(पुस्तक समीक्षा) जेलभित्र र बाहिर महिला
कारा र दुलारी दुवै किताबले नेपाली समाजको त्रासदी देखाउँछन् । एउटाले जेलभित्र, अर्कोले जेलबाहिर । पीडितचाहिँ महिला नै छन् । यो हाम्रो सामाजिक यथार्थ हो । दुवै किताबले नेपाली नारी कहाँ छन् भन्ने प्रश्न गर्छन् ।
कारा र दुलारी पढ्दा मैले नेपाली महिलाको अवस्था र मुसहर समुदायमा गएर आफैँले देखेका घटना सम्झेँ । दुवैलाई ‘उपन्यास’ भनिएको छ । सबै घटना र पात्र अहिलेकै वास्तविकतासँग मेल खान्छन् ।
दुवै किताबमा महिलालाई गरिने विभेद, दलितलाई गरिने अपमान, गरिबले भोको पेट सुत्नुपर्ने व्यथा लेखिएका छन् । काठमाडौँमा बस्नेलाई लाग्न सक्छ, यस्तो पनि हुन्छ र ! नेपालमा खानै नपाउने अवस्थाका मान्छे पनि छन् र ? दलितहरुलाई साँच्चै यसरी अपहेलना गरिन्छ ? जेलभित्रका नाइकेहरु के प्रहरीसँग मिलेर बदमासी गर्छन् ? नयाँ बन्दीलाई के कारामा भनेजस्तै गरिन्छ र ? के जेलभित्र पनि यौन शोषण हुन्छ र ? यी दुवै किताब लेखकको अनुभवमा आधारित भएकाले यी घटना सत्यको धेरै नजिक छन् ।
कारामा मानसिक रुपमै बिरामी महिलालाई जेलकी नाइकेले कठोर सजाय दिन छिँडीमा राख्छिन् । छिँडीमा शौचालय नभएको र कोठामै दिसापिसाब गर्नुपर्ने दशा देखाइएको छ । जेलमा नाइकेहरुको साम्राज्य चल्छ । प्रहरीलाई हातमा लिएर उनीहरु जे पनि गर्न सक्छन् । कारागारभित्र छुट्टै संसार छ ।
प्राय: यस्ता घटनाबारे कहीँ बोलिँदैन, लेखिँदैन । जेलभित्र मारपिट भएर बन्दीहरु घाइते भएपछि मात्र केही घटना मात्रै बाहिर आउँछन् । कारामा हिरा आफ्नाे लोग्नेलाई मारेर जेलमा परेकी छिन् । उनको छोरा पनि जेलमा सँगै छ । हिराको कथा–व्यथा पढेपछि मलाई लागेको थियो, वास्तवमा ‘न्याय’ त हिरालाई स्वतन्त्र छाडेर पो हुने थियो । १७ वर्षकी हिराको आफूभन्दा धेरै उमेरले जेठो लोग्ने छ । लाहुरेले आफ्नी छोरीभन्दा पनि सानो उमेरकी हिरालाई छोरा पाउन बिहे गर्छ । हिरा खुसी छैनन् । तर लोग्ने धनी भएकाले भरपेट खान पाएकी छन् ।
पहिलो सन्तान छोरी भएपछि लोग्ने रिसाएर हिरालाई पिट्छ । छोरा पाएपछि ‘त्यो छोरा मेरो होइन’ भनेर कराउँछ । एक दिन रक्सी खाएर खुकुरी नचाएर हिरा र छोरालाई मार्न खोज्छ । छोरालाई मार्न थालेपछि हिराले लोग्नेबाट खुकुरी खोस्छिन् र उसैमाथि नै जाइलाग्छिन् । लोग्नेको मृत्यु हुन्छ । हिरा प्रहरीमा आफैँ ‘मैले लोग्ने मारेँ’ भन्न जान्छिन् । हिरा जेल जान्छिन् तर उनीमाथि लोग्नेले अन्याय गरेको थियो भनेर कसैले विचार गर्दैनन् ।
प्राकृतिक न्यायअनुसार आफू र आफ्नाे छोराको रक्षा गर्ने अधिकार हिराको थिएन र ?
काराकी हिराजस्तै नेपाली जेलमा बसिरहेका थुप्रै महिला होलान्, जसले आफ्नाे रक्षा गर्दा पनि जेल जानुपर्छ । जब अदालतले त्यसको कारण खोतलेर पीडितलाई न्याय दिलाउने जमर्को गर्दैन, न्यायको नाममा अन्याय नै भइरहन्छ । यस्ता अन्यायमा बसेका महिलाको कथा हो, कारा ।
दुलारीमा चाहिँ समाजमा कति अन्याय छ भन्ने देखिन्छ । मुसहरकी छोरी दुलारीले पेटभरि भात खाने इच्छा मार्नुपर्छ । उसका आमाबा दुवै चरम गरिबीमा बाँचेका छन् । तराईको दलित समुदायमा गएर हेर्यो भने थाहा हुन्छ, दुलारी सत्य घटना हो । दुलारी पढेपछि लाग्यो– यो उपन्यास होइन, कसैले सिरहा वा सर्लाहीको दलित बस्तीमा गएर गरेको टिपोट हो ।
सिरहाको बस्तीपुर जाँदा मैले देखेकी थिएँ, दलित मुसहर, पासवान, डोम कसरी अति निम्न कोटिको जीवन बिताउँछन् ! दुलारीले यही सत्यलाई कथामा देखाएको छ । दुलारी स्कुल पढ्न जान सक्दिन । उसको भाइ पनि मालिककहाँ काम गर्न जाने हुँदा स्कुल पढ्न पाउँदैन । मुसा खोजेर खाँदा घरमा दसैँ नै आएको भनेर दुलारी दंग पर्छिन् । कस्तो दुुर्दशा !
