अनुभूति» द लास्ट बेन्चर
कुनै बेला जंगबहादुर यो मुलुकको पहिलो बेन्चमा । त्यसपछि राणाहरूको लामो लस्कर । शाहवंशका राजाहरू । बहुदलका नेताहरू । अहिले गणतन्त्रका नेताहरू । पहिलो बेन्चका मानिसहरू सबै लास्ट बेन्चर का हितका कुरा गर्छन् ।
आम जनताको स्थान भनेको सबैभन्दा पछाडि हो अर्थात् लास्ट बेन्च । कक्षाकोठामा सबैभन्दा पछिल्लो बेन्चमा बस्ने विद्यार्थीलाई हेयको दृिष्टले हेरिन्छ, व्यवहार गरिन्छ । अरू त अरू हिजोआज जन्म दिने र प्रेमपूर्वक नि:स्वार्थ रूपमा हुर्काउने आमा–बाले समेत आ–आफ्ना छोराछोरी लास्ट बेन्चमा बसेको मन पराउँदैनन् ।
आफ्ना कक्षाकोठाका सबैलाई समान व्यवहार गर्नुपर्ने, पछिल्लो बेन्चमा बस्नेलाई अझै बढी ध्यान पुर्याउनुपर्ने शिक्षकले समेत लास्ट बेन्चर मन पराउँदैनन् । कक्षाका विद्यार्थीहरूको सफलताको सम्पूर्ण जिम्मा शिक्षकले लिनुपर्नेमा शिक्षकले नै पक्षपातपूर्ण व्यवहार गरेपछि विद्यार्थीहरूको मनमा कति बिझ्ने होला !
मैले भने मेरी आमाबाट पाएको शिक्षा अलग छ । मेरी आमा परिवारको नातिनीबुहारी भएर भित्रिनुभयो संयुक्त परिवारमा र खेल्ने, कुद्ने, गीत गाउने रमाइलो गर्ने उमेरमा गर्नुभयो बुहार्तन । दिनभरि भान्सामा । कि खाना पकाउने कि भाँडा माझ्ने ! एक अन्पेड लेबोर । तर, त्यहाँ पनि हुनेरहेछ सिक्ने कुरा । आमाले पहिलो बेन्चमा बस्न कहिल्यै उत्साहित गर्नुभएन । बरू सिक्न सहयोग गर्नुभयो । मलाई बाह्रखरी सिकाउने आमा नै हुनुहुन्थ्यो ।
ऊ बेलाको अक्षर बोल्ने र लेख्ने पहिलो सुरुआत थियो– न म बा गी स्व रा य । अनि, मात्र क ख ग घ क्ष त्र ज्ञ को पालो आउँथ्यो । न म बा गी स्व रा य को सात अक्षर पढ्न सिकाउनुभयो । राती बत्ती नभएका बेलामा आमासँगसँगै बोलिरहनुपथ्र्यो । काठको पाटीमा दाउरा बालेर आएको कोइला पिँधेर र पानी मिसाएर लेदो बनाएर काठको पाटी कालोपाटी बन्थ्यो र त्यसमा चार लाइन लेखिसकेपछि सकिन्थ्यो । आमाले यसरी अक्षर लेख्न सिकाउनुभयो ।
आमाले सिकाउने कुरा थियो : कहिल्यै झगडा नगर्नू, एक वचन सहनू, कसैले एक लात नै हाने पनि सहेर फर्कनू । आफैँ राम्रो पढ्नू तर पहिलो लाइनमा बस्ने प्रतिस्पर्धामा नलाग्नू ।
आमाको त्यो वचन मेरो व्यवहारमा यसरी बस्यो कि मैले साधारणतया पहिलो लाइनको कुर्सीमा बस्न कहिल्यै प्रयत्न गरिनँ । फेरि कहिल्यै लास्ट बेन्चर पनि भइनँ । तर, मलाई जहिले पनि लास्ट बेन्चरप्रति चिन्ता भइरह्यो ।
कसैले आममान्छेको कुरा गरेपछि, आमसमस्याको मुद्दा उठाएपछि त्यसै मजा लाग्छ । हो, आममान्छेको हितमा निर्णय ।
हिजोआज धेरै कार्यक्रममा निम्तो आउँछ । धेरैजस्तो निम्तो दर्शक र श्रोता हुने नै निम्तो आउँछ । दर्शकदीर्घामा पनि पहिलो लाइनमा बस्दा ठूलो मान्छे देखिन्छ । मानिसहरू हतारहतार सबैभन्दा अगाडिको लाइनमा बस्छन् । कोही अलि झगडा गरेर, आयोजकलाई खुसामद गरेर सके ड्यासमै पुग्छन् ।
