ्यास गरिरहेको भनेर वाईसीएलको आलोचना गर्ने महेश बस्नेत स्वयंले युथ फोर्समार्फत गरेको अभ्यासलाई चाहिँ के भन्ने ?
पुस्तकमा कतिपय प्रसंग ठाउँठाउँमा दोहोरिएका छन् । बोलेका कुरालाई लिपिबद्ध गर्ने क्रममा देखिने यस्ता समस्या सम्पादनका क्रममा हटाउन सकिन्थ्यो । भाषिक मिठास र परिपाक पुर्याएर पस्किने कलामा भने पुस्तक अब्बल छ ।
म महेश
लेखक : महेश बस्नेत
प्रकाशक : गौँथली, पुतलीसडक, काठमाडौँ
पृष्ठ : १०+३०८
मूल्य : ६५० रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...