पोखरा दर्शन
पोखरा घुम्ने नेपाली पर्यटकलाई ‘मान्छे’कै रुपमा गणना गरेर कुनै सार्वजनिक सवारीले ‘पोखरा दर्शन’ नामक कार्यक्रममार्फत पोखरा घुमाउला ?

‘यतिखेर तपाईंहरुले देखिरहेको यो कलेज, जहाँ आशिकी फिल्मको सुटिङ भएको थियो । त्यो बेलादेखि यहाँ पढाइ कम आशिकी धेरै भइरहेको छ ।’ ढोकामा उभिएका सुनिलले माइकबाट हिन्दीमा यसो भनेपछि बसभरिका भारतीय पर्यटक गलल्ल हाँसे ।
मैले पनि झ्यालबाट विल्सन कलेज हेरेँ । र, सम्झिएँ– आफू नारायणगढको ‘ठूलो बालकुमारी’ स्कुुल पढ्ने बेलाको चर्चित आशिकी फिल्मताकाको चहलपहल । कक्षामा ‘फुच्ची’ उपनामले परिचित म त्यतिबेला यस्ता कुरा मेसो पाउँदिनथेँ । सिनियर दाइ, दिदीहरु र कक्षाकै केही साथीहरु पनि हातमा ‘आशिकी’ लेख्थे । शुभकामनास्वरुप पोस्टकार्ड पठाउने चलन रहेको त्यो समयमा आशिकीका पोस्टकार्डहरु धेरै बिकेका थिए । मैने प्यार कियाबाट सलमान खानका ‘फ्यान’ बनेका मेरा साथीहरु केही महिनाको अन्तरमै आएको आशिकीको ‘ आशिकी—कट’वाला राहुल रायले झन् ठूलो मोहनी लगाएपछि इन्तु न चिन्तु बनेका थिए । स्कुलभरि, बजारभरि आशिकी कट देख्दा लाग्थ्यो, योबाहेक अरू ‘कट’ काट्न नारायणगढका सैलुनहरुलाई प्रतिबन्ध लगाइएको छ ।
०६९ को माघमा म भारतको मुम्बईमा थिएँ, एउटा कोर्स गर्ने सिलसिलामा तीन महिनाका लागि । मंगोलिया, ताजकिस्तान, बंगलादेश, जोर्डन, म्यानमार, श्रीलंकालगायतका देशका साथीहरुसँग पहिलोपटक मुम्बई भ्रमण गर्दै थिएँ, ‘मुम्बई दर्शन’ नामक यात्रा गराउने बसमा चढेर ।
सुनिललाई ‘मेरा साथीहरु हिन्दी बुझ्दैनन्, अंग्रेजीमा नि भन है’ भनेकी थिएँ । ‘मलाई अंग्रेजी आउँदैन, तपाईं मसँगै बसेर साथीहरुलाई सम्झाउनूस्,’ उनले माइक दिँदै ‘सिरियस्ली’ नै भने । प्रतिव्यक्ति दुई सय रूपियाँको टिकट अघिल्लै दिन फोनबाट ‘बुक’ गरेपछि हामीलाई बान्द्राको हिलरोडबाट ‘पिक अप’ गरेको नीता ट्राभल्सले मुम्बई दर्शन गराएको शुल्कचाहिँ प्रतिव्यक्ति ३ सय ६० रूपियाँँ लियो । नीता ट्राभल्सजस्ता थुप्रै अरु निजी कम्पनी थिए मुम्बई दर्शन गराउने । सरकारी बसको मुम्बई दर्शनको मूल्यचाहिँ २५ बाट बढेर ४० भएको छ भनेर मलाई त्यहीँको आईआईटी क्याम्पसमा सपरिवार बस्ने कलेज पढ्दाकी साथी सुमनले सुनाएकी थिई ।
प्रमुख पर्यटकीय सहर भनेर चिनिने पोखरामा १५ वर्षअघिदेखि मेरो बसोवास छ । यस्तै ‘पोखरा दर्शन’ कार्यक्रम पनि भइदिए ? जम्मा ५ सय ६० (अझ ४०) रूपियाँँमा दिनभरि पोखरा घुमाउने यस्तै बस हुनु, घुम्न आउने पर्यटकका लागि कति सुखद कुरो हुँदो हो । हामी त झन् ‘भैँसीले पनि अंग्रेजी बोल्न जान्ने’ सहरका मान्छे । पोखरा घुमाउने कुनै नेपाली सुनिललाई भाषाको समस्या पनि हुने थिएन । पोखरा आएपछि फेवातालदेखि महेन्द्र–चमेरे गुफा र पाताले छाँगोदेखि सराङकोट र बेगनास तालसम्म एकै दिनमा एउटै बसले घुमाइदिने दिन आउला कहिल्यै ?
