भूमण्डलीकरण बहस
पुस्तक नेपाली राजनीतिमा जबर्जस्त रूपमा देखापरेको पहिचानको राजनीतिको प्राज्ञिक, बौद्धिक र राजनीतिक अन्तर्य खोतल्न सफल पनि छ ।
वैकल्पिक चिन्तन तथा परम्परायुक्त सोचको द्वन्द्वका कारण विश्वकै आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तन एवं चिन्तन प्रक्रियाको नयाँ विषय बनेको छ– भूमण्डलीकरण । यसको प्रभाव सर्वव्यापी रहेको चर्चा पनि भइरहेको छ ।
अमर गिरी भूमण्डलीकरण र साहित्यमा माक्र्सवादी सौन्दर्य चिन्तनको आलोकमा वैश्विक परिवर्तनको संवाहक बनेको भूमण्डलीकरण नामको चर्चित विषय र विचारमाथि मन्थन गर्छन् । भूमण्डलीकरण सुन्दा जति प्रिय र उदात्त लाग्छ, भोग्दै जाँदा यसमा जटिलता र क्रूरताका अनेक आयाम देखिन्छन् । यसको अन्तर्यमा रहेको पुँजीवादी वैश्विक आक्रमण जति पेचिलो छ, विचार, दर्शन र चिन्तनमा यसले सिर्जना गर्ने भ्रम, विखण्डनकारी सोच र अन्योल अझ डरलाग्दो छ । विचारहीनताको वकालत गर्ने, परम्परागत नैतिक मापदण्डलाई निषेध गर्ने र वैश्विक एकता र समष्टि विचारलाई खण्डित गर्ने तहसम्म यसको हस्तक्षेप फैलिएको छ । भूमण्डलीकरण साहित्य, संस्कृति र परम्परागत चिन्तनको विकल्प खोज्ने तथा विखण्डनलाई बढावा दिने पछिल्लो समयको शक्तिशाली हतियार त हो नै राष्ट्रियता, वैकल्पिक सोच र यथार्थवादी जीवनदृष्टिलाई निषेध गर्दै अघि बढेको पुँजीवादी विचार प्रणालीको नयाँ हस्तक्षेप पनि हो ।
गिरीले भूमण्डलीकरणसँग जोडिएर देखापरेका उत्तरआधुनिक पहिचानको राजनीति, उपभोक्तावाद, सांस्कृतिक अध्ययन, बजार, नारीवादी आन्दोलन र भाषा–साहित्यको माक्र्सवादी सौन्दर्य दृष्टिसँगको सम्बन्धलगायतका व्यापक क्षेत्रमा कलम चलाएका छन्, यस पुस्तकमा । बदलिएको विश्व–सन्दर्भ र सांस्कृतिक अन्योलको यस कालखण्डमा माक्र्सवादविरुद्ध अनेक पक्ष र क्षेत्रबाट हुँदै गरेको आक्रमण र त्यसको प्रतिरोध तथा प्रत्याक्रमणका वैचारिक सन्दर्भहरूलाई पुस्तकमा गहिरोसँग नियाल्ने प्रयास गरिएको छ ।
पुस्तक नेपाली राजनीतिमा जबर्जस्त रूपमा देखापरेको पहिचानको राजनीतिको प्राज्ञिक, बौद्धिक र राजनीतिक अन्तर्य खोतल्न सफल पनि छ । माक्र्सवादले जाति, भाषा, क्षेत्र, लिङ्ग, सूचना र संस्कृतिसँगै पहिचानलाई पनि कसरी हेर्छ र राजनीतिमा पहिचानको हस्तक्षेपले के कस्तो असर उत्पन्न गर्छ भन्ने विषयको राम्रो अध्ययन गर्छ । दलित, जनजाति, आदिवासी, नारी समुदाय आन्दोलनमा सामेल भएपछिको राजनीति र त्यस समुदायको जागरणबाट नेपाली राजनीति, समाज र अर्थतन्त्रमा प्रभावका विषयमा पनि अध्ययनको सरोकार रहेको छ ।
