साहित्यकार अविनाश श्रेष्ठका प्रिय तीन किताब
आर्य र अनार्य मिश्रणको प्रतीकजस्तो लाग्ने रावणलाई सांस्कृतिक सम्मिलन र घर्षणको उदाहरणका रुपमा पनि हेर्न सकिन्छ ।
भारतवर्षमा वैदिक आर्य आगमनको इतिहासबारे धेरै बहस र अनुसन्धान भएका छन् । आचार्य चतुरसेनले आर्य सभ्यताको ऐतिहासिक क्रम र स्वरुपलाई सरस चित्रण गरेका छन्, वयं रक्षाम: मा । रावणको वंशवृक्ष उतार्ने सिलसिलामा उनले आर्यहरुको आगमन, शाखा–प्रशाखा, अर्थव्यवस्था र रणनीति रोचक शैलीमा पस्केका छन् ।
भक्तिकालमा रामायणका अनेकौँ रुप आए पनि तिनीहरुको केन्द्रीय नायक राम र खलनायक रावण नै थिए । तर रावणको नायकत्व स्थापित गरिएकैले वयं रक्षाम: अद्भुत मानिएको हो । ऋग्वेद, संहिता, ब्राह्मण, उपनिषद्का आधारमा लेखिए पनि यस किताबमा पुरातात्त्विक साक्ष्यहरु उल्लेख छैन । कतिपय घटना साँचो नहुन पनि सक्छन् तर लेखकले किंवदन्तीको टेकोमा आफ्नो उपन्यासलाई बलियोसँग उभ्याएका छन् । लंकावरपरका द्वीपहरु जितिसकेपछि रावणको नजर स्वर्णलंकामाथि पर्छ । रावणका सौतेनी दाजु लोकपाल धनेवर वैश्रवण कुबेर यक्षराज त्यहाँका अधिपति थिए । रावणले असुर रक्तका मावलीहरुबाट पनि प्रशस्त सहयोग लिएर आफूलाई शक्तिशाली बनाए । शरीरमा ब्राह्मण रक्त भए पनि उनी आर्यहरुमाथि प्रतिद्वन्द्वी तथा प्रतिशोधको भाव राख्थे । उनी आर्य संस्कृतिमाथि आक्रमण गरेर नयाँ सुरुआत गर्न चाहन्थे– रक्ष संस्कृति । आफूलाई ‘रक्षपति रावण’ भन्न मन पराउने उनले जितेकाहरुलाई मार्दैनथे र आफ्नो अधीनमा रहने सर्तमा रक्षा गर्ने हौवा पिटाएर विजयी हुँदै जान्थे । रक्ष संस्कृतिलाई उपनिवेशवादको आदिम स्वरुप मान्न सकिन्छ । राज्य विस्तारका क्रममा भएका युद्धको वर्णन यति जीवन्त छ कि पाठकलाई आफैँ युद्धभूमिमा रहेको भान हुन्छ । दैत्य कुलकै सहयोगमा रावणले लंकामाथि आधिपत्य जमाए । आर्य र अनार्य मिश्रणको प्रतीकजस्तो लाग्ने रावणलाई सांस्कृतिक सम्मिलन र घर्षणको उदाहरणका रुपमा पनि हेर्न सकिन्छ ।
मानव–समाज विकासको चरणलाई राहुल सांकृत्यायनले वोल्गा से गंगामा विज्ञानसम्मत शैलीमा चित्रण गरेका छन् । मार्क्सवादको द्वन्द्वात्मक भौतिकवादलाई आफ्नो व्याख्याको मूल आधार बनाए पनि राहुलले यस किताबमा वैदिक रचनाहरुको सहयोग लिएका छन् । वैदिक ग्रन्थका उष: सूक्त र नासदीय सूक्तको चिन्तनलाई समेत राहुलले आफ्नो वैचारिकीमा ग्रहण गरेको देखिन्छ ।