त्यो तँछाडमछाड पछाडि बसेर हेर्न एक किसिमको मजा आउँछ मलाई । हिजोआज त सबैभन्दा पछाडि बस्दा अझै मजा लाग्छ । किनभने, पछाडिकै मान्छेले सानो मसिनो कुराका लागि गरिएका मानिसहरूका तिगडम, प्रयास आदि देख्न पाइन्छ । केही कार्यक्रमको आयोजक आफू हुँदा घुमाउरो प्रस्ताव आउँछ– ड्यासमा राख्ने हो भने, बोल्न दिने हो भने कार्यक्रममा आउने हो ।
***
म सानै छँदा एउटा हिङको टालो थियो, द्वारेको नाति, वास्तवमा म द्वारेको नाति होइन पनाति हुँ । कीर्तिपुर र वरिपरिका गाउँ मात्र होइन, काठमाडौँ पश्चिम भेगका धेरै गाउँका अन्दाजी ४० नाघिसकेका अलि पाका उमेरका मानिसहरू भन्थे, ‘द्वारेको सन्तान’ ।
हुन पनि मेरा जिजुबाजे तुइसिँ कीर्तिपुरका कुनै समयका प्रभावशाली द्वारे हुनुहुँदो रहेछ । बिहान सबेरै कीर्तिपुर घरमा भेट्न आउनेहरू नै धेरै हुन्थे रे ! सबै जग्गाजमिनको रेकर्ड राख्ने हिजोआजको मालपोत कार्यालय नै द्वारेको घरमा हुन्थ्यो । त्यतिखेरको प्रशासनिक निकाय नै द्वारे हुने रहेछ । सरकारमा बुझाउने पोत द्वारेमार्फत नै हुन्थ्यो । धेरैले कीर्तिपुर द्वारेको घरमै आएर कुत बुझाएका रहेछन् । त्यो एकल व्यक्ति कति शक्तिशाली हुन्थ्यो, त्यो मैले देख्न पाइनँ ।
मैले बाल्यकालमा कुरा बुझ्ने हुँदासम्म द्वारे प्रथा हटिसकेको थियो । मैले पढ्ने विद्यालयको पाठमा बहुदलीय शासन, राणा शासन र द्वारे प्रथाको विरोधमा लेखिएको थियो । पञ्चायती व्यवस्था निर्विकल्प हो भनेर पढ्नुपथ्र्यो । द्वारे प्रथा हटिसकेको दशकौँ बितिसक्दा पनि द्वारेको चर्चा भइरहनु मेरा लागि अनौठो विषय थियो ।
म अलि बुझ्ने उमेरको भइसक्दा द्वारेका बारेमा चर्चा गर्नेहरूसँग नै सोध्न थालेँ, ‘तपाईंहरू किन अहिले पनि द्वारेकै कुरा गर्नुहुन्छ ?’ उहाँहरूको जवाफ हुन्थ्यो, ‘किन नगर्नू नि ! हामीले कुत बुझाउन, न्याय निसाफ माग्न, झैँझगडा/विवाद मिलाउन र ढिलो भएका बेला त्यतै खाना खाने घर थियो । कोही पनि भोकै नपरून् भन्नुहुन्थ्यो द्वारे बाले ।
हामी जति खेतमा, घरमा काम गथ्र्यौं, त्यत्तिकै द्वारेका परिवार पनि काम गर्थे । हाम्रो त द्वारेको परिवारप्रति ठूलो श्रद्घा पो थियो त ! तिम्रा आमा–हजुरआमाहरूले त दिनभर खाना र खाजा बनाइरहनुहुन्थ्यो । द्वारेका छोरा, नाति खेत खन्न हिँड्थे । कम्ता गाह्रो छैन द्वारे हुन ।’ यो त थियो त्यतिखेरका रैतीका कुरा ।
द्वारेका परिवारभित्र अर्कै झमेला थियो । काम विभाजनको, सम्पत्तिको, व्यवसायको । मेरा बा जो द्वारेको जेठा छोराका छोरा, प्रिय नाति, जसलाई आफैँले खोजेर सानै उमेरमा बिहे गरिदिएका– पारिवारिक राजनीतिको कोपभाजनमा पर्नु भो !
