डिआईजी राजीव सुब्बाका प्रिय तीन किताब
नेतृत्वले संगठनका नीति तथा कार्यक्रमलाई दराजमा थन्काएर राख्दैन । विश्वसनीय र पारदर्शी ढंगले आफ्नो समूहलाई साथै लिएर हिँड्छ ।
सामाजिक र सांस्कृतिक परिवेशका कारण पढैया मानिस पनि धर्म र अन्धविश्वासको जालोमा जकडिएका हुन्छन्, जसको नकारात्मक परिणाम पुस्ता–दरपुस्ता पर्न सक्छ । अब्राहम कबुरको पुस्तक गड्स डिमन्स एन्ड स्पिरिट्सले भारतमा इन्जिनियरिङ पढ्दा मेरा पूर्वधारणा र मानसिकतालाई बदलिदियो । कबुरले भारतीय उपमहाद्वीपमा व्याप्त अन्धविश्वास र पछौटे सोचलाई बलियो तर्कसहित खण्डन गरेका छन् ।
नेपालमा पनि अशिक्षाका कारण ससाना कामका लागिसमेत अलौकिक शक्ति पुकार्ने चलन अद्यापि छ । पिछडिएका क्षेत्रमा छाउपडीको समस्याले धेरैको ज्यान गएको छ । महिनावारीको अवधिमा कक्षाकोठाभित्र बसेर पढ्नबाट वञ्चित बनाइएका समाचारसमेत आइरहेकै छन् । यो किताबमा निहित तर्कशास्त्रीय दृष्टिले तथ्यसंगत नरहेका परम्परालाई पन्छाउन जोड दिन्छ ।
कबुरका समर्थक धेरै छन् तर उनलाई निन्दा गर्ने ‘बाबा’ हरु पनि कम छैनन् । किनभने उनले सार्वजनिक कार्यक्रम नै राख्दा पनि ज्योतिषी, हस्तरेखाविद् आदिले पुष्टि गर्न सकेनन् । लेखकले ‘बाबा’ हरुलाई ‘चमत्कार’ को खुलेआम प्रमाणित गरेर लाखौँ रुपैयाँ जित्न आह्वान गरे पनि यसमा कसैले आँट गरेनन् । मृत आमालाई परीहरुले स्वर्गतिर उडाउँदै लगेका दृश्य देख्ने बालिकाका कारण तनाव भइरहेको हुन्छ, कबुरकै नातेदारमा । लेखकले वैज्ञानिक उपचार गराएपछि थाहा हुन्छ, उक्त बालिकालाई थाइराइडको समस्या सिर्जित दु:स्वप्नले लखेटेको रहेछ । कतिसम्म भने तथ्य र प्रमाणले पुष्टि गरेपछि मात्रै सैद्धान्तीकरण गर्ने विषय विज्ञानका शिक्षकसमेत धार्मिक चंगुलमा फसेका छन् । यो कुनै एक धर्मभित्र मात्रैको समस्या होइन, समग्र मानव जातिको अग्रगतिको तगारो हो भन्ने निष्कर्ष दिएका छन्, लेखकले ।
संस्कृति र संस्कारको नाममा सानो चौघेरामा मस्त रमाइरहेका हुन्छौँ तर दुनियाँमा धेरै परिवर्तन भइसकेको चालै पाउँदैनौँ । यस्तै यथार्थलाई बुझाउने सरल किताब हो, हु मुभ्ड माई चिज ? स्पेन्सर जोन्सनको यो किताबमा परिवर्तन व्यवस्थापनलाई केन्द्रमा राखिएको छ, जसमा चार पात्र छन्– दुई मान्छे र दुई मुसा । चिज मन पराउने यी पात्रले देखाउने व्यवहारलाई यसमा रोचक शैलीमा वर्णन गरिएको छ । एक दिन चिज सकिएपछि मुसा नयाँ चिजको खोजीमा लाग्छ । तर मान्छेचाहिँ चिज सकिएकामा दु:खी मात्रै भएर बस्छ । अन्त्यमा एक जना भने चिज खोज्न निस्कन्छ र हन्डर खाएरै भए पनि चिज भएको ठाउँमा पुग्छ, जहाँ मुसाहरु पहिल्यै पुगिसकेका हुन्छन् ।
