[तीन किताब] जोडी बीचको खाली ठाउँ
पूर्वधारणाहरूबाट पर गएर किताब नपढ्ने हो भने समस्या हुन सक्छ । खुला भएर पढ्नुको आनन्द अरूमा छैन ।
किताबले जीवनमा के अर्थ राख्छ भनेर सोच्नुपहिले नै पढ्न थालियो । सुरु–सुरुमा देखासिकीबाट पढियो । पछि ज्ञान र सूचनाको बलियो स्रोत मानेर निरन्तर किताबी यात्रामा छु ।
किशोरकाल र प्रौढ उमेरका किताबी छनोट फरक हुँदा रहेछन् । रुचिको क्षेत्र परिवर्तनशील छ । कविता र आख्यान मन पर्ने विधा हुन् । तर, पछिल्लो समय गैरआख्यानकै संगतमा छु । अचेल बौद्ध दर्शनसम्बन्धी पुस्तकहरूको अध्ययनमा एकोहोरिएको छु ।
उसो त दार्शनिक किताबप्रति मेरो चासो पुरानै हो । नजिकबाट चिन्ने मित्रहरू मलाई जिज्ञासु ठान्छन् । प्रश्नहरूले मलाई किताबी पानासम्म डोर्याएर लान्छन् । हर्मन हेस्से, खलिल जिब्रान, मदनमणि दीक्षित र मोदनाथ प्रश्रितका किताबहरू अहिले पनि सम्झिरहन्छु । यद्यपि मेरो किताब संकलन अव्यवस्थित छ । मैले कवि मन्जुलका किताब हराइदिएको छु ।
मेरो व्यक्तिगत जीवनमै प्रभावित पारेको पुस्तकमध्ये पहिले सम्झने नाम हो– द रोड लेस ट्राभल्ड । एम स्कट पेकको यो किताबमा प्रेम, दुष्टता, हुर्काइ र सम्बन्धबारे गम्भीर विचार पोखिएको छ । लेखक मनोचिकित्सक भएकाले आफ्ना विचारलाई मनोहारी ढंगले प्रस्तुत गरेका छन् ।
प्रेमसम्बन्धी मेरो धारणा पनि पेकबाटै प्रभावित छ । उनको परिभाषामा प्रेम गर्ने मान्छेले प्रेम गरिने मान्छेको हुर्काइ/विकासमा कत्तिको उत्तरदायित्वबोध गरिराखेको छ भन्ने प्रश्न बलियो पक्ष हो । सम्बन्धसँग जोडिएका क्रियाकलापमा दुवैको हुर्काइ समान छ भने समान प्रेम फुल्न सक्छ भन्ने वैचारिकी नै पेकको आशय हो ।
अझ खुसी हुनु छ भने प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा गम्भीर हुनैपर्छ । प्रेम आफैँ हुने चीजै होइन । यो त यत्न र जिम्मेवारीबोध गर्नुपर्ने कुरा हो । नत्र त्यो अनुराग मात्र भइदिन्छ । परम्परागत बुझाइमा स्वामित्व प्राप्तिलाई नै प्रेम मानिन्छ । आफ्नो चाहनामा अर्को व्यक्तिलाई ढाल्नु, सजाउनु र परनिर्भरताको चलखेलमा रमाउनुलाई प्रेम ठान्ने हाम्रोजस्तो समाजका लागि यो किताब अर्थपूर्ण लाग्छ । व्यक्तिगत स्वार्थको घेराबाट पातलिँदै/फैलिँदै गएपछि मात्र प्रेमलाई बुझ्न सकिन्छ ।
स्कट पेक क्रिस्तानी भएकाले उनका अभिव्यक्तिमा धार्मिक आग्रह पनि भेटिन्छ । साथी टीका भट्टराईले पहिलोपटक दिएको यो किताब मैले धेरैको विवाहमा उपहार दिएको छु । पेकको विचारमा दुष्ट मान्छे विषादग्रस्त हुँदैन किनकि उसले आफूलाई कहिल्यै दोषी ठान्दैन । दया, ग्लानिबोध र करुणा नहुने भएकाले उसले हार स्वीकार्दैन । र, दु:खी पनि देखिँदैन । भियतनाम युद्धमा अमेरिकी चिकित्सकका रूपमा खटिएका पेकले विभीषिका देखेका कारण पनि मानिस र संसारको सम्बन्धलाई अझ नजिकबाट हेरेका छन् ।
खलिल जिब्रानको प्रोफेट मलाई असाध्यै मन पर्ने अर्को किताब हो । १६/१७ वर्षको उमेरमा पहिलोपटक पढ्दा म निकै प्रभावित भएँ । पेक पढेर प्रोफेट दोहोर्याएपछि आफ्नै अर्थहरूको सीमिततालाई पुन: मूल्यांकन गर्ने मौका पाएँ । मलाई यसका ससाना पंक्तिहरूले छोएका छन्, जसलाई आफ्नै जीवनका आयामसँग गाँसेर हेर्न सक्छु । किताबका दुई भनाइले छोएको हो । एक– ‘जसरी मन्दिरका स्तम्भहरूबीच अलिकति अन्तराल हुन्छ, त्यसरी नै नवविवाहित जोडीको बीचमा पनि स्वर्गको बतास खेल्ने खाली ठाउँ हुनुपर्छ ।’ सामिप्यताबीच पनि केही खाली ठाउँ चाहिने कुराले श्रीमतीसँगको मेरो सम्बन्ध सहज बनाएको छ । दोस्रो– ‘ तिम्रा छोराछोरी तिम्रा होइनन् । ती तीर हुन्, जसलाई धनुमा चढाएर कसैले छाडिसकेको छ । तिम्रो काम दरो धनु बन्नु मात्र हो ।’ छोराछोरीसँग ‘डिल’ गर्नुपर्दा सधैँ सम्झन्छु यो । आफ्नो सर्जिकल टिम, विद्यार्थी र बिरामीहरूसँग पनि आफूले पढेका कथाहरूको प्रसंग झिकिरहन्छु ।
छोक्न्यी रिन्पोचेको ओपन हार्ट ओपन माइन्ड मेरा लागि प्यारो किताब हो । आफ्ना कमी–कमजोरी र भयबाट रिन्पोचेले किताब सुरु गरेका छन् । आममानिस मात्र होइन, संसारलाई प्रवचन दिएर हिँड्ने गुरुहरू पनि केही न केहीबाट भयभीत हुन्छन् भन्ने दृश्यले हामीलाई हीनग्रन्थीबाट निकाल्न सहयोग पुर्याउँछ । अल्टोफोबियाबाट पीडित रिन्पोचेको यस किताबका केही भागमा प्राविधिक ध्यान–विधि छन् । तर, जीवनलाई बुझ्ने बौद्ध दर्शन नै पुस्तकको उपयोगी पाटो हो ।
युवा साथी मौसम शाक्यले दिएको यो किताबले आफैँलाई चिन्न सघायो । अति मन परेपछि यो किताब नेपालीमा अनुवाद पनि गर्दैछु । पूर्वधारणाहरूबाट पर गएर किताब नपढ्ने हो भने समस्या हुन सक्छ । खुला भएर पढ्नुको आनन्द अरूमा छैन ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...