बिन्दा पाण्डेका प्रिय तीन किताब
समाजमा पछि पारिएका समुदायको उत्थानका लागि साहित्यमार्फत वैचारिकी दिने तीन किताब
भर्खर–भर्खर विद्यार्थी आन्दोलनमा सरिक हुने बेला मोदनाथ प्रश्रितलिखित नारी बन्धन र मुक्ति पढेर प्रभावित भएकी थिएँ । त्यसले मलाई अझै प्रतिबद्ध भएर महिला आन्दोलनमा लाग्न प्रेरित गरिदियो । पत्रात्मक शैलीमा लेखिएको यस किताबमा नेपाली महिलामाथि हुने विभेद, अन्याय, अत्याचारको चित्रण गर्दै त्यसबाट मुक्ति पाउन संघर्षको आह्वान गरिएको छ ।
पुस्तकमा सम्बोधित बालविधवा कुनै एक बहिनी मात्रै नभएर सम्पूर्ण शोषित र उत्पीडित महिलाको प्रतिनिधि प्रतीत हुन्छ । एक निरक्षर बालविधवालाई समाजले गर्ने अपहेलनाको चूडान्त वर्णन गरिएको यस किताबमा महिला बन्धन कुनै एक व्यक्तिको मात्रै समस्या नभएर सिंगै समाजको रोगको रुपमा चित्रित छ ।
समाजमा विभेद र अन्याय रहिरहनुमा हाम्रो राजनीतिक पद्धति जिम्मेवार रहेकाले त्यसका विरुद्ध आधा आकाश ओगट्ने महिलाले संगठित आन्दोलन गर्नुको विकल्प नरहेको उल्लेख छ, किताबमा । पितृसत्ताले सिर्जना गरेको राजनीतिक निरंकुशता र आर्थिक पराधीनताका कारण पैतृक सम्पत्तिबाट वञ्चित गरिएकाले पनि महिला पाखा परेको यथार्थलाई सरल शैलीमा बुझाइएको छ । पितृसत्ताकै कारण महिलाहरु पछाडि पारिएकाले त्यही संरचनाविरुद्ध सम्पूर्ण आन्दोलन केन्द्रित हुनुपर्ने तर्क लेखकको छ । ग्रामीण महिलाको अवस्था र सामाजिक संरचना बुझ्न आज पनि यो पुस्तकको सान्दर्भिकता उत्तिकै छ ।
आन्दोलन र सिद्धान्तले हाम्रा विचारलाई निर्देशित गर्छन् तर विश्वमा धेरै साहित्यिक रचना छन्, जसले हाम्रो हृदयलाई आन्दोलित पार्छन् । म्याक्सिम गोर्कीको उपन्यास मदरमा चित्रित क्रान्तिकथाले पाठकको मनलाई उद्वेलित पारिरहन्छ । लाग्छ– पावेलजस्तो म किन हुन सक्दिनँ ?
