म रामदैया चाटवाला
नमस्ते हजुर ! चिन्नुभएन ? म रामदैया चाटवाला । नेपालगन्जको त्रिभुवन चोकमा चाटको ठेला लगाएर बस्छु नि, हो उही । अझै चिन्नुभएन ? हत्तेरी ! मेरो हातको चाट खाएको भए न थाहा हुन्थ्यो ।
नमस्ते हजुर ! चिन्नुभएन ? म रामदैया चाटवाला । नेपालगन्जको त्रिभुवन चोकमा चाटको ठेला लगाएर बस्छु नि, हो उही । अझै चिन्नुभएन ? हत्तेरी ! मेरो हातको चाट खाएको भए न थाहा हुन्थ्यो । नेपालगन्जको त्रिभुवन चोक आउनूस्, तब तपार्इंलाई खुवाउनेछु मेरो ताबाको तात्तातो टिकिया, ‘खट्टामिठा’ पानीपुरी, देशी दहीबडा, पिरो कचालु, नमकिन खस्ता, चट्ट परेको टमाटर चाट, अरू के के भनम् ? भन्दै गयो भने तपार्इंको आजको खाना खल्लो भइहाल्ला । यतिमै रोक्छु ।
यति सब भनेपछि पुरानाभन्दा पुराना नेपालगन्जियाले र्याल नटप्काऊन्, यो हुनै सक्दैन । र, यहाँ आएर मेरो ठेलासम्म नआऊन्, त्यो पनि हुनै सक्दैन । बस्, एउटा मान्छेलाई छाडेर । अरे हाम्रा सुशील दाइको कुरा गर्दै छु । उही सुशील दाइ के, सुशील कोइराला । अब देशकै सुशील दा’ भएपछि यता कमै आउनुहुन्छ । अनि, यहाँ आएर सालको पत्तामा चाट थोडै चाट्नुहोला, होइन त ? तैपनि, कुनै गुनासो छैन ।
उसो त यहाँबाट जित्ने सासंद वा मन्त्री जोकोही होऊन्, हामीलाई कसैसित न केही आश छ, न केही गुनासो । ४० डिग्रीको गर्मीमा लो भोल्टेजले ग्रस्त भइरहने यो सहरलाई आखिर कसैले केही गर्ने होइन । वैशाख–जेठमा दुई–तीन दिन बत्ती नआउँदा सिमेन्टीको पक्कामा पानीले भिजाउँदै सुत्ने भाग्य हामीलाई जो जुरेको छ ।
गर्मी होस् वा जाडो लाग्ने त एउटै घाम हो । तर, गर्मीमा यहाँ यस्तो लाग्छ, घाम एउटा होइन, दुई–दुइटा लाग्छन् । एउटा थाप्लोमा, अर्को तालुमा । बरू यो खुर्सानी सुकाउने घामलाई सोलार पावरमा प्रयोग गरे गर्मीमा केही राहत त हुन्थ्यो । त्यसैले त हामीलाई संघीय शासन व्यवस्था चाहिएको हो । आठवटा प्रदेशमध्ये कुनै एउटा प्रदेशको सहर बनेपछि बल्ल मन्त्रीस्तरको ध्यान जाला यहाँको विकासमा । त्यो पनि आश गरेका चाहिँ छौँ, भर परेका छैनौँ ।
त्यतिन्जेल चर्चा हुने भनेको नेपालगन्जका मेयर र उपमेयरहरूकै हो । के गर्ने मेरो ठेलावरिपरिको माहोलै त्यस्तो छ । प्राय: ठेलाको चाट खानुपर्यो भने ग्राहकले उभिएरै खानुपर्छ । मैले के गरेँ भने ‘फस्टकिलास’को बेन्च राखिदिएँ । मेरो र सुलेमानको ठेलाको बीच । सँगैको ठेलामा सुलेमानले देशी अन्डा र चिया बेच्छ । के गर्ने हजुर, बसेर खाने सुविधा भएपछि ग्राहकले गरमागरम चिया र चाटसँगसँगै राजनीति पनि घुसाउन थाले । गपिँmदै जाँदा तिनीहरूका कुरामा यस्तो लट्टा पर्न थाल्छ । उनीहरूको घम्साघम्सी सुन्न कम्ता मजा आउँदैन । यही बेला कुनै ग्राहकले ‘भैया तनि खट्टा डाल्देओ थोडा प्याज कम गरदेओ’ भन्दा कत्ति झर्को लाग्छ भने... ।
