पुस्तक : कथामा अमेरिका
कथाकार स्वयंले अमेरिका भोगेका छन्, त्यसैले पनि हामीलाई कथा पढ्दा अमेरिका यस्तै पो छ कि भन्ने लाग्छ । मौलिक शैली शिव प्रकाशको विशेषता हो । प्रयोग गर्न रुचाउने उनका कथा पृथक् र अलग लाग्छन् ।
घागी । न मैले कहिल्यै सुनेकी थिएँ, न त कतै पढेकी थिएँ । घागीकै नामबाट कथासंग्रह आउँदा उत्सुकता लागिरहेकै थियो । संयोग, यसका लेखकसँगै भेट भयो काठमाडौँमा । सोधिहालेँ, ‘घागी भनेको के हो ?’ लेखक उत्साहित भइहाले, ‘पढ्नुभयो भने आफैँ थाहा पाउनुहुनेछ ।’ मैले थप सोध्न सकिनँ ।
जब म घागीमा प्रवेश गरेँ, कथाले तान्दै गयो । बरू, चर्चामा आएका किताबले निराश बनाएको अवस्थामा घागीले आशा जगाइदियो । ‘मैले बुझे अनुसार घागी भनेको छली रूप कि अरू केही ?’ लेखकलाई म्यासेज गरेँ । ‘घागीको अर्थ छली नै बनाउन खोजेको हो । तपार्इंले बुझेको सही हो । इर्मा मात्र होइन, जगमान पनि घागी नै हो ।’ लेखकको जवाफ आयो ।
जगमान पनि घागी ? उसो भए घागीको वास्तविक अर्थ के त ? जगमान घाती हो तर छली होइन । म अन्तरद्वन्द्वमा रुमल्लिएँ । घागीको अर्थ छली हो कि घाती ? घात र छल त अलग कुरा हो नि † खैर, भन्न र बुझ्न त जे पनि पाइयो । त्यसमाथि कथाकारको निजी शब्द । लेखकबाटै निर्मित शब्द
रहेछ घागी ।
शिव प्रकाशको दोस्रो कथासंग्रह हो, घागी । यसमा २२ वटा कथा समेटिएको छ । शीर्ष कथा ‘घागी’ जगमान र इर्माको कथा हो । जगमान एक पति, बाबु भएर पनि इर्मा प्राप्तिका लागि आफू अविवाहित पुरुष भएको अभिनय गर्छ । इर्मा आफू तरुनी युवती भएर माग्ने काम गर्छे तर जगमानका अगाडि कलेज पढ्दै गरेकी बन्छे । यसरी झूटमा स्थापित दुईको सम्बन्धलाई यसमा देखाइएको छ ।
लगभग सबै कथा अमेरिकाकै पृष्ठभूमिमा रचिएका छन् । विषयवस्तु, पात्र अमेरिका बसाइका नेपालीहरू साथै अमेरिकाकै छन् । नेपालीका लागि ‘सपनाको देश’ पनि हो, अमेरिका । पाठकले यही स्वप्न देशलाई नजिकबाट महसुुुस गर्न सक्छन् । अमेरिकी समाज, रहनसहन, जीवनशैली पढ्दा धेरै अमेरिका पढ्न पाइन्छ ।
सुरुको कथा छ, ‘आल्मा’ । जहाँ आल्मा, हिमाल र आल्माकी बहिनी छन् मुख्य पात्र । आल्मा जो अमेरिकामै जन्मी–हुर्की जीवनको रंगसँग खेल्छे । यी दिदीबहिनीमा थाहै नपाई देखासिकी र अमेरिकाको स्वतन्त्रताको प्रभाव पर्न थाल्छ । स्वभावैले दिदीबहिनी नै प्रेमी–प्रेमिकामा परिणत हुन्छन् । अन्तत: यी दुईबीच लेस्बियन सम्बन्ध हुन्छ ।
अमेरिकामा पनि दुइटा समाज छ । एकातिर व्यक्तिको इच्छा सर्वोपरि ठानिन्छ भने अर्कातिर त्यही समाजले आल्मा र उसकी बहिनीको सम्बन्ध थाहा भएपछि छिछि र दूरदूर गर्न थाल्छ । यही मानसिक तनावका कारण बहिनी नशाको कुलतमा पर्छे । अन्तत: ओभरडोजकै कारण उसको मृत्यु हुन्छ । आल्मा आपराधिक कार्यमा संलग्न हुन्छे । यसैले ऊ जेल पर्छे । जेलकै सजाय काटिरहेको समयमा आल्माले हिमाललाई सुनाएको आफ्नो कुरा नै हो, ‘आल्मा’ कथा ।