पीडित समुदायलाई ज्ञान दिएर साहसी बनाउने, आफैँलाई चिन्ने र दोस्रो व्यक्तिको शान्ति तथा न्यायका लागि संघर्ष गर्दै जिउने प्रबुद्ध पात्रको कल्पना गर्छन्, गोर्की । उनी श्रमिक र महिलाजस्ता समाजमा पछि पारिएका समुदायको उत्थानका लागि साहित्यमार्फत वैचारिकी दिन्छन् । निरक्षर र पीडित आमालाई रुसको भुइँतहको सच्चा प्रतिनिधिको रुपमा प्रस्तुत गर्छन् ।
पावेलले तत्कालीन रुसी पुँजीवादप्रति जुन असहमति र मोहभंग दर्साए, त्यसले क्रान्तिमा सामेल हुन धेरैलाई उत्प्रेरित गर्यो । एउटा क्रान्तिकारी अनेक हन्डरका बाबजुद आफ्नो क्रान्तिपथबाट विचलित हुनु हुँदैन भन्ने प्रेरणा यो रचनाले मुखर रुपमा दिन्छ । उपन्यासमा देखिएको तत्कालीन रुसी समाजको सपना, क्रान्तिको आवेग र पात्रहरुको त्यागले नै हामीलाई आजसम्म आन्दोलनमा टिकिरहन उत्प्रेरित गरेको हुुनुपर्छ ।
व्यक्तिगत स्वार्थभन्दा उत्पीडित वर्गका लागि जीवन उत्सर्ग गर्ने आदर्श चरित्रहरुकै कारण समाजमा क्रान्तिले मूर्त रुप लिने हो । नेपाली क्रान्तिमा पनि योद्धाहरुको भूमिगत जीवनमा धेरै आमाहरुको साथ–सहयोग थियो, रुसका आमाहरूकै जस्तो । तर कतिपय क्रान्तिकारीले सपना भुलेकामा ती आमाहरुको गुनासो जिउँदो छ । विगतका गौरवशाली इतिहास र सपनामा योगदान गर्ने आमाहरुको साथलाई आजका नेतृत्वले बिर्सनु दु:खद पाटो हो ।
फ्रान्सेली अस्तित्ववादी चिन्तक सिमोन द बुभाएरको द सेकेन्ड सेक्समा महिलाको अवस्था र अस्तित्वमाथि गरिएको शोधपरक विश्लेषण नारी आन्दोलनका लागि गहकिलो घोषणापत्रजस्तो लाग्छ । सिमोनको प्रश्न छ, महिला के हो ? उनको निचोड छ– समाजमा महिलाको आजको अवस्था पुरुष सोचअनुरुपको परिभाषासिर्जित व्यवहारको उपज हो ।
पितृसत्तात्मक समाजले महिलालाई सधैँ ‘अन्य’ को रुपमा व्यवहार गरिरह्यो । सत्ताले निर्माण गरेको भाष्यमा दोस्रो दर्जाको महलमा खुम्चिन विवश महिलाका भावना, अधिकार र विचारको बेवास्ता गरिरह्यो र विभेदजन्य व्यवहारलाई नै निरन्तरता दियो । जैविक कारण देखाएर मातहतको प्राणी बनाएर चरम शोषण गरिएकाले आज पनि महिलाको अवस्था जटिल छ ।
सिमोनले समग्रमा विश्व महिला आन्दोलनलाई सम्पुट दिने गरी गहन वैचारिकी दिएका छन् । उनी प्रजनन अधिकारका सन्दर्भमा महिला अधीनताको वर्णन गर्छन् । महिला र पुरुषलाई तुलना गर्दै निष्कर्ष निकाल्छन्– मूल्यहरु शरीर विज्ञानमा आधारित हुँदैनन् । यिनलाई आर्थिक र सामाजिक सन्दर्भमा प्रकाश पारिनुपर्छ । महिलामा रहेको पराधीनता शाश्वत नभएर परिस्थितिजन्य अवस्था हो ।
महिलाको स्वतन्त्रतालाई अस्तित्वसँग जोडेर हेरिनुपर्छ र यसका लागि आर्थिक पक्ष नै प्रमुख कारक हुन्छ । सिमोनको वैचारिकीलाई नेपाली महिला आन्दोलनसँग जोडेर हेर्दा समाजका सम्पूर्ण निकायमा तिनको आर्थिक स्वामित्वलाई नै हेर्नुपर्ने हुन्छ । कतिपयले नारी आन्दोलनलाई पुरुषविरोधी धाराका रुपमा पनि बुझिदिएकाले समस्या भएको हो । यी आन्दोलन कसैका विरुद्ध नभई समानताको खातिर भएका हुन् । योगमायाजस्ता विद्रोही पात्रहरुको शृंखलामा हुर्किएको नेपाली महिला आन्दोलन आफ्नै माटोमा उठे पनि द सेकेन्ड सेक्सजस्तो वैचारिक पठनको भूमिका छ नै ।
प्रस्तुतिः गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...