[संस्मरण] चोखा रोटीले दिएको सन्तुष्टि
फेरि पानी मागौँ भने सासू रिसाउँछिन् । नरिसाउने श्रीमान् मुम्बई छन् ।रात पर्नै लाग्दादेखि उनलाई तिर्खाले प्याकप्याक बनाएको थियो । बिहानदेखिको कोदोको चिसो रोटी पनि निल्न सकिनन् ।
सुरुमै उनले अनौठो कुरा सुनाइन् ।
१२ वर्षकी पुतली, पुतलीजस्तै राम्री थिइन् । ६ कक्षा पढ्थिन् । भर्खर छाउ भएको थियो । तर, उनले छाउ भएको लुकाइन् । त्यसैले मनमा डर लाग्दै थियो ।
उनी किताब च्यापेर स्कुल जाँदै थिइन् । अचानक बाटोमा सर्प देखिन् । सर्प उनको गोडैनेर थियो । एकदम ठूलो सर्प । त्यति ठूलो सर्प उनले आजसम्म देखेकी थिइनन् ।
चिच्याउन खोज्दा शब्द नै फुटेन । हिँड्न खोज्दा पाइलै चलेन । उनी टक्क रोकिइन् । सर्प पनि टक्क रोकियो । उनले सर्पलाई हेरिन्, सर्पले पनि उनलाई हेर्यो । सर्पका आँखा बाख्राका जत्रा थिए । अहिले पनि आँखा चिम्लिएर सर्पका ती ठूलठूला आँखा सम्झँदा झन् ठूलठूला हुँदै जान्छन् ।
एकैछिनमा सर्प उनलाई केही नगरी सुसाउँदै पानी बगेझैँ झाडीतिर गयो । उनी स्कुलतिर गइन् ।
बेलाबेला उनको मनोलोकमा सर्पका आँखा बत्तीझैं बल्न थाले र ती आँखाले भूतले झैँ तर्साउन लागे । त्यस्तो बेला उनी ठाउँको ठाउँ रूखजस्तो स्थिर हुन्थिन् र डरलाई पैतालामुनि राख्न खोज्थिन् ।
स्कुलबाट फर्केपछि उनले आमालाई वृत्तान्त सुनाइन् । आमाले भनिन्, ‘तेहाँ नागको थान छ ।’
केही सोचेझैँ फेरि सोधिन्, ‘कतै तुँ छाउ भयाकी त छैनस् ?’
उनले ढाँटिन्, ‘छैन ।’
तर, उनलाई मनमा लाग्यो, मैले ढाँट्न नहुने थियो ।
***
उनीसँग अर्को पनि अनौठो छ :
स्कुल सँगै पढ्ने उनकी एउटी साथी थिइन् । कक्षामा बस्दाबस्दै उनलाई छाउ भयो । उनी उठ्न सकिनन् । लाज भयो । कसैले थाहा नपाउने गरी केही समयपछि हेर्दा त बेन्चमा रगतैरगत भएको रहेछ ।
उनले त्यस घटनालाई चाहेर पनि लुकाउन सकिनन् । कक्षामा सबैले थाहा पाए । उनलाई सहानुभूति र सहयोगको खाँचो थियो तर उनलाई धेरैले ‘छाउपडी’, ‘छाउपडी’ भनेर जिस्काए । उनलाई मरेतुल्य भयो ।
घर फर्कंदा पनि बाटोमा केटाहरूले जिस्काए :
‘स्कुलमा छाउ भयाकालाई पढ्न आउँदैन ।’
‘स्कुल सरस्वतीको मन्दिर हो, यहाँ छाउ हुनुहुँदैन । मन्दिर जुठो हुन्छ ।’
‘छाउ भयाकाले किताब पनि छुनु हुँदैन । अब तुँलाई देउता आउँछ ।’
त्यसपछि उनी रुँदै कसैको मुख नहेरी छाउपडी गोठमा पुगिन् र पुतलीसँग भनिन्, ‘म अब बाँच्दिनँ, मर्छु !’