पुरानो, च्यातिएको लुुगा लगाएर स्कुल जाँदा साथीहरुले जिस्काउँछन् । तर एउटै मात्र पुरानो गन्जीले उसको लाज छोपेको थियो । त्यो नै च्यातिदिँदा ऊ रोई । कस्तो विवशता ! स्कुल जाने लुुगा हुनु त परै जाओस्, मालिकले दिएको पुरानो, प्वाल परेको गन्जीसमेत च्यातियो, दुलारीको । दुलारीको च्यातिएको गन्जी, फ्रक आदिको वर्णन पढ्दा मन दुुख्छ । दुलारीको स्कुल त नाम मात्रको छ । उनलाई पढ्न आउँदैन । घरमा कसैले वास्ता गर्दैन । दलित बस्तीका स्कुलमा शिक्षकले वास्ता गर्ने त कुरै भएन । दुलारीकी साथीको बालविवाह भएको छ । सर्लाही, सप्तरी, सिरहा र तराईका दलित मुसहर बस्तीको कहानी हो, दुलारी ।
दुलारी पढ्दा मलाई मधेसका नेताहरुको भाषण याद आउँछ– ‘मधेस हेपिएको छ । मधेसको विकास भएको छैन । स्वायत्त शासन चाहिन्छ । हामी विभेदमा परेका छौँ ।’ यसो भन्ने नेताहरुले तराईमा मुसहरमाथि भएको विभेद, बस्तीमा चर्पी र स्कुल चाहिन्छ भनेर बोलेको कहिल्यै सुनिएको छैन ।
पहिलेदेखि नै कसैले ध्यान नदिएको हुनाले, जातको नाममा अपमानित हुनाले, सम्पत्ति–जग्गा केही नहुनाले तराईका दलितमा आत्मविश्वास छैन । उनीहरु जमिनदारको घरमा काम गर्न जाने, पिटाइ खाने, अपमानित हुुने र बलात्कृत हुने त यति सामान्य छ कि यसबारे कसैले प्रश्न उठाउँदैन । दलित आन्दोलनले कहिलेकाहीँ टाउको उठाउँछ । तर प्रहरी, कानुन, समाजका अग्रज कोही पनि दलितहरु अरुजत्तिकै पढून्, काम गरुन्, पेटभरि खान पाऊन् भन्ने चाहँदैनन् भन्ने तथ्य दुलारीमा उजागर भएको छ ।
केही वर्षअघि डोम चमारले ‘सिनो फाल्दैनौँ’ भनेर आन्दोलन गर्दा ठूला जातकाहरुको ‘सातो’ नै गएको थियो । उनीहरुले दलितहरुलाई ‘अब तँ हामीसँग बराबरी गर्ने’ भनेर दबाउन खोजेका थिए । त्यो आन्दोलनले दलितको जीवनमा केही अन्तर ल्याए पनि समाजमा अपहेलित नै छन् । उनीहरुको स्वास्थ्य, शिक्षा, सामाजिक विकासमा तराईका अग्रजको ध्यान पुगेकै छैन । त्यसैले दलितले आफ्ना सन्तानको बालविवाह गर्दा कथित ठूूला जातिहरु उनीहरुको निमन्त्रणामा सामिल भइटोपल्छन् । अर्थात्, बालविवाहका अपराधमा सामिल हुन्छन् । बालिका वधु र बालक वरलाई आशीर्वाद पनि दिन्छन् ।
कारा र दुलारी दुवैले नेपाली महिलाको जीवनको त्रासदी देखाएका छन् । दुवै किताबमा राजनीतिक घटना पनि छन् । कारामा लेखक नै राजनीतिमा लागेर जेल परेकी छिन्, दुलारीमा माओवादी युद्धका कारण भएको मुसहरको जीवनको दु:ख छ । दुलारीले लामा–लामा दर्शन छाँट्दा दुलारी अलि अमिल्दो लाग्छ । किताबको पहिलो आधा भाग जति सहजतापूर्वक बग्छ, दोस्रो भाग सलल बग्दैन । तर दुवै किताबले नेपाली समाजको त्रासदी देखाउँछन् । एउटाले जेलभित्र, अर्कोले जेलबाहिर । पीडितचाहिँ महिला नै छन् । यो हाम्रो सामाजिक यथार्थ हो । दुुवै किताबले नेपाली नारी कहाँ छन् भन्ने प्रश्न गर्छन् ।
कारा
लेखक : सुशीला कार्की
प्रकाशक : किताब पब्लिसर्स
पृष्ठ : २२७ं९
मूल्य : ३८० रुपैयाँ
दुलारी
लेखक : मुना चौधरी
प्रकाशक : सांग्रिला बुक्स
पृष्ठ : २९०
मूल्य : ३९५ रुपैयाँ
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...