साहित्य
काठमाडौंदेखि हिँडेर पाँच दिनमा बाँके पुगेका बर्दियाका मजदुर । मधु शाही/कान्तिपुर
४ वैशाख २०७७ बिहीबार
५०६ किलोमिटर
हिँडेरै घर गइरहेको मान्छे, ५०६ किलोमिटरमा कति पाइला हुन्छ ? (कविता)

हिँडेरै घर गइरहेको मान्छे
५०६ किलोमिटरमा
कति पाइला हुन्छ ?
चप्पलको फित्ताले नापुँ कि
पानीफोके पाइतालाले !
चाउचाउको अन्तिम फाँकोेले नापुँ कि
रित्तिदै गएको पानीको बोतल
लुकाउँदाको ग्लानीले !
सोध्नू उनै ‘सवारी’ मा गुड्नेहरूलाई
हुने र नहुनेको बीचको पर्खाल
झनै अग्लिएको नदेख्नेहरूलाई
र, भनिदिनु
गरिबीको ‘क्वारेन्टाइन’ नहुन्जेल
भोकलाई ‘लकडाउन’ गर्न सकिन्न !
* काठमाडौंदेखि बाँकेसम्मको दूरी ५०६ कि.मी ।