आमा
आफ्नो जीवनकालमा मेरी आमाले धेरै थोक गुमाउनुभयो । कुनै राजकुमारीको जस्तो आफ्नो रुप र यौवन । बाबाले व्यापारमा लगाउनुभएको करोडौँको सम्पत्ति ।

एउटा डिग्री कलेजले आफ्नो विशेष कार्यक्रममा मलाई महत्त्वपूर्ण वक्ताको रुपमा बोलाएको छ । (‘महत्त्वपूर्ण’ चाहिँ उनीहरुको शब्द हो– एउटा औपचारिक ‘क्लिसे’ जो जस्तोसुकै खराब वक्ताले पनि सहजै प्राप्त गर्छ ।) विषय मलाई नै रोज्न भनिएको छ । ‘आमा दिवस’ को छेउछाउ परेकाले म आमाकै बारेमा बोल्छु । ‘मातातीर्थ’ चाहिँ मैले भनिनँ । ‘माताजी’ भन्ने शब्द कालो जादू गर्न जान्ने बडेबडे गेरु वस्त्र लगाएका जटाधारी–तिलकधारी जोगिनीहरुका निम्ति प्रयोग गरिएको देख्छु । उपस्थित सयौँ उच्च शिक्षित श्रोतागणलाई भन्छु– मेरी आमा सुदूर गाउँमा बस्नुहुन्छ र गाउँजस्तै सरल र सोझी हुनुहुन्छ । उहाँ झाँक्रो फिाजाएर आसनमा पनि बस्नुहुन्न । उहाँलाई शक्तिशाली तन्त्रमन्त्र पनि केही आउँदैन । म उहाँलाई ‘माताजी’ भनेर कहिल्यै बोलाउँदिनँ पनि । ‘आमा’ नै भन्छु । म उहाँहरुलाई भन्छु, “म केही आध्यात्मिक सोच भएको मानिस पनि हुँ । मेरी आमा पनि आध्यात्मिक प्रवृत्तिको हुनुहुन्छ । निरामिष हुनुहुन्छ र उहाँको मनमा सर्वदा ईश्वर छ । मलाई ‘आमा’ शब्द पवित्र ‘ॐ’ ध्वनिसित एकदम नजिक लाग्छ । त्यसैले मलाई आफ्नो सम्बोधनमा ‘आमा’ नै भन्न दिनुस् ।”
मलाई अचानक अनुभव हुन्छ– आमाका बारेमा बोल्न एकदम गाह्रो छ । मेरी आमाका दिव्य गुणहरु पृथ्वीभरिका सबै महान् आमाहरुसित मिल्छन् । दया, माया, करुणा र आफ्ना सन्तानका बारेमा आफ्नो हृदयमा सर्वदा एउटा उत्सव । हृदयमै ‘ एडभेन्चर’ । हृदयमै त्रासदी ...। यी गुणहरु जल, थल र आकाश सबैतिरका आमासित छ । मैले तिनको व्याख्या गरेँ भने सभामा म कुनै धोती लगाएका टुपीधारी पण्डित वा नारदमुनिझैँ देखिन्छु भन्ने मलाई डर छ । बरु केही उदाहरण रुचिकर हुन सक्छन् र मेरा लागि सहायक पनि । उदाहरण कहिलेकाहीँ ऐनाको काम गर्छन् । उदाहरणमा मानिसले आ–आफ्ना अनुहार देख्छन् पनि । म यही विश्वासले अघि बढ्छु ।
—-
टर्कीका विश्वप्रसिद्ध लेखक ओह्रान पामुकले नोबेल पुरस्कार ग्रहण गरेपछि साँझको ‘ब्याङ्क्वेट स्पीच’ मा आफ्नी आमाका आँखा हदै सुन्दर भएको बताए । पामुुक बालक थिए । र, जब–जब आमाका आँखाहरु उनीमाथि पर्थे, ती बेहद सुन्दर र कोमल देखिन्थे । आफ्ना आमा–बाबाका आँखाहरुको गुरुत्वमा हुर्किएका बालक पामुकलाई लाग्यो– आहा, कति सुन्दर ती आँखाहरु ! उनलाई अनायास लागिहाल्यो कि मानिसका आँखा नै सुन्दर हुन्छन् । तर, पहिलो दिन स्कुल जाँदा बाटामा आफू जत्रै एउटा केटोले आँखा तरेर यसरी हेर्यो– ती आँदा उनका आमा–बाबाका झैँ सुन्दर र कोमल थिएनन् । फेरि ती स्कुल पुगे । त्यहाा लठ्ठी नचाउँदै यताउता हिँड्ने, अग्ला ‘पेन–प्वाइन्ट हिल’ जुत्ता लगाएर कक्षामा आउने शिक्षिकहरुका आँखा डरलाग्दा थिए । तिनका आँखा आमाका आँखाझैँ, बाबाका आँखाझैँ कोमल र सुन्दर थिएनन् । पामुकलाई संसारतिरको प्रारम्भिक पाइलोले नै सिकायो कि सबै मानिसका आँखा सुन्दर हुँदैनन् ।
