छोडपत्र [सप्ताहान्त साहित्य]
लोग्ने–स्वास्नीको हातमा सम्बन्ध विच्छेदको अदालती आदेशको प्रतिलिपि थियो । दुवै शान्त थिए ।
लोग्नेले स्वास्नीलाई तीन थप्पड लगाएको थियो । स्वास्नीले यसको जवाफमा उसको मुखमा थुक्दै जुत्ता खोलेर झटारो हानेकी थिई । लोग्नेको टाउकोमा जुत्ताले अलिकति छोएर गएको थियो ।
घटना सेलाएर जान सक्थ्यो तर लोग्नेले यसलाई अपमान सम्झ्यो । उसले सबै कुरा आफ्ना नातेदारहरुमा भन्यो । नातापाताले यसलाई सामान्य ठानेनन् । जुत्ता हान्ने ‘आइमाईले भोलि चक्कु हान्न पनि सक्छे,’ आमाले थप्दै भनिन्, ‘मलाई मेरो छोराको जिन्दगी चाहिएको छ ।’ ‘यसरी चरचर बाझ्ने आइमाईले भोलि तालाई बसिटिक्न दिन्न,’ दिदीले जोड दिइन् । यो कुरा इष्टमित्र, नातापाता हुँदै साथीहरुमा कोरोना भाइरसझैँ फैलियो । केटी–केटातिरका घरमा दोहोरो संवाद नै हुन छाड्यो ।
अनि मुद्दा दर्ता भयो, वडा हुँदै अदालतसम्म ।
लोग्नेले स्वास्नीलाई चरित्रहीन भन्यो भने स्वास्नीले दाइजो नल्याएकामा हेपेको आरोप लगाई । दस वर्षसम्म दाम्पत्य बिताएका उनीहरुका एक छोरासमेत थियो । लोग्ने–स्वास्नीको हातमा सम्बन्धविच्छेदको अदालती आदेशको प्रतिलिपि थियो । दुवै शान्त थिए ।
मुद्दा तीन वर्षसम्म चल्दै गर्दा दुवै अलग बसेका थिए । सुनुवाइको दिन आउनै परेकाले अदालतमा दुवैको भेट भएको थियो । तारेख थाम्न आएका बेला भेट हुँदा एकअर्काप्रति मुख फर्काएर हिँडेका हुन्थे । अदालतमा आँखा जुध्दै गर्दा दुवैमा रिस र आवेग हुन्थ्यो । दुवैमा बदलाको भावना थियो ।
आज दुवैतिरका नातापाता आएका थिए । आ–आफ्ना मान्छे थिए, अदालत परिसरमा । दुवैतर्फका नातेदारहरु खुसी थिए ।
तर यी जोडी शान्त थिए । दुवैतर्फका इष्टमित्र सम्बन्धविच्छेदपछि एउटै टेबलमा बसेर चिसो पिउन थाले । सम्बन्धविच्छेद भएका लोग्नेस्वास्नी पनि एउटै बेन्चमा बस्न पुगे । बीचमा छोरा ।
‘कङग्र्याचुलेसन ! हजुरले जे खोज्नुभएको थियो, त्यही भयो ।’ स्वास्नीले भनी ।
‘तिमीलाई पनि बधाई ! तिमीले पनि सम्बन्ध बिच्छेद गरेर जित्यौ ।’ लोग्नेले भन्यो ।
‘सम्बन्धविच्छेद जितको प्रतीक हुन्छ, हो ?’ स्वास्नीले सोधी ।
‘तिमी नै भन ।’
लोग्नेले सोधेपछि स्वास्नीले केही जवाफ दिइन । चुपचाप बसिरही । फेरि भनी, ‘तपाईँले मलाई चरित्रहीन भन्नुभयो । राम्रो भयो नि अब, चरित्रहीन स्वास्नीबाट छुटकारा मिलेकामा ।’
‘त्यो मेरो गल्ती थियो । यस्तो भन्नु हुन्थेन ।’ लोग्नेले भन्यो, ‘मैले धेरै मानसिक तनाव झेलेँ ।’
