मृत्युचेत गुमाउँदा [कविता]
यसरी नै हरदिनजान्छन् मान्छेहरूसोच्दै नसोचेको क्षणमासोच्दै नसोचेको मोडमाआफन्त गए, साथी गएपरिचित गए, अपरिचित गएएक दिन म पनि जानेछु
सधैँ कसै न कसैको
अस्तु बोकेर बहने
बाग्मतीको किनारै किनार
उसले कति यात्रा गर्यो, गर्यो
सधैँ कसै न कसैको
आश र लास जल्ने घाटमा
ऊ कति मलामी गयो, गयो
सबैलाई जस्तै उसलाई पनि
कहिलेकाहीँ मसान वैराग्यले
नछोपेको होइन
सबैलाई जस्तै उसलाई पनि
कहिलेकाहीँ एकल नैराश्यले
नरूवाएको होइन
बिहानी घाम उकाली लाग्दा
पातलिएको हुस्सुजस्तै
उसको नैराश्य आफैँ
नहराएको पनि होइन
हुुुस्सु आइरह्यो, हुस्सु गइरह्यो
बाग्मती किनार र मसानघाटमा
उसको यात्रा चलिरह्यो
भ्रममा बाँचेको मान्छे ऊ
भ्रमलाई नै जिन्दगी ठानिरह्यो
तर त्यो दिन भने फरक थियो
घरछेउकै फुटपाथमा
गुनगुनाएर हिँडिरहेको उसलाई
के थाहा
त्यहाँ शनि, मंगल र केतुको बास थियो
उसलाई के थाहा
त्यही बिन्दुमा राहु विस्फोट हुँदै थियो
मासुका फाल्सा–फाल्सा
शरीरका टुक्रा–टुक्रा
बाटोभरि छरियो
कसैलाई भेट्न नपाई
ऐय्या पनि भन्न नपाई
जीवनलाई ऐनामा हेर्नै नपाई
सबै छाडेर, सबैलाई छाडेर
एकै पलमा ऊ गयो
यसरी नै हरदिन
जान्छन् मान्छेहरू
सोच्दै नसोचेको क्षणमा
सोच्दै नसोचेको मोडमा
आफन्त गए, साथी गए
परिचित गए, अपरिचित गए
एक दिन म पनि जानेछु
कसलाई के थाहा
मृत्यु कहिले, कुन बेला
कसरी, कहाँ
कसलाई लिन आउँछ ?
फूल, माला, खादा, सम्मान
चर्चा–परिचर्चा, स्मृति–वार्षिकी
मूर्ति, म्युजियम
सबैको अर्थ बाँच्नेले खोज्ने हो
जानेलाई अमरत्वको अर्थ हुँदैन
अवचेतनामा हरेक मान्छेलाई
थाहा हुन्छ
कुनै पनि बेला फुट्न सक्ने मुटु
छातीमा बोकेर
कुनै पनि बेला चर्किन सक्ने
धरतीमा टेकेर
ऊ माटोमा विलीन हुन
पर्खिरहेको निरीह प्राणी हो
अवचेतनामा हरेक मान्छेलाई
थाहा हुन्छ
ऊ कुनै पनि बेला ढल्न सक्ने
देहमा उभिएर
कुनै पनि बेला सुक्न सक्ने
नसामा जेलिएर
शून्यतामा समाहित हुन
पर्खिरहेको संयोगको अस्तित्व हो
तर पनि
मान्छे किन लोभी हुन्छ ?
मान्छे किन धूर्त हुन्छ ?
मान्छे किन क्रूर हुन्छ ?
मान्छे किन अतृप्त हुन्छ ?
पद, पैसा, प्रतिष्ठाको
मान्छे किन दास हुन्छ ?
आफ्नै आँखामा झर्न
मान्छे किन अभिशप्त हुन्छ ?
अवचेतन मनको मानव निरीहतालाई
चेतन मनको अत्याकांक्षाले जित्न खोज्दा
मान्छेले जानीजानी मृत्युचेत गुमाउँछ
मानवता त्यहीँबाट भंग हुन्छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...