खुबै चर्चा हुने गर्छ, पहिलेका फलानो मेयरले चिल्ड्रेन पार्क र रानी तलाउ भन्दै एडीबीको पैसा खन्याएर देशलाई ऋणमा डुबाएको विषयबारे । त्यही जमानाको तिलानो उपमेयरले नगरपालिकाको जमिनलाई आफ्नै नाममा गरेको कुराले पनि तताएकै हुन्छ । त्यति मात्र हो र फराकिलो बनेको न्युरोडको जग्गाको भाउ अकासिएको पनि चर्चा हुन्छ ।
भन्न खोजेको मेरो ठेलामा चर्चा मन्त्री र सांसदको भन्दा स्थानीय प्रतिनिधिकै बढ्ता हुन्छ । त्यही भएर नेपालको संविधान–२०७२ मस्यौदाको सुझाव संकलन गर्न आउँदा भनिदिएँ, पहिला त छिटोभन्दा छिटो स्थानीय निकायको चुनाव गरवाउ अनि मस्यौदामा वडाध्यक्ष चुनिनुनपर्ने प्रावधानलाई हटाऊ । चुन्ने अधिकार भएपछि न मैले भन्न पाउनेछु, टोलको बाटो ठीक गर भनेर । खाल्डाखुल्डीमा ठेला गुडाउँदा पानीपुरीको पानी छचल्किएर कम्ता गाह्रो हुन्न ।
म त भन्छु, प्रधानमन्त्रीलाई पनि प्रत्यक्ष रूपमा चुन्न पाउनुपर्यो । नत्र फेरि अहिलेकै हाल हुन्छ । बरू आफ्ना ठेलाका ग्राहकमध्ये कसलाई बढी प्याज चाहिन्छ, कसले ‘मीठा’ थपेर खान्छ भन्ने जानकारी मलाई हुँदो हो । तर, ‘सुधारिएको संसदीय व्यवस्था’ हुने हो भने प्रधानमन्त्रीको नाम सम्झिन पनि सुलेमानको स्मरणशक्तिको भर पर्नुपर्ला ।
रे दैया कुरा कहाँबाट कहाँ पुग्यो, पत्तै पाइनँ । सदरलाइनबाट ठेला निकालेर त्रिभुवन चोक जाँदै हुन्छु, बीचबीचमा रोक्दै हिँड्नुपर्छ । रोक्दै, बेच्दै, ठेला सार्दै, हिँड्नु त मन लाग्दैन । तर, ग्राहक भनेका भगवान् हुन् । उनीहरूलाई कसरी भनिदिउँm, त्रिभुवन चोक आउनु उतै ‘खट्टामिठा’ थपेर खानू, अहिले मलाई सरासर जान देऊ । फेरि उता ढिलो पुगे सुलेमान अन्डावालाले कचकच गर्न थाल्छ । भन्छ, छिटो आउने भए आऊ, नत्र घमन्जा–पकौडी बेच्नेहरूबाट ठाउँ बचाउन सक्दिनँ ।
धत्तेरी ! के भन्दै थिएँ, कहाँ अड्किहालेँ !
अँ म कुरा गर्दै थिएँ सुशील कोइरालाको । त उनी मेरो ठेलामा चाट खान नआए नआऊन् । उनका ‘जनता’ त आइराख्छन् । ‘जय श्री राम’ झन्डाधारी, चारतारा झन्डाधारी, हँसियाहथौडा झन्डाधारी, मशाल झन्डाधारी सबका ‘जनता’ मेरो ठेलामा आई पानीपुरी पच्काएर जान्छन् । उनीहरूबाटै थाहा पाएको हुँ, यसपालि सुशील दाइले नेपालगन्जवासीको भोट पाएको कारण । एउटा कारण पार्टीले प्रधानमन्त्रीका रूपमा अघि सारेकाले पनि हो अरे ! उसो भए बाँके जिल्लामा सुशीलको देन भनेको उनको पदबाहेक अरू केही होइन त ?
