[पुस्तक समीक्षा] 'कागजको मान्छे'मा महासमरको बयान
शारीरिक अवस्थाले अत्यन्त प्रतिकूल मान्छे भेटिन्छन्, कागजको मान्छेमा धरावासी ।
कृष्ण धरावासी लेख्नकै लागि जन्मेका हुन् भन्ने उनका उपन्यास, निबन्ध र कथाहरूले प्रमाणित गरिसकेका छन् । शरणार्थीले उत्तरआधुनिकताको चरम उदाहरण प्रस्तुत गर्यो भने राधाले लीलालेखनलाई स्वीकृति प्रदान गर्यो । यसअघि नै प्रकाशित आधा बाटोले धरावासीलाई सशक्त गद्य लेखकका रूपमा उभ्याइसकेको थियो ।
मोफसलमै बसेर राष्ट्रिय स्तरको परिचय बनाउने थोरैमध्येका एक सर्जक हुन् धरावासी । ०६२ सालमा राधाले मदन पुरस्कार पाएपछि उनी ०६४ सालमा मात्र राजधानीको स्वाद चाख्न काठमाडौँ पसेका हुन् । नत्र यसअघि नै आफ्ना कृतिमार्फत उनले मोफसलमै बसेर राष्ट्रिय चिनारी बनाइसकेका थिए । शरणार्थी उनको सोह्रौँ उपन्यास थियो तर प्रकाशित हुँदा पहिलो उपन्यास हुन पुग्यो । र, उनका यसअघि लेखिएका १५ उपन्यास पाण्डुलिपिमै अभिलेख हुन पुगे ।
प्रसंग हो, उनको जुझारु लेखनको । जर्मन संस्था जीटीजेडको लेखनवृत्तिस्वरूप जर्मनी पुगेर फर्केपछि उनले हिटलरको त्रासदी वर्णित उपन्यास गेस्टापो प्रकाशन गरे । त्यसमा हिटलरसित गाँसिएका पात्र र घटनालाई ढालिएको थियो । तर, उनले जर्मनीभरि यात्रा गरेका प्रसंग पूरै ओझेलमा परेका थिए । त्यसैले उनले आफ्नो यात्राको नालीबेली समेटेर अर्काे संस्मरणात्मक कृति तयार पारे, कागजको मान्छे ।
कागजको मान्छेसँग भेट्दा बर्लिन, लायपजिक, कोलोन, हाइडेलबर्ग, फ्यांकफर्ट, प्यारिस, ट्ेरलर सहरहरू जाडोले पूरै कठ्यांग्रिएका थिए । बेन्जु शर्मा, विप्लव प्रतीक, भूपाल राई र उनीसमेत चार जनाको समूहलाई अगुवाइ गरेको थियो जर्मन दम्पती उल्फ र योहन्ना वर्निकेले । दोस्रो महासमरबाट ध्वस्त जर्मनी पुन:निर्माणपछि यति झकिझकाउ भएको देखेपछि उनको मनले भन्यो, यति चाँडो पनि विकास हुँदोरहेछ नि दुनियाँमा !
युद्धविभीषिकाका पदचाप खालि संग्रहालयमा सीमित थिए, सहरभरि विकास जगमगाइरहेको थियो । उनले यहाँको कछुवा गतिको विकास र त्यहाँको खरायो गतिको उन्नतिलाई ठाउँठाउँमा उल्लेख गरेका छन् । यदि उनको यात्रा विनाशकारी भूकम्पपछि थिलथिलो पारेको आठ महिनासम्म पनि पुन:निर्माणको गति अघि नबढेको अवस्थामा भएको भए उनको यो संवेदना कति गहिराइमा पुगेर पोखिन्थ्यो होला !
