डियर जिन्दगी
प्रशस्तिको कवितामा आफ्नै भोगाइ, सपना, रहर, इच्छामा प्रश्न छ । जीवनको अर्थ खोजिरहने जोकोहीका लागि उनको कविता आँखीझ्याल हुन सक्छ ।
यो अरूजस्तो सामान्य गन्थन होइन । एउटा कविको संवेग हो, अन्तस्करणबाट निक्लेको । १७ वर्षीया कवि प्रशस्ति अर्याल टुप्लुक्क आइपुगिछिन्, काव्यिक नगरीमा रेड मुन लिएर । भनिन्छ, कवि बेपर्वाह हुन्छन् । उनको प्रस्तुति त्यस्तै नै छ । उनले कवितैपिच्छे शीर्षक दिएकी छैनन् । बरु एउटै शीर्षकमा थुप्रै कविता लेखेकी छन् । जस्तो, जटिलता, रिस, शक्ति र चाहना ।
यी शीर्षकभन्दा पहिले जिन्दगीलाई चिट्ठी लेखेकी छन्, जसलाई सुरुदेखि अन्त्यसम्म ५ शीर्षकमा बाँडेकी छन् । पहिलो चिट्ठीमा जिन्दगीलाई सम्बोधन गर्दै आफ्नो वरिपरिका परिवर्तनलाई नियालेकी छन् । यी कविलाई परिवर्तन त्यति मन पर्दो रहेनछ । वयस्क मान्छेलाई जस्तै उनलाई सबै कुरा भद्रगोल लाग्दो रहेछ र जिन्दगीबाट यही कुरा सिकेको उनी बताउँछिन् । ‘मान्छे र वरपरका चीजबिज छिटोछिटो परिवर्तन हुन समय लाग्दैन,’ उनको गुनासो छ ।
उनका कविता रोचक छन् । कुनैमा ‘बस्, एउटा कोठा होस्, जुन किताबले भरिएको होस् र खाली पाना होस्, जहाँ आफ्ना भावना पोख्न पाऊँ,’ उनले भनेकी छन् । कतै साथीसँग बच्चामा रमाइलो गर्दै हिँडेका, कुदेका बालसुखको बिस्कुन लगाएकी छन् । कतै मनोपरामर्शदाताजस्तो जिन्दगीलाई प्रश्न गर्छिन्, तिमी ठीक त छौ ? स्वप्न छाउनुपर्ने आँखामा नडाकिएको आँसु आएको प्रसंग उनी निर्धक्क खोल्छिन् । डर र सोचाइबिनाको नीद उनको चाहना हो तर कवि हुन्, सोचाइले त्यसै कहाँ छाड्थ्यो र !
रोदन मात्र होइन, कृतज्ञता पनि झल्केको छ, उनको लेखनमा । र, त भन्छिन्, ‘म ऋणी छु । ती सबै रात र सबै पलका लागि, जुन तिमी मसँग अड्कियौ । धन्यवाद प्रिय साथी । यहाँ आएदिएकामा, मलाई बुझिदिएकामा, ढाडस दिएकामा ।’
सरल अंग्रेजीमा लिपिबद्ध कविताले चर्चित कवि रुपी कौरको सम्झना गराउँछ । तर प्रशस्तिको कवितामा आफ्नै भोगाइ, सपना, रहर, इच्छामा प्रश्न छ । जीवनको अर्थ खोजिरहने जोकोहीका लागि उनको कविता आँखीझ्याल हुन सक्छ । जीवनको नैराश्यलाई उनको प्रश्न छ । आशा गरौँ, यो उनको कल्पनाशीलता मात्र होओस् ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...