नियात्रा: फेवातालमा पोखरा कोलाज
जादूको सोख चढ्यो कि के हो मलाई ?छु मन्तर !फेवाताल गायब ! माछापुच्छ्रे गायब ! इतिहास वर्तमानमा खप्टिँदै आउँछ ।
यात्रा सिक्ने गजबको अवसर हो । दृश्यहरू तैरिँदै जान्छन्, इतिहास फुक्दै आउँछ । किताबी ज्ञानले पुग्दैन, लोकजीवनको पुस्तक पढ् नैपर्छ । भुइँचालोपछि यात्रामा निरन्तर छु । भुइँचालोले ध्वस्त पारेका गोरखाको आरुघाट, सिन्धुपाल्चोकको चौतारा हुँदै विस्थापित मानिसहरू बसेको सेलाङ गाउँ, दोलखाको सिंगटी आदि घुम्दा अस्तित्वका लागि संघर्ष गरिरहेका जनताको अतुलनीय साहस देखिन्थ्यो । आन्दोलनको बीचमा मधेस घुम्दा आत्मसम्मान र अधिकारका लागि लाठी लिएर सडकमा उत्रिएका मधेसी जनताको बलिदानी भाव देखिन्थ्यो ।
पुस्तक पढेर त्यो अनुभव, अनुभूति र ज्ञानको संगम कहाँ पाउनू ! फेवाताल किनारैकिनार लेकसाइडको सडकतिर टहलिँदै सोच्छु । मध्य हिउँदको सिर्सिरे बतास फेवातालको ओस लिएर आउँछ । पर्यटकीय हब मानिने लेकसाइड सुनसान छ । दृश्य, अनुहार र ओठहरू पढ्दै हिँड्छु । अहँ, यो सुनसान हुँदै होइन । सुनसानको आवाज झन्झन् टड्कारो पो सुनिन्छ । मन्दीको चपेटामा परेको पोखरा ‘मुर्दावाद †’ त भनिरहेको छैन ? हँ ! कसका विरुद्ध ?
तिम्रा बैगुनले आजित भएर उसले
तिमीलाई मुर्दावाद भन्यो त, के बिरायो ?
रातको विरुद्ध जूनकीरीले
शरीरमा आगो सल्कायो, त के भयो ? ठीकै भयो ।
फेवा किनारमा बसेर पोखरेली कवि राजेन्द्र पौडेलको कविता सम्झन्छु । ऊ मेरो मित्र हो, छेउमा बसेर फेवातालतिर एकतमासले हेर्दैछ । अनायासै म इतिहासतिर भाग्छु । सत्रौँ र अठारौँ शताब्दीमा भारत–तिब्बत व्यापारिक मार्गको महत्त्वपूर्ण बिसौनी थियो पोखरा । अठारौँ शताब्दीमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको निम्तोमा भक्तपुरका नेवारहरू पोखरा बसाइँ सरे । कवि तीर्थ श्रेष्ठका अनुसार त्यसबेला २६ घर नेवार आएर हालको भीमसेन टोलवरपर बसोवास गरेका थिए । व्यापारमा प्रख्यात नेवारहरूले कालान्तरमा पोखरालाई व्यापारिक मोड दिए । ००७ सालपछिसम्म पनि दक्षिणी पोखराका बिरौटा, पार्दी, छोरेपाटनतिर औलोको डर थियो, उत्तरी भेगमा मात्र पातलो बस्ती थियो ।
जापानी भिक्षु इकाई कावागुची पोखरा भएरै तिब्बत गएका थिए । आफ्नो यात्रावृत्तान्तमा उनले पोखराको सौन्दर्य वर्णन गर्न बिर्सेनन् । ब्रिटिस कवि विल्फ्रेड नोयस र जिमी रोबर्टले माछापुच्छ्रे आरोहणको असफल प्रयास गरे र फिसटेल नामको पुस्तक लेखे । जसैजसै पोखराको सौन्दर्यले प्रचार पायो, नि:सन्देह फेवाताल र फेवातालको ऐनामा प्रतिविम्बित हुने माछापुच्छ्रे प्रख्यात भए । आजको पोखरामा पर्यटन न्यारेटिभ यति बलियो छ कि, फेवाताल र यसको ऐनामा देखिने माछापुच्छ्रे पोखरेलीको बोलीबोलीमा झल्मलाउँछन् ।
“सुन त, अचानक फेवाताल गायब भयो भने के हुन्छ ?”
