(पुस्तक समीक्षा) प्रयोगशालामा पात्र परीक्षण
पुस्तकमा उल्लिखित विवरण खण्डित हुने सम्भावना ज्यादै न्यून छ । यसले आफूलाई विवरणहरुको चलाखीपूर्ण जमिनमा उभ्याएको छ, जुन जमिन जो कसैले हल्लाउन सक्दैन ।
‘एन इन्साइड एकाउन्ट अफ द माओइस्टस्, द दरबार एन्ड न्यू दिल्ली’ उपशीर्षक राखेर हालै प्रकाशित पत्रकार सुधीर शर्माको पुस्तक द नेपाल नेक्ससले यसैको पूर्वरुप प्रयोगशालाले जस्तै फेरि यी तीनखम्बे तत्कालीन शक्ति–केन्द्रमा अडेस लागेर राजनीति अजमाएकाहरुलाई रनाहामा पार्ने निश्चित छ । किन पनि भने, शर्माको पुस्तकले कतिपय आवरणमा सफेद देखिन, भयानक राष्ट्रवादी देखिन कलाविहीन प्रयास गरिरहेका विभिन्न शक्ति खम्बाका अरौटेहरुको खास चरित्र उदांगो पारिदिन्छ । राजनीतिक बजारमा राष्ट्रवादको ढोलक ठटाएको हातको रनाहा नसेलाउँदै ती देश–विदेशका विभिन्न होटलका भित्री कोठा–चोटामा भारतीय गुप्तचर संस्था ‘रअ’ का ‘अन्डर कभर अपरेसन कमान्डर’ हरुसँग ‘राजनीतिक हस्तमिलान’ गरिरहेको दृश्य पुस्तकले एकपछि अर्को विवरण थप्दै उल्लेख गर्छ । तिनै विवरणको एकपछि अर्को पटाक्षेपले पाठकलाई दृश्यमा देखिएको राजनीतिको खास ‘ कमान्डर’ को हो भनेर गम्भीरतापूर्वक सोच्न बाध्य बनाउँछ । सपाट विवरणमा भर पर्ने पाठकलाई देशमा भइरहेका परिवर्तनको खास ‘रिमोट’ अरु कसैको हातमा रहेको र दृश्यमा देखिएका पात्रहरु तिनै शक्ति–केन्द्रले नचाइरहेका ‘कठपुतली’ मात्रै भएको निष्कर्ष निकाल्न बाध्य बनाउँछ ।
यस किताबमा संगृहीत तथ्यहरुको अत्यासलाग्दो पिटाइले तिनै ‘कठपुतली’ हरुले सार्वजनिक वृत्तमा देखाउन खोजेको अभिनयपूर्ण अनुहारको असलियतको एउटा विद्रूप छायाछविका रुपमा विघटित गराइदिन्छ । त्यसको उत्कर्षमा सत्यलाई भ्रमले छोपेर अप्राकृत स्वरुपमा राजनीतिको खेलो चलाइरहेकाहरु कति अविश्वसनीय छन् भन्ने तथ्य पनि उजागर गरिरहन्छ । पाठकलाई देशको राजनीतिक असलियत थाहा दिएर अत्यासलाग्दो दुष्चक्रमा देश भास्सिइरहेकामा सचेत हुन उत्प्रेरित गर्छ । तर यहीँ नेर महत्त्वपूर्ण के छ भने शर्माद्वारा पुस्तकमा उल्लिखित विवरण/तथ्यको सत्य जाँच्ने हाललाई कुनै प्रयोगशाला पाठकसँग छैन । कम्तीमा यसमा वर्णित र सामेल पात्रहरुले त्यसको तथ्यपूर्ण खण्डन या स्वीकारोक्तिको अनिवार्य बाटो अवलम्बन नगर्दासम्मका लागि । जति विवरण पुस्तकमा उल्लिखित छन्, तिनमा डामिएका पात्रहरुले सार्वजनिक खपतका लागि निबन्धात्मक असन्तुष्टि पोखेर तुष्टि साँधे पनि तथ्यलाई तथ्यबाटै खण्डन गरेर सत्यलाई तोडमरोड हुन नदिने यत्नलाई क्रियाशील नगराउँदासम्म यस पुस्तकमा उल्लिखित विवरणलाई तथ्यद्वारा निर्मित विभिन्न समयका घटनाक्रमलाई चियाउने आँखीझ्यालको रुपमा लिनुपर्ने हुन्छ ।
♦♦♦