उनी बरको रूखमा झुन्डिएर मर्न तयार भइन् । पुतलीले हारगुहार गरिन् । उनका काकाले थाहा पाए र बचाए । काकाले भने, ‘को हो तुँलाई गिज्याउन्या म ठीक पार्छु । तेरो सरहरूसँग पनि कुरा गर्छु ।’
काकाले सम्झाइबुझाइ गरेपछि उनी ठाउँमा आइन् । त्यसपछि उनी छाउपडी गोठमा गएर बसिन् । एक महिनासम्म स्कुल गइनन् ।
***
कैलाशखोलामा पानीघट्ट थियो । १४ वर्षे किशोरी पुतली मकै पिस्न गएकी थिइन् । त्यहीँ छाउ भयो । उनको नजिकै बसेर मकै पिसिरहेकी दमिनीआमालाई उनले आफू छाउ भएको कुरा भनिन् । त्यसपछि त के चाहियो र ! दमिनीआमा काम्न पो थालिन् र उनलाई सराप्नु सरापिन्, ‘तुँ छाउ भयाकीले छोइस् । पख्लिस् ! तँलाई थारो नबनाई छोड्दिनँ ।’
दमिनीआमालाई देउता चढेको रे ! अरूले सम्झाए, ‘किन रिसाउनुहुन्छ आमा ? उसले जानीजानी छोएकी होइन । गाली नगर्नूस्, छोड्दिनूस् ।’
उनको रिस अझै मरेको थिएन, भनिन्, ‘यसले मसँग माफी माग्नुपर्छ ।’
उनलाई साह्रै नरमाइलो लाग्यो । घर गएपछि बुबालाई सुनाइन् । उनका बुबाले सम्झाउँदै भने, ‘यो सब अन्धविश्वास हो । यस्ता कुरामा चिन्ता लिनुपर्दैन र धामीकोमा जानु पनि पर्दैन ।’
त्यसपछि उनी ढुक्क भइन् ।
***
पुतलीभन्दा जेठी उनकी साथी थिइन् । उनले बिहे गरिन् । पुतलीलाई पनि बिहे गर भनेर उक्साइन् । बिहे भएकी साथीले राम्रा र महँगा गहना र लुगा लगाएको देखेर उनलाई पनि लोभ लाग्यो । बिहेपछि त साँच्चै सुख हुन्छ जस्तो लाग्यो ।
उनलाई एउटा केटाले खुब पछ्याउँथ्यो । बाटो कुरीकुरी भन्थ्यो, ‘म तिमीलाई मन पराउँछु, बिहे गरौँ ।’
उनले अस्वीकार गर्दै आएकी थिइन् । केटालाई भनेकी थिइन्, ‘म अहिले बिहे गर्दिनँ । मलाई भोलि पाल्ने हो कि नाइँ ? राख्ने हो कि नाइँ ?’
उसले खुब विश्वास दिलायो, कसम खायो र पछ्याइरह्यो । त्यसपछि पुतलीले उसैसँग १४ वर्षकै उमेरमा भागी बिहे गरिन् । ०६० फागुनमा बिहे भयो । दुई महिनापछि वैशाखमा त उनका श्रीमान् मुम्बई गए । त्यसपछि उनका दु:खका दिन सुरु भए ।
ससुरा रक्सी खुब खान्थे र मात्थे । सासूको मुख छुच्चो थियो । एक दिन पुतली दाउरा लिन वन गएकी थिइन् । साँझ दाउराको भारी घर लिएर आउँदा त खै किन हो, उनका ससुराले रक्सी खाएर उनीसँग झगडा गरे । उनलाई नरमाइलो लाग्यो । घर बस्नै मन लागेन । कसैलाई केही नभनी उनी माइततिर हिँडिन् ।
जति अगाडि बढ्यो, उति उनको मनमा कुरा खेल्दै गए । आधा घन्टा जति हिँडेपछि उनी टक्क रोकिइन् । आफैँसँग भनिन्, ‘यसरी भागेर माइत गएपछि फेरि फर्केर कुन नाकले घर आउँछेस् ?’