एउटा कार्यक्रममा पोखरा उपमहानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृतसँग पत्रकार मोहन मैनालीको प्रश्न थियो, ‘मैले एउटा पत्रिकामा पोखराको जुन ठाउँबाट खिचिएको भनेको हिमालको दृश्य देखेँ, आफू आएका बेला त्यही ठाउँबाट फोटो खिच्न खोज्दा हिमालको त्यस्तै दृश्य देखिनँ नि ?’ अधिकृतले जवाफ दिए, ‘अब हिमाल हेर्न मन लागे जहाँबाट देखिन्छ, त्यहीँ जाने, के गर्ने !’
उनको भनाइ अनुसार पोखरामा अब बन्ने घरको उचाइको नयाँ मापदण्ड १७ मिटर हो । किनभने, जहाँ अब जम्मा २० प्रतिशत मात्र खाली जमिन बाँकी छ, त्यहाँ अग्ला घर बन्न रोकेर के गर्ने, कहाँ बनाऊ भन्ने । मैले भनेँ, ‘ल यस्तो पनि कहीँ भन्ने कुरा हो ? त्यसो भए फेवाताल मिचेर घर बनाउन दिने र ताल हेर्न मन लागे नैनीताल जाऊ भनिदिने ? हरेक सहरलाई चिनाउने विशिष्ट विशेषता हुन्छन्, जसरी (भारतको) जयपुरलाई पिंक सिटी भनिन्छ ।’
इतिहास अनुसार सन् १८७६ मा ब्रिटेनकी महारानी भिक्टोरिया र उनका पति भारत भ्रमणमा आएका बेला जयपुरका महाराजा रामसिंहले सिंगो जयपुर सहरलाई गुलाबी रंगमा रंग्याइदिए, गुलाबी रंग उत्कृष्ट आतिथ्यको प्रतीक हो भन्ने विश्वासका आधारमा । ऊ बेलादेखि अहिलेसम्म राजस्थानको राजधानी जयपुरमा यो प्रचलन कायमै छ । यता पोखरामा चाहिँ ‘कुनै जमानामा ३५ फिटभन्दा अग्ला घर बनाउन नपाइने प्रावधान कसले बनायो, त्यसको कुनै आधिकारिक जानकारी दिने प्रामाणिक कागजपत्र आफूले फेला नपारेको’ भन्दै गरेका कार्यकारी अधिकृतको भनाइ सुन्दै छु म । पोखराको मुख्य ‘प्रोपर्टी’ अन्नपूर्ण हिमशृंखला र माछापुच्छ्रेको दृश्य हरेक घरबाट देख्न पाइयोस्, हिमालहरु नछेकिऊन् भनेर कुनै बेला पोखरामा ३५ फिट (कतैकतै ४५ फिट पनि) भन्दा अग्ला घर बनाउन नपाइने नियम थियो भन्ने सुनिन्छ । पुराना घरको डिजाइन हेर्दा त्यस्तै देखिन्छ पनि ।
अब कार्यकारी अधिकृतले नै आधिकारिकता फेला नपारेको भनिसकेपछि यही नियममा आँखा गाडेर हिमाललाई घरैबाट हेर्ने आश गर्नु त बेकार भयो नै । उहिल्यैदेखि केही ‘गन्यमान्य’हरुले फेवातालसमेत मिचेर त्यहाँ ‘पर्यटन व्यवसाय’ गरिरहेका छन् भन्ने चर्चा पनि छ । भोलि कुनै अर्को कार्यकारी अधिकृतले ‘जग्गा पुगेन, त्यसैले फेवाताल किनारको मापदण्ड पनि बदलिदिएँ’ भनिदिए के गर्ने होला ? कत्रो रहला फेवाताल ? तालमा देखिने हिमशृंखलाको छायाको कति अंश देखिएला र कति अंश बिलाएर जाला ? फेवाताल पुरिए वा हिमाल छेकिए के देखाउने पर्यटकलाई ? अथवा यी रहे नै पनि हामीले पोखरामा देखाउनलायक अरु केही थप चीज छन् कि छैनन् ? पोखरा देखाउने/चिनाउने अरु तरिका पनि होलान् कि नहोलान् ?
