इतिहासकार राजेश गौतमका प्रिय तीन किताब
अर्काको इतिहासको भुत्ला खुइल्याउने र आफ्नो इतिहासको प्रसंगमा खुसी हुने मनोवृत्ति रहुन्जेल हाम्रो वास्तविक इतिहास–लेखन सुरु हुन सक्दैन ।
नेपाल निर्माण क्रममा विकसित ‘थापा–पाँडे’ भारदारहरूबीचको शक्ति–संघर्षमा पाँडे भारदारहरू पराजित भए । नेपालका केही इतिहासकारले दामोदर पाँडेलाई ‘देशद्रोही’ को आरोप लगाए । त्यही आरोपबाट पाँडेलाई मुक्त गर्ने ध्येय सरदार भीमबहादुर पाँडेलिखित राष्ट्रभक्तिको एक झलकको देखिन्छ । त्यस उद्देश्यमा एक हदसम्म पुस्तक सफल पनि छ । नेपालको इतिहास लेखनमा यसलाई नयाँ आयाम मान्न सकिन्छ ।
देशका लागि दुवै परिवारको उत्तिकै त्याग र बलिदान रहे पनि सत्ताखेलको उछिनपाछिनमा पाँडे परिवार पछि पारिए । यसले राष्ट्रको स्वार्थभन्दा पारिवारिक दुस्मनी राजनीतिको केन्द्रमा देखा पर्यो । पारिवारिक द्वन्द्वको विकसित रुप भीमसेन थापा र जंगबहादुरको उदयमा पनि देखियो ।
विलासी स्वभावका कारण राजा रणबहादुर शाह भारदारहरूको मात्रै भर पर्थे । परिणाम– नेपालको राजनीति खस्कियो । रणबहादुरसँग रानी कान्तिवतीले राखेको पूर्वसर्तअनुरुप नै भारदारहरू समेटेर गीर्वाणयुद्ध राजा बनाइए । यसपछि राजा, राजराजेश्वरी र भारदारहरूको जटिल त्रयशासनमा मुलुक फस्यो । अन्तत: बाध्य भएर रणबहादुर भारत पुगेर अंग्रेजलाई चिठी लेखे । सिक्किमको राजा बनाइदिन विकल्प पनि दिएका थिए, चिठीमा । तर यताका बलिया भारदारहरूलाई समेत बुझेका अंग्रेजहरूले रणबहादुरको कुरा पत्याएनन् ।
अंग्रेजहरूले क्याप्टेन नक्सलाई नेपाल बुझ्न खटाएका थिए । विदेशी सैनिकलाई नेपाल प्रवेश गराउने–नगराउनेबारे ठूलो विवाद थियो । दामोदर पाँडेले रणबहादुरलाई भारतमै रोक्न भूमिका खेले । विदेशी सैनिक देशभित्रै छिरे सुरक्षा खतरा बढ्ने भएकाले राजाको आडमा अंग्रेजहरू नेपाल प्रवेश नगरुन् भन्नेमा पाँडे सचेत थिए । तर अनेक आरोप खेपेका पाँडेको जेलमा हत्या भयो ।
पुस्तकमा विभिन्न सन्दर्भ सामग्री र ऐतिहासिक प्रमाणका आधारमा दामोदर पाँडेबाट भएका कार्य र योगदानको चर्चा गर्दै उनी देशका लागि आवश्यक व्यक्ति रहेको पुष्टि गरिएको छ । अनेक स्वार्थअनुरुप अपव्याख्या नगरी सही इतिहासदृष्टि प्रस्तुत गर्नु पुस्तकको शक्ति हो ।