कथा सामान्य छ तर लक्षार्थ गम्भीर छ । हामी यथास्थितिकै सहजतामा रम्छौँ र अज्ञात भविष्यसँग डराउँछौँ । नयाँ विकल्पको सोचमा हुँदैन, एक प्रकारको निस्क्रियतामा रहन्छ । विशेषगरी लामो समय एउटै संगठनमा काम गर्ने बर्दीधारी कर्मचारी जागिरपछिका दिन हुने अनुकूलनसँग भयभीत हुन्छन् । उनीहरुसँग सेवा–सुविधा, पद–प्रतिष्ठाको प्रताप, नयाँ परिवेशले दिने असहजता हुन सक्छ तर सबैभन्दा ठूलो समस्या नै जडता हो । भोलिको परिवर्तनबारे आफूलाई मानसिक रुपमा तयार पारी रुपान्तरण गर्दै लाने हो भने हामीमा जीवनशक्ति पनि बढ्दै जान्छ । खुसी भइराखेकै क्षेत्रबाट पनि एउटा आँखाचाहिँ बदलिँदो परिवेशप्रति चनाखो राख्नुपर्छ ।
भावी दिनको योजनालाई आजै मानसिक दृश्यमा अभ्यास गरिराख्दा सफलता नजिक पुगिन्छ । सिर्जनशील मानिसले अवकाशको समय समाजका लागि केही नै न केही गर्छ, अरु त कि निस्क्रिय रहन्छन् कि धर्मकर्ममा समय खर्चन्छन् । अध्ययनले देखाएको छ– एउटै संस्थामा दीर्घसेवा गर्नेहरुको जीवनस्तर कमजोर र आयु छोटो हुन्छ । व्यापार–व्यवसायमा पनि यही कुरा लागू हुन्छ ।
दर्जा, पद र प्रतिष्ठा हात लाग्नु मात्रै सफल नेतृत्व होइन भन्ने दाबी गर्छ, द लिडरसिप च्यालेन्जले । बेरी पोस्नर र जेम्स कोजेजको यो पुस्तकले अरुसँगको मजबुत सम्बन्धलाई असल नेतृत्व मान्छ । यसले असल नेतृत्वमा हुनुपर्ने विशेषताका लागि पाँच स्तम्भ औँल्याएको छ– आदर्श मार्ग, उत्प्रेरक दृष्टिकोण, प्रक्रियामाथि चुनौती, कार्यमा अर्कोलाई समर्थ बनाउनु र हृदयलाई प्रोत्साहन । त्यसैले कोही सर्वोच्च पदमा आसीन हुनु मात्रै अन्तिम सफलता होइन, निष्पक्ष समर्थक पनि हुनुपर्छ । जसले अनुकरणीय मूल्य बनाउँछ, बनिबनाउ प्रक्रियालाई प्रतिवाद गर्दै आफ्ना सहकर्मीलाई सीप तथा प्रोत्साहन दिएर सक्षम बनाउँछ र कल्पनासहित अवसर सिर्जना गर्छ, ऊ नै चम्किलो नेतृत्व बन्छ ।
नेतृत्वले संगठनका नीति तथा कार्यक्रमलाई दराजमा थन्काएर राख्दैन । विश्वसनीय र पारदर्शी ढंगले आफ्नो समूहलाई साथै लिएर हिँड्छ । ससाना सफलता या गल्तीबाट पाठ सिक्दै परिवर्तन, विकास र सुधारका लागि अभिनव शैलीको खोजी गर्न सक्ने व्यक्ति नै असल नेतृत्व हुने ठहर पुस्तकको छ, जो हाम्रो राजनीतिक र सामाजिक संस्थानका लागि पनि पाठ हुन सक्छ ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...