अश्वेत उचाइ
क्रान्ति गर्नेले साहित्य नलेख्ने, लेख्नेले त्रान्ति नदेख्ने समस्या हाम्रो लेखनमा रह्यो कि ! लाग्छ– क्रूर लाग्ने युद्धभित्रको सौन्दर्य महसुस गराउने अद्वितीय पुस्तक हो, रेड सोरगम

हरेक नयाँ पुस्तक युवा आरोहीले पहाड चढ्दै गर्दा अचानक देखेको अर्को अग्लो हुस्से पहाडजस्तो लाग्छ– एकसाथ रोमाञ्चक, कष्टपूर्ण र रहस्यमय । तर प्रायः किताब पहिलो पृष्ठबाटै मर्न सुरु गर्छन्, जुन पढेर मेरो आत्मा ओइलाउँछ । खर्चेको रकम, समय, पढ्दाको कष्ट, फजुलता सबै मिलेर कुनै धोखाजस्तो अनुभव दिन्छन् । राम्रो पुस्तकचाहिँ चिट्ठा परेजस्तै हुन्छ– दुर्लभ तर वाचा, उपहार र खजानाले भरिएको । मानिसको विडम्बना के भने यति पूर्ण संसारलाई पनि अपूर्णताले खचाखच भरिदिएका छौँ । कलेवरमा विशाल पुस्तकालय पनि साँच्चिकै पुस्तक खोज्दै जाँदा दुब्लो दराजमा परिणत हुन्छ । कुनै पुस्तकका वाक्य यति सशक्त हुन्छन् कि मभित्रको पाठककीय मनमा कतै दबिएको साहस, सौन्दर्य, प्रेम, सपना सबै सजीव भएर उठ्छन् । र, आफू अचानक कुबेर भएको भान हुन्छ । मजस्तो पाठकका निम्ति राम्रो पुस्तक ‘एन्लाइटेन्ड’ मानिसको अगम्य उचाइमा बेलाबेला चियाउन पुग्ने बाटो हो ।
पछिल्लो दशक सबैभन्दा बढी प्रभाव पारेको पुस्तक हो– विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त । मलाई बीपी आमभन्दा सधैँ फरक मानिस लाग्थ्यो– उच्च खानदान, राजा–राष्ट्रपतिसित उठबस, मार्क्सजस्तै विचारशील, गान्धीजस्तै जीवनलाई अर्कै ढंगले उपयोग गर्ने आदि । तर उनले भोगेको गरिबी र अभाव पढेर म छक्कै परेँ । साना मानिसले भोगेको दुःख, गरिबी र सजायजस्तो जीवन त हाम्रा लागि आम भइगयो । तर सम्पन्न पृष्ठभूमिका मिथकजस्ता व्यक्तिले झेलेको कष्ट–कथाले लगातार मलाई तानिरह्यो । उनको भाषा सरल तर जादूमय ।
हाम्रो राजनीतिमा सधैँ षड्यन्त्र, धोखा, विष र अँध्याराको खेल व्याप्त छ । तर आत्मवृत्तान्तको जस्तो प्राञ्जल राजनीतिक वर्णनले हरेक पाठकलाई राजनीतिको ग्य्राजुएट बनाउने क्षमता राख्छ । राजा, नेहर, राणा, क्रूर पञ्चायतवादी, छली कम्युनिस्ट, आफ्नै दाजुभाइ र जाली कांग्रेस कार्यकर्ताको षड्यन्त्र र भासमा पर्दा पनि सबैप्रतिको उदार र मानवतावादी दृष्टिकोण राखेकाले पुस्तकलाई राजनीतिक महावर्णन बनाएको छ । नेपालको इतिहासमा जनताप्रति यति खुलेको, कञ्चन, स्पष्ट र प्रभावकारी अभिव्यक्ति अर्को राजनेताको छैन । हालै पढेको अर्को सुन्दर पुस्तक हो– माया एन्जेलोको द हार्ट अफ अ वुमन । यसमा लामो र जेलिएको उनको संघर्षको गहिरो कथा छ । यी महान् अमेरिकी लेखिका मात्र नभई, अत्यन्त गरिब–अश्वेत नारी पनि थिइन् । नारी मात्रै हुन कति कष्ट होला, एउटा अविवेकी र गरिब समाजमा । त्यसमाथि अमेरिकामा अश्वेत हुनु तर उनको कथात्मक रोचकता दुःख र भासको वर्णनमा छैन ।