पुस्तकमा उल्लिखित दरबार, माओवादी र दिल्लीरुपी तीन खम्बामध्ये एकअर्कालाई खेलाएर तुष्टि लिने खेलमा लाग्दा–लाग्दै दरबार र माओवादीरुपी खम्बा ढलेको छ । प्रयोगशाला लेख्दा क्रियाशील यी खम्बा ढलेपछि नेपाल नेक्सस लेख्दासम्म बाँकी रहेको दिल्ली अब कोसँग खेलिरहेको छ भन्ने सवालमा भने पुस्तकले मौनता साँधेको छ ।
प्रयोगशाला एउटा सपनाको अन्त्य उपशीर्षकबाट सुरु हुन्छ, जहाँ भूपी शेरचनको एउटा भव्य कविताले पुस्तकको आरम्भ गराउँछ । त्यसैको परिमार्जित, अनुदित, परिवर्तित स्वरुप भनिएको अंग्रेजीमा प्रकाशित द नेपाल नेक्सस भने पुष्पकमल दाहालले विघटन र पलायनको बाटो रोजेर एमालेमा विलयन गराएको माओवादी आन्दोलनको वियोगान्तको साधारण टिप्पणीबाट सुरु हुन्छ ।
♦♦♦
दुई दशक बढी भूराजनीतिक चलखेल, अन्तर्सम्बन्ध, त्यसले प्रभावित पार्ने घरेलु राजनीति र त्यसका पर्दा पछाडिका ‘खेलकुद’ बारे सुधीर शर्माको निरन्तरको रुचिपूर्ण शोध, पछ्याइ र बुझाइको रुपमा द नेपाल नेक्सस पाठकसामु उपस्थित छ । यसले पाठकलाई लेखकले मिहिनेतपूर्वक खोज गरेर राखिदिएको क्रमबद्ध घटनाक्रमको विवरणबाट देशको राजनीतिक खेलका बहुआयामिक अदृश्य चलखेलबारे सूचित हुने अवसर दिन्छ ।
पुस्तकले विस्तृत रुपमा दिल्ली, माओवादी र दरबारले कसरी आफूलाई फाइदा पुर्याउन एकअर्कालाई सहयोग, उपयोग, दुरुपयोग गरे भन्ने विवरण दिन्छ । यसमा सबैभन्दा अविश्वसनीय शक्तिका रुपमा माओवादीको अनुहार देखिन्छ । ऊ कहिले दलहरुविरुद्ध दरबार, कहिले नेपाली राजनीतिक शक्तिविरुद्ध भारत त कहिले दरबारविरुद्ध राजनीतिक दललाई उपयोग गर्ने र आफ्नो दुनो सोझ्याउने निरन्तरको अस्थिर खेलमा सामेल भएको तथ्यहरुले देखाउँछ । सरसर्ती पुस्तक पढ्दा माओवादीलाई कसरी भारतबाट संरक्षित, परिचालित र उपयोग गरिएको थियो भन्ने विवरणसमेत पुस्तकले दिन्छ ।
तर माओवादी आन्दोलन, खासगरी अमुक माओवादी नेताहरु भारतीय योजनामा परिचलित भएको, नेपाली अमुक नेताहरु भारतीय ‘गुडलिस्ट’ को प्राथमिक सूचीमा रहेको भन्ने खालको निर्दिष्ट निष्कर्षमा पाठक पुगे भने घटना विवरण दिने तर त्यसउपर सुष्पष्ट दृष्टिकोण नदिने पुस्तकमा निहित कमजोरीको परिणाम हुनेछ । माओवादी आन्दोलन खासमा भारतीय योजनामा चलेको, हुर्किएको र विस्तारित भएको हो भन्ने ‘न्यारेटिभ’ पाठकमा प्रवाह गर्ने शैलीमा पुस्तकमा जसरी सूचना र विवरण संकलन गरिएको छ, त्यसले माओवादी आन्दोलनको आक्रामक फैलावट र विस्तारका क्रममा देशभित्रैको जमिनमा उभिएर परिवर्तनको सपनाका खातिर जीवनाहुति गरेका हजारौँ तन्नेरीहरुको बलिदानको अवमूल्यनसमेत गर्छ । केही निश्चित पात्रहरुले सिंगै जनयुद्धको मूल्यलाई विभिन्न शक्ति–केन्द्रसँग ‘बार्गेनिङ’ को हतियारका रुपमा दुरुपयोग गरेर अन्त्यमा बलिदानको मूल्यलाई आफू र परिवारको निजी आकांक्षा र आवश्यकता परिपूर्तिको औजारमा विघटित गरे पनि त्यसमा सामेल भएका, जीवन दिएका, अंगभंग भएका, जिन्दगीको उर्बर समय लगानी गरेका हजारौँ–लाखौँ मानिसले देशभित्रकै माटोमा उभिएर चलायमान बनाएको संघर्षको आँधीको न्यूनीकरण या अनदेखा गर्ने प्रवृत्ति भने आफैँमा डरलाग्दो छ ।
