मौसमी भाषा आन्दोलन
भाषासम्बन्धी आन्दोलन जुन ध्येयका साथ चलाइए पनि छोटोछोटो समयमा नियम परिवर्तन गर्दै जाने प्रवृत्तिले भने प्रयोगकर्ताको टाउको दुखाइरहेका छन् ।
व्याकरणको पुस्तक चन्द्रिका विसं १९७१ मा बजारमा आएलगत्तै नेपाली भाषाप्रेमीमाझ खैलाबैला मच्चियो । त्यसअघि नेपाली भाषामा प्रयोग हुने सम्पूर्ण विभक्ति अलग लेखिन्थे तर चन्द्रिकाले जोड्नुपर्छ भन्ने ढिपी गर्यो । साथै, संयुक्त शब्दका अन्तिम अक्षरमा हलन्त पनि लगाउनुपर्ने फरमान जारी गरियो ।
“त्यसअघिका गोरखापत्रलाई अध्ययन गर्यो भने सबै विभक्ति छुट्याउने प्रचलन देखिन्छ,” भाषाविद् मुकुन्दशरण उपाध्याय भन्छन्, “त्यसपछि वर्षौंदेखि छुट्टिएर मान्यता स्थापित गरिसकेका विभक्ति एकैचोटि जोडिन पुगे ।”
राणा शासनको जगजगीका बेला श्री ३ चन्द्रशमशेरका बडागुरु हेमराज पाण्डेले श्री ३ बाटै लालमोहर ठोकेर प्रकाशित गरेको व्याकरणमाथि कसैले औँला ठड्याउने साहस गर्न सकेनन् । उपाध्यायका शब्दमा त्यो एक किसिमको फरमान नै थियो, त्यसैले कुनै विद्वान्ले यसका विरुद्ध चुँसम्म गरेनन् ।
कविशिरोमणि लेखनाथ पौड्यालले यसमाथि विमति राखे तर पौड्याललाई पुष्करशमशेर र बालकृष्ण समले हच्काइदिए । उनीहरूले भने, ‘कविजी तपाईंको काम कविता लेख्ने हो, भाषाको कुरामा भाँजो नहाल्नूस् !’ कविशिरोमणि भीमशमशेरको दरबारमा पण्डित्याइँ र उनका सन्तानहरूलाई शिक्षण गर्थे । त्यसैले विरोध गर्नु शिरोमणिका हकमा प्रत्युपादक हुन्थ्यो ।
त्यसपछि कविशिरोमणिले पुष्करशमशेर र बालकृष्णले भनेझैँ आफ्नो कवितामै हलन्तलाई खुत्रुक्क पारिदिए । आफ्नो प्रसिद्ध काव्य ऋतु–विचारको ‘बर्खा–विचार’ शीर्षकको कवितामा कविशिरोमणिले हेमराजको चन्द्रिकाको हलन्तलाई यसरी व्यंग्य हाने :
हेरी नसकनू पारी परखाल बडेबडे
नेपाली कविले खुट्टा काटेका वर्णझैँ लडे
यस्तै फरमान त्रिभुवन विश्वविद्यालयका तत्कालीन नेपाली विभाग प्रमुख वासुदेव त्रिपाठीले जारी गरेको आरोप लगाउँछन् उपाध्याय । ०२९ मा त्रिपाठीको नेतृत्वमा वल्लभमणि दाहालहरूको समूहले आफ्नै गुटका विद्वान्हरूबीच छलफल गरी नेपाली भाषाको मानक नियम बनाउने भनेर एउटा मस्यौदा गरे । राज्यबाट लगानी गराई राजधानीबाहिरका तीन ठाउँमा वर्णविन्यास गोष्ठी गरे । र, ०३४ मा करिब ५० वटा क्याम्पसका भाषासम्बन्धी प्रतिनिधि–प्राध्यापकहरूलाई राजधानीमा डाकेर बृहत् गोष्ठी गरे । त्यस गोष्ठीमा उनीहरूले दुई–चारवटा कार्यपत्र प्रस्तुत गरेर आगन्तुक शब्दका सुरुमा र बीचमा आउने ईकार र ऊकारलाई ह्रस्व र सबै आगन्तुक शब्दमा प्रयोग हुने ‘श’ र ‘ष’का सट्टा ‘स’ मात्र लेख्ने नियमको घोषणा गरे । अन्त्यमा त्रिपाठीले भने, ‘यस कार्यपत्रलाई प्रजातान्त्रिक अभ्यास अन्तर्गत तपाईंहरू सबैले करतल ध्वनिका साथ समर्थन गर्नुहोला ।’
उपाध्यायले यो सिद्धान्त बेठीक भयो भन्दा उनलाई पनि ‘तपाईं कवि हुनुहुन्छ, त्यसैले भाषाका मामलामा भाँजो नहाल्नूस्, बरू कवितै लेख्नूहोस्’ भने । ०४० मा त्रिपाठीको त्यही फरमानका आधारमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत् शब्दकोश प्रकाशित गर्यो । उपाध्यायका मूल्यांकनमा त्यसले नेपाली भाषालाई त गोलमाल गर्यो नै, भाषाका पण्डितहरूले त्यसको नामसमेत शुद्ध प्रयोग गर्न सकेनन् । भन्छन्, “विश्वका जुनसुकै भाषाका शब्दकोश पल्टाए पनि पहिला विशेषण आउँछ अनि नाम । जस्तै : बृहत् हिन्दी शब्दकोश, बृहत् संस्कृत शब्दकोश । तर, एकदमै भाषा नै नजान्नेले लेखेजस्तो नाममै अशुद्धीकरण गरी नेपाली बृहत् शब्दकोश नामकरण गरी प्रकाशित गरियो ।” उनले यसको पनि विरोध गरे तर उनलाई फेरि कविको पगरी गुथाइदिए ।