मुम्बई दर्शनमा सुनिलले हामीलाई जानकारी दिए अनुसार जम्माजम्मी २० वटा ‘स्पट’ देखाइनेवाला थिए । कुन ठाउँमा कतिबेर गाडी रोकिनेवाला छ भनेर पनि उनी पहिल्यै भन्दिन्थे । हामीलाई उनले सुरुमै भनिसकेका थिए, ‘तपाईंहरु ६० जना हुनुहुन्छ, एक जनालाई दुई मिनेटको दरले मात्रै पनि पर्खिनपर्यो भने हामी १ सय २० मिनेट ढिला हुन्छौँ । त्यसैले आइनपुगेकालाई छोडेर अघि बढ्नेछौँ ।’ हामी उनले भनेको समयअघि नै गाडीभित्र छिरिसक्थ्यौँ । सुनिलले भनेका थिए, कैयौँ स्पटमा ‘रनिङ दर्शन’ गराइनेछ । गेटवे अफ इन्डिया, जुहु बीच, मरिन ड्राइभ, महालक्ष्मी मन्दिरलगायतका छ–सात ठाउँमा मात्रै गाडी रोकियो । रनिङ दर्शनको मतलब रहेछ झ्यालबाट ठाउँहरु देखाइदिने ।
ल हेर्नूस्, बायाँतर्फको सिद्धिविनायक मन्दिर । ल हेर्नूस्, प्रसिद्ध जसलोक अस्पताल । अस्पतालसँगैको यो लता मंगेशकरको घर हो । सुनिलका यस्ता घोषणासँगै हामी झ्यालबाट मुन्टो निकालेर मुम्बईको रनिङ दर्शन गथ्र्यौं । जब सुनिल सेलिब्रिटीहरुका घर देखाउँथे, झ्यालबाट निस्कने दर्शनार्थीहरुका टाउकाका संख्या अचानक बढ्थे । जस्तो कि : विनोद खन्ना, राजेश खन्ना वा संसारकै सबभन्दा धनीमध्येका एक मुकेश अम्बानीको ३३ तले घर आदि । मरिन ड्राइभमा हामीले चढेको मोटरबोट अभिनेता सुनिल सेट्टीको हो र उनले समुद्रको कति हिस्सा जमिन ओगटेर आफ् नो व्यवसाय गरिरहेका छन् भनेर पनि उनी हामीलाई बताउँथे । ‘ह् यांगिङ गार्डेन’मा बस किन नरोकिदिएको भनेर रोएको एक जना बच्चालाई त उनले ‘एकछिनमा शाहरुख खानको घर देखाइदिन्छु’ भनेर समेत चुप लगाए ।
मुम्बई बसुन्जेल ट्याक्सीमा हिँड्दा ड्राइभरहरु हामीलाई भन्थे, ऊ हेर्नूस् ‘जलसा’, अमिताभ बच्चनको घर, ठीकअगाडिको चाहिँ शिल्पा सेट्टीको है । अभिताभ बच्चनको बंगला आफैँमा एउटा ‘टुरिस्ट स्पट’ हो । केही वर्षअघि एउटा पत्रिकाले छापेको थियो बच्चन प्रत्येक बिहान ८ बजे बच्चन सुरक्षाकर्मीहरुका साथ ब्याडमिन्टन खेल्न निस्कन्छन्, निस्कनुअघि नै घरअगाडि जम्मा भइसकेका ‘ फ् यान’हरुतिर हात हल्लाउँदै ।
आफ्ना सहरका घरलाई समेत ‘ब्रान्डिङ’ गरेर यसरी चिनाउने लोभलाग्दो तरिकाले मलाई बारम्बार पोखरा फर्काउँथ्यो । १५ वर्षअघि आफू पोखरा आउँदा बगरस्थित पृथ्वीनारायण क्याम्पसको माथिल्लो गेटनजिक मेरो डेरा थियो र तरकारी किन्ने ‘मार्केट’ थियो बगरकै ट् याक्सी चोक । साँझपख तरकारी बेच्ने–किन्नेहरुको भीडबाट अलिकति छेउ लागेर उभिएका हुन्थे लेखक सरुभक्त । अचम्म लाग्थ्यो । नयाँ दुलहीका रुपमा पोखरा भित्रिएकी म सरुभक्तसँग बोल्ने हिम्मत थिएन । पछि थाहा पाएँ, सरुभक्तको घर पुग्न ट् याक्सीचोकबाट दुई मिनेट मात्रै लाग्दो रहेछ । बगरबाट डेरा सरेपछि जुन घरमा बस्यौँ, त्यसको ठीकपछाडि भूपी शेरचनको भव्य घर रहेछ मोहरिया टोलमा ।