कोही क्षेत्र नं ३ मा आयो भने हामी भन्ने गर्छौं– उनी हाम्रै क्षेत्रका हुन् । अर्को जिल्ला जाँदा हामी प्रधानमन्त्रीका क्षेत्रका हौँ भनेर चिनाउने गर्छौं । हुन त उनी नेपालगन्जका स्थानीयका लागि दाइ हुन् । उनलाई घेरेर बस्नेका लागि दा’ हुन् । हाम्रा बप्पाजस्ता बूढापाकाका लागि सुशील बाबु हुन् । राप्तीपारिका गाउँ देहातका लागि भैया हुन् ।
मेरा लागि चाहिँ उनी सुशील कोइराला मात्र हुन् । न दादा न भैया । तीनपटकमा मैले उनलाई दुईपटक मात्र भोट दिएको छु । ०४८ को बेला कांग्रेसको लहर थियो, दिनु परिहाल्यो । यसपालि भने मेरा साथी सुलेमान अन्डावाला र कल्लु रंगरेज टाँगावालाका लागि भनेर भोट दिएको हुँ । भोट दिएर हारेको भएचाहिँ यस्तो लाग्दैनथ्यो पक्का ! लाग्छ, ससुरी आफ्नै कारणले हारेका हुन् । जे होस् यसपालि जब सुशील कोइराला मेरै भोटले जिते (भनुम्), तब मलाई भेट्नु मन लाग्यो । भेटेर भनूँभनूँ लाग्यो, दाइ ! तपार्इंलाई भोट मैले पनि दिएकी हुँ ।
हनुमान गढीको कसम, आजसम्म जो जोलाई भेटेको छु सब भन्छन् उनी बडा सन्काहा छन् रे † हाम्रै प्यारेलाललाई लिइहाल्नूस् । बिचरा चुनावमा कम्ता खट्यो । खट्यो मात्र होइन, ‘जंग और प्यार मे सब जायज हे’ भन्दै हिँड्यो । कुरो के भन्दा ऊ पेट्रोल खर्च माओवादीबाट लिन्थ्यो, भित्रभित्रै प्रचार सुशीलको गर्दै हिँड्थ्यो । किन यस्तो गरेको भन्दा भन्थ्यो, तिनीहरूको लुटेको पैसा हो । खराब थोडै गरिराछु । सत्कर्ममा लगाइराखेको छु । कमसेकम कामरेडहरूको हातमा लागेको जनयुद्धको रगत पेट्रोलले पखालिराखेको छु ।
खुराफातीले यति सब धर्मकर्म गरेर सुशीललाई जिताउन त जितायो । त्यसपछि थाहा छ, के भयो ? काठमान्डु गएर दुई हात जोरेर भन्यो, सुशील दाइ एउटा नौकरी लगाइदिनूस । बडा जोरले गुर्राएर उनले भने रे, देशको विकास हुने काम लिएर आउनू, नत्र यहाँ आउँदै नआउनू । ‘लो करलो बात †’ अमिताभ बच्चनले नमकहलालमा भन्नेजस्तो भन्नु मन लाग्यो । सुशीललाई भेट्न बिचरालाई नेपाल विकास हुने योजना लिएर जानुपर्ने भयो । बोर्डरपारि रुपैडिहाको रामजानकीबाट इन्टर पास गरेको प्यारेलाई बडा ठूलो जिम्मेवारी आइलाग्यो ।
काठमाडौँमा नेताजीसितको भेट सम्झेर आफ्नै घरअगाडिको नालीमा थुक्दाथुक्दा झन्डै प्यारेलालको थुक सकिन लागेको । धन्न धबलशमशेरको राप्रपामा लाग्यो । उही धबलशमशेर जो गएको चुनावमा सुशील कोइरालासित मात्र १ हजार ९ सय भोटले पछि पर्न गए । नत्र त बागेश्वरी मन्दिरको त्रिशूल डामेको साँढेको दिन आउनै लागेको थियो । त आजकल प्यारेलालले उनैको धर्मकर्म सम्हालिराखेको छ । तर, धेरै दिन छैन त्यसको पनि । धबलशमशेर हिजो एमालेमा थिए, आज राप्रपामा छन्, पर्सि के थाहा माओवादीमा गइहाल्लान् । तब कामरेड प्यारेलालको हात कसले पखाल्ने हो कुन्नि !
नेताजीहरूको पिछलग्गू बन्दा कसैकसैलाई फाइदै हुँदो हो । तर, प्यारेलाललाई फापेन । धन्न मलाई चाहिँ राजनीतिको ग्रहण लागेको छैन । म मामुली रामदैया चाटवाला यसैमा ठीक छु । मलाई नलागे पनि यो सहरलाई चाहिँ लागिराख्छ बेलाबखत ग्रहण । कहिले धर्मको ग्रहण त कहिले जातीय ग्रहण । त्यसैले त मैले बप्पाले झैँ गाईलाई भोट दिइनँ । न मैले वनवारीलाल पानवालाले भनेर पशुपति मिश्राको तमलोपालाई भोट दिएँ । अघि नै भने नि सुलेमान र कल्लु रंगरेजलाई सम्झेर यसपालि कांग्रेसलाई भोट दिएँ । सुशील कोइरालालाई होइन ।
तिनीहरू दुवै मुसलमान हुन् । क्षेत्र नं ३ को मुसलमान भोट निर्णायक हो, यहाँको चुनावका लागि । तपार्इंलाई थाहा छ कि नाईं, चुनावको एक दिनअघि यहाँ ‘कत्ल की रात’ भन्ने गर्छन् । अर्थात्, एक रातअघि मात्र पक्कापक्की हुने गर्छ मुसलमानको भोट कसलाई जाने हो ? सुलेमान र कल्लुलाई कांग्रेसमा न धर्मको गन्ध आएजस्तो लाग्यो, न जातीय ग्रन्थी पाएजस्तो । त्यही भएर उनीहरूले कांग्रेसलाई रोजे । अनि, मलाई पनि ठीक लाग्यो । थिनलाई त एमाले पनि थियो, यही मापदण्डको । तर, नजित्नेलाई भोट दिएर के फाइदा !