म यो उट्पट्याङ प्रश्न राजेन्द्रलाई सोध्छु । ऊ गम्भीर हुन्छ, “ट्यांकरका ट्यांकर पानी खन्याएर भए पनि ताल जोगाउँछन् यहाँका मान्छेले ।”
हो, पर्यटन न्यारेटिभले पोखराका कवि, कलाकार, गायक, चित्रकार सबैको मनमस्तिष्क हराभरा तुल्याएको छ । फेवाताल फगत फेवाताल होइन, मायावी माछापुच्छ्ेर हिमाल लुकामारी खेल्ने ऐना पनि हो । अनि हो, पोखराको पर्यटन व्यवसायमा आश्रित ठूलो जनसंख्याको जीवन पनि । एक बिहान अचानक फेवाताल गायब भयो भने मायावी माछापुच्छ्रे पनि गायब हुन्छ । कति प्रेम र संघर्षका कथा अलप हुन्छन्, गिन्तीमा नराख्दै बेस होला । म भने सोचिरहेछु, के पोखरालाई पर्यटन न्यारेटिभबाट बाहिर निकालेर हेर्न सकिन्छ ?
भिडियो फुटेज चल्न थाल्छ, भारतीय इतिहासकार रोमिला थापर बोल्दै गरेको दृश्य छ । इतिहास भनेको तिथिमिति र तथ्यहरूको संग्रह होइन, बरू आजका समस्या चिन्नका लागि इतिहासलाई बुझ्ने प्रक्रिया हो । ‘र्यान्डम रिडर्स क्लब’को कार्यक्रममा मैले रोमिला थापरकै ज्ञान सापटी लिएर बोल्नुछ । सहर, मान्छे, घर, सरसामान, विचार सबैको इतिहास हुन्छ । जब यी सबैको सम्बन्ध खोतल्ने प्रयास गरिन्छ, इतिहासलाई बुझ्ने क्रम सुरु हुन्छ ।
पोखराका बस्तीहरूलाई नियालेर पस्नासाथ यहाँको इतिहास खुल्न थाल्छ । सहरको च्यादरमा जमेको धूलो टकटकिन्छ, गहिरिएको सेती नदी अनेक मिथकसहित सतहमा उचालिएर आउँछ, मेटिएका पाइला देखिन थाल्छन् । म सम्झिन्छु– स्कुलको पाठ्यक्रममा पोखराको वर्णन कसरी गरिएको थियो ? धरतीभित्रै लुकेर गड्गडाउँदै सेतो बग्ने सेती नदी, चमेरैचमेराको घानी चमेरे गुफा, फेवातालबाट फुत्केको पानी जमिनभित्र हाम फाल्दै अलप भइरहेको पाताले छाँगो, गुप्तेश्वर गुफा, फेवाताल, फेवातालमा डुबुल्की लाइरहेको माछापुछ्रे हिमाल...अर्थात् एक रुमानी र रहस्यमय पोखरा ।
पोखराका युवा व्यवसायी सिरोज कोइराला सुनाउँछन्, “विसं ०२० को दशकको अन्त्यदेखि हिप्पीहरू पोखरा आउन थाले । पश्चिमा हिप्पीहरूलाई ब्राह्मण–क्षत्री समुदायले स्वागत गर्ने प्रश्नै थिएन । म्लेच्छ जातिका समुद्रपारबाट आएका, त्यसमाथि असामान्य जीवनशैली भएका हिप्पी ! फेवातालको किनारमा बसोवास गरेका दलितहरूले भने सजिलै उनीहरूलाई स्वागत गरे । उसै पनि पोखरामा मकै, कोदोजस्ता बाली मात्र उब्जन्थ्यो । दलितहरूले पश्चिमा हिप्पीको स्वागतमा पर्यटन व्यवसायलाई आकार दिन थाले । बिस्तारै अरू पर्यटक पनि आउन थाले र अरू समुदाय पनि पर्यटन व्यवसायमा उत्रिए ।