स्वास्नीको आवाज सामान्य थियो । न दु:ख, न त कुनै रिस ।
‘थाहा छ मलाई । तर पुरुषले यही हतियार प्रयोग गर्छन्, नारीलाई । मैले तिमीमाथि यस्ता घटिया आरोप लगाउनु हुन्थेन । मलाई आत्मग्लानि छ ।’ लोग्नेले भन्यो ।
स्वास्नी केही बोलिन । उसले एक पटक लोग्नेको मुखमा हेरी । केही बेरपछि लामो सास तानी । त्यतिबेलै लोग्नेले भन्यो, ‘तिमीले पनि त मलाई दाइजोको लोभी भनेकी थियौ ।’
‘गलत भनेकी थिएँ,’ स्वास्नीले लोग्नेको मुखमा हेर्दै भनी, ‘म कुनै आरोप–प्रत्यारोप लगाउने पक्षमा थिइना ।’ सिसाको गिलासमा चिया आइपुग्यो । स्वास्नीले चिया समाती । गिलासको चिया उसको हातबाट पोखियो र हातभरि भयो । ‘आत्थु...!’ को आवाज निकाली । लोग्नेको मुखबाट त्यही बेला ‘ओहो...’ को आवाज निक्लियो । स्वास्नीले लोग्नेलाई हेरी । लोग्नेले स्वास्नीलाई हेरिरहेको थियो ।
‘तिम्रो ढाडको दुखाइ कस्तो भयो ?’ लोग्नेले सोध्यो ।
‘उस्तै छ । घरिघरि बेस्मारी दुख्छ ।’ स्वास्नीले कुरा सिध्याउन खोजी ।
‘तिमी व्यायाम पनि गर्दिनौ ।’ लोग्नेले भन्यो । स्वास्नी फिस्स हाँसी ।
‘तपाईँको दम कस्तो छ नि ?’ स्वास्नीले सोधी ।
‘डाक्टर कल्पनाले मेन्टल स्ट्रेस कम लिनू भनेकी छन् ।’ लोग्नेले जानकारी दियो ।
स्वास्नीले लोग्नेलाई हेरिरही । लोग्नेको अनुहारमा छाएको तनावलाई पढ्दै गई ।
‘औषधी त लिइरहनुभएको छ नि ।’ स्वास्नीले भनी ।
‘अँ, लिइराछु । आज ल्याउन भुलेछु ।’ लोग्नेले भन्यो ।
‘त्यसैले त तपाईँको अनुहार फिक्काजस्तो देखिन्छ ।’ स्वास्नीले सहानुभूति देखाई ।
‘सायद केही औषधीका कारण केही अन्य...’, भन्दाभन्दै ऊ रोकियो ।
‘अन्य... तनावका कारण,’ स्वास्नीले कुरा पूरा गरिदिई ।
लोग्नेले केही सोचिरह्यो र फेरि भन्यो । ‘तिमीलाई बीस लाख दिनु छ अनि १० हजार महिनामा पनि ।’
‘अँ... अनि ?’ स्वास्नीले भनी ।
‘काठमाडौँको जग्गा तिमीलाई थाहै छ । त्यो तिम्रो नाममा राखिदिन्छु । दस लाख यतिबेला मसाग छैन ।’ लोग्नेले आफ्नो मनको कुरा भन्यो ।
‘काठमाडौँको जग्गा बीस लाखको होला, मलाई केवल अहिले १० लाख चाहिएको छ ।’ स्वास्नीले भनी ।
‘छोरो छ, खर्च हुन्छ ।’ लोग्नेले भन्यो ।
‘ठीक छ, तपाईं महिनाको दस हजार दिनुहुन्छ नि ?’ स्वास्नीले भनी ।
‘अँ, पक्का दिन्छु ।’ लोग्नेले भन्यो ।
‘दस लाख तपाईंसाग छैन भने मलाई दिनु पर्दैन अहिले ।’ स्वास्नीले भनी । उसको स्वरमा पुरानो सम्बन्धको मेल थियो ।
लोग्नेले उसको अनुहार हेरिरह्यो । सोच्यो– कति सहृदयी छे यो । नजिकै बसेकी महिला कुनै बेला धर्मपत्नी थिई ।