अनि, उनले पुतलीलाई विषय बनाएर एक दिन एउटा सुन्दर कविता लेखे । उनी तब छक्क परे, जब उनले देखे– अचानक आफूलाई हेरिरहेका साथीहरुका, शिक्षक–शिक्षिकाका आँखा आमा–बाबाका आँखाझैँ मुलायम र सुन्दर छन् । पछि उनले एउटा कथा लेखे र एउटा स्थानीय अखबारमा छपाए । अचानक धेरै मानिसले उनलाई तिनै कोमल र सुन्दर आँखाले हेरेजस्तो आमा–बाबाका आँखा छन् । उनी कोमल र सुन्दर आँखाको ‘एडिक्सन’ मा, प्रलोभनमा फसे र अरु कविता र कथाहरु लेख्दै गए । आमा–बाबाका करुणामय कोमल आँखाले त्यसरी डोर्याउँदै उनलाई नोबेल एकेडेमी पुर्याए । एउटा साधारण मानिसलाई नोबेल एकेडेमीमा उपस्थित राजा–महाराजाहरु, राष्ट्रपतिहरु, प्रधानमन्त्री, विश्वका गण्यमान्य लेखक विचारक, विज्ञानी, चित्रकार र पत्रकारमाझ उभ्याए । त्यहाँ पनि उनले बताए कि उपस्थित सबैले पनि तिनै कोमल र सुन्दर आँखाले हेरिरहेका जस्तो उनका आमा–बाबाका आँखा छन् । उनले भाषण टुंग्याउँदै भने, ‘म यिनै कोमल र सुन्दर आँखाहरुको लोभमा आजसम्म बाँच्तै र लेख्तै आएको छु र लेख्तै जानेछु ।’
—-
आमा र बाबाको माया पनि समान होइन । यद्यपि, बाबाको माया ईश्वर र आमाको वात्सल्यभन्दा तल र अरु सबै चीजभन्दा माथि छ । म मेरो बाल्यकालका दुइटा घटना सम्झिन्छु ।
पहिलो– म करिब सात वर्षको हुँदो हुँ । एक दिन सपरिवार हामी डाइनिङ टेबलमा बसेर खाना खाँदै थियौँ । बुबाले घरमा एउटा कानुनको घोषणा गर्नुभयो । कानुन थियो– अबदेखि घरमा जसले केही गल्ती गर्छ, सामान खसाल्छ वा फुटाउँछ, उसले उठेर दुई हात जोडी शरीर झुकाएर नमस्कार गर्नुपर्ने । आमा, दाइ र दिदी मुसुक्क हाँस्नुभयो । सबै मुस्काएपछि मलाई पनि यो गजबको नियम रहेछ भन्ने लाग्यो र म पनि मुस्काएँ ।
कानुन त अब मलाई पो रक्स्याहालाई रक्सी लागेझैँ लाग्यो । म त नमस्कार गरेको गर्यै । प्लेट पनि मेरै मात्र टेबुलबाट झर्छ । गिलास पनि मेरै मात्र लड्छ । होमवर्क पनि मेरै मात्र गल्ती हुन्छ । चिप्लिएर पनि मै लड्छु । हिलो पनि मेरै लुगामा मात्रै आएर टाँसिन्छ । कुर्सी पनि मेरै मात्र लड्छ । सामान पनि मेरै मात्र फुट्छ । अब मैले त हात जोडेको जोड्यै बस्नु, उठ्नु, हिँड्नु र सुत्नुपर्ने भयो । तर, कानुन हो, मैले मानिरहेँ । कहिलेकाहीँ त खाना खाँदाखाँदै चारपटकसम्म गल्ती हुन्थ्यो । म चारपटक नै नमस्कार गर्थें।
