[तीन किताब] छुटेका प्रेमिकाझैँ
फ्याँकिएका ती दुई बोरा किताब सम्झिन्छु कहिलेकाहीँ । मेरा लागि ती किताब छुटेका प्रेमिकाझैँ हुन् ।
म नेपाली किताब नै बढी पढ्छु किनकि अंग्रेजीमा मेरो पकड छैन । अहिले मोहन वैद्यको हिमाली दर्शनले रन्थनिरहेको छु । पढेका धेरै किताबको नामै पनि भुलिसकेँ । स्वाद लागेका किताबका पात्र र पंक्ति भने कहीँ न कहीँ लुकेर बसेका हुँदारहेछन् ।
पुस्तक मेरा लागि सिनेमा र नाट्य यात्राको सामलतुमल पनि भइदिन्छ । म अरुलाई बुझाउनका लागि पढ्दिनँ । किताब पढ्दा कतिपय जानकारी त पाइन्छ नै । साथमा, थिएटरका सेट बनाउन, परिवेश बुन्न र विम्बार्थ पहिल्याउन किताबले धेरै सहयोग गर्छन् ।
दमिनी भीर मलाई धेरै मन परेको किताब हो । यो मेरो समयको कथा पनि हो, जहाँ आफ्नै गाउँले परिवेशगत अपनत्व पाउँछु । दुई बसाइमा पढिसकेपछि मन पर्नुको कारण खोज्न फेरि पढेँ । राजन मुकारुङले उठाएका मुद्दा मेरै हुन् भन्ने लाग्यो । यो किताब विदेशमा बस्ने साथीहरूलाई पनि पठाइदिएँ ।
ज्ञानको लेनदेन किताबबाट भएको हुन्छ । मेरो समुदायमा लिखित ज्ञानभन्दा चिन्तनको मौखिक परम्परा बलियो देख्छु । तर, किताबले नै भाषा, संस्कृति र भूगोलका अनेक घेरा मेट्छ होला ।
एकताका पिटर ब्रुकले बनाएको महाभारत हेर्ने भोक थियो । दुई तीन वर्षको खोजपछि डीभीडी फेला पारेँ । पिटरले यताको महाभारतलाई विश्वव्यापी रंग दिने कोसिस गरेका छन् । यस्तै धामाका साथ खोजी पढेको किताब हो– त्यसबखतको नेपाल । सरदार भीमबहादुर पाँडे लिखित पाँच भागको किताबबारे गहन अध्येताको मुखबाट सुनेको थिएँ । तर, लामो कालसम्म अनुहारसमेत देख्न पाइनँ । किताब खोज्न अनेक ठाउँ धाएँ ।
सात वर्षअघि केशर पुस्तकालयमा यो पुस्तकको तेस्रो भाग भेटाएपछि यसको तिर्खा कम भयो । पछि यसका सबै भाग मगाएर प्यास मेटेँ । चौथो पटक किनेको सेटलाई अहिलेसम्म सुरक्षित राखेको छु । दोस्रो विश्वयुद्धपछिको नेपाली राजनीति र अर्थतन्त्र बुझ्न पाँडेको किताब विश्वसनीय होला जस्तो लाग्छ ।
किशोरकालमा प्रकाश कोविदका रोमान्सेली उपन्यासको चक्करमा परेँ । प्रेमको राग मार्न पनि दर्जनौँ किताब साटफेर गरेर पढियो । कलेज–कोर्सका साहित्यले फेरि अर्को दुनियाँ देखायो । इन्द्रबहादुर राई र पारिजात नबुझेपछि साहित्य गम्भीर विषय रहेछ भन्ने लाग्यो । अचेल किनेका कतिपय किताब बेफुर्सदीले लखेटेर बासी सूचीमा थन्किन्छन् ।
पछिल्लो समय आख्यानभन्दा गैरआख्यानतिर आकर्षित छु । बैरागी काइँलाले लेखेका मुन्धुममाथिका शृंखलाबद्ध पुस्तक पनि खुब चाख मानेर पढेको थिएँ । पहिलो पटक किनेको किताब सुनील पोखरेलले खोसेर लगे । दोस्रो पटक किनेको किताब जोगाएर राखेको छु ।
उपल्लो थलो मलाई छोएको अर्को पुस्तक हो । यो किताब बुझेर–जानेर किनेको चाहिँ होइन । पहिलेदेखि नै लेखहरुमा पढिराखेका लेखक मोहन मैनालीको यो किताब सुनील पोखरेलले दिएका हुन् । आफ्नो हस्ताक्षरअघि पोखरेलले सप्रेम लेखेका छन्– ‘तिमीले फिल्म मात्र होइन, नाटकको अभिनयलाई पनि निरन्तरता दिनू ।’ यसले सेतो सूर्य निर्माणको सेटिङमा इमेजहरु दियो । मान्ठा डराएको जुगले पनि त्यही फिल्मलाई अझ समृद्ध बनाउन सघायो । मोहन मैनालीका यी गैरआख्यानको गहिरो प्रभावमा मैले सेतो सूर्य गरेँ ।
काठमाडौँ छिरेपछि माक्र्स, लेनिन, एंगेल्स, चे ग्वेभाराका थुप्रै अनुदित किताब संकलन गरेर पढेँ । मस्कोमा छापिएका ती किताब संकटकालको रातमा शंखमूलको पुलबाट फ्याँकिदिएँ । पारिजातका केही किताब त्यही मेसोमा मिसिए । कति किताब त एकपटक पनि पढेको थिइनँ । परिवारलाई ती किताबबारे भन्ने आँट थिएन, डेरामा सजाउने दुस्साहस गरिनँ । फ्याँकिएका ती दुई बोरा किताब सम्झिन्छु कहिलेकाहीँ । मेरा लागि ती किताब छुटेका प्रेमिकाझैँ हुन् ।
प्र स्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...