'वीरगन्ज'मा यथार्थसँग मुठभेड
प्रत्येक सहरको आफ्नै प्रकारको भूमिका हुन्छ । तराईकै अन्य सहरहरूलाई दाँजेर नियाल्यो भने त्यसभित्र वीरगन्जसँग सामीप्य पनि छ र देखिने गरी भिन्नता पनि ।
पत्रकार गिरीश गिरीद्वारा लिखित वीरगन्ज, मेरो सहरको कथा वीरगन्जबारे लेखिएको पहिलो पुस्तक होइन । वीरगन्जेली जीवन र इतिहाससँग जोडिएका पुस्तक अरू पनि छन् । तर, गिरीशको पुस्तक लेखनशैली नवीन र रोचक छ । उनी यसलाई वीरगन्जको ‘बायोग्राफी’ भन्न रुचाउँछन् र सुकेतु मेहताद्वारा लेखिएको भारतको मुम्बई सहरमाथि केन्द्रित पुस्तक म्याक्सिमम सिटी : बम्बई लस्ट एन्ड फाउन्डको चर्चा गर्न छुटाउँदैनन् । मधेस आन्दोलनले स्थापित गरेको मान्यता के हो भने काठमाडाँैबाहिर पनि केन्द्र छन् । तर, त्यसबाहिरको कुनै सहर–बस्ती केन्द्रित पुस्तक लेख्ने प्रयत्न विरलै हुने गरेको छ । गिरीशले त्यसमा हस्तक्षेप गरी नयाँ पुस्ताका लागि वीरगन्ज सहरप्रति जिज्ञासा जगाउने काम गरेका छन् । लेखाइको रोचकता, घटनाक्रमहरूलाई उन्ने र एउटा बृहत्तर क्यानभास निर्माण गर्ने कलात्मकता यस पुस्तकले स्थापित गरेको छ, जो गिरीशको सफलता हो । प्रत्येक सहरको आफ्नै पृष्ठभूमि हुन्छ र त्यसले त्यस सहरको एउटा पहिचान दिएको हुन्छ ।
काठमाडौँसँग जोडिने पहिलो बाटो भएकाले इतिहासमा वीरगन्जले नेपालको प्रवेशद्वार सहरको नाम पायो । छिमेकी भारतको नाका सहर रक्सौलसँग जोडिएर अमलेखगन्जसम्म रेल सेवा सञ्चालन भएपछि काठमाडाँै जाने बाटो वीरगन्ज नै भएर सुरु भयो । त्यतिखेरको प्रशासनिक व्यवस्थाले गर्दा नेपाल र नेपालबाहिरहरूका लागि वीरगन्ज भएर जानुपर्ने बाध्यता पनि थियो । यो सहरले आर्थिक क्रियाशीलता बढाउँदै लग्दा ०४६ पछिको उदार परिवेशमा आर्थिक राजधानी भएको दाबी गर्यो । त्यसैले, कतिपयले यसलाई भारतको मुम्बई भनेर पनि चिनाउँछन् । वीरगन्ज सहरको प्रबल पक्ष आर्थिक रहे पनि यसले राजनीति, शिक्षा, संस्कृतिलगायतका क्षेत्रमा पनि विशिष्ट योगदान गरेको छ । कतिपय अवस्थामा वीरगन्जको बहुआयामिक पक्षलाई आर्थिक परिचयले थिचिदिएको हो भन्ने चिन्ता पनि भेटिन्छ ।
गिरीशले पुस्तकमा आफू, आफ्नो परिवार र आफ्नो समयलाई समाउँदै आफूले बुझ्न सकेको वीरगन्ज र आफ्नो सामथ्र्यले बुझाउन सकेको वीरगन्जलाई अभिरेखांकित गरेका छन् । पुस्तकमा उनी आफ्नो मावली जाँदा रेल यात्राको वर्णन गर्ने क्रममा ‘बाह्र मसाले, तेह्र स्वाद’ भनिने एउटा कालो लेमनचुसको बारे लेखेका छन् । गुलियो, अमिलो, पिरो सबै लाग्ने खास्सा चट्किलो स्वादको लेमनचुसजस्तै यस पुस्तकभित्र वीरगन्जको कतै इतिहास, त कतै परम्परा, थोरै जनजीवन अनि थोरै पात्रहरूको उपस्थितिले एउटा विम्ब सृष्टि गरेको छ, जसमा वर्तमानको डिलमा उभिएर कैयौँ प्रश्नको जवाफ बिनाकुनै आडम्बर उनले बोधगम्य तरिकाले दिएका छन् । र, यही पुस्तकको कारणले अहिले एउटा सीमान्त सहरले चर्चा पाएको छ ।
