पूर्वीय पाठ
आफ्नो हितअनुकूलको भाष्यनिर्माण गर्नु नै सत्ताधारीहरूको प्रमुख हतियार हो । जब आफूबाहेकलाई ‘अन्य’ मा राखेर व्याख्या गरिन्छ, त्यहाँ विभेदसहितको सोपानतन्त्र सिर्जना हुन्छ ।
सत्ताका खराबीबारे बोल्ने सार्वजनिक बौद्धिकहरू सधैँ चाहिन्छ, लोकतन्त्रमा । यस्तै बौद्धिकमध्ये सम्झने नाम हो– एडवर्ड सइद । उनको ओरिएन्टलिज्म गैरपश्चिमी समाज अध्ययनका लागि महत्त्वपूर्ण बौद्धिक इतिहास हो । मिसेल फुकोको अवधारणालाई केही सापटी लिएर उनले सत्ता र ज्ञानको सम्बन्धलाई राम्ररी बुझाइएका छन् । ज्ञान सर्जकहरूले शक्तिको दबदबा बचाई राख्न इतिहासमा अरुबारे कस्तो परिभाषा तयार गरेको हुन्छ भन्नेबारे भरपुर व्याख्या गरेका छन् । मध्यपूर्व र अरबी समाजलाई पश्चिमले गरेको निरुपण नै किताबको केन्द्रमा छ । पूर्वीय समाजलाई केवल सिकाइको वस्तु मान्दै पश्चिमले आफूलाई प्रमुख स्थानमा राखेर व्याख्या गर्यो, जसले शक्तिको परिभाषामा असन्तुलन देखा पर्यो । पश्चिमी समाज सभ्य, लोकतान्त्रिक, वैज्ञानिक तथा पूर्वीय समाज असभ्य, अलोकतान्त्रिक र अवैज्ञानिक भन्ने ठम्याइको भाष्यलाई सइदले यो पुस्तकमा मन्थन गरेका छन् ।
आफ्नो हितअनुकूलको भाष्यनिर्माण गर्नु नै सत्ताधारीहरूको प्रमुख हतियार हो । जब आफूबाहेकलाई ‘अन्य’ मा राखेर व्याख्या गरिन्छ, त्यहाँ विभेदसहितको सोपानतन्त्र सिर्जना हुन्छ । शक्तिशालीहरूको चरित्र प्राय: यस्तै हुने गरेकाले कमजोरहरूको परिचय अन्यकरणमा पर्छ । शीतयुद्धताका मध्यपूर्वमा अमेरिकाले प्रत्यक्ष हस्तक्षेपसहित आफ्नै दृष्टिकोण लादेर अरब विश्वलाई परिभाषित गरेकै हो । बेलायती उपनिवेशकालमा भारतीय संस्कृतिमाथि यस्तै ज्ञान उत्पादन भयो । आज डोनाल्ड ट्रम्पका आँखामा सबै मुस्लिम देश ‘आतंककारी’ हुन्, यद्यपि मुस्लिम समुदायभित्र अनेक विचार–समूह छन् । नेपाललाई भोकमरी, दु:खी र गरिबको देश भनी हेर्ने एउटा मात्रै चस्मा तयार छ, अमेरिकासँग । त्यही ज्ञानप्रणालीको दर्पणमा देखिने छविले हामी ‘अन्य’ मा खुम्चिएका छौँ । उनीहरूका लागि पूरै नेपाल हिमाली देश या सांग्रिला हो, जो सांस्कृतिक रूपमा सत्य होइन । अनेक जाति, भाषा र संस्कृतिले भरिएको देशलाई एउटा परिभाषाको डालोभित्र सगोलमा राखिदिएको छ । कोही ‘अन्य’ हुन नपरोस् भनेर हामी सचेत हुनैपर्छ ।
अनुवादको औपचारिक विद्यार्थी र अभ्यासी भएकाले अनुवादित रचना मात्रै होइन, अनुवादसम्बन्धी सैद्धान्तिक तथा अनुभवपरक पुस्तक पनि पढिरहन्छु । विश्वविद्यालयमा नपढाइएको तर निकै महफ्वपूर्ण संस्मरण–कृति फेला पारेँ, इफ दिस बी ट्रेजन: ट्रान्सलेसन एन्ड इट्स डिसकन्टेन्ट । आफ्नो जीवनकालमा ३० लेखकका ६० पुस्तक अनुवाद गरेका ग्रेगोरी रबसाले यो किताबमा अनुवाद कलालाई चिनाएका छन्, स्वअनुभवका आधारमा । साथै अनुवादका अनेक विवादबारे पनि लेखेका छन् ।