सबै छोरा–बुहारीलाई छोडेर नाति र नातिनी–बुहारीलाई द्वारेले गरेको माया नै विष भो । यिनका विरुद्घमा यति कुरा सुनाइयो कि द्वारे हजुरबा र नातिबीच सम्बन्धविच्छेद भयो । मेरा बाले पारिवारिक झमेला सहनुभन्दा घरबाट निस्कनु श्रेयस्कर ठान्नुभयो । १५ वर्षको उमेरमा बा, आमा, दुई भाइ र श्रीमतीसहित एक कञ्चो दाम पनि सम्पत्ति नलिईकन द्वारेको व्यावसायिक घरकै सामुन्ने एक सानो घरमा डेरा सर्नुभयो । १५ वर्ष उमेरको विवाहित केटो बाआमा, दुई भाइ र श्रीमतीसहित घर छोडेकै दिन केमा पकाएर के खाने भन्ने प्रश्न उठ्ने भो ।
अर्थात् मेरा बाले फस्ट बेन्चको वैभव छोडेर लास्ट बेन्चरको बाटो रोज्नुभयो । त्यस्तो बेला बाले रोज्नुभएको पेसा थियो तोरीको तेलको उत्पादन र बिक्री ।
तेलको उत्पादन भनेर हिजोआजजस्तो आधुनिक एक्सपेलर वा घानी थिएन ऊ बेला । दुई मुढाको बीचमा तोरीलाई पिनेर, भुटेर, छाला वा पाताको थैलीमा हालेर पेल्ने कोल थियो । त्यसका लागि निकै शारीरिक मिहिनेत र व्यावसायिक ज्ञान जरुरी हुन्थ्यो । त्यसपछिका दिनहरूमा बाले कति गल्ती, कति सही, कति दु:ख, कति सुख बेहोर्नु भो कुन्नि, उहाँले दुई भाइलाई आफ्नो खुट्टामा उभ्याउनु भो, हामी नौ दाजुभाइ, दिदीबहिनीको राम्रै शिक्षा दिएर स्वस्थ हुर्काउनु भो । अहिले फर्केर हेर्दा यस्तो लाग्छ– बा पनि द्वारेकै सम्पत्ति कुरेर बस्नुभएको भए नयाँ सोच, नयाँ सम्भावनाको खोजी नै गर्नुहुने थिएन ।
सम्पत्ति र बौद्घिकताको राम्रो परिचालन गर्न सके मान्छे अगाडि बढ्छ । सम्पत्ति र बुद्घि कुरेर अड्डी लिने व्यक्ति पोखरीझैँ जम्छ । उसो त एकै थलोमा जम्न पाएकामा गौरव गर्नेहरू पनि छन् । मलाई बाले बग्न नै सिकाउनुभयो र म तीव्र बगाइमा नै आफूलाई आनन्दित हुने अनुभव गरेको छु ।
***
कुनै बेला जंगबहादुर यो मुलुकको पहिलो बेन्चमा । त्यसपछि राणाहरूको लामो लस्कर । शाहवंशका राजाहरू । बहुदलका नेताहरू । अहिले गणतन्त्रका नेताहरू । पहिलो बेन्चका मानिसहरू सबै लास्ट बेन्चरका हितका कुरा गर्छन् । लास्ट बेन्चरहरू पत्याइदिन्छन् । पहिलो बेन्चमा पुगिसकेपछि फेरिन्छन् ।
समयक्रममा पहिलो बेन्चका पात्रहरू वंशका हिसाबले, जातका हिसाबले, लिंगका हिसाबले, धर्मका हिसाबले फेरिँदा छन् । तर, आमलास्ट बेन्चरको स्थितिमा भने खासै परिवर्तन भएको छैन । बरू, पहिलेभन्दा जेलिँदै गएको छ । लास्ट बेन्चरहरू अगाडिका चर्तिकला नियाल्दै छन् ।
बुझ्नुपर्ने हो, लास्ट बेन्चर छ र फस्ट बेन्च छ । आमलास्ट बेन्चरको विकासले नै मुलुक जुरुक्क उचलिने हो । लास्ट बेन्चरको जय होस् !
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...