दाइ र दिदी कहिलेकाहीँ नमस्कार गर्थे र त्यो पनि अल्छी मानेजसरी, कानुन आधा मानेजसरी गर्थे । मैले बुझेँ, यो कानुन बाबाले मलाई नै तह लगाउन बनाउनुभएको हो । मैले पर्खिरहेँ र एक दिन मौका जुर्यो । बाबाले पनि गल्ती गर्नुभयो । उहाँको गिलास ढल्यो र सबै पानी पोखियो । तर, म तब छक्क परेँ, जब बाबाले उठेर नमस्कार गर्नुभएन । मैले उहाँलाई नमस्कार गर्न भनेँ । मान्नुभएन । मैले उहाँले बोलेको कुरा सम्झाएँ । उहाँ मुस्कुराइरहनु भयो । जब म विद्रोह गर्दै रोएँ । आमाले अँगालोमा लिनुभयो र रुँदै उठेर बाबाका निम्ति नमस्कार गरिदिनुभयो । मेरो आजसम्मको ‘भिजन’ मा आमाको त्यो विनम्रता र मर्यादापालनले सधैँ उहाँलाई बाबाको भन्दा माथिल्लो स्थानमा लगेर राखिदियो ।
दोस्रो घटना– जब म अझै सानो, करिब साढे चार या पाँच वर्षको थिएँ । म विद्यालयका प्रतियोगिताहरु जित्न चाहन्थेँ । पढाइमा त अरु वाल्मीकिहरु छँदै थिए । दौड प्रतियोगितामा पनि यिनीहरु एम्बुलेन्सझैँ कुद्थे । म दौड बीचैमा छाडेर लड्थेँ । चौरछेउमा बस्नुभएकी आमा दगुर्दै आएर मलाई अँगालामा टिपेर घर लैजानुहुन्थ्यो ।
यस्तै पराजयहरुको केही महिनापछि मलाई एउटा जुक्ति फुर्यो । मभन्दा डेढ वर्ष ठूली मेरी दिदीको स्कुलको एउटा फ्रक छानामा लुकाएर राखेँ । दिदीले सर्वत्र खोजी । रोई, कराई । म बोल्ने होइन । केटीको लुगा भएकाले मलाई कसैले शंका पनि गरेनन् । त्यसको केही समयपछि स्कुलले फेरि दौड प्रतियोगिता आयोजना गर्यो । मैले छानामा लुकाइराखेको दिदीको फ्रक झोलामा हालेँ । स्कुलमा पुगेपछि त्यो फ्रक लगाएर चौरछेउको एउटा वृक्षको पछिल्तिर लुकेर उभिएँ । जब दौडका लागि केटाहरुको नाम बोलाइयो, म गइनँ । केटीहरुको नाम बोलाउन थालेपछि भने म बुर्लुक्क उफ्रेर उनीहरुको लाइनमा गएर उभिएँ । शिक्षिकाहरु हाँसे र मलाई दौडन दिए । मैले पहिलो पटक प्रथम भएर एक पोका बिस्कुट र एउटा सिसाकलम पुरस्कार पाएँ ।
आमाले अँगालोमा बाँधेर चारैतिर बसेका मानिसलाई पुरस्कारसहित मलाई देखाउँदै हिँड्नुभयो । दिनभर र साँझसम्म एउटा जूनको आभा आमाको अनुहारमा चम्किरह्यो । साँझमा घरमा परिवारलाई मेरो विजयको कथा आमाले सुनाएपछि बाबा मेरो नजिक आउनुभयो र भन्नुभयो– “पद्मा, तिम्रो छोरो भविष्यमा चोर हुन्छ ।”
आमाको अनुहारको सारा दीप्ति एकाएक हरायो । आमाले मलाई लिएर भान्सातिर जाँदै गर्दा बाबाले थप्नुभयो, “यो लुरे छ । पढ्दैन पनि । चोरको बुद्धि पनि सिकिहालेछ । तिम्रो छोरो ठीक छैन ।”
अहिले सोच्दा मलाई कस्तो लाग्छ भने आमाभन्दा बाबा नै साँचो हो । तर, आमाजत्तिको महान् होइन बाबा । बाबा पछि वृद्ध हुनुभयो । घरको आँगन पृथ्वी र भर्याङ नै उहाँका लागि सगरमाथा बन्यो । म चोर बनिनँ । आज उहाँको अनुहार (मानिसहरु भन्छन्– म बाबुजस्तै देखिन्छु) बोकेर चारै क्षितिज डुलिहिँड्ने मानिस मै भएको छु । मेरो भनाइ संक्षिप्त छ– भविष्यलाई बाबाको नजरले हेर्न हुँदैन । आमाको जस्तो आँखाले हेर्नुपर्छ । कठोर शुद्धता पनि महान् हो । तर, तरल करुणा त्योभन्दा अझ महान् छ ।
—-