त्यसपछि उनी फरक्क फर्किन् र घर आइन् ।
***
छाउपडी गोठमा पानीको अभाव हुन्थ्यो । अरूले जति दिए त्यत्तिमै चित्त बुझाउनुपथ्र्यो । घरभन्दा परको गोठ उनलाई सासूले दिएको एक लोटा पानी साँझ पर्नै लाग्दा सकियो । त्यति पानीले हात धुने कि मुख धुने ? तिर्खा मेट्ने कि फोहर पखाल्ने ?
फेरि पानी मागौँ भने सासू रिसाउँछिन् । नरिसाउने श्रीमान् मुम्बई छन् ।
रात पर्नै लाग्दादेखि उनलाई तिर्खाले प्याकप्याक बनाएको थियो । बिहानदेखिको कोदोको चिसो रोटी पनि निल्न सकिनन् । तिर्खासँगसँगै रात पर्यो । रातको अँध्यारो उत्कर्षमा पुग्यो । तिर्खा पनि उत्कर्षमा पुग्यो ।
कुकुरहरू पनि निदाएजस्तो भयो । एकदम सुनसान । उनले तिर्खा खप्नै सकिनन् । धेरै टाढा भएकाले रातको समयमा छाउहरू जाने धारोमा जान सम्भव थिएन । छाउहरूलाई निषेध गरिएको धारोमै गएर पानी ल्याउन मन लाग्यो उनलाई । अँध्यारोलाई छाम्दैछाम्दै उनी लोटा लिएर धारोमा पुगिन् । पानी थाप्ने बेलामा टक्क रोकिइन् । कता–कता लाग्यो, कतै छाउले छोएर धारो सुक्ने त होइन ? यो झिनो प्रश्नलाई पन्छाएर उनले पानी थापिन् । घटघट पानी पिइन् । उनलाई अमृत पिएजस्तो भयो ।
त्यही पानीसँग कोदाको रोटी पनि खाइन् । त्यसपछि उनी खुट्टा खुम्च्याएरै मस्त निदाइन् ।
झिसमिसेमै उनका आँखा खुले । खुल्नेबित्तिकै उनका आँखा त्यही धारोतिर परे । छाउले छोएको धारो कसरी सुक्दोरहेछ भनेर हेरिरहिन् ।
गृहिणीहरू पानी भर्दै थिए । धारोबाट उसरी नै पानी झरिरहेको थियो । सुक्दै सुकेन ।
***
दुई वर्षपछि उनका श्रीमान् मुम्बईबाट घर आए । उनको सुखदु:ख सुनिदिने मान्छे भयो । श्रीमान् भन्थे, ‘धेरै दु:ख नगर ।’
तर, उनलाई दु:ख गर्न मन लाग्छ । दु:ख गरे भविष्य राम्रो हुन्छ । उनका तीन सन्तान छन् । ०६५ सालमा पहिलोपटक छोरी जन्मेकी थिई अनि छोरा ।
अहिले उनी र उनका श्रीमान् भएर अछामको वयलपाटामा होटल थापेका छन् । त्यो होटल सानो हो । तर, त्यो ठाउँका लागि सानो होइन ।
होटलमा किसिम किसिमका मान्छे खाजा र खाना खान आउँछन् । एक दिन एक जना धामी सेतो पगडी गुथेर आए । झट्ट हेर्दा उनी टाढैबाट आएजस्ता देखिन्थे तर उनले सोधिनन् । भोक र थकाइले लखतरान भएका जस्ता देखिन्थे । यसबारेमा पनि उनी केही बोलिनन् । किनभने, होटलमा यस्ता कुरा सोधिँदैन ।
उनी अरूलाई खाजा दिँदै थिइन् । टुसुक्क कुर्सीमा बसेर धामीले साधे, ‘केही खाने कुरा पाइन्छ ?’