लिंगभेद, चरम जातिभेद, वर्गभेद र रंगभेदको चक्रब्यूहमा पनि जीवनको बाटो देख्ने मानिस साँच्चैको द्रष्टा हो । उनले तीक्ष्ण र मर्मस्पर्शी कविता रचिन् । गीत गाइन् । रंगमञ्चमा अभिनय गरिन् र मार्टिन लुथर किङले नेतृत्व गरेको अश्वेतको ‘सिभिल राइट्स मुभमेन्ट’ र ‘वुमन्स मुभमेन्ट’ मा भाग लिइन् । प्रतिभाले त उनी चारै क्षितिजबाट उदाउन सक्ने सूर्य थिइन् तर उनको अगाडि जाने एउटै बाटो थियो, संघर्ष । संवेदनशील, कोमल र मानवतावादी अश्वेत महिलाले प्रतिभाको उपयोग गरेर रचेको संघर्ष र अमेरिकाको ‘पोएट लरिएट’ सम्म बन्दाको हैरानी र दुःख स्वयंमा एकसाथ रोचक, विस्मयकारी र प्रेरक छन् । सिमोन द बुभाएरले माया एन्जेलोको जीवन जानेको भए द सेकेन्ड सेक्स अझ बहुआयामिक हुने थियो ।
मो यानको रेड सोरगम तिलस्मी लेखनको उच्च नमुना लाग्छ । मेरो पुस्ताको सारा जीवन आन्दोलन–क्रान्ति गरेरै र हेरेरै गुज्रिएको छ । हामीले ०४६ को आन्दोलन गर्यौँ । दसवर्षे जनयुद्ध भोग्यौँ । ०६२–६३ को आन्दोलन गर्यौँ । मधेस आन्दोलन जान्यौँ । जनजातिका जायज, नरम र बौद्धिक आन्दोलनको पनि साक्षी बस्यौँ । युद्ध र क्रान्ति अनेक भए तर तिनका महान् कथा र कविता पढ्न नपाएको एउटा रित्तोपन अनुभव हुन्छ ।
चीन–जापानबीचको युद्ध–कथा हो, रेड सोरगम । भयानक युद्धमाझ योद्धा युवतीको प्रेम, विवाह, यौन, सन्तानको हेरचाह र बलिदानको अभूतपूर्व कथा यति बेजोड र सुन्दर छ कि पाचौँ पटक पढ्ने तयारीमा छु । हाम्रा क्रान्ति र आन्दोलनमा पनि यस्ता सयौँ–हजारौँ कथा पक्कै थिए । तर अनकन्टार फहाड र जंगलको मौनतामा हाम्रा कथा यसै हराए । क्रान्ति गर्नेले साहित्य नलेख्ने, लेख्नेले त्रान्ति नदेख्ने समस्या हाम्रो लेखनमा रह्यो कि ! लाग्छ– क्रूर लाग्ने युद्धभित्रको सौन्दर्य महसुस गराउने अद्वितीय पुस्तक हो, रेड सोरगम ।
नेपालमा केही कविता, निबन्ध र उपन्यास उच्चस्तरीय छन् । राम्रो कुरा लेख्ने तर राम्ररी नलेख्ने लेखकीय रोग व्याप्त छ । हाम्रा अधिकांश साहित्य र पत्रकारिता लगभग उस्तै स्तरमा छन् । व्यंग्य साहित्य त हाम्रोमा एउटा भूलजस्तो मात्रै छ । जर्ज अरवेलको जस्तो समृद्ध व्यंग्य लेखनको परम्परा हामीकहाँ छैन । आक्रामक छौँ तर हाम्रो आलोचकीय क्षमता कमजोर देखिन्छ । बाढीजस्तो आएको आत्मकथात्मक लेखन झनै कमजोर छ । उद्योगपति र पूर्वप्रशासकले लेखाएका आफ्ना कहानीमा आत्मालोचना, आत्म–स्वीकृति र आफैँमाथिको व्यंग्य शून्यप्रायः छ ।
प्रस्तुति : गुरुङ सुशान्त