यो कथासँगै फेवातालमा माछापुच्छ्रे अलप भइसकेको छ । माछापुच्छ्रेलाई गर्भमा लिएर फेवाताल अलप भएको कल्पना गर्छु म । के यो कल्पनाले पोखराको इतिहास बदलिन सक्छ ? कि पोखराको रुमानी र रहस्यमय पाठ सर्लक्क पन्छिएर एक जीवित र संघर्षमय पोखराको चलचित्र चल्न थाल्छ ? ऊ...त्यो फेवातालपारिका घरमा बलेका बत्ती पिलपिलाउन थाल्छन् । हरेक दिन स्कुल पढ्न वा किनमेल गर्न पोखरा कसरी आउँछन् ती घरका मान्छे ? हो, फेवातालमा डुंगा चढ्नेहरू रमिता भर्न आएका मानिस मात्र हुँदैनन्, संघर्षको डुंगा खियाउनेहरू पनि हुन्छन् । इतिहास उनीहरूको पनि छ र अरू पोखरावासीको पनि ।
सन् १९५९ देखि १९६२ को बीचमा आएका तिब्बती शरणार्थीले पोखरामा एक नौलो आयाम थपे, कैयौँ त पोखराकै बासिन्दा पनि भए । गाडीभन्दा पहिला हवाईजहाज चलेको पोखरा गोर्खाभर्तीको पनि केन्द्र बन्यो । पत्रकार मनोज घर्तीमगर गोर्खाभर्तीकै सन्दर्भमा एउटा डकुमेन्ट्री बनाउन कस्सिएका रहेछन् । गोर्खाभर्तीले के ल्यायो त पोखरा र वरपरका डाँडापाखामा ? करिब एक घन्टा हामी भिडियोमा बात मार्छौं । झलक सुवेदीको पुस्तक ब्रिटिस साम्राज्यका मोहराले गोर्खाभर्तीको दर्दनाक कथा भन्छ र ब्रिटिस साम्राज्यवाद नेपाली गाउँघरमा पसेको इतिहास पनि । करिब दुई दशकअघिको एक बहुप्रचलित भनाइ थियो, काठमाडौँमा आउनुभन्दा पहिला विदेशी फेसन धरान र पोखरामा आउँछ ।
अहिले त गोर्खाभर्तीलाई कहाँ हो कहाँ पछाडि छाडेर भर्भराउँदो युवा जनसंख्या अरब, मलेसिया, कोरिया, जापान, युरोप, अमेरिकातिर ‘निर्यात’ गरिरहेको हाम्रो राज्यसत्ताको दिनचर्या छ । तैपनि, ब्रिटिस गोर्खा सैनिक परम्पराबाट पैसा कमाएकाहरूले झपक्कै सिंगारेको सहर हो पोखरा । राजनीतिक इतिहासलाई बुझ्ने एक तरिका बनाउन सकिन्छ तर पोखराको अर्थराजनीतिक र सामाजिक इतिहासमा यो सबैभन्दा प्रभावशाली पाटो हो ।
पछिल्लो समय पोखरामा जग्गाको भाउ अकासिएको छ । एक–डेढ करोड रुपियाँले त मूल्य धान्नै गाह्रो । प्रेमको भाउ के भएको होला पृथ्वीनारायण क्याम्पस कम्पाउन्डको मादक वातावरणमा ? सेती नदीको गहिरिँदो किनारतिर कति रोमान्टिक र कति दर्दनाक दृश्य उदाए र अस्ताए, त्यसको इतिहास कसैले खिचेको छैन । बरू, संघीयता र पहिचानको बहससँगै पोखराले फरक रूप ग्रहण गरेको स्मृति ताजै छ ।
काठमाडौँको चिसो साँझमा पसेर म अमितकिशोर सुवेदीलाई भेट्टाउँछु । यी हुन् पोखरेली तन्नेरी, विद्रोही दार्शनिक रूपचन्द्र विष्टको जीवन–दर्शनमा डकुमेन्ट्री बनाउन भिडेका । पहिलो संविधानसभाको सकस जारी रहँदा यी तन्नेरी पोखरामै थिए । पोखरा यही समयमा ब्राह्मण समाज र क्षत्री समाजको उद्गमस्थल पनि बन्यो । पोखरामा गुरुङ र मगरको बाक्लो