बाको घडी–क्रान्ति
"तँ यो सेकेन्ड सुईजस्तै चलाख हुनुपर्छ । टाठो बन्नुपर्छ । घन्टा सुईजस्तो जिन्दगीको काम छैन ।”
मेरा बाका लाहुरे साथीलाई आफ्नो हातको घडी बेच्न मन लाग्छ, बालाई घडी किन्न । घडीको दाम जिन्सी वा नगदी राखिन्छ । बासँग नगद हुँदैन । जिन्सी हुन्छ, बाख्राको पाठो ! त्यही पाठोसँग घडी सट्टापट्टा हुन्छ । म भन्न सक्छु, बाको त्यही घडीले मेरो जिन्दगीमा यू–टर्न हान्यो ।
माछाको सिकारमा बसेको बकुल्लोझैँ बाले घडी बडो ध्यानले हेर्नुभयो । सेकेन्ड सुईलाई चलाख र जाँगरिलो भन्नुभो, मिनेट सुईलाई अल्छी र घन्टा सुईलाई महालोसे । टाउको उठाउनुभयो । हप्काएको शैलीमा मलाई डाक्नुभयो । घडीको डायलभित्र फिर्रफिर्र गर्ने सुईतिर देखाउँदै भन्नुभो, “यहाँ हेर् ! तँ यो सेकेन्ड सुईजस्तै चलाख हुनुपर्छ । टाठो बन्नुपर्छ । घन्टा सुईजस्तो जिन्दगीको काम छैन ।”
बाले घडी बाँधेको ६ महिनापछि उदयपुरको दुर्गम भूगोल ठानागाउँबाट बा र मैले घर छाड्यौँ । फागुन महिना पैतालामा माटोको न्यानो स्पर्श सुरु भयो । त्यही बिहान बाले मलाई आफ्नो पछि लगाउनुभयो । मलाई समेत थाहा भएन, म कहाँ जाँदैछु ।
खाली खुट्टा बाको पछि लागेँ । हामीजस्ता केटाकेटीले चप्पल नलगाउनु चलन हो । दु:खको विम्ब होइन । मजस्ता भुराले चप्पल लगाउने चलनै थिएन । बाले आदेशको भाषामा भन्नु भो, “अहिले खाली खुट्टा हिँड् ! रिश्कु पुगेर चप्पल किनिदिन्छु ।”
आदेशमा प्रश्न हुँदैन । तर, मैले प्रश्न गरेँ, “बा हामी कहाँ जाने ?”
“अब तँ ठूल्दिदीको घरमा बसेर पढ्छस् । यहाँ स्कुल टाढा भयो । राम्रो पढाइ पनि भएन । यहाँ बसिस् भने घडीको घन्टा सुईजस्तो लोसे हुन्छस् । तँ सेकेन्ड सुईजस्तो बन्नुपर्छ ।”
“अनि, दिदी ?”
“दिदी यहीँ पढ्छे ।”
बाको त्यो घडी–चेतनाले दिदी पनि सेकेन्ड सुईजस्तै चलाख हुनुपर्छ भन्ने बुझेको भए कति जाति हुन्थ्यो !
घरमा आमा हुनुहुन्न । बिरामी भएर दाजु र आमा धरान गएको एक महिना भइसकेको छ । घरमै भइदिएको भए आमाले बालाई सम्झाउनु हुन्थ्यो कि ! ‘यिनारू सँगै जन्मे । सँगै हुर्कन्छन् । बाठो बने पनि सँगै बन्छन्, लाटो बने पनि सँगै । कान्छोसँगै कान्छी पनि सँगै जान्छे । सँगै पढ्छे ।’
मैले आमाको काल्पनिक संवाद कल्पेँ ।
यता बाको घडीले अर्ध क्रान्ति गर्यो । मलाई मात्र सेकेन्ड सुईजस्तो चलाख हुनुपर्छ भन्यो । निर्जीव घडीले समेत विभेद गर्यो । सँगै जन्मेकी दिदीलाई बाको घडी क्रान्तिले छुट्यायो ।
पहिलोपल्ट मैले खरीपाटी बोकेको स्कुल । पहिलोपल्ट बिस्कुटको स्वाद चाखेको दुकान । देवीथानबाट सिक्का चोरेर लुकाएको मुसाको दुलो आदि इत्यादि एकैसाथ छुटे । मसँग नयाँ ठाउँ जान पाउँदा खुसी हुनुपर्छ भन्ने बुद्धि थिएन । म खुसी भइनँ ।
घर ! जन्मँदै साथी भएर जन्मेकी दिदी ! धूलोमा अक्षर सिकाउने दाजुहरू ! रुँदा जे पनि पाइने आमाको काख छाडेर टाढा जाँदा दु:खी हुनुपर्छ भन्ने बुद्धि पनि थिएन । म दु:खी भइनँ । बरू, सँगै जन्मेकी दिदीले कति धेरै जानिसकिछे । उसका आँखा टिलपिल भए ।
बिहान बार्दलीपारिको हिमालमा घामले पाइला राख्नु र हामीले घरबाट पाइला उठाउनु एकैपल्ट भएको थियो । बाको घडीमा ९ बज्दा दाजुहरू पढ्ने झिल्के स्कुल पुग्यौँ । बाले भन्नुभयो, “दाजुहरू पढ्ने यही स्कुल हो । तँ यति टाढा हिँडेर कसरी आउन सक्छस् ?”
