(पुस्तक समीक्षा) कवितामा राजनीतिको जिकिर
विमल प्रकृति चित्रणमा मात्रै घोत्लिने र प्रेमविषय वरिपरि मात्रै रत्तिने कवि होइनन् । उनी त राजनीतिक नारालाई कवितारुप दिन्छन् । कवितामा प्रवेश गरेर राजनीति गर्छन् ।
कविता चटक होइन । चाकडी धन्दा पनि होइन । आजको कविता तुकबन्दीको बन्दी हुन पनि सक्दैन । सस्ता विषयमा अति सस्तो भावनात्मक अत्याचार पनि कविता होइन । त्यसो भने कविता के हो त ? जिउँदा कविहरुबीच यो जिउँदो सवाल हाजिर छ तर कविताबारे बहस गर्न यतिखेर कसैलाई फुर्सद छैन । कविहरुलाई कि जागिरे राजनीतिले निलेको छ कि बजारले बोकाएको होमवर्कले थला पारेको छ । यही बेउछारबीच विमल निभाले आफूलाई जबर्जस्त पेस गरेका छन्– जोकरको बन्दुकमार्फत ।
कवि निभाको रचनाकर्मको एउटा पारा छ, गम्भीर दार्शनिक विषयलाई जनबोलीमा टक्रक्क पस्कने । आगोनेर उभिएको मानिस र एउटा बाहुला नभएको बुसर्ट आस्वाद गरिसकेका पाठकसामु उनको कवित्व–शैलीबारे बोलिरहनु पर्दैन । जसको स्मृतिपाटीमा ‘कुखुरी काँ’, ‘गाउँ’, ‘एक, दुई, तीन, चार र पाँच’, ‘नाम’, ‘मतभेद’, ‘शब्दकोश’, ‘तेन्जिङ छिरिङ लामालाई’, ‘बाल–कविता’, ‘टोल’, ‘जीवन’ जस्ता जीवन्त रचना अंकित छन्, जोकरको बन्दुक त्यो सूची बढाउने सामर्थ्यसहित आएको छ ।
विमल निभा मजदुर, उत्पीडित किसान, शोषितजन, किनारीजनका स्वरमा कोरस थप्ने संगीतज्ञ हुन् । कवितामा उनी ढुंगामाटोसँग खेल्ने मैला मान्छे र सडक–किनारको संघर्षशील मान्छेसँग उभिन्छन् । जनताका आन्दोलन, संघर्ष र श्रमको गाथा गाउनु उनको कवित्वको वैशिष्ट्य हो । उखान, जनबोली, किस्सा, किंवदन्ती, लोकगीत, दोहा निभाको कविताशैलीका सङ्ला स्रोत हुन् । नयाँ कविता संकलनमा पनि उनी यही पहिचानसहितको शैलीमा प्रतिबद्ध रहेका भेटिन्छन् । ‘पोलिटिक्स’, ‘कुनै मतलव छैन’, ‘साँचोको झुप्पा’, ‘ढाड’, ‘वैरागी’, ‘म रहने छैन’, ‘धरती’ कविताहरुले उनको मौलिकताको डबल लेनलाई चार लेनमा विस्तार गर्छन् । ‘वैरागी’ कविताले बहुप्रचलित रुख रोप्नेसम्बन्धी चिनियाँ उखानको शैली सम्झाइदिन्छ । त्यसैगरी ‘ढाड’ र ‘साँचोको झुप्पा’ ले माक्र्स–एंगेल्सको विश्वविख्यात कम्युनिस्ट घोषणापत्रको शक्तिशाली काव्यानुवाद गर्छ ।
कविताको क्राफ्ट कुँद्ने कर्तव्य कविहरुकै हो । कविताको कन्टेन्ट बुन्ने अग्राधिकार पनि कविहरुलाई नै छ । क्राफ्टका सन्दर्भमा निभाका कति कविता उखानजस्ता लाग्छन् । कति कविता बालगीतका सुललित रहनीजस्ता लाग्छन् । पढ्दा जनबोलीका ‘सामान्य कुरा’ जस्ता लागे पनि खासमा त्यही हो– विमल निभाको कविताको असामान्य टेक्निक । जोकरको बन्दुकका कविता गम्भीर पाठकका लागि त्यस्तै पौष्टिक खुराक हुन्, बजारको मिसावटबाट जोगिएका र अर्गानिक ।
व्यंग्य–लेखनमा साताव्यापी दस्तक दिइरहेका भए पनि कविता रचनामा विमल निभा निकै चयनशील र किफायती छन् । पाँच दशक लामो काव्य साधनावधिमा उनको यो तेस्रो पुस्तक–प्रस्तुति हो । उसो त विमल–काव्य दोहोर्याएर पढ्ने लती–पाठक पक्कै प्यासी थिए, नयाँ कविता किताबको । त्यो आइपुगेको छ । र, यो कतै पत्रिकामा छापिइसकेका कविताको भेला होइन । यस किताबमा नछापिएका कविताहरुकै चोइलो मुख्य छ । तरकारी वा अचारको भाँती दुई–चार वटा पूर्वप्रकाशित (तर किताबमा नसमेटिएका) कविता पनि यसमा स्वाद भर्न आएका छन् । पुस्तकभरि कुल ६० कविता छन् । पञ्चायतकालमा लेखेका र अघिल्ला संकलनमा छुटेका केही कविता पनि यसमा पढ्न पाइन्छ । एउटै कविता लेख्न कहिले वर्ष दिन र कहिले महिनौँ लगाउने कविले एकै वर्ष (२०७५) को मिति राखेर धारावाहिक रचेका ३८ कविता पनि यो पुस्तकमा छन् । कविको प्रौढ काव्यचेत र समाजबोधका कारण यिनै ठूलो संख्याभित्र शक्तिशाली कविता भेटिन्छन् ।
विमल निभाको बहानामा भन्नैपर्छ– आजभोलि कविहरु कविता छाड्दै किन भागिरहेका छन् ? शासकहरु कविता प्रदेशमा किन जबर्जस्ती प्रवेश गरिरहेका छन् ? पोलिटिक्सबाट कविहरु किन भाग्दै छन् ? बेला छ, यस्ता प्रश्नमा दफाहीन गफागफ गर्नुपर्ने । त्यस्तो गफार्थ पाठकका लागि मात्रै होइन, कविहरु स्वयंका लागि पनि खुराक पस्केका छन्, निभाले । गर्नेहरु त निभा–प्रभृति कविहरुलाई ‘लाउड’, ‘नारावादी’, ‘राजनीतिक’ भनेर लाञ्छित गर्न खोज्छन् । तर विमल निभाको शक्ति त्यसैमा छ ।
विमल प्रकृति चित्रणमा मात्रै घोत्लिने र प्रेमविषय वरिपरि मात्रै रत्तिने कवि होइनन् । उनी त राजनीतिक नारालाई कवितारुप दिन्छन् । कवितामा प्रवेश गरेर राजनीति गर्छन् । जोकरको बन्दुक कवि निभाको राजनीतिक उपलब्धि हो, कविताका माध्यमबाट ।
पुस्तक : जोकरको बन्दुक
कवि : विमल निभा
प्रकाशक : सांग्रिला पुस्तक प्रालि
पृष्ठ : १४३
मूल्य : २५० रुपैयाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...