क्युबाली बिरासत बोकेका रबसाले अमेरिकामा पढे र उतै बसोबास गरे । उनको घरमा स्पेनिस भाषा बोलिन्थ्यो । लामो समय विश्वविद्यालयमा साहित्यको प्राध्यापन गरेपछि ४० वर्षको उमेरमा एउटा अनुवादको काम हात लाग्यो । काम गर्दै जाँदा उनी विश्वप्रसिद्ध अनुवादक भए । ल्याटिन अमेरिकी रचनाहरूलाई अंग्रेजी भाषाबाट विश्वभरि फैलाउने श्रेय ग्रेगोरी रबसालाई जान्छ । उनले गाब्रियल गार्सिया मार्खेजदेखि मारियो भोर्गास लोसासम्मका ख्यातिप्राप्त पुस्तक अनुवाद गरेका छन् । हुन त अनुवादकले धोका दिन्छ भन्ने धारणा चर्चित छ । तर मार्खेजले आफ्नो प्रख्यात किताब वन हन्ड्रेड इयर्स अफ सोलिच्युडबारे भनेका छन्– ‘मूल स्पेनिसमा भन्दा रबसाको अनुवादमा मेरो उपन्यास धेरै राम्रो भएको छ । यदि उनी थिएनन् भने म सानो लेखकको रूपमा खुम्चिएर रहन्थेँ सायद ।’ यो टिप्पणी एक अनुवादका रूपमा रबसाका लागि निकै ठूलो पुरस्कार हो । मसँग प्रस्ट कारण नभए पनि अनुवाद गर्नुअघि म कहिल्यै पूरा किताब पढ्दिनँ । सामान्यत: समीक्षा या बौद्धिक जमातमा हुने चर्चाले केही आँट दिइहाल्छ । तर यो बानीले कहिलेकाहीँ मलाई पिरोल्थ्यो, कतै मैले गलत गरिरहेको त छैन ? रबसा पढेपछि भने मेरा रहलपहल डर र ग्लानि पखालियो किनकि उनीसँग मेरो तरिका मिल्दो रहेछ । पूरै नपढ्नुको फाइदा छ– आख्यानको कथावस्तु र पात्र परिवर्तन हुँदै जाँदा रोमान्चित बनाउँदै लान्छ, मानौँ– आफैँले पहिलो पटक लेख्दै छु । रबसाको अनुभवमा– पहिल्यै पढिसक्दा अनुवादकसँग आफ्नै विचार, पूर्वाग्रह र समीक्षा हुन सक्छन्, जसले सिर्जनशील अनुवादमा बाधा पुग्न सक्छ । अपजसे कामै सही, अनुवादविना भिन्न भाषा, संस्कृति र इतिहासबीच संवाद सम्भवै छैन ।
युवा जाँगरले भरिएको डाक्टर बाजारोभ मलाई आफन्तजत्तिकै प्यारो लाग्छ किनकि पुरानो समाजका मान्यता केही पनि मान्दैन, ऊ । प्राधिकारयुक्त सत्ताको विरोध गर्नुका साथै स्थापित मूल्यहरूको भन्जन उसको ध्येय हुन्छ । उसलाई समाजले बहिस्कार गर्न या राज्यसत्ताले दमन गर्न पनि सक्छ । तर, ऊ यी सारा जोखिम मोलेर नयाँ सपनाको प्रवक्ता बनिरहन्छ । एक किसिमले अराजकतावादी ऊ फादर्स एन्ड सन्सको प्रमुख पात्र हो । ईभान तुर्गनेभलिखित यस उपन्यासको कथा त्यो बेलाको हो, जति बेला रुस कृषि संस्कृतिबाट आधुनिक औद्योगिक समाजमा ढल्किँदै थियो । विभिन्न आन्दोलनका कारण रुसी अभिजाततन्त्रको दबदबा घट्दै थियो र नयाँ पुस्ताका नवीन चिन्तनहरूले चुनौती दिँदै थियो । यस चित्रलाई पुस्तान्तरले ल्याएका समस्याहरूको प्रतिविम्बन पनि भन्न सकिन्छ ।
युवालाई कुनै पनि आदर्शवादको पछि नलाग्न प्रेरित गर्ने बाजारोभ प्रविधिलाई मात्रै भरपर्दो ठान्छ । चिकित्सा विज्ञान प्रयोगकै क्रममा होसियारी नअपनाउँदा उसको दुखान्त हुन्छ । विज्ञानमा मात्रै विश्वास गर्ने पात्रको समेत वीभत्स अन्त्यले सैद्धान्तिक विरोधाभास खडा गरिदिन्छ । भौतिकवादमा विश्वास गर्ने रुसी कम्युनिस्टहरूको आस्थामाथि धक्का पुगेपछि तुर्गनेभलाई असाध्यै गाली गरियो । यद्यपि कम्युनिस्टहरूले आदर्श मानेका लेखक थिए, तुर्गनेभ । प्रश्न जाग्छ– एउटा लेखकको उत्तरदायित्व आफ्नो सैद्धान्तिक प्रणालीप्रति हुनुपर्छ कि सत्यप्रति ? तुर्गनेभचाहिँ कसैलाई खुसी पार्न लेख्दैनन् भन्ने पुष्टि गर्छ, फादर्स एन्ड सन्सले । लेखनलाई श्यामश्वेत ढाँचामा सोच्ने नेपाली वामपन्थी या दक्षिणपन्थी लेखकहरूले तुर्गनेभबाट पाठ लिन सक्छन् ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...