नेपालगन्जमा ०४९ र ०५४ सालमा हिन्दु–मुसलमान दंगा भड्किसकेको हो । त्यस बेलादेखि यहाँको धार्मिक सद्भाव खलबलिएको हो । यसमै थपियो ०६३ पुसको पहाडी–देशी दंगा पनि । सुन्छु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर थरुहट हुने रे ? यो कुरा मेरो ठेलामा घमन्जा खाने पत्रकार विहारी शर्माले भन्दै थिए । उनी गएपछि मैले सोचेँ, अब यो सहरले थारु र गैरथारुहरूको पनि टकराव सहनुपर्ने हो ? यही सब सोचेर हामीले सन्काहा नेतालाई भोट दिन बाध्य भयौँ ।
यो कदापि नसोच्नु होला म कांग्रेसी हुँ । म एमाले पनि होइन । न हुँ माओवादी, मधेसी दल समर्थक । म त पाँच वर्षमा एक दिन मात्र शक्तिशाली हुन पाउने जनता हुँ । यसपालि कुनै दल वा नेतालाई मैले भोट दिएको कारण म उनको समर्थक भएर होइन । मैले भोट दिएको हो, धर्मनिरपेक्षता र जातीय समानतालाई ।
भविष्यको सोचेर नै मैले मस्यौदा संविधानमा सुझाव दिँदा भनेँ, हामीलाई नेपालगन्ज मध्यपश्चिमकै ठूलो सहर बनेको हेर्न मन छ । त्यसका लागि सर्वप्रथम धार्मिक र जातीय सद्भाव चाहिन्छ । तर, सहिष्णुताका नाममा जसरी गणतन्त्र आउनुभन्दा पहिले हामी मधेसी र मुसलमान दुप्केर बस्ने गथ्र्यौं, त्यस्तो अवस्था हामीलाई अब मान्य छैन । आफ्नो पहिचानमा गर्व गर्न पाउने वातावरणमा हामी सास फेर्न चाहन्छौँ । त्यस्तै गर्विलो हुन पाऊन् यहाँका थारुहरू पनि । अनि, यी सबै हुँदैमा यहाँका पहाडीहरू पनि खुम्चेर बस्न नपरोस् । यसका लागि हामीलाई जातीय समानता चाहिन्छ । त्यो कसरी हुन्छ हजुरहरूको जिम्मा !
मानिलिउँm यहाँ एकल जातिका आधारमा प्रदेश बन्यो रे र ‘खुदानाखास्ता’ ०६३ सालमा झैँ यहाँका मधेसीलाई लक्षित गरेर ‘देशी चोर नेपालगन्ज छोड’जस्ता नारा लाग्यो रे † त्यतिबेला हामीले के गर्ने ? पूर्वका मधेसीहरूको एक प्रदेशमा बसाइँ सरेर जाने ? कि यो सहर र प्रदेश कुनै एउटा जाति वा धर्मको होइन भनेर कसैले भन्ने ? अहिले नै सोचौँ, जे सोच्नुपर्ने हो । तपाईंलाई बताइदिउँm, एक दिनअघि व्यापार संघको एक सदस्यले मेरो ठेलामा खस्ता खाँदै मस्यौदा संविधानमा सुझाव लिन टोली आउँदै छ भनेर के भनेका थिए, भोलिपल्टै म ठेला नलगाई हाप्दैझाप्दै पुगेर आफ्नो विचार राखिहालेँ ।
अब हेर्न बाँकी छ, हाम्रो आवाजको सुनुवाइ हुन्छ कि हुँदैन ।
यति नै हो रामदैया चाटवालाको बकबक । यति सुनिदिनुभयो, जय होस् हजुरहरूको । अँ त जाँदाजाँदै भनिहालूँ, मैले निम्तो त दिएँ चाट खान । तर, त्रिभुवन चोक आउनुभयो भने सालिक खोज्दै नआउनु होला । हाम्रो चोकमा हिजोआज त्रिभुवनको सट्टा नेपालको झन्डा फरफराइरहेको छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...