पात्र र कथासँगै तत्कालीन समय, समाजको संरचना, विकासको क्रम आदिलाई मनोहारी ढंगले अघि सार्छन्, राहुल । उनले कथाहरुलाई पूर्वऋग्वैदिक कालीन र उत्तरऋग्वैदिक कालीन गरी विभाजन गरेकाले सभ्यता अध्ययनका लागि पाठकलाई सहज हुन्छ । यस पुस्तक लेखनमा साहित्यिक ग्रन्थदेखि गुप्तकालीन अभिलेखसम्मको प्रशस्त सहयोग लिएको देखिन्छ । हरेक कथामा मिति पनि उल्लेख गरिएकाले मानव भौतिक विकासको उत्तरवर्ती अनुसन्धाताका लागि ऐतिहासिक गोरेटो हुन सक्छ, यो किताब । लिखित साहित्यमा वर्णित पात्रबारे धेरथोर चर्चा भएकै छ तर श्रुति परम्परामा उल्लिखित कथा पढ्दा भने पाठकहरु कौतूकमय हुन्छन् । इसापूर्व ६ हजार वर्ष अगाडिबाट सुरु हुने पहिलो कथामा उनले कबिला संस्कृति र मातृसत्तात्मक समाजको सांगोपांगो चित्रण गरेका छन् । जंगली युगका मानिस सहयोगी भावनाभन्दा एकअर्कामा काटमार बढी गर्थे । आदिम युगमा जंगली जनावरसँग लड्न ढुंगाको हतियार प्रयोग गर्ने मान्छेले अश्व र गोमांससमेत ग्रहण गर्थे ।
प्राचीन वैदिक साहित्यमध्ये पुराणहरु सोह्रौँ शताब्दीसम्म लेखिँदै थिए, जसमा स्वैरकल्पनाको आधिक्य छ । पुराणमा इतिहासको अंश रहे पनि बढी उडन्ते कथाहरु थिए । तर आचार्य चतुरसेनले वैशाली की नगरवधू लेख्न बुद्धकालीन अनेकौँ कृति अध्ययन गरेको देखिन्छ । आम्रपालीको निहुँमा लेखकले तत्कालीन भारतका राजनीति, अर्थनीति, प्रशासनतन्त्रलाई सूक्ष्म ढंगले केलाएका छन् । इतिहासमा एक जना प्रकाशमान व्यक्ति जन्मिए त्यसको चौतर्फी उज्यालो फैलिन्छ भन्ने उदाहरण हुन्, बुद्ध । उनको पालाका राजा, विद्वान्, ऋषि, सेनापति, दार्शनिकदेखि सामान्य व्यापारीको समेत नाम हामीलाई ज्ञात छ । विदेह राज्यमा टुट्ने–फुट्ने क्रम चल्यो । अष्टकुलमा आवधिक निर्वाचन हुन्थ्यो र कडा कानुनको पालना गरिन्थ्यो । उपन्यासको सशक्त पक्ष हो– वर्णशंकर संस्कृति, जो द्वन्द्वात्मक इतिहासमा आधारित छ । कोशल, काशी, वत्सजस्ता साम्राज्यहरुको बीचमा बज्जी संघ थियो, जसको राजधानी थियो– वैशाली । त्यो विशालनगरमा ७ हजार ७ सय ७७ वटा पोखरी, प्रासाद, बगैँचा, अतिथि गृह थिए । यस्तो भव्य राज्यमा एउटा कानुनचाहिँ खराब थियो– रुपवती कन्याले एउटा वर मात्रै चुन्न नपाउने तर सर्वभोग्या हुनुपर्ने । कानुनको विरोध गर्दागर्दै पनि केशशुल्का बन्नुपर्ने बाध्यता आइपर्छ, रुपवती आम्रपालीलाई । उनी फन्दामा परे पनि सचेत थिइन् । उनै आम्रपालीको रुपमा फसेका शासक र शक्तिशाली पुरुषहरुको कथा यस उपन्यासमा छ । राज्य–राज्यबीच हुने आक्रमण तथा प्रत्याक्रमण र खराब कानुनको खराबै परिणामको अन्तर्यलाई उपन्यासमा राखेर चतुरसेनले तत्कालीन इतिहास निफनेका छन् । आक्रमणपछि लिच्छविहरु नेपाल प्रवेश गरेसँगै कुमारी प्रथा भित्रियो । कुमारीलाई सर्वभोग्या बनाउने तत्कालीन कानुनको प्रायश्चितस्वरुप यता आएर कुमारी पूजा थालेको हुन सक्छ किनकि त्यही कानुनले एउटा बलियो राज्य इतिहासको गर्तमा विलीन भयो ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...