स्वास्नी लोग्नेलाई हेरिरहेकी थिई । उसले सोचिरहेकी थिई– ‘कति सरल छ, यो मान्छे । कुनै बेला मेरो श्रीमान् थियो, यो । मलाई कति माया गर्थ्यो यसले । एक पटक मोटरसाइकल सिकाउन लिएर हिाड्दा जब म ढलेँ, बाटोमा उसले हत्तपत्त आफ्नो हात मेरो टाउकोमा ठोक्किनबाट जोगाएको थियो । यही पुरुषले गर्दा बाँचेकी थिएँ । आफूलाई खुट्टाभरि चोट पारेर उसले मलाई बचाएको थियो । ढुंगामा टाउको बजारिए मान्छे मर्न बेरै लाग्दैन । मेरा हर कुरामा साथ दिएकै थियो । मेरो पृष्ठभूमि नै यसले बनाएको हो । बच्चा पेटमा हुँदा कलेजसम्म डोर्याएर हिँडाल्थ्यो यसले, कतै लड्छे कि भनी । यसैको मैले खोट निकाल्दै गएँ । यसैलाई मैले नराम्रो ठान्दै गएँ ।’ स्वास्नीले सोच्दै गई ।
लोग्नेले एकटक स्वास्नीको मुखमा हेर्दै सोचिरह्यो । ‘यसले कति ध्यान राख्थी, एक पटक जन्डिस हुँदा रातरातभरि अस्पताल कुरेर बसी । रुघा लाग्नेबित्तिकै स्टिमको जगमा पानी उमालेर बाफ लिन लगाउँथी । प्रत्येक महिना कन्जुस गरेर पैसा बचाउँथी । र, मेरा लागि महागा चीज खरिद गर्थी । अलिकति बिरामी हुनेबित्तिकै मेरोभन्दा पनि यसको सातोपुत्लो जान्थ्यो । धेरै संवेदनशील थिई, यो । वास्तवमा मैले यसको फिलिङ्स बुझेको
भए !’ लोग्नेले सोच्दै गयो ।
दुवै जना चुप थिए । धेरै चुप । अति चुप । दुवैका आँखामा आँसु थियो । आँसु–आँसुमा एकअर्कामा हेरिरहे ।
‘मलाई एउटा कुरा भन्नु छ ।’ लोग्नेले भन्यो ।
‘भन्नु न ।’ स्वास्नीले आँसु पुछ्दै भनी ।
‘डर लाग्छ ।’ लोग्नेले भन्यो ।
‘नडराउनुस्, हजुरले भन्ने कुरा मैले सोचेकी पनि त हुन सक्छ ।’ स्वास्नीले भनी ।
‘तिम्रो धेरै याद आयो ।’ लोग्नेले भन्यो ।
‘तपाईँको पनि ।’ स्वास्नीले भनी ।
‘म तिमीलाई अझै पनि माया गर्छु ।’ लोग्नेले भन्यो ।
‘मैले पनि ।’ स्वास्नीले भनी ।
दुवैको आँखामा आँसु थियो । दुवैको अनुहार निन्याउरो थियो ।
‘के हामीले जीवनको नयाँ मोड दिन सक्दैनौँ ?’ लोग्नेले सोध्यो ।
‘कुन मोड ?’ स्वास्नीले सोधी ।
‘हामी फेरि सागै बसौँ । एकसाथ । लोग्नेस्वास्नी भएर । अति राम्रो साथी भएर ।’ लोग्नेले भन्यो ।
‘अनि यो पेपर ?’ स्वास्नीले भनी ।
‘च्यातेर फालिदिऔँ ।’ लोग्नेले भन्यो । आफ्नो हातमा रहेको सम्बन्धविच्छेदको आदेशको पत्र च्यातेर फालिदियो अनि स्वास्नीले पनि त्यसरी नै च्यातेर फालिदिई । दुवै जना उठे । एकअर्काको हात समाउँदै हिँड्न थाले । घर जान थाले, जुन घर लोग्नेस्वास्नीको थियो ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...