पुस्तक वीरगन्जको कथा भनिए पनि त्यसले मधेस आन्दोलनलाई चियाउने प्रयत्न गरेको छर्लंग बुझिन्छ । घुमीफिरी उनले मधेस आन्दोलन र त्यससँग जोडिएका पात्रहरूलाई पछ्याएका छन् । उनी एक ठाउँमा भन्छन् पनि, ‘कुनैबेला पहाडेहरूले चर्को स्वरमा बोलेको आवाज निरीह भएर सुन्ने मधेसीहरू यतिबेला रौद्र रूप देखाइरहेका छन् ।’ वीरगन्ज क्षेत्रको आन्दोलनको नालीबेली उघार्दै उनले कतिपय ठाउँमा चिन्तासमेत प्रकट गरेका छन् । भन्छन्, ‘मधेस आन्दोलनभरि काठमाडौँको सोच र मूल्यांकन यथार्थभन्दा निकै पर रहेर दिग्भ्रमित भइरहेको देखिन्थ्यो । त्यसको प्रतिविम्ब राज्यले चाल्ने कदममा मात्र होइन, समग्र सामाजिक चिन्तनमा झल्किन्थ्यो ।’ यसरी चिन्ता र चासो देखाउँदै गर्दा र घटनाक्रमको भित्री पाटो उजिल्याउँदै गर्दा उनलाई वीरगन्जप्रतिको ‘नोस्टाल्जिया’ले गाँजेको प्रस्टै थाहा पाउन सकिन्छ ।
पुस्तकले देखाएको अर्को पाटो के हो भने एउटा पत्रकार लामो समयसम्म आफू क्रियाशील रहेको सहरमा केन्द्रित भएर कसरी पुस्तक लेखन गर्न सक्छन् ? जसमा, तिनले पत्रकारीय जीवनमा भोगेका अनुभव, सहरले आर्जन गरेको व्यक्तित्व तथा लेख्न नभ्याएका पक्षहरूलाई संयोजित गर्न सक्छन् । संघीय नेपालमा ऐतिहासिक सहर, गाउँ र मुख्य बस्तीहरूको कथा लेख्नु जरुरी छ । नेपालको इतिहास लेखन प्रवृत्तिलाई पुनर्भाष्य गर्न पनि यस्ता स्थानकेन्द्रित पुस्तकहरूको प्रयोजन सिद्ध हुन्छ ।
प्रत्येक सहरको आफ्नै प्रकारको भूमिका हुन्छ । तराईकै अन्य सहरहरूलाई दाँजेर नियाल्यो भने त्यसभित्र वीरगन्जसँग सामीप्य पनि छ र देखिने गरी भिन्नता पनि । प्रत्येक सहरको त्यो मौलिकतालाई पहिचान गर्न सक्ने र त्यसको बदलावलाई सूचीकृत गर्न सकियो भने त्यसले राष्ट्रिय एकीकरणमा सबैको अंशियारीलाई स्थापित गर्छ ।
लेखकले यसमा भुइँ सतहका पात्रहरूलाई पछ्याउँदै वीरगन्जलाई कतिपय सन्दर्भमा अग्ल्याउने प्रयत्न पनि गरेका छन् । पुस्तकको यो एउटा पाटो हो । तर, यसभित्र प्रशस्त चिनिएका पात्र पनि छन् । यसले के देखाउँछ भने उनले आफ्नो सर्त र सुविधा अनुसार पात्रको छनोट गरेका छन् । वीरगन्ज सहरलाई चिनाउने क्रममा उनले आफ्नो परिवारको कथाको जगमा, कुमालेको चक्रमा ठड्याउने गरिएको माटाका अनेकौँ स्वरूपका अनेक पक्ष र प्रवृत्तिहरूलाई उभ्याएका छन् । त्यसैले पुस्तक वीरगन्जको मुख्य सडकजस्तो सरलरेखामा छैन । अनेकौँ घुम्तीहरू छन् । तीबीचमा तादात्म्य छ । तर, यसले कतिपय पाठकहरू भ्रमित पनि हुन्छन् । किनभने, घटनाक्रम र पात्र कहाँबाट कहाँ फड्को मारेका छन् ।