पोखरी स्कुल सकिएपछि ठानागाउँ स्कुल र ठानागाउँ पनि सकिएपछि मात्र झिल्के स्कुलको पालो आउँथ्यो । त्यतिखेरसम्म त म पनि दाजुहरूजस्तै ठूलो भइसक्थेँ । तर, बाको क्रान्तिकारी घडीले मलाई सधैँ लुरे देखिरहने भयो । मेरो ओठमा दाजुहरूको जस्तो जुँगा पनि नआउने भयो ।
“बा मधेसमा स्कुल नजिकै हुन्छ ?” उत्सुकताले सोधेँ ।
“मधेसका बाटामा उकालो–ओरालो हुँदैन । मोटर हुन्छ । साइकल हुन्छ । स्कुल पनि टाढा हुँदैन । पढाइ पनि राम्रो हुन्छ । म भिनाजुलाई भनिदिन्छु, तँ साइकल चलाउन सिक् । साइकल चढेर स्कुल जा ।”
बाले मधेसमा म सेकेन्ड सुई बन्न सक्ने कारण पनि बताउनुभयो । उहाँको घडीमा १२ बज्यो । हामी रिश्कु पुग्यौँ । बाले मलाई चप्पल किनिदिनु भो । लगाएँ । बिस्कुट किनिदिनु भो । खाएँ । म खुसी मात्र होइन, चकित पनि हुँदैछु ।
मेरो जीउले हिउँद लागेपछि पानी देखेको थिएन । तवाखोलाको जँघारमा बाले आमाले जस्तै मयल मिचीमिची नुहाइ दिनुभयो । बाको हात आमाका जस्ता नरम नहुँदा रहेछन् । अलिअलि दुख्यो । हामी पुग्दा कटारी अँध्यारोमा डुबिसकेको थियो । म थकाइले चूर थिएँ ।
म थाकेको छु, मेरो खुट्टा दुखेको छ । भोकाएको छु भन्ने बाले जान्नुभो । तर, केही सोध्नु भएन । थाहा पाएको कुरा किन सोध्नु ? यो बाको बानी होइन । मलाई घडीको सेकेन्ड सुईजस्तो बनाउने सपना देख्ने मेरो बालाई म थाकेको मन पर्दैन । यसभन्दा बढी थाकेको हेर्न नपरोस् भनेर बाले मलाई काँधमा बोकेर हिँड्नु भो । बाको सुदूर सपना म, काँधमा चढेँ । बा पनि थाक्नुभएको थियो । तर, मैले बा थाकेको थाहा पाइनँ ।
होटलमा मेरा लागि जेरी–पुरी किनिदिनुभयो । यसभन्दा अघि यस्तो स्वाद चाखेको थिइनँ । खुब खाएँ । पेट अघायो । मुख अघाएन । बाले खानु भएन । मेरो बा होटलमा खानुहुन्न । होटलवालाले एउटा कोठामा पुर्यायो, जहाँ बाबुछोरा सुत्न मिल्ने एउटा खाट थियो ।
बाले झोलाबाट चिउरा निकाल्नुभयो । पानीसँग भिजाएर खानु भयो । बाबु हुनु भनेको सन्तानलाई मिठाई ख्वाएर आफूले सुक्खा चिउरा खानु हो । मेरो बुद्धिले बुझ्यो । भोलिपल्ट बिहानै मोटर चढ् यौँ । तर, मोटर हिँड्नुअघि रूखहरू दगुरे । बालाई सोधेँ, “बा ! हाम्रो वनका रूख किन नहिँडेका ?”