पुष्पकमल दाहाल या बाबुराम भट्टराई या अरु कोहीले देशभित्रै फैलिँदै गएको आन्दोलनको राप र तापलाई ‘बार्गेनिङ टुल्स’ का रुपमा दुरुपयोग गरेर आफ्नो स्वार्थको रोटी कहिले दिल्लीको तावामा त कहिले दरबारको ढावामा सेकाउन खोज्नु बेग्लै कुरा हो । मृत्यु या मुक्तिको सपथ खाएर लामबद्ध हजारौँ मानिसको बलिदानको योगमा फैलँदै, सुष्पष्ट आकार ग्रहण गर्दै एउटा निषेध गर्नै नसकिने तागतका रुपमा आकार ग्रहण गरेको माओवादी आन्दोलनलाई विभिन्न शक्ति–केन्द्रले अरुलाई कमजोर बनाएर आफू बलियो बन्न माओवादीका ‘नेता’ बनी उभिएका खासमा ‘पावर ब्रोकर’ हरुलाई उपयोग, परिचालन गर्न खोज्नु कुनै अन्यथा विषय होइन ।
उसैगरी देशमा सम्पन्न परिवर्तनका अनेकन आयाममा जसरी बाह्य शक्ति अझ प्रस्टैसँग भारतीय पक्षलाई निर्णायक शक्तिका रुपमा पुस्तकका विवरणले प्रस्तुत गर्छ, त्यसले परिवर्तनको आन्दोलनमा लागेका, जनआन्दोलनकै बखत सडकमा उत्रिएका लाखौँलाख मानिसको निष्ठामा मात्रै प्रश्न गर्दैन, घुमाउरो पाराले ती मानिस पनि भारतीय योजनामा नेपालका हकमा तय गरिएको परिवर्तनको सूचीलाई सडक अनुमोदन गर्न उभिएका प्यादामा स्खलित गराउँछ ।
♦♦♦
सामान्यत: शर्माको केही वर्षअघि प्रकाशित पुस्तक प्रयोगशालाको अनुवादको रुपमा द नेपाल नेक्ससको प्रचार भइरहे पनि यथार्थमा यो पुस्तक प्रयोगशालाको सपाट अनुवादमा मात्रै सीमित छैन, त्यस पुस्तकमा उल्लिखित थुप्रै विवरण यसमा हटाइएका छन् या संशोधित/ परिमार्जित भएका छन् । नयाँ संविधान जारी गर्दाका घटनाक्रम, मधेस आन्दोलन, नाकाबन्दी, माओवादीको एमालेमा विलयनको अनेकन आन्तरिक घटनाक्रमबारे जानकारीका लागि लालायित पाठकले प्रयोगशालामाथिको निर्भरताको अडानलाई छाडेर द नेपाल नेक्ससमा आउनैपर्ने हुन्छ ।
पुस्तकमा उल्लिखित अनेकन विवरणमा प्रयुक्त तथ्यहरुको सत्य जाँच एउटा गम्भीर समस्याका रुपमा उपस्थित छ । कतिपय विवरण शर्मासामु घटित भएको जसरी उल्लेख भएको पाइन्छ । अखबारी शैलीमा लिखित पुस्तकले यो गम्भीर खोजमूलक र अनुसन्धनात्मक कार्य हो कि अखबारमा नसमेटिएका, समाचार बन्नबाट रोकिएका घटनाको सनसनीखेज संग्रह हो भन्ने सवाल खडा गर्छ । यसले एकसाथ दुइटा सवाल उठाउँछ, पाठकको मनमा । एक– सन्दर्भ–स्रोत या सूचना–स्रोतको आवश्यक उल्लेखको अभावमा (जति उल्लेख छ, पुस्तकमा उल्लिखित विवरणको तथ्यमाथि सत्य जाँच गर्न ती पर्याप्त छैनन्) प्रयुक्त विवरण सत्यसामु टुहुरो बन्न सक्ने अवस्था । दोस्रो– सन्दर्भ–स्रोत या सूचनादाताको प्रस्ट उल्लेख नगरिनुका पछाडि कतै यी विवरण शर्मामार्फत सार्वजनिक गराउन चाहनेहरुकै योजनाबद्धतामा पुस्तक प्रकाशमा आएको त होइन भन्ने कोणबाट उठ्ने गरेका सवाललाई फर्जी आरोपमा संक्रमित गराउने काम लेखककै हुनेछ– विभिन्न घटनाक्रममा वर्णित प्रथम पक्ष शैलीमा उल्लिखित सूचनाको सन्दर्भ–स्रोतको साक्ष्य खडा गरेर ।