आल्मा हिमालसँग विवाह गर्न चाहन्छे । ऊ भन्छे हिमालसँग, ‘म तिम्री स्वास्नी हुन सक्दिनँ भने तिमीजस्तै कुनै नेपालीको स्वास्नी भएर नेपाल जान चाहन्छु । म अमेरिकासँग अघाइसकेकी छु ।’ यसरी अमेरिका, अमेरिकीभन्दा नेपाल र नेपाली उत्तम भन्ने भाव यस कथामा छ ।
अर्को कथा छ, ‘कल्की’ । यो कथा पनि अमेरिकाकै पृष्ठभूमिमा रचिएको छ । एउटी नेपाली युवती जो अमेरिका बसाइमा सम्पूर्ण रूपमा अमेरिकन बन्छे । आफ्नो धरातलभन्दा बढी हाइफाइमा रमेकी
युवती र म पात्रको मनोविज्ञानको कथा हो, ‘कल्की’ ।
‘यहाँ छैन र हुँदैनसँग मीत र अँध्यारोसँग प्रीत लगाएर बाँच्नुपर्छ । दु:खसँग हाँस्नुपर्छ । देशमा अब छैन र हँुदैनबाहेक केही बाँकी छैन ।’ यस्ता पंक्तिले कथा ‘जीवनपथ’लाई पठनीय बनाएको छ । लामो बसाइपछि अमेरिकाबाट नेपाल आएको पात्रको माध्यमबाट नेपालको वर्तमान परिस्थिति प्रस्तुत गरिएको छ । साथै, यस कथामा मान्छेका देखाउने र लुकाउने सम्बन्ध पनि खोतलिएको छ ।
आशुतोषको जीवनमा प्रेमिका गौरी छे भने श्रीमती प्रभा । एक पुरुष दुई जनासँगको सम्बन्धमा रहेका हुन्छन् । गौरीले आफ्नो प्रेमी र श्रीमान् कर्णध्वज भएको थाहा दिनुका साथै एक–अर्कोबीच साथीको सम्बन्ध रहिरहने सर्तसँगै कथाको अन्त्य हुन्छ ।
अमेरिका संसारकै नराम्रो देश हो, विकृति, विसंगति सबै त्यहीँ छ र संसारकै बिग्रेका मान्छे बस्ने देश हो भन्नका लागि लेखकले पात्रलाई बढी नै जोड लगाएका छन् ।
‘संसारमा सायद सबैभन्दा धेरै पागल भएको मुलुक अमेरिका नै होला । मेरो अनुभवले अमेरिकालाई इमानको मरुभूमि र बेइमानीको उर्वर भूमि मानेको छ ।’ कथा ‘पेद्रो लुजा’को पंक्ति हो यो । त्यस्तै कथा ‘पासवर्ड’मा भनिएको छ, ‘यहाँ सबैथोक भएर पनि मान्छेसँग केही छैन । आमा हुनेको बाउ छैन । बाउ हुनेको आमा छैन । आमा छ तर आमाभित्र आमा छैन । बाउ छ, बाउभित्र बाउ छैन । सबै छन् तर सबैभित्र कोही छैन । सबैथोक छ, सबैथोकभित्र जे आवश्यक छ, त्यो छैन । हरेकका बीचमा लामा र गहिरा तनावका रेखा छन् ।’
कथाकार स्वयंले अमेरिका भोगेका छन्, त्यसैले पनि हामीलाई कथा पढ्दा अमेरिका यस्तै पो छ कि भन्ने लाग्छ । मौलिक शैली शिव प्रकाशको विशेषता हो । प्रयोग गर्न रुचाउने उनका कथा पृथक् र अलग लाग्छन् । फरक स्वाद, फरक भूगोल र फरक पात्रसँगको सामीप्यका लागि घागी पठनीय कृति बनेको छ ।
घागी
स्रष्टा : शिव प्रकाश
प्रकाशक : सांग्रिला बुक्स
मूल्य : २७५ रुपियाँ
पृष्ठ : २४०
10.12°C













