इतिहासमा नलेखिएको त्यो घटना
००६ सालसम्म आफ्ना विष्टमानहरूलाई दलितले देख्नेबित्तिकै जदौ प्रभु भनेर सम्बोधन गर्नुपर्ने बाध्यता थियो । डुँड पारेर हत्केला हल्लाउनु पथ्र्यो । उनले दलित वर्गलाई खबरदारी गरे । जदौ प्रथा हटाउने अभियान पोखराबाट सुरु गरे ।
हिन्दु वर्णव्यवस्था अनुसार समाजको पथप्रदर्शन गर्ने वर्ण वा जात के हो ? उत्तर हामी धेरैको मुखमा झुन्डिएको छ, ब्राह्मण । वैदिक कालमा समाजमा दुई वर्ग मात्र थियो । दास वर्गका पक्षमा आफूलाई उभ्याएर विद्रोह गरे राजश्री विश्वामित्रले । शनु: शेपलाई मुक्ति दिलाए । अन्य ऋषिहरूको मतभेदले दास मोक्षको कार्य उच्च चर्चामा रह्यो । तर पनि उनले आफ्नो मार्ग छाडेनन् । बरू अरूलाई आफ्नो मार्गमा लगाइछाडे । कौशिकी नन्दन पहिले राजकुमार थिए । यी महर्षि पनि हाम्रा समाजशास्त्रीका शब्दमा एलिट वर्गमा पर्छन् ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान वर्ण विभेद नगरीकन सञ्चालन गरे । त्यो अभियानमा दलितले प्रयोग गरेको विवेक र सहयोगको दिव्योपदेशमा मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
राणाको शासन टिकाइराख्न राणाहरूले विभेदको सहारा लिए । त्यतिखेर शासक वर्गबाट थिचोमिचो पनि भयो । तर, दलितका लागि वेदशाला खोल्ने ब्राह्मणलाई देशनिकाला गरिएको इतिहास पनि छ ।
वार्णिक विभेद निर्मूल पार्न यहाँ निकै कठिन छ । यहाँको धार्मिक परम्परा र चलन दक्षिणको विशाल कट्टरपन्थी समाजको प्रभावमा ढलित भइसकेको छ । भूगोल नाघेर त्यो ढलान फोर्ने सामथ्र्य छैन हामीसँग । उल्टै त्यही ढलानको प्रभावबाट हामी प्रभावित भइरहेका छौँ । यहाँ खोस्रेर त्यसको प्रभाव कम हुँदैन । खोस्रिँदा नंग्रा मात्र खिइने हुन् ।
जातीय विभेद अन्त्य गर्नुपर्छ र सकिन्छ भनेर निरन्तर सामाजिक क्रान्तिको अगुवाइ गर्ने व्यक्तित्व थिए पण्डित मुक्तिनाथ शर्मा तिमिल्सिना । यही सिलसिलामा राणाकालीन राजपरिवार र समाजको चित्रण गरेर उनले लेखेको पुस्तक हो, को अछूत ? यो पुस्तक ०११ सालमा छापिएको थियो । पुस्तकमा छुवाछूतमाथि कडा प्रहार गरिएको छ । प्रहार तीक्ष्ण र तीतो छ । पुस्तक प्रकाशनमा निषेध गर्ने प्रयत्नका बाबजुद छापिएको थियो, यो पुस्तक ।
पोखरा उपमहानगरपालिका–१६, बाटुलेचौरमा बाबु हरिलाल र आमा तुलसाका सुपुत्रका रूपमा १५ असार १९७१ मा जन्मेका हुन् मुक्तिनाथ । उनी सानै हुँदा आमाको निधन भयो । टुहुरो छोरालाई कसरी पण्डित बनाउने भनी चिन्तित बनायो बाबुलाई । मेधावी छोरा आफैँले प्रयत्न गरे । बनारसबाट मध्यमा पास गरे । आखिर बाबुको चाहना पूरा गरे । हिन्दु दर्शनमा गहिरो रुचि थियो उनमा । गाउँका पण्डितहरूको हुलमा आफूलाई विशिष्ट पण्डितका रूपमा स्थापित गरे उनले ।