नेपालको प्रशासनिक क्षेत्रमा महत्त्वपूर्ण र प्रामाणिक पुस्तक हो, द एडमिनिस्ट्रेटिभ सिस्टम अफ नेपाल । एचएन अग्रवाललिखित पुस्तकमा नेपालको प्रशासनिक इतिहासको पृष्ठभूमिमा अड्डा अदालतहरूको स्थापनादेखि सन् १९६० मा राजा महेन्द्रले गरेको सैनिक कू र त्यसपछिका प्रशासनिक परिवर्तन र सुधारसम्म वर्णन गरिएको छ । राणाकाल, पञ्चायतकालदेखि केही यतासम्मका आर्थिक तथा प्रशासनिक कार्य, लालमोहर र घोषणाहरू के कस्ता थिए ? यसको समग्र दस्तावेज हो, किताब ।
लेखनक्रममा लेखकले प्रयोग गरेका सनद, लालपत्र, लालमोहरजस्ता महत्त्वपूर्ण सामग्री सिंहदरबारमा भएको आगलागीमा नष्ट भए । त्यसैले तत्कालीन प्रशासनिक पक्षबारे आधिकारिक अध्ययन गर्न यो पुस्तकजत्तिको अर्को प्रामाणिक स्रोत सामग्री छैन । यसले प्रशासनिक नीति व्यवस्थित र बलियो नभए देश कसरी कमजोर हुन्छ भन्ने वास्तविकतालाई व्याख्या गर्छ ।
सरकारले भनेको प्रशासनले नटेर्ने र प्रशासनले भनेको सरकारले नबुझ्ने अवस्था आए मुलुक द्वन्द्वमा फस्ने डर हुन्छ । प्रशासनभित्र अनुशासन नहुँदा देशको सामाजिक, आर्थिक अवस्था मात्रै नभई जनताको अवस्थासमेत नाजुक हुन्छ । आजको प्रशासनिक अवस्थाको आधारभूमि बुझ्न पनि यो किताब गहकिलो आधार–सामग्री हुन सक्छ ।
हामीले झुठो इतिहासलाई कहिलेसम्म साँचो मान्ने भन्ने प्रश्न गर्दै स्वामी प्रपन्नाचार्यले निरन्तर साधना, अध्ययन, अन्वेषण र विश्लेषण गरेर प्राचीन किरात–इतिहास लेखे । किरात को हुन् ? उनीहरूले नेपाल उपत्यकामा कसरी र कहिले शासन गरे ? इतिहासकारले प्रस्ट रुपमा सप्रमाण बताउन नसकेकाले किरातकाललाई पौराणिक कालमै दर्ता गरिन्छ । यसले किरातहरूकै रीतिरिवाज, भाषा, विश्वास–पद्धति, लवाइखुवाइ आदि मुख्य रुपमा चित्रित गर्छ । सारा सांस्कृतिक–ऐतिहासिक विशेषताका आधारमा किरातकाललाई इतिहासभित्रै राखेर अध्ययन गर्नुपर्ने तर्क गर्छन्, लेखक ।
अर्काको इतिहासको भुत्ला खुइल्याउने र आफ्नो इतिहासको प्रसंगमा खुसी हुने मनोवृत्ति रहुन्जेल हाम्रो वास्तविक इतिहास–लेखन सुरु हुन सक्दैन । यही परिवेशमा रमाउनेहरूलाई गतिलो यथार्थवादी पाठ हो, प्राचीन किरात–इतिहास ।
किताबले विभिन्न धर्मशास्त्र, अर्थशास्त्र, ज्योतिषशास्त्र, काव्य, नाटक र अन्य ऐतिहासिक ग्रन्थमा उल्लेखित किराती रीतिथिति, भाषिक–सांस्कृतिक प्रचलनको आधारमा किरात सभ्यतालाई केलाएको छ । लेखकले नेपालको इतिहासमा सदैव उठिरहने ‘किरात जातिको इतिहासनिष्ठ प्रश्न’ लाई प्रस्ट पार्ने प्रयास गरेका छन् र त्यस प्रश्नलाई सही बाटोमा लैजान मार्ग–निर्देशन गर्न सफल भएका छन् ।
प्रस्तुतिः गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...