अविनका चोटिला कार्टुन
अविनका रेखाहरु आफैँमा हस्ताक्षर हुन् । थोरै शब्द प्रयोग, लोभलाग्दो चित्र र पात्रको अब्बल क्यारिकेचर तथा मीठो रंग चयनले व्यंग्यचित्रलाई अब्बल बनाएका छन् ।
बिहान पत्रिका हात पर्नेबित्तिकै कार्टुनको कुना खोज्ने र त्यसलाई हेरेपछि मात्र अरु समाचारतिर नजर लगाउने को नहोला ! विद्यार्थीकालमा पुस्तकालयमा गणितका कोर्सबुकको सट्टा चित्रकलाका किताब खोज्ने र पाएसम्म चुट्किलाका किताब संकलन गर्ने पारखीले कार्टुनको मोटो किताबै पाए कस्तो होला ! कार्टुनिष्ट अविन श्रेष्ठको अविनको कार्टुन संग्रह भाग २ कार्टुनपारखी मात्र होइन, सबै पाठकका लागि कोसेली हुन सक्छ ।
किताबलाई ‘०६२–६३ को आन्दोलनपछिको नेपाल’ भनिएको छ । यसमा ०६२/६३ देखि ०७४ मा नेकपा सरकार बनेसम्मका घटनाक्रम कोरिएका उत्कृष्ट व्यंग्यचित्र छन् । पुस्तक चेसबोर्डमा राजालाई आन्दोलनको गोटीले चेक दिएको कार्टुनबाट सुरु हुन्छ । राजा ज्ञानेन्द्रको निरंकुश शासनदेखि निस्सासिएका जनता स्वत:स्फूर्त आन्दोलनमा होमिएको दृष्टान्त हो, त्यो कार्टुन ।
सशस्त्र माओवादी शान्ति सम्झौताबाट मूलधारमा आए । व्यवस्था परिवर्तन भयो तर देश र जनताको मलीन मुहार फेरिएन । राजा
हटाइयो तर अनेक ‘छोटे राजा’ हरु निस्किए, जो सत्ता र शक्तिका लागि लडिरहे । भ्रष्टाचार, दण्डहीनता, महँगी खुब फस्टाए, जसलाई मलजल गर्ने काम सत्ता र प्रतिपक्षकै नेताहरुले गरिरहे । यिनै र यस्तै विसंगतिमाथि बनाइएका अनि समय, न्युज फ्रन्ट, नागरिक तथा कान्तिपुरमा छापिएका १ सय २० चोटिला व्यंग्यचित्रको मजा लिन सकिन्छ, अविनका कार्टुन भाग २ पल्टाउँदा ।
हजारौँ शब्दले बुझाउन नसकिने कुरा एउटा कार्टुनबाट सबै तप्काका पाठकलाई सहजै जानकारी दिन सकिन्छ । अझ शब्दमा व्याख्या गर्नै नसकिने भावलाई समेत महसुस गराउन सक्छ, एउटा कार्टुनिस्टको ब्रसबाट जन्मिएको कार्टुनले । गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति मै हुँ भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै अनुहारभरि ‘प्रथम राष्ट्रपति’ लेखेर रमाएको कार्टुनले उनको आत्मरति र अति आत्मविश्वासलाई प्रस्टै झल्काइदिन्छ । शान्ति सम्झौतामा आउने तर आफैँले बोकेको हतियार बाधक भएको प्रसंगलाई गरिएको व्यंग्य चोटिलो लाग्छ । द्वन्द्वकालको एउटा भिडियोले पोल खोलिदिएपछि प्रचण्ड उदांगिएको प्रसंग आफैँमा एउटा कार्टुन हो ।
भूकम्पले देश दुखेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको नकारात्मक छवि कार्टुनले बाहेक शब्दले बोल्नै सक्दैनथ्यो । देश नाकाबन्दीले आक्रान्त थियो । प्रधानमन्त्री ओली भने आफ्ना हास्यव्यंग्यले नै जनतालाई भुलाउनमा निपुण । कार्टुनमा दनदनी बलिरहेको आगोबाट गुहारका पुकार आइरहेछन् । कुर्सीमा बसेका ओली हात बाँधेर ढाडस दिँदै छन्, नआत्तिनुस्, हामी छिट्टै इनार खन्दै छौँ ।
अख्तियारका विवादित आयुक्त लोकमानसिंह कार्कीलाई चोख्याउन लागिपरेका दलका नेताहरु कसरी आफैँ मैला हुन पुगे ? कार्टुन हेरेपछि नहाँसी बस्न सकिँदैन । मेडिकल माफियाविरुद्ध पटक–पटक आमरण अनशन बस्दै आएका डा गोविन्द केसीलाई हरेक पल्ट झुक्याइने गरेको तथा उनको मृत्युलाई कुरेको तीतो प्रसंगमाथि गरिएको व्यंग्यले मन अमिल्याइदिन्छ । दुई तिहाइको नेकपा सरकार बनेपछि न्याय प्रणालीमाथि मडारिएको राजनीतिको भयावह छाया दर्साउने कार्टुन झनै मार्मिक छ ।
अविनका रेखाहरु आफैँमा हस्ताक्षर हुन् । थोरै शब्द प्रयोग, लोभलाग्दो चित्र र पात्रको अब्बल क्यारिकेचर तथा मीठो रंग चयनले व्यंग्यचित्रलाई अब्बल बनाएका छन् । राजनीतिमा विसंगति हुन्छन् नै, त्यसमाथि नै व्यंग्य गरिन्छन् । भारतका कार्टुनिस्ट आरके लक्ष्मणले भनेका थिए, ‘कार्टुनहरु राजनीतिमा आएदेखि मैले राजनीतिक कार्टुन बनाउनै छाडिदिएँ ।’ सामाजिक विसंगतिमाथि बनाइएका ३० वटा पकेट केही कार्टुनले मुड फ्रेस गराइदिन्छ । तिनमा प्रयुक्त क्याप्सनले काउकुती लगाउँछ नै ।
आवरणको कार्टुन सदाबहार छ । परिस्थितिअनुसार हुन सक्छ, केही कार्टुनको प्रस्तुतीकरणमा भने समानता पाइन्छ । जस्तै, लडाकू ‘प्रचण्ड’ को छविमाथि मूलधारमा आएको ‘पुष्पकमल दाहाल’ हावी भयो । त्यस्तै, कांग्रेसका आदर्श ‘गिरिजाबाबु’ को छविलाई छोरी सुजाताको आसक्तिले कसरी ‘गिरिजाबुबा’ मा परिणत गरिदियो ? दुई थरी चित्र उस्तै लाग्छन् । बिरामी मुलुक अस्पतालको शैरयामा अलमलिएका डाक्टररुपी दलहरुले घेरिएका दुई व्यंग्यचित्र पनि झन्डै यस्तै लाग्छन् ।
गएको बाह्र–तेह्र वर्षका राजनीतिक घटनाक्रमलाई कम शब्दचित्रमा बुझाउन सफल छ, अविनको कार्टुन संग्रह । आकर्षक साजसज्जाका कारण पनि यो संग्रहणीय छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...