उनका विषयमा खत्री कान्छा (प्रेमबहादुर खत्री) भन्थे, ‘त्यस्तो मान्छे यो गाउँमा अब जन्मँदैन होला ।’ उनको शरीरमा आगो र पानी सँगै बगिरहेको हुन्थ्यो । ००६ मा पोखरा बजारमा आगो लाग्दा आगो निभाउन उनैले वचनको पानी खन्याए र एक घन्टामा गाउँगाउँबाट हजारौँ मानिसलाई झारे आगो निभाउन ।
शरीरबाट आगोको ज्वाला निकालेर राणाहरूलाई तताए, गले उनीहरू । पोखरा बजारका अग्निपीडितलाई त्यतिबेलाको तीन लाख निकासा लगेर बाँडे । ’९० सालका भूकम्पपीडितलाई रकम बाँड्ने राणाहरूलाई ‘पोखराका अग्निपीडितलाई किन सहयोग नदिने †’ भनेर अड्डी कसेर राणालाई झुकाइछाडे ।
लामो संगत गरे पनि उनलाई राम्ररी बुझ्न सकिनँजस्तो लाग्छ मलाई । चार गाउँका मान्छेलाई बोलाएर घरबारीमा २८ फागुन ००१ मा आफैँले चार घन्टासम्म हलो जोतेर मकै छरे । पेसाले सानो ठूलो हुँदैन । विभेदले मात्र सानो ठूलो गराएको हो भन्ने उनको मान्यता थियो । आफूले आफ्नो काम सकेजति गर्नुपर्छ भन्थे उनी । उनले जोतेको देखेर भलामका जिते सार्की ‘अब हामीले के काम गरेर केटाकेटी पाल्ने भनेर ह्वाँ ह्वाँ रोएका थिए रे !
राष्ट्रकवि माधव घिमिरेसँगै आधार शिक्षकको तालिम लिएका उनले पोखरामा ००४ सालमा आधार स्कुल खोले । दलितको लक्काजवान मद्मे कामी, दमाई काले र केही गाइने युवालाई दलित मुक्तिका लागि सधैँ प्रोत्साहित गरिरहे । त्यही आधार स्कुलमा साउँ अक्षर लेख्न र पढ्न सिकाए । सँगै लिएर हिँड्थे सभा/सम्मेलन गोष्ठीमा जाँदा पनि । सभामा उनीहरूको हातबाट आफू पानी पिएर अरूलाई पनि पिउन लगाउँथे ।
००६ सालसम्म आफ्ना विष्टमानहरूलाई दलितले देख्नेबित्तिकै जदौ प्रभु भनेर सम्बोधन गर्नुपर्ने बाध्यता थियो । डुँड पारेर हत्केला हल्लाउनु पथ्र्यो । उनले दलित वर्गलाई खबरदारी गरे । जदौ प्रथा हटाउने अभियान पोखराबाट सुरु गरे ।
००८ सालको कुरा हो । पोखराको नदीपुरमा राष्ट्रिय मावि खोल्न भनी केन्द्रबाट आएका नन्दलाल पाण्डेलाई गोष्ठी चलिरहेकै बेला दमै कालेको हातबाट नास्तापानी खुवाउँदा हंगामा नै भयो । तर पनि दलित मुक्तिको आन्दोलनमा लागिरहे मुक्तिनाथ ।
०११ सालसम्म सेती नदीले पोखरा बजार र उत्तरपट्टिको भेकबीच सम्बन्धविच्छेद गरिदिएको थियो । ०११ सालमा केआई सिंहलाई पुल बनाइदिन उनैले लगाए । त्यतिबेला ठूलाबडाले बोलेपछि ताली बजाउन वर्जित थियो । त्यतिबेलाका जिल्ला प्रमुख धनशमशेरलाई विन्ध्यवासिनी स्कुलको प्रांगणमा बोल्न लगाएर ताली पिटी परम्परा तोडे । उनैले स्थापना गरेको त्यो विन्ध्यवासिनी स्कुल कलेजका रूपमा परिणत भएको छ अहिले ।