वीरगन्ज सामासिक सहर हो । व्याकरणमा सन्धि र समास हुन्छ । सन्धिमा दुईवटा शब्दको मिलनले एउटा नयाँ शब्द बन्छ तर पुराना ती शब्दको स्वरूप फेरिएको हुन्छ । समासमा दुई शब्द जोडिन्छन् । तर, त्यो साबिककै रूपमा रहन्छन् । व्याकरणको भाषामा भन्ने हो भने वीरगन्जको सामाजिकताले यो सहरलाई सामासिक सहरको संज्ञा दिन सकिन्छ । नेपालको भाषिक मानचित्रमा वीरगन्ज भोजपुरीको हृदय–प्रदेश हो । तर, यहाँ अन्य भाषाभाषी र तिनका सामाजिक सांस्कृतिक गतिविधिहरू पनि कम छैनन् । नेपालमा विश्वविद्यालयको नागरिक प्रयत्न पहिलोपटक यही भएको थियो ।
काठमाडौँबाहिर पत्रकारिताको जन्मभूमिको गौरव यसै सहरलाई प्राप्त छ । जनताको तहबाट गरिने राज्यविरुद्धको प्रत्येक संघर्षले यहाँ उचाइ प्राप्त गरेको छ । त्यसैले यो क्रान्ति–किल्ला पनि हो । तराईका सहरहरूमध्ये वर्तमानको गतिशीलता, इतिहासको विशिष्टता र भविष्यको सम्भावनालाई लिएर ‘ तराईकी रानी’ भनेर पुकार्नेहरू पनि कम छैनन् । पुस्तकले वीरगन्ज सहरलाई यसको समग्रतामा घन्टाघरजस्तो अग्ल्याउन सकेको छैन । न त यहाँको माटोको गन्धलाई घडीअर्वा पोखरीजस्तै गहिराइबाट उछाल्न सकेको नै छ ।
कुनै पनि पुस्तक आफैँमा काफी हुँदैन । यसले वीरगन्जमा रुचि राख्ने सबैलाई हाँक र हौसला दिएको छ । यो हाँक र हौसला अन्य सहरतर्फ पनि लक्षित छ, गिरीशले कोरेको रेखाको समानान्तरमा अर्को रेखा कोर्न ।
पछिल्लो मधेस आन्दोलनको मध्यान्तरमा बाहिरिएको यो पुस्तकमा घुमीफिरी आन्दोलनका घटना र पात्रहरूसँग जम्काभेट हुन्छ । तर, कतै पनि मधेस आन्दोलनको गहिरिएको जराबारे प्रस्टिँदैनन् । आखिर तीन दशकभित्र किन साधारण नायकहरूको पछाडि आहुति दिन मानिसहरू देहातबाट सहरमा आइपुग्छन् ? त्यसैले कतिपय पाठकले मधेसी आन्दोलनको गुरुत्वलाई धुमिल गर्ने कतै चेष्टा त होइन भनी पुस्तकको आलोचना पनि गर्न सक्छन् । मधेस आन्दोलनको सेरोफेरोमा भौतारिनु लेखकको तात्कालिक प्रयोजन होला तर उनले वीरगन्जका अन्य पक्षलाई जोड्ने ‘स्पेस’ दिन सकेको भए पुस्तकको नामजस्तै सहरको कथाप्रति न्याय हुन सक्थ्यो ।
—-
वीरगन्ज : मेरो सहरको कथा
स्रष्टा : गिरीश गिरी
प्रकाशक : नेपालय
पृष्ठ : ३००
मूल्य : ४२५ रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...