आमाका बारे बोल्न एकदम कठिन छ भनेर मैले किन पनि भनेको हुँ भने माया, दया गर्ने अरु पनि हुन्छन् । बुबा, दाजु–भाइ, दिदी–बहिनी, प्रेमी–प्रेमिका, आफन्तजन र यदाकदा परचक्रीहरु पनि । तर, तुलनामा आमातिरको तराजु पृथ्वीजत्तिकै भारी भइदिन्छ र अरुका दया, माया, प्रेम र करुणा केही सर्तसहित फिका, कमजोर र हलुका कपास भइदिन्छन् । यद्यपि, आ–आफ्ना ठाउँ र परिवेशमा ती पनि महान् हुन् । मैले बीबीसीको ‘अफिसियल पोर्टल’ मा केही समयअघि एउटा गहिरो समुद्रमा बस्ने जीव सार्क जातिको ओर्का माछाका बारे पढेको थिएँ । त्यसमा सार्कको आमाले बच्चा जन्माएपछि लगातार ५२ हप्तासम्म आफ्नो बच्चालाई छोपेर राख्दो रहेछ । अधिकांश ती विशालकाय आमा–ओर्काहरु बच्चालाई खुवाएरै आफ्नो जीवनलाई समाप्त पार्दा रहेछन् । हामीले नजानेको यो असीम ब्रह्माण्डमा त्याग, बलिदान र समर्पणका त्यस्ता कति कथाहरु यो विशाल अरण्यको पछिल्तिर लुकिबसेका होलान् । आमाहरुको त्यस्तो त्याग र समर्पण करुणानिधि ईश्वरका कथाहरुमा पनि विरलै–विरलै मात्र छन् ।
—-
“तिमीसित खर्चवर्च छ त, नानी ?” उहाँलाई भेटेर सहर फर्किने बेला आमा सधैँ मलाई सोध्नुहुन्छ । दु:खैले सही तर मासिक लाखौँ रुपैयाँ कमाउने एउटा वयस्क पुरुषलाई आमाहरुले मात्रै त्यसरी सोध्छन् ।
“गाडी राम्ररी चलाऊ । बाटामा खाल्डाखुल्डी अलि हेर । पानी पर्ला । भोक लाग्ला । कतै खानू । सहर पुगेपछि फोन गर्नू ....।” मानौँ, टाढाको सहर म जीवनमा पहिलो पटक जान लागेको हुँ । यो होइन कि छोराले गाडी राम्ररी चलाउँदैन वा भोक–तिर्खाको ख्याल गर्दैन । उहाँलाई त्यसमा भरपूर विश्वास छ । तर, ती शब्दहरु आमाका मन्त्र हुन् ।
अलिक अघि एक बिहान कान्तिपुर टेलिभिजनले मेरो अन्तर्वार्ता प्रसारण गरेथ्यो । गाउँका मान्छेले ‘लु–लु, तपाईंको छोरालाई टिभीमा हेर्न आउनू !’ भनेर टेलिभिजनअघिल्तिर पुर्याएछन् । अन्तर्वार्ता सकिएपछि टाढा–टाढाबाट साथीहरुले फोन गर्ने नै भए । उनीहरुले ‘वाह ! क्या बोल्यौ’ भने । ‘कति सुन्दर तर्क, कति सुन्दर हाँसो !’ केहीले भने । कसैले ‘क्या बात् !’ भनेर लघु बधाइ दिए । कसैले त ‘न भूतो: न भविष्यति:’ समेत पनि भन्न भ्याए । भरे गाउँबाट आमाको फोन पनि आयो, ‘छोरा, तिमीलाई टिभीमा देखेको ... तिमी त कति दुब्लो ? ...अलिक खाना खानुपर्दैन ?’ ........ म त अवाक् भएँ । आमाको त प्रश्नै अर्कै । हेराइ नै अर्कै । टिप्पणी नै अर्कै । टेलिफोन राख्दै उहाँले भन्नुभो, “तिमीले के–के बोल्यौ, मैले त केही बुझिनँ । तिमी हाँस्ताचाहिँ मलाई रमाइलो लाग्यो ।”
—-
आफ्नो जीवनकालमा मेरी आमाले धेरै थोक गुमाउनुभयो । कुनै राजकुमारीको जस्तो आफ्नो रुप र यौवन । बाबाले व्यापारमा लगाउनुभएको करोडौँको सम्पत्ति । हेटौँडा, काठमाडौँ र चितवनका महँगा जग्गा–जमिन । आफ्ना आमा–बुबाको माया । आफ्नो नायकजस्तो लोग्ने । गाउँभरि नै सबैले लोभको नजरले हेर्ने आफ्नी एक मात्र कल्कलाउँदी छोरी । मैनाझैँ बोल्ने अँगालोभरिकी नातिनी ! उहाँको हृदय नफाटेको कतै छैन होला ।
