(पुस्तक समीक्षा) बाघको बखान
पुस्तकमा बाघको सामान्य परिचयदेखि संरक्षणमा लागेका एनजीओको सूचीसम्म समेटिएका छन् । रोचक पक्ष– रंगीन तस्बिर समेटिएकाले बाघका प्रजाति र अंग सहजै छुट्याउन सकिन्छ ।
आज बाघसँग दुई समस्या छन् । एक– वासस्थानमाथि अतिक्रमण । दुई– छुट्टै न्यायालयको अभाव । पृथ्वीमा मानिसको उत्पत्तिभन्दा पहिला साम्राज्य चलाएको बाघ आज सुकुम्बासी मात्र भएको छैन, उसको भाषा बुझ्ने प्रयास पनि भएको छैन । सात दशकअघि विश्वमा एक लाखभन्दा बढी बाघ थिए । आज ३ हजार ९ सयमा झरेका छन् । वासस्थान ९३ प्रतिशतबाट ७ प्रतिशतमा सीमित छ । बाघको भाषा बुझ्ने प्रयासमा सन् २०१० मा रुसको पिटर्सवर्गमा अन्तर्राष्ट्रिय बाघ सम्मेलन गरियो, जहाँ बाघ पाइने देशका प्रतिनिधि भेला भएका थिए । बाघको भाषा बुझेर न्यायको प्रत्याभूति दिन पहिलो सामूहिक भेला थियो, जसले सन् २०२२ सम्म यसको संख्या दोब्बर बनाउने घोषणा मात्र गरेन, २९ जुलाईलाई ‘बाघ दिवस’ का रुपमा सुरु गर्यो ।
वातावरण तथा वन्यजन्तु संरक्षणकर्मीका लागि बाघ ‘सुनकुखुरी’ हो । बाघको रोदनका रिपोर्टबाट प्रशस्त कमाइ गरेका छन् । विश्वका कुनाकाप्चा पुगेका छन् । एनजीओ प्रतिवेदनका खात लागेका छन् । ती एनजीओ प्रतिवेदनमा संरक्षणका समस्याको पत्र–पत्र मात्र केलाइएको छैन, त्यसका विधि र उपायका लामा सूची छन् । दु:खको कुरा, ती प्रतिवेदन आजसम्म नेपाली नागरिकले बुझ्ने भाषामा आएनन् । संरक्षण क्षेत्र आसपासका स्थानीयले बुझ्ने भाषामा बाघलाई परिचित गराइएन, उल्टै आतंक, त्रासको पर्याय र ‘सोकेसको जन्तु’ झैँ प्रचारित गरियो । नत्र यति धेरै स्रोत–साधन खर्चेर संरक्षणको प्रयास भइरहँदा पनि नेपाली भाषामा किन पुस्तक वा प्रतिवेदन लेखिँदैन ? जबकि नेपाल बाघ पाइने देशको सूचीमा ८ औँ स्थानमा पर्छ ।
त्यही संकट र संकोच चिर्न संरक्षणकर्मी तथा चराविज्ञ हेमसागर बरालको पाटेबाघलाई नेपाली भाषामा लिखित सामग्रीमध्ये दुर्लभ उपलब्धि मान्न सकिन्छ । पुस्तकमा बाघको सामान्य परिचयदेखि संरक्षणमा लागेका एनजीओको सूचीसम्म समेटिएका छन् । रोचक पक्ष– रंगीन तस्बिर समेटिएकाले बाघका प्रजाति र अंग सहजै छुट्याउन सकिन्छ ।
नेपालमा बढ्दो संख्याले बताउँछ, बाघको भाषा र न्याय बुझिँदै छ । एक दशकमा नेपालमा पाटेबाघको संख्या १ सय २१ बाट २ सय ३५ पुग्यो । बाघ पाइने १३ देशमध्ये नेपालमा तीव्र गतिमा पाटेबाघ बढ्दा विश्वभरका संरक्षणकर्मी हौसिनु अस्वाभाविक होइन तर नागरिकले बाघबारे बुझिने भाषा नहुनु अप्ठेरो हो । त्यसलाई केही सहज पार्ने एउटा खुड्किलो हुनसक्छ, पाटेबाघ ।