बसोवास हुनुसँग गोर्खाभर्तीको कथा जोडिसकियो । नयाँ संविधानले संघीयतामा पहिचान र सामथ्र्यका आधारहरू लिने भइसकेपछि पोखरा तमुवानको राजधानी हुने हल्ला चलेको थियो । त्यसैले पोखराका गुरुङ समुदाय पहिचानको संघर्षमा हुनु अनौठो भएन । तर, त्यसबखत पोखरामा जुन दृश्य देखियो, त्यो आजसम्म पनि एक चुनौतीपूर्ण अनुभव बनेर पोखरेली जनमानसमा बसेको छ ।
अमितको सम्झनामा ती दिनहरू टड्कारै छन् । खास गरी ब्राह्मण र क्षत्री समुदाय संगठित रूपमा अखण्ड पश्चिमाञ्चलको नारा लगाइरहेका थिए । पृथ्वीचोकमा ‘अखण्ड पश्चिमाञ्चल’को ठूलो बोर्ड पनि राखिएको थियो । त्यो बोर्ड उखेलेर ‘तमुवान प्रदेश’को बोर्ड लगाउन गुरुङ समुदायको जुलुस निस्क्यो । त्यस्तोमा झडप नहुने सवालै भएन । पालो गरी गरी आमहडताल र पालो गरी गरी जुलुस निस्कन्थ्यो त्यसबेला पोखरामा । गुरुङ समुदायको जुलुस उस्तै, ब्राह्मण–क्षत्री समुदायको जुलुस उस्तै । समुदायको भावनाले उम्लिएका हजारौँ मानिसको जुलुस ! सायद थोरै पोखरेली मात्र जुलुसमा हेलिएनन् होला, अन्यथा भँगालोजस्तो जुलुसको अंश बन्ने होड चल्यो ।
पहिचानको मुद्दा कुनै खास समुदायले अर्को समुदायमाथि शासन गर्ने सिद्धान्तको विरुद्धमा छ र राज्यमा सबै समुदायको बराबरी अधिकार स्थापना गर्ने लोकतन्त्रको आधारभूत मान्यतामा आधारित छ । तर, यस मुद्दालाई गलत ढंगले व्याख्या गर्ने वा असावधानीवश् ब्राह्मण–क्षत्री समुदायलाई चिढाउने काम भिन्नभिन्न कोणबाट भइरहेको थियो । जे होस्, पोखराको त्यस अध्यायले सामुदायिक तनावको स्थिति सिर्जना गर्यो । अमितको विश्लेषणमा त्यतिखेर के गुरुङ, के ब्राह्मण, के क्षत्री सबै समुदायको घरघरमा अस्तित्वको संकटझैँ स्थिति पैदा गरेको थियो । त्यसैले बूढाबूढी, केटाकेटी सब जुलुसमा ओर्लिए । यस्तो सामुदायिक तनावको स्थिति पोखरामै किन पैदा भयो ? यसका अर्थराजनीतिक र सामाजिक कारण खोतल्ने काम अवश्य होला ।
अहिले भने फेवाताल उस्तै छ । लेकसाइड साँझको रमझममा बौरिन खोजेझैँ लाग्छ । पोखरा उपत्यकाका ठाउँठाउँमा जमिन भासिने क्रम पनि जारी छ । पोखरालाई भर्भराउँदो सहर तुल्याइराख्ने मिहिनेती हातहरू सक्रिय छँदैछन् । बरू, ग्यासका सिलिन्डर साङ्लाले बाँधेर लाइनमा राखिएको दृश्य थपिएको छ । आफूभित्रका जटिलता र इतिहासका उतारचढावहरू अँगालेर पोखरा सुस्त र सौम्य बान्कीमा फुक्दै गइरहेको छ । जादूको सोख चढ्यो कि के हो मलाई ?
छु मन्तर !
फेवाताल गायब ! माछापुच्छ्रे गायब ! इतिहास वर्तमानमा खप्टिँदै आउँछ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...