शारीरिक अवस्थाले अत्यन्त प्रतिकूल मान्छे भेटिन्छन्, कागजको मान्छेमा धरावासी । उनले आफ्नो अवस्थालाई नै कागजको मान्छेको रूपमा प्रस्तुत गरेका छन् । चर्को घाम पनि सहन नसक्ने, कडा चिसो पनि बेहोर्न नसक्ने । महाकविको ‘दाल–भात–डुकु’बाहेक अरू कुनै उनको पेटले ग्रहण गर्न नसक्ने । अनि, धरावासीले जर्मनीमा त्यो खुराक कहाँबाट पाऊन् ? उनको यो नियात्राका पृष्ठभरि भोजनप्रतिकूलताको वर्णन हिटलरको सन्त्रासभन्दा पनि डरलाग्दो गरी उपस्थित भएका छन् ।
उनले त्यहाँको यात्रामा आफूले देखेका पुरातात्त्विक र ऐतिहासिक महत्त्वका स्थलबारेका कुरा त साँचो भन्ने नै भए । यसबाहेक आफ्नो स्वास्थ्यस्थिति र व्यक्तिगत अन्य कुरा पनि नढाँटी उल्लेख गरेका छन् । यसले उनको लेखकीय उचाइ बढाएको छ । जस्तो : यात्रा आरम्भ गर्नुअघि नै आफू स्नातक उत्तीर्ण नभएको कुरा लेखेका छन् । जीटीजेडले त्यस भ्रमणका लागि कवि–लेखकको छनोट गर्ने मापदण्डमा स्नातक उत्तीर्ण हुनपर्ने सर्त पनि राखेको रहेछ । तर, उनले आयोजकलाई नढाँटी भनेका हुन्छन्, ‘म स्नातक उत्तीर्ण छुइनँ, त्यसैले म यस मापदण्डका आधारमा अयोग्य ठहरिने भएँ, अरूलाई नै छान्नुहोस् ।’ तर, उनी आफ्नो कृतित्वका आधारमा स्नातकोत्तर नै थिए, त्यसैले स्वत: छनोटमा परे । यो कुरा उल्लेख नगरेका भए पनि हुन्थ्यो र यस्ता कुरा हम्मेसी सबैले भन्दैनन् । तर, धरावासीले पाठकलाई नढाँटी आफू स्नातक पनि उत्तीर्ण नगरेको लेखक हो भन्न हच्किएका छैनन् ।
उनी भ्रमणका सिलसिलामा आफ्नो शारीरिक संरचनाका कारण धेरै ठाउँमा अप्ठ्यारोमा पर्छन् । समूहका अरूहरूजस्तो मच्चिएर हिँड्न सक्दैनन् । साना काँठीका, त्यसमाथि कुनै पनि चर्को मौसमलाई थेग्न नसक्ने ज्यानले गर्दा ठाउँठाउँमा उनलाई अवरोध भइरहन्छ । तर, इच्छाशक्तिका अघि शारीरिक दुर्बलता केही होइन भन्ने कुरा प्रमाणित गर्दै हरेक ती ठाउँमा पुगेकै हुन्छन् ।
त्यति मात्र होइन, समस्या । अंग्रेजी भाषामा कनीकुथी मात्र बोल्न सक्ने भएर पनि उनले हीनताबोध गरेका छैनन् । धरावासीका यी सम्पूर्ण समस्यालाई घुमाउने वर्निके दम्पतीले साह्रै सहज रूपमा लिन्छन् र हरेक अप्ठ्यारामा उनको हात समाइदिन्छन् । त्यसैले ठाउँठाउँमा यस दम्पतीलाई उनले बाबु–आमाको सम्बोधन गर्न पनि चुकेका छैनन् ।
एक ठाउँमा खाना खाने क्रममा उनको निस्तो भातमा योहन्नाले आफ्नो थालमा मुछिएको गाईको मासुबाट झिकेर एक–दुई त्यान्द्रो साग हालिदिन्छिन् । उनले यसलाई रामायणमा सबरीले जुठ्याएको बयर रामले कपाकप खाएको प्रसंगसँग जोडेर आफूलाई रामको रूपमा अवतरित गर्दै घिन र सिकसिक नमानी मीठो नलागे पनि खाएका छन् ।
धरावासीको यो कृति जर्मनीको सामरिक इतिहासभित्र मात्र सीमित छैन । उनले यसमा त्यहाँको संस्कृति र परम्परा, साहित्य र विज्ञानलाई समेत गहिरो अध्ययनका साथ प्रस्तुत गरेका छन् । यसमा खालि फलानो ठाउँ गयौँ, फलानो कुरा हेर्यौँ र फलानो कुराको महत्त्व के रहेछ भन्ने शैलीको सपाट नियात्रा वर्णन छैन । पढ्दै जाँदा यसले आख्यानपरक स्वाद र इतिहासजन्य जानकारी पनि दिन्छ । तर, व्याकरणगत अशुद्धि भने धरावासीका पुस्तकको रोग नै हो ।
—
कागजको मान्छे
स्रष्टा : कृष्ण धरावासी
प्रकाशक : पैरवी बुक हाउस
पृष्ठ : २३९
मूल्य : ३०० रुपियाँ
9.12°C