त्यतिबेला पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्यापनरत उपाध्यायले ०३४ मै ‘ विश्वव्यापी नेपाली एकरूपता अभियान’ चलाए । अभियानले चन्द्रिका भन्दाअघिको लेख्य भाषालाई नै मान्यता दिनुपर्ने निष्कर्ष निकाल्यो । त्यसको पहिलो प्रयोग जगदीशशमशेर राणालिखित सेतो ख्याकको आख्यानमा भयो, जहाँ लाई, ले, बाट, देखि आदि सबै विभक्ति र तिर, सम्म, तर्फ आदि नामयोगी छुट्याइएका छन् ।
चन्द्रिकापछि राणा दरबारका अर्का राजपुरोहित राममणि आदीले अर्को भाषा आन्दोलन घोषणा गरे, ‘हलन्त बहिष्कार’ । यसअघि नेपाल्, भारत्, दाल्, भात् लेखिन्थ्यो भने रामणिको आन्दोलनले शब्दका खुट्टा काट्ने प्रवृत्तिलाई पूरै बहिष्कार गर्नुपर्छ भन्ने फरमान जारी गर्यो । जस्तो : यसतो, तेससो, भनदछु, सुनदछु आदि ।
०१३ मा बालकृष्ण पोखरेल, तारानाथ शर्मा, वल्लभमणि दाहाल, गणेशप्रसाद भण्डारी, चूडामणि रेग्मी र कोषराज रेग्मीले थालनी गरेको ‘झर्रोवाद आन्दोलन’ले नेपाली भाषामा सबैभन्दा ठूलो हल्लीखल्ली मच्चायो । “म र बालकृष्ण पोखरेललाई बझाउने अभिप्रायले समूहका अरू साथीहरूले बनारसमा हाम्रो भेट गराए,” शर्मा भन्छन्, “तर, कुरा गर्दै जाँदा त हामी दुवैको अहम् भनेको त शुद्ध नेपाली भाषाप्रतिको प्रेम रहेछ, हाम्रो कुरा मिलिहाल्यो ।”
शर्मा र पोखरेलबीच केही मतमतान्तर पनि भए । शर्माले शुद्ध नेपाली प्रयोग गरौँ भने तर पोखरेलले रैथाने शब्द झर्रो नेपाली प्रयोग गर्दा उचित हुन्छ भन्ने मत राखे । शर्मालाई यस शब्दले हृदयमै स्पर्श गरेजस्तो भयो । अनि, यही शब्दलाई अस्त्र बनाएर ‘ झर्रोवादी आन्दोलन’मा होमिए ।
भारत स्वतन्त्र भएपश्चात् भारतीय नेताहरू जवाहरलाल नेहरु, राजेन्द्रप्रसाद र सीपीएन मेननको भाषणमा ‘अंग्रेजले हिन्दी भाषामा अंग्रेजी भाषालाई लादेर हाम्रो भाषा पछि पर्यो, अब हिन्दुस्तानभरि हिन्दी भाषालाई नै सर्वमान्य भाषा बनाऔँ’ भन्ने आह्वान गरे । त्यसैबाट प्रभावित भएर राष्ट्रवादी नेपाली भाषा निर्माणका लागि झर्रोवादी आन्दोलनमा लागेको शर्मा सुनाउँछन् ।
झर्रोवादी आन्दोलनअघि भाषाविद् महानन्द सापकोटाले ‘जनजिब्रोवाद’ नाम दिएर नेपाली जस्तो बोलिन्छ, त्यही रूपमा लेखिनुपर्छ भन्ने भाषिक आन्दोलन गरेका थिए । उनको पुस्तक निर्वचनको रूपरेखाले जनजिब्रोवादको वकालत गरेको छ । शिवराज आचार्य कौण्डिन्यायनले पनि ०२७/२८ तिर हिज्जेमा ह्रस्व र व्यञ्जन वर्णमा हलन्त प्रयोग गर्ने नियम समर्थन गर्दै ‘जिम्दो नेपाली’ अभियान चलाएका थिए ।
भाषामा भएको पछिल्लो अभियान हो, ‘ललितपुर घोषणापत्र– ०६८’ । शरच्चन्द्र वस्तीको नेतृत्वमा १ सय ३० जना भाषा प्रयोगकर्ताले हस्ताक्षर गरी जारी गरिएको घोषणापत्र– ०४० मा नेपाली बृहत् शब्दकोश आउनुअघि प्रयोग हुने वर्णविन्यासलाई जस्ताको तस्तै प्रयोग गरिनुपर्छ भन्ने आग्रह राखेको छ । अभियान शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले चलाएको हलन्त, ह्रस्ववाद र ‘स’ प्रयोगको विरुद्ध छ । भाषासम्बन्धी आन्दोलन जुन ध्येयका साथ चलाइए पनि छोटोछोटो समयमा नियम परिवर्तन गर्दै जाने प्रवृत्तिले भने प्रयोगकर्ताको टाउको दुखाइरहेका छन् ।
24.12°C