बाघ संरक्षणमा सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र मन्त्रीस्तरीय अन्तर्राष्ट्रिय बाघ सम्मेलनभन्दा पहिला विश्व बैंकको प्रयासमा बाघ सम्मेलन भयो । थाइल्यान्ड सम्मेलनमा संरक्षणको ध्येयभन्दा व्यापारिक प्रयोजन बढी थियो । पिटर्सवर्गको निरन्तरता सन् २०१३ मा थिम्पु हँुदै २०१६ मा नयाँ दिल्ली आइपुग्यो । दिल्ली घोषणा थियो– बाघको संख्या ३ हजार ८ सय ९० पुग्यो । दु:खको कुरा, आईयुसीएनको वयस्क बाघको संख्या संकटको रातो सूचीमा २ हजार १ सय ५४ भन्दा बढी छन् ।
अहिले बाघ रुसको सुदूर–पूर्वी क्षेत्रदेखि चीन, भारत, भुटान, बंगलादेश, लाओस, नेपाल, भियतनाम, कम्बोडियालगायत देशमा पाइन्छ । सन् २०१६ को तथ्यांकले भारतमा सबैभन्दा धेरै २ हजार २ सय २६ र लाओसमा २ वटा पाटेबाघ छन् । लाओससहित भियतनाम र कम्बोडियामा बाघलोप भइसकेको छ ।
पुस्तकमा नेपालमा बाघको संख्या घट्नुलाई राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप, चोरी–सिकारी र व्यक्तिगत इबीजस्ता सन्दर्भ जोडिएका छन् । नेपालमा राणा र दरबारिया घरानाका सदस्यले बाघको सिकार गरेर साहस र रणकौशल प्रतिविम्बित गर्थे । जनावरका अंग महलमा सजाउने लहडले पनि बाघको संख्या घटायो । तराईमा बढ्दो बसाइँसराइ र मानिस–बाघको निरन्तर द्वन्द्वसँगै वासस्थानमा समस्या परेकाले यसको संख्या घटेको छ । बरालले भनेजस्तै एकातिर विकासका पूर्वाधार निर्माणमा तीव्रता र प्राकृतिक स्रोतमाथिको दोहनका कारण भू–परिधिमा आएको फेरबदलले बाघको संख्या घटाएको छ भने अर्कोतिर यसको अखेटोपहारले सिकार प्रवृत्ति बढ्दो छ, जसलाई लेखक बरालले अन्धविश्वासका रुपमा व्याख्या गरेका छन् । २० अर्ब डलर बराबरको बाघका अंग तस्करी हुने नेपाल ट्रान्जिटका रुपमा विकास भएको छ ।
बोझिला र तर्कको भीडभन्दा पनि औसत बुझाइका सन्दर्भ राखेका बरालले बाघको बनोट, ऐतिहासिक पृष्ठभूमि, वासस्थान, रजाइ क्षेत्र निर्धारण तरिका, आहारा, सिकारका तरिकाबारे सटिक जानकारी दिएका छन् । साथै, बाघ र अन्य प्राणीबीचको फरक, धार्मिक, सांस्कृतिक महत्त्व र प्राकृतिक सन्तुलनमा पुगेको योगदान उल्लेख गर्दै बाघ पर्यटनदेखि संरक्षणका चुनौती, संकट, चोरी–सिकारीका प्रसंग गाँसेका छन् । गहन अध्येतालाई भने पुस्तकऔसत लाग्न सक्छ ।
पुस्तक : पाटेबाघ
लेखक : हेमसागर बराल
प्रकाशक : हिमाली प्रकृति
पृष्ठ : १३०
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...