मेरी यारी ! मलाई एकदमै हतार छ
जुलुसजस्तो जिन्दगी हाँकेरहेर !म तिम्रो ८४ लाख जुनीमा उपस्थित छु
जुलुसजस्तो जिन्दगी हाँकेर
हेर !
म तिम्रो ८४ लाख जुनीमा उपस्थित छु
तर माफ गर मलाई
म तिम्रो प्रेमको आरामदायी काउचमा बसेर
कुनै उत्तर–जन्मको भविष्यवाणी
पर्खिरहन सक्दिनँ
मलाई अफसोच छ
किनभने मलाई एकदमै हतार छ
सय–सय जुनीको तिम्रो भक्ति–लहरी
कुनै धुरन्धर वस्तादको स्वरमा गुन्जिएजस्तै
मेरो पनि जन्म–जन्मान्तर हुने भए
म छुट्याउने थिएँ, एउटा जुनी गीतलाई
अर्को जुनी छुट्याउँथेँ दुःखको सौन्दर्यलाई
छुट्याउथेँ तेस्रो जुनी मुक्तिको उज्यालोलाई
र अन्तिम जुनी तिम्रो प्रेमलाई
तर, अफसोच छ
मलाई एकदमै हतार छ
सक्छौ,
बन्द गर त्यो ८४ औँ योनीको लीला
च्यात दिमागबाट
आधा लेखेर पट्याइएको कागज
र माया गर, मेरो मायाको विज्ञानलाई
कि सबथोक मायाको न्युटन सिद्धान्त
र प्रणयशास्त्रको आइन्स्टाइन सूत्र
मैले यही जुनीमा परीक्षण गरिसक्नु छ
बाँचुन्जेल भूतका रसायन
र भविताका अणु–परमाणुहरु
मैले यही जिन्दगीले भोग्नु छ
धेरै गाँसहरु बैँसको हतारमा
या कुनै अनाशक्त हातमा
छाडेर हिँडेको छु
म त्यो दिनको पनि भोको छु
धेरै सासहरु अर्काको इच्छामा
अर्काकै छातीमा जो फेरेको छु
म त्यसको पनि भोको छु
सिंगै खोला धाएर मेट्न नचाहेको तिर्खा
सिंगै ब्रहमाण्ड पाएर चढ्न नसकेको चोमोलुङ्मा
यात्राको यस टाकुराबाट हेरिपठाउाछु
म त कहाँ हो ... कहाँ
झर्दै–झर्दै आइपुगेछु
अफसोच छ
मलाई साँच्चि नै हतार छ
हतार–हतारमै टिपेर हिँड्नु छ मैले
जुलुसबाट एउटा जिन्दगी
बदल्नु छ एकपछि अर्को स्टेसन
छुट्नु छ रेल
र हतार–हतारमै फेरि
हाँक्नु छ मैले अर्को जुलुस
पिउन नजानेर चोख्खै– बगिएको खोला
चढ्न नसकेर झन अग्लिएको चोमोलुङ्मा
र छाडेर हिँडेका युगीन भोकहरु
जसलाई गालेर दुई थोपा पदार्थमा
जम्मैजम्मै क्षतिको हिसाबस्वरुप
मैले यही जुनीमा रोइदिनु छ
यही जुनीमा लेखिसक्नु पर्नेछ मैले
दुःखको सौन्दर्यशास्त्र
ढलेका छन् आफ्नै आासुको धरहरामुनि
अनाम गाथाका शिरहरु
तिनलाई कसैगरी उठाउनु छ
लड्नु छ सघन लडाइँ अँध्यारो पृथ्वीसँग
र हल्लाउँदै मुक्तिको उज्यालो ग्रहमा
तिम्रो प्रेमको गुलाफी रुमाल
यही जुनीमा गाउनु छ मैले
सय–सय जुनीको गीत
विश्वास छैन मलाई
कुनै अर्को– अतिरिक्त जन्मको
हेर, एक दिनको मेरो एक डल्ला घाम
मेरै थाप्लोको क्षितिजबाट
अब उत्तरार्द्ध ढल्किसकेको छ
बिस्तारै साँझ पर्नै लागेको छ
र एकै छिनपछि तिमीलाई छाडेर
मैले फेरि घर फर्किनु छ
मेरी यारी !
त्यसैले मलाई हतार छ
मलाई एकदमै हतार छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...