बाले उत्तर दिनुअघि छिमेकी सिटको मान्छे हाँस्यो । बालाई सोध्यो, ‘दाइ तपाईंको छोरो हो यो ?’
बाले हो भन्नुभयो । मेरो उत्तर गायब भयो । बा र त्यो मान्छे गफिन थाले । अरू सिटकाले पनि सुनून् भन्ने हिसाबले बा बोल्नु भो, ‘छोरालाई मधेसमा पढाउन लिएर हिँडेको ।’
मधेस झरेको भोलिपल्ट म स्कुल गएँ । पहाडमै ४ कक्षा पास गरिसकेको थेँ । बाले मधेसको पढाइ कडा हुन्छ । ५ कक्षामा सक्दैनस् । ४ मै पढ् भन्नुभो । भिनाजुले सहमति जनाउनुभो । मैले विरोध गरिनँ । आधाजसो साथीहरूले मैले कहिल्यै नसुनेको भाषा बोल्थे ।
पहिलो घन्टीको सर आउनुभयो । दायाँबायाँ हेर्नुभो । माड्साबको आँखामा मेरो कालो अनुहार पर्यो । कालो छालालाई सजिलो हुने भाषामा गोरो माड्साबको आदेश मेरो कानमा बज्रियो, “अ बौवा जा के चाक डास्टर ले को आबा त !”
म ट्वाँ परेँ !
“तु नासुन्लै का हो ?” काम नलाग्ने सामानलाई प्रेम नगरेझैँ बिनाप्रेम मेरो कान निमोठ्नु भो । पछाडि डेक्समा बसेको साथीले नेपालीमा भन्यो, ‘सर ऊ नयाँ हो ।’ कसरी नयाँ ? कारण सोध्नु भएन ।
अन्तिम घन्टीमा एक जना दाह्री पालेको सर पस्नुभो । सरासर अंग्रेजीको मिनिङ सोध्न थाल्नुभो । कसैले सुनाउन सकेनन् । सबैले सासलाई सकेजति फोक्सैभित्र दबाउन खोजे । सरको आदेश आयो, ‘मिनिङ नसुनाई कोही घर जाँदैन । जसले मिनिङ सुनाउँछ, ऊ मात्र घर जान्छ ।’
यति भनेर सर निस्किनुभयो । बाहिरबाट ढोकाको चुकुल लाउनुभयो । सबैले न्वारानदेखिको बल निकालेर ठूलो ठूलो स्वरले मिनिङ घोक्न थाले ।
म अन्तिम डेक्समा रुन थालेँ । मसँग न मिनिङ छ, न घर जाने बाटो । अरूले मिनिङ सुनाउलान्, घर जालान् । म के गरौँला ! छुट्टीको घन्टी बज्यो । विद्यार्थीहरू प्वालबाट निस्केको छिचिमिराझैँ चउरैभरि छरिँदै घर जाने मूलबाटो पुगे । हाम्रो कक्षाचाहिँ पखेटा खसेको छिचिमिराजस्तो प्वालमै कैद भयो ।
स्कुल खाली भएपछि ढोकाको सानो प्वालबाट एक–एक गरी छिरेर सबै भागे । मैले नि उसै गरेँ । रुँदै रुँदै घर फर्कें । म यस्तो डरलाग्दो ठाउँमा कसै गरी पढ्दिनँ । बासँगै पहाड घर फर्कन्छु । तर, घर पुग्दा बा हुनुहुन्न थियो । मलाई स्कुल छाडेपछि बा पहाड फर्कनु भएछ ।
दिदी–भिनाजुको अघि त रुन पनि सकिनँ । भन्न पनि सकिनँ । राती भाग्छु भन्ने सोचेँ । जब साँझ पर्यो, मैले मधेसको अँध्यारो देखेँ । यो विशाल अँध्यारो छिचोलेर कहाँ जानू ? अँध्यारोमै खुट्टा खुम्च्याएर सुतेँ ।
बाको घडी क्रान्तिले जित्यो, मैले हारेँ । तर, पछि बाको सपनाले पनि हार्यो । म घन्टा सुईभन्दा पनि लोसे बनेँ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...