तर, दुई कुराले उहाँ एक्लो भएर पनि कहिल्यै एक्लिनु भएनजस्तो लाग्छ मलाई । मेरी आमा हार्मोनियम बजाउनमा पोख्त हुनुहुन्छ । उहाँ संगीतकारको परिवार र संस्कारबाट आएको मानिस । हरेक साँझ हार्मोनियमको साथमा आफ्नो सुन्दर स्वरमा माधव घिमिरेको गौरी, मुनामदन, रामायणका केही श्लोक र भजनहरु गाउने । कलाले उहाँलाई कहिल्यै एक्लो हुन दिएन । दोस्रो कुरा, हामी बाँचेका सन्तान नै हौँ जस्तो लाग्छ मलाई । हामीहरुका निम्ति उहाँले आफ्नो मनमा कति–कति सपना बुन्नुभएको होला । कति प्रार्थना रच्नुभएको होला । आफ्नै व्यस्त मनले नै उहाँलाई एक्लो हुन दिएन ।
—-
आमाको महानता बुझ्नलाई प्रसिद्ध चिनियाँ लेखक मो यानको रेड सोरगम पढ्नुपर्छ । जापान र चीनको भयानक युद्धको कथा छ, त्यसमा । जापानी सेना युद्धपोत, ट्यांकर र शक्तिशाली बन्दुकले सजिसजाउ छ । उनीहरु चीनको सोरगम खेती गर्ने सोझा मानिसको एउटा गाउँ समाप्त पार्न चाहन्छन् । उनीहरु हरेक मानिसलाई मार्न तत्पर छन् । बिहान सूर्य उदाउनुअघि नै समग्र हातहतियारसहित एउटा हिंस्रक सैन्यबल जापान र चीनबीचको सीमाजस्तो एउटा नदी–किनारमा तैनाथ छ ।
गाउँकी एउटी वीरांगना आमालाई थाहा छ, अब कोही बाँच्ने छैन । उनको एउटा करिब दस महिनाको छोरो र तीन वर्षकी छोरी छन् । उनले बिहान हुनुअघि नै एउटा बाल्टिनमा हालेर आफ्ना दुई प्यारा सन्तानलाई एउटै डोरीको सहायताले इनारमा खसाल्छिन् । अँध्यारो र तल पीँधमा छिपछिपे हिलो पानी मात्र भएको इनार छ । उनलाई लाग्छ– सबै मरेपछि जापानी सेनाले गाउँको तलास लिने क्रममा नानीहरुलाई देख्ने छैनन् र गहिराइको अँध्यारोले उनीहरुलाई बचाउनेछ ।
बिहानको युद्धमा सारा सोरगम फिल्ड रगतले भिज्छ । सोरगम खेती गर्ने त्यस गाउँको कुनै मानिस बाँच्दैन ।
दुइटा नानीहरु इनारमा छन् । अँध्यारो भित्तामा एउटा पहेँलो सर्प निस्कन्छ । तीन वर्षकी दिदी भाइलाई अँगालोमा बोक्छे । ऊ भोक, प्यास र पीडाले रुन खोज्छ । दिदी हातले मुख टालिदिन्छे । सायद उसले बुझेकी छ– रुनु खतरनाक छ । दिन बित्छ, कोही लिन आउँदैन । राती चन्द्रमा आकाशमा देखिँदा आफ्नी आमा आएझैँ लाग्छ उनीहरुलाई । भोलिपल्ट सोरगम फिल्डभन्दा परका गाउँका मानिस आउँछन् । कसैले इनारमा हतियार छ कि भनेर नियालेर हेर्छ र नानीहरुलाई देख्छ । ती दुई बाँच्छन् र पछि गएर भयानक वीर र वीरंगना भएर देशका निम्ति लड्छन् ।
आमाका तरिकाहरु पनि के–के हुन् ! मन्त्रहरु पनि के–के हुन् ! सबै आमाहरुले महान् देखिने अवसर त पाउँदैनन् तर महानता सबै आमाहरुसित हुन्छ । तिनको वात्सल्य अध्यात्मभन्दा आदिम र विज्ञानभन्दा नयाँ छ । सबै कुराले अर्थहरु बिस्तारै हराउँदै जानेछन् ।
आमाको अर्थ मात्रै पृथ्वीको अन्तिम प्राणीसम्मले बुझ्नेछ ।