हामीमध्ये धेरैलाई लाग्छ, एकपछि अर्को घटनाक्रमको क्रमबद्ध विवरणको चाङ देखेपछि, त्यही नै सत्य हो । तर तथ्य केवल लेखकले आफ्ना सूचना र पहुँचका आधारमा पनि चाङ लगाउन सक्ने घटनाको संकलन हो । सत्य भने ती तथ्यलाई परीक्षणको आग्नेय भट्टीमा हालेर गालेपछि निस्कने बहुमूल्य परिणाम हो । शर्मा लिखित पुस्तकमा उल्लिखित तथ्यलाई पाठकले बहुपक्षीय घटनाक्रमको मीमांसा गरेर खारिन बाँकी नै रहेको सत्यको रुपमा लिए भविष्यमा यी तथ्य, विवरण खण्डित भए भने पनि आश्चर्य मान्नुपर्ने अवस्था आउने छैन । पुस्तकमा उल्लिखित विवरण खण्डित हुने सम्भावना ज्यादै न्यून छ । यसले आफूलाई विवरणको चलाखीपूर्ण जमिनमा उभ्याएको छ, जुन जमिन जोकसैले हल्लाउन सक्दैन ।
♦♦♦
पुस्तकमा उल्लिखित विवरणलाई लेखकले आफ्नो दृष्टिकोणसहित उचित व्याख्या र निष्कर्ष नदिनाले पाठकमा नकारात्मक स्वीकारोक्तिका लागि एउटा ठाउँ बन्ने निश्चित छ । नेताहरुको बाह्य पक्षसँगको असंगत र अस्वाभाविक उठबस, खासगरी भारतीय गुप्तचर संस्था ‘रअ’ को नेपाली राजनीतिलाई ‘माइक्रो र म्याक्रो म्यानेज’ गर्ने खेलप्रति असहमति राख्दै त्यस्ता गतिविधिविरुद्ध खबरदारी गर्ने अवस्थाबाट पाठक विचलित हुने स्थितिसम्म पुस्तकका विवरणले लैजाने खतरा छ । सारा परिवर्तनका कार्यसूची, घटनाक्रममा ‘रअ’ को, भारतीय नेताको, भारतको नेपालस्थित दूतावासका प्रतिनिधिको निर्णायक संलग्नता रहेको भन्ने खालको विवरणले ‘ए यस्तै त रहेछ नि’ भनेर त्यस्ता गतिविधिप्रति जनसचेतना र संवेदनशीलता उप्रान्तका दिनमा शिथिल बनाउँदै लैजाने खतरा उत्तिकै छ ।
सीपी स्कटको बहुचर्चित उद्गार छ– तथ्यहरु पवित्र हुन्छन्, दृष्टिकोण भने व्यक्तिपिच्छे स्वतन्त्र । तिनै वैयक्तिक वैचारिक स्वतन्त्रताको आलोकले ‘पवित्र’ मानिने तथ्यहरुले व्याख्यानको आकारमा ढालिँदा व्याख्याताको दृष्टिपिच्छे फरक स्वरुप ग्रहण गर्छ र विवादित बन्छ । जर्ज क्लार्कले पनि भनेकै छन्– इतिहास भनेकै खासमा व्याख्या हो । त्यसैले तथ्यले पनि व्याख्याको आधारमा आकार ग्रहण गर्छ । तथ्य मात्रै भनेको खासमा बालुवा हो, यो आफैँ कुनै आकारमा उभिँदैन । यसलाई उभ्याउन तथ्यहरुको प्रस्ट कारण र दृष्टिकोणसहितको व्याख्या थप्नुपर्छ भन्ने लुइगी पिरान्डेलोको बहुचर्चित भनाइ यहाँ सम्झनु मनासिबै हुनेछ ।
पुस्तक : द नेपाल नेक्सस
लेखक : सुधीर शर्मा
अनुवादक : सञ्जय ढकाल
प्रकाशक : पेन्गुइन बुक्स
पृष्ठ : ५२१
मूल्य : ६९९ भारु
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...