भूपीको त्यही घरमा नारायणगोपाल–पेमला ६ महिना बसेका थिए र यहीँको अमरसिंह स्कुलमा पढाउँथे भन्ने कतै पढेकी थिएँ । साँझपख म घरको छतमाथि उक्लेर भूपीको घरतिर हेर्दै कल्पना गर्थें, नारायणगोपाल पेमलासँगै घरको आँगनमा बसेको वा बाहिरबाट दुई जना घरतिर आउँदै गरेको दृश्य । म त्यतिबेला स्कुल पढाउँथेँ । सोच्थेँ, ‘कैयौँ वर्षअघि भूपीको त्यही घरबाट नारायणगोपाल पनि हस्याङफस्याङ गर्दै अमरसिंह स्कुलका लागि निस्कँदा हुन् सवा या साढे ९ बजेतिर ।’ बगर—बागबजारमा सरुभक्तको घर, नजिकैको नदीपुरमा कलाकार दुर्गा बराल वात्स्यायनको घर, रामकृष्ण टोलमा हरिदेवी कोइरालाको अनि बाटुलेचौरमा धर्मराज थापा र झलकमान गन्धर्वको घर ।
रामकृष्ण टोलकी हरिदेवी कोइरालाको घरपछि नदीपुरमा वात्स्यायनको चित्र कोर्ने कोठाको झ्याल हेरीकन मोहरिया टोलको भूपीको घरको आँगन हुँदै बगर बागबजारको सरुभक्तको घरसम्म हिँडेरै पनि घन्टाभरमा पुगिन्छ । अर्को घन्टाभरमा बाटुलेचौर पुगिन्छ, जहाँबाट धर्मराज थापा र झलकमान गन्धर्वले उरालेको लोकभाका देशैभरि गुन्जेको थियो । त्यस्तो दिन कहिल्यै आउला, पोखरा घुम्ने नेपाली पर्यटकलाई ‘मान्छे’कै रुपमा गणना गरेर कुनै सार्वजनिक सवारीले ‘पोखरा दर्शन’ नामक कार्यक्रममार्फत पोखरा घुमाउला ? पोखराको ‘रनिङ दर्शन’ गराउँदै भन्लान्, ‘ऊ हेर्नूस् धर्मराज थापाको घर ।’ त्यतिखेर प्रत्येक बर्खामा रेडियोमा घन्किने ‘हो हो माले’युक्त बाल्यकालमा कति जना फर्केलान् ? विदेशी भूमिमा लडाइँमा मारिएको लाहुरेको अन्तिम बोलीलाई ‘आमैले सोध्लिन् नि खै छोरा भन्लिन्’ जस्तो गीतमार्फत कालजयी बनाइदिएका झलकमान गन्धर्वको घर हेरेर कति जना भावुक होलान् ? के आउला त्यो दिन जब विदेशिएका लोग्नेले छुट्टीमा घर आएका बेला सँगै ‘पोखरा दर्शन’ गराइरहँदा बसबाट हरिदेवी कोइरालाको घर देखाइयोस् र पत्नीचाहिँलाई आफैँले गाएजस्तो लागोस् ‘पाइन खबर घर फर्की आउनुहोस् मेरो हजुर ।’
‘ल हेर्नूस् सरुभक्तको घर !’ कुनै दिन गाइडले यसो भन्दै गर्दा बसभित्रका यात्रुले ‘पागल बस्ती’ पढ्दाताकाको चरम निराशाका दिन सम्झेलान् ? सम्भव छ, पोखरा दर्शनको बस दुर्गा बराल ‘ वात्स्यायन’को नदीपुरस्थित घरअगाडिबाट गुड्दै गर्दा उनले घरको बरन्डाबाट कुचीसहित हात हल्लाउलान् र यात्रुले वर्षौंदेखि उनले कोरेका सटीक कार्टुनहरुलाई याद गरुन् ? के गुड्ला कुनै दिन पोखराको मोहरिया टोलबाट पोखरा दर्शनको बस र उराल्लान् झ् यालबाट भूपी शेरचनको घर हेर्ने यात्रुहरुले एकै स्वरमा उनको कविताको शीर्षक ‘यो हल्लैहल्लाको देश हो’ ?
(लेखकलाई ट्विटरमा पछ्याउनुहोस् »»» @saabitrigautam)