उनले भनिन्, ‘पाइन्छ ।’
फेरि सोधे, ‘छाउ त भयाकी छैनौ ?’
उनलाई अलिअलि रिस पनि उठ्यो । खाजा बाँडिरहेको मान्छेलाई के छाउ भएको छ कि छैन भनेर सोधेको होला ? उनलाई भनिदिन मन लागेको थियो, ‘छाउ भएको भए खाजा बाँड्थेँ त ?’
तर, उनले त्यसो भनिनन् । सकेसम्म विनम्र भएर यसो भनिन् तर ढाँटेर भनिन्, ‘छैन नि बा ।’
धामीले विश्वास गरिहाले । खाजा बाँडिरहेकीले कसरी छाउ भएकी छु भन्ने ? सत्य नबोल्दा उनलाई कताकता डर पनि लाग्यो । किनभने, उनलाई देउतामा विश्वास छ । धामीमा पनि अलिअलि विश्वास छ । धामीले केही गरिदिने पो हुन् कि ? धामीले त देउता जगाउन सक्छन् । धामीका देउता रिसाउने पो हुन् कि ?
धामीले पसिना पुछ्दै भने, ‘तेसो भए चोखा गरेर रोटी–तरकारी बनाइदेऊ ।’
उनले खुब सफा र मिहिनेतसँग बनाएको रोटी र तरकारी धामीको अगाडि टेबलमा राखिदिइन् । धामीलाई रोटी–तरकारी दिँदा उनले आफ्ना हातलाई काम्नबाट जोगाउन खुब मिहिनेत गर्नुपर्यो ।
देउता आउने धामीले ‘ढाँटे पनि छाउ भएको थाहा पाए के गर्नू ? यहीँ काम्न थालेँ भने झन् के हाल होला ? आफ्नो व्यवसाय नै डुब्छ ।’ उनको मुटु जोडजोडले धड्किइरह्यो ।
उनले अरू काम गर्दैगर्दा पनि धामीतिर नजर दिइरहिन् । धामी बडो मीठो मानीमानी खाँदै थिए । दुइटा रोटी र तरकारी थपे पनि । खाइसकेर सन्तुष्ट बोलीमा उनले भने, ‘साह्रै मीठो खाना दियौ । भोकले आँखै धमिलो देखेको थिएँ, बल्ल आँखा खुले । थकाइ पनि मर्यो । बल पनि भरियो ।’
यति भनेर उनले कलकल पानी खाए । त्यसपछि गए । धामी गएको उनले परसम्म हेरिरहिन् । कतै केही पो हुने हो कि ? तर, केही भएन । अलि पर पुगेपछि धामीलाई देउता पो चढ्ने हो कि ? तर, चढेन । हेर्दाहेर्दै धामी उनको आँखाबाट ओझेल परे । पछि धामीलाई केही भएको पनि थाहा पाइनन् । उनलाई पनि केही भएन ।
बेलाबेलामा उनी आफूले पकाएका चोखा रोटीले सन्तुष्ट भएको धामीको अनुहार सम्झिरहन्छि । यस्ता घटना बेलाबेलामा उनको होटलमा भइरहन्छन् ।
***
०७१ सालबाट उनी छाउपडी गोठमा बस्दिनन् । घरमा बस्ने हो भने त अझै पनि बस्नुपर्छ । किनभने, उनका सासू–ससुरा कट्टर छन् । तर, बयलपाटामा उनी श्रीमान् र छोराछोरीसँग छिन् । छाउपडीको मामलामा उनका श्रीमान् उनीभन्दा उदार छन् ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...