उत्तर आधुनिकतासम्बन्धी गहन अध्येताका लागि यो पुस्तक उपयोगी हुन सक्छ । गिरीको लक्ष्य खास गरी उपभोक्तावाद, पहिचान, नारीवाद र बजारजस्ता विषयमा भूमण्डलीकरणको दबाब र पहुँचबारे गहिरो दृष्टि राख्ने नै हो । माक्र्सवादी राजनीति, साहित्य र संस्कृतिमा स्वयं संलग्न उनको भूमण्डलीकरणप्रति आलोचनात्मक दृष्टि रहेको छ तर उनको विवेचना एकांगी छैन । भूमण्डलीकरणका सम्भावना, जटिलता र संकटबारे गिरीको अध्ययन आधिकारिक र प्राज्ञिक छ । सन्दर्भलाई पुष्टि गर्न प्रयोग गरिएका उद्धरण मात्र होइन, गोचर मतमतान्तर पनि सबैजसो लेखमा स्पष्ट रूपमा देख्न सकिन्छ । खास गरी माक्र्सवादी साहित्य सिद्धान्त, पहिचानको राजनीति र साहित्य, रूप र सारमा उत्तरआधुनिकतावाद, सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणामा गिरीको दृष्टिकोण, विवेचना र विश्लेषण बेजोड रहेको छ ।
समकालीन विश्वमै चर्चामा रहेको भूमण्डलीकरणका सहयोगी विचारहरू, तिनले पुँजीवादी र माक्र्सवादी चिन्तनमा दिएका चुनौतीहरू र समकालीन साहित्य–संस्कृतिको अनुसन्धान, सिर्जनात्मक साहित्य र साहित्यिक सांस्कृतिक चिन्तन प्रक्रियामा पारेका प्रभावहरूको गहिरोसँग विश्लेषण गरिएको छ । पहिचानको माक्र्सवादी अवधारणा मात्र होइन, व्यक्ति, लेखक, चिन्तक र विचार समूहका वैकल्पिक चिन्तन पनि गिरीको चिन्तनभित्र पर्छन् । अनुसन्धानको संरचनामा रहेको यो पुस्तक आधिकारिक लाग्छ ।
भूमण्डलीकरणको इतिहास निकै उतार–चढावपूर्ण र विवादास्पद छ । सन् १९१७ मा सम्पन्न सोभियत समाजवादी क्रान्तिले पुँजीवादको विस्तारलाई गहिरोसँग चुनौती दियो र यसको निर्बाध यात्रामा गहिरो प्रश्न उठाइदियो । प्रथम र द्वितीय विश्वयुद्धसँग मिसिएर आएका औद्योगिक क्रान्ति र वैज्ञानिक आविष्कारहरूको कल्याणकारी प्रवेशले पुँजीवादको विकासमा सहयोग पुर्याए पनि प्रतिरोधको पक्ष पनि कमजोर थिएन । झन्डै १० हजार वर्षको सभ्यताको एकपक्षीय व्याख्याको प्रतिरोध गर्न माक्र्सवादी विश्वदृष्टि पनि शक्तिशाली तर्क बोकेर उपस्थित भयो । भूमण्डलीकरणको मानवद्वेषी बुल्डोजरका विरुद्ध लड्ने एक मात्र प्रतिरोधी विचार माक्र्सवादले नै यसको निर्बन्ध यात्रामा रोकावट पैदा गर्यो । यस पुस्तकलाई अनेक परिवर्तन, दुर्घटना, आक्रमण–प्रत्याक्रमण, विस्तारवादी हस्तक्षेप, फासीवादी रुझान र मानवीय प्रतिरोधका अनेकन् परिघटनाको कारक र साक्षी बनेको भूमण्डलीकरणको एकपक्षीय प्रभाव र दबाबको प्रतिरोध गर्ने माक्र्सवादी दृष्टिकोणको रूपमा हेर्नु युक्तिसंगत हुन्छ । विश्वमै भइरहेको तीव्र विकास, वैज्ञानिक उन्नति, सूचना र सञ्चारमा भएको अभूतपूर्व प्रगति, कल्याणकारी राज्यको अवधारणा, एक कुनाको घटना र चिन्ताको विश्वव्यापी प्रतिक्रिया र मानवीय सुख, सुविधा, स्वास्थ्य र शिक्षाजस्ता विषयमा भएको संवाद आदिले गर्दा भूमण्डलीकरण वा अन्य विषय कुनै एक विचार शिविरको पेवा हुन नसक्ने निर्विवाद छ । प्रकारान्तरले भूमण्डलीकरणका कल्याणकारी विषयबाट सबैले लाभ लिन सक्ने र विखण्डनवादी पक्षबाट पनि सबै प्रताडित हुने परिस्थिति पनि यथार्थ नै हो ।
भूमण्डलीकरण र साहित्य
लेखक : अमर गिरी
प्रकाशक : भृकुटी एकेडेमिक पब्लिकेसन्स
पृष्ठ : ३२०
मूल्य : ६९५ रुपियाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...