०२० सालमा मुलुकी ऐन लागू भइसकेको थियो । १ भदौमा दलित मुक्ति दिवस मनाउन उकास्न थाले मुक्तिनाथले । उमंग र उत्साह भर्न थाले दलितहरूलाई । पोखराको टुँडिखेल त्यतिखेर ठूलो खाली मैदान थियो । त्यो खाली चौरमा दलितहरूले भोजको आयोजना गरे । जिल्लाभरिका भद्र–भलादमी सबैलाई निम्तो थियो । गाउँ–गाउँबाट गाजाबाजासहित दलितहरू पनि ओइरिएका थिए । खुबै रमाइलो थियो । राणाहरूको सिन्दूर जात्राजस्तै ।
भान्छा तयार भएको संकेतस्वरूप कर्नाल बजाइयो । सबैलाई खाना खान आग्रह गरियो तर आमन्त्रित भद्र–भलादमी पातलिन थालेपछि तिनलाई रोक्न लगाएर पण्डितजी बस्नुभयो पलेँटी कसेर खान । दमै, कामी, सार्की, गाइनेलगायतका दलितले पस्केर श्रद्धाले खुवाए । बाजा घन्कियो । घन्किएको बाजाको बीच नारा चर्कियो– मुक्तिनाथ जिन्दावाद ।
२० हातको नैनासुतको सेतो फेटा गुताइयो, अबिरजात्रा गरियो । काँधमा बोकेर उनलाई दलितहरूले बजार परिक्रमा गराए । पहिलो दलित मुक्ति दिवसको पोखराको त्यो दृश्य हेर्नलायक थियो । अभाव, फोहोर र मैलाको थुप्रो मानिने दलित जातिलाई ईश्वर मान्ने पण्डितजी साँच्चै नै ईश्वर बने त्यतिखेर ।
त्यतिखेर यो पंक्तिकार आठ वर्षको मात्रै थियो । गहिराको धारामा पण्डितनी बजै पानी भर्न जाँदा कसैको गाग्री छोइएछ । ल ल छोइदिइन् गाग्री भनेर भरी गाग्री मेरो नजिक एक्कासि पोख्याउँदा घट–घट–घटको आवाजले म झस्किएँ । त्यो तिरस्कारले उनको परिवारमा कुनै असर परेन । यस्ता मानवताका पुजारी पण्डितजीलाई प्रात: सधैँ सम्झनैपर्छ ।
आर्थिक सबलता र दुर्बलताका पछाडि गरिने विश्लेषणहरू कम वा अतिरञ्जित हुन सक्छन् । त्यस्ता अतिरञ्जित विश्लेषणका पछाडि कहिल्यै लाग्दैनन् कर्मठ योद्धा । सत्यमा आधारित सामाजिक सुकार्यको विश्लेषण सर्वप्रिय बन्छ ।
दलित मुक्तिको मसाल लिएर निस्कँदा मसालको तातोले पोल्छ भन्ने डरले रगतको साइनोमा आफन्त पर्नेहरूले सम्बन्ध जति पातलो बनाए पनि पातलिएको सम्बन्धको किञ्चित पर्वाह नगरी लक्ष्यको मोर्चामा डटिरहने उनको स्वभाव प्रशंसनीय थियो ।
सामाजिक पाटोमा मात्र दरिएका व्यक्ति होइनन् उनी । उनको राजनीतिक पाटो पनि उत्तिकै सबल थियो । बनारस अध्ययनका दौरानमा सामाजिक र राजनीतिक चेतना जुम्ल्याहा रूपमा मौलाएका छन् । राजनीति त्यतिबेला मात्र बलवान् बन्छ, जब यसका प्रयोक्ता नि:स्वार्थ रूपमा शक्तिशाली हुन्छन् ।
०१५ सालको निर्वाचनमा पार्टीका उम्मेदवारलाई चरा चिह्न लिएर स्वतन्त्र रूपमा चुनौती दिए उनले । झिनो मतले पराजित भए । हारजितको सवाल जीवनमा प्रवेश नै गराएनन् । राजाबाट राजसभामा निर्वाचित त भए तर नेपालको राजनीतिमा फिट हुन सकेनन् ।
कर्मले समतामूलक समाज निर्माण गर्ने उत्साह बोकेका मुक्तिनाथ नियतिले निर्णय गरेको बाटो हिँड्न बाध्य थिए । अन्तत: ०४६ सालमा हामीबाट सधैँका लागि बिदा भए ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...