भाग्यवादीको कम्पन–कथा
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको वर्षगाँठमा संस्मरणात्मक निबन्ध
सामान्यतया भाग्यवादीहरू ईश्वरवादी हुन्छन् । तर म चरम भाग्यवादी भए पनि ईश्वरवादीचाहिँ होइन । यद्यपि म इमानदारीपूर्वक ईश्वरमा आस्था राख्नेहरूलाई ठूलो सम्मान गर्छु । छोटकरीमा म आफूलाई ‘कर्मशील भाग्यवादी’ भन्न रूचाउँछु । अर्थात्, गर्नुपर्ने कर्म इमान र दृढताका साथ गर्दै जाने तर परिणामहरू सधैँ मान्छेको वशमा नहुन सक्छ भन्ने यथार्थलाई सदा मनन गर्ने र स्वीकार्ने । ईश्वरवादी नहुनाको कारणचाहिँ के हो भने ईश्वरको अस्तित्व छ/छैन भनेर प्रमाणित गर्न गाह्रो छ । त्यो प्रमाणित गर्न सकिँदैन भन्ने दृष्टिकोण राख्नेलाई अंग्रेजीमा ‘एयाग्नोस्टिक’ भनिन्छ । लाग्छ, म ‘थेइस्ट (आस्तिक)’ अथवा ‘एथेइस्ट (नास्तिक)’ नभएर ‘एयाग्नोस्टिक’ हुँ । तर २०७२ साल वैशाख १२ गते मध्य दिनमा धरती हल्लिँदा मैले चलाइरहेको मोटरभित्र म एक्लै ‘हे भगवान्...हे भगवान्...हे भगवान्...’ भनेर अर्धबेहोसीमा जसलाई मैले जीवनभर शंकाको घेरामा राखेको थिएँ, उनैलाई पुकारिरहेको थिएँ । पछि थाहा भयो, मैले पुकारेको भगवान्का धेरै स्वरूपहरू त्यति बेला लडिसकेका रहेछन् । आफू ‘एयाग्नोस्टिक’ भएको विश्वास गर्ने मैले चरम पीडा र आशंकाको घडीमा भगवान्कै नाम लिएछु । अहिले फर्केर हेर्दा लाग्छ, सो पुकारमा भक्तिभावभन्दा समाजमा निहित आश्चर्यवोधको स्वस्फूर्त अभिव्यक्ति थियो ।
त्यो मध्याह्न म काठमाडौँ केशरमहलको बाटो भएर आफ्नो मोटरमा रानीपोखरीतिर जाँदै थिएँ । केशरमहलको मूलद्वारनिर पुग्नुअघि मोटर पन्चर भएजस्तो महसुस भयो । नियन्त्रणमा राख्न खोज्दा दायाँ–बायाँ लाग्न खोजिरह्यो । कहिले एउटा, कहिले अर्को चक्का पन्चर भएको अनुभूति भयो । पहिले मोटरको गति घटाएँ तर नियन्त्रण नै गर्न नसकेपछि मोटर बाटोको बीचमैं रोकेँ । मैले मोटर के रोकेको थिएँ, अगाडि देब्रेतिर नारायणहिटी दरबारको पर्खाल एक खण्ड यति बेजोडले ढल्यो कि त्यसपछि मात्र मैले त्यो भयानक भूकम्प थियो भन्ने महसुस गरेँ । मोटर छाल आएको पानीमाथिको डुंगाजस्तै हल्लिरहेको थियो । मैले हतास र भयको स्वरमा ‘हे भगवान्...’ को एकोहोरो चीत्कार लगाएर मोटरको अघिल्तिरको सिसाबाट बाहिर हेर्दा केशरमहलका रूख र बाटोछेउका बिजुलीको खम्बा पिङजस्तो मच्चिरहेका थिए । तिनका माथि कौवाहरू कोकोहोलो गर्दै बतास्सिएका थिए ।
मेरो मस्तिष्कमा ह्वात्तै उब्जिएको तनावले जेलिएको तर्कना कौवाको कोकोहोलोभन्दा कम थिएन । मेरो मनमा आएको सबभन्दा पहिलो बीभत्स सोच ‘परिवारमा म र मेरी छोरी (स्कुलबाट दिल्ली गएकी) मात्र जीवित रहने भयौँ, अरु सबै गए’ भन्ने थियो । अझ मैले आफन्तहरू पुरिएको, पीडामा छटपटिएको, असहाय भएर चिच्याएको, कराएको सबै सोच्न भ्याएँ । मेरो सधैँको कामना मेरी श्रीमतीभन्दा पहिले म जाऊँ भन्ने छ र मैले सो भावलाई कवितामा पनि अभिव्यक्त गरेको छु । ‘उनी पनि गइन्’ भन्ने भयावह सोचले म विक्षिप्त भएँ । मैले तुरुन्तै श्रीमतीलाई फोन गरेँ । फोनको घन्टी गयो तर उठेन । म झन् अताल्लिएँ । त्यसपछि गरेका कुनै पनि फोन जाँदै गएन, जुन अपेक्षित नै थियो ।
केही समयदेखि हामी ललितपुरको भैंसेपाटीस्थित एउटा ‘कोलोनी’ मा घर किनेर त्यहीँ बस्दै आएका थियौँ । बेच्ने उद्देश्यले कोलोनीमा बनाइएका घरहरू बलियो हुँदैनन् भन्ने आम धारणा थियो । मेरो बुवा–आमा, अंकल–आन्टी र भाइ–बुहारी मेरो जन्मथलो काठमाडौँको बौद्ध, महाँकालमा ३५/४० वर्षअघि बनाएको घरमा बस्दथे । भैंसेपाटी र बौद्ध दुवै ठाउँका घरहरू मैले भर्खरै नारायणहिटीको पर्खाल ढल्दा प्रदर्शित भूकम्पको आवेगबाट बचे होला भन्ने रत्ति पनि लागेन । मेरा अन्य आफन्तजनहरू पनि मनमा आउन थाले ।
म मोटरभित्रै थिएँ । त्यतिन्जेलमा बाटोमा चलिरहेका अन्य सवारी साधनहरू सबै बीचबीचमै रोकिइसकेका थिए । त्रस्त अनुहारहरू फोनमा व्यस्त थिए । तर कसैको पनि फोन लागिरहेको थिएन भन्ने स्पष्टै थियो । बाटो ‘ज्याम’ समान थियो, अघि बढ्ने ठाउँ थिएन । चरम छटपटाहटको मनस्थितिमा भए पनि मेरो पेसाले मलाई मोटरबाट बाहिर निस्किएर फोटो खिच्न घचघच्यायो र मैले मोबाइलको सदुपयोग गरेँ । केही मोटरसाइकलहरू अत्तालिएर दौडन खोज्दै थिए । केही मोटरहरू पनि त्यसै गर्न बल गर्दै थिए । बाटो बिस्तारै खुल्न थाल्यो र म अघि बढेँ । अघि बढ्दा कान्तिपथ र देब्रेतिर ठमेलका घरहरू सग्लै देखेपछि मनमा अलिकति आश पलायो । मोडिएर दरबारमार्गमा महेन्द्रको शालिकवरपर पुग्दा अर्को बेजोडको कम्पन आयो । आत्तिएका मान्छेहरू बाटोमा छरपस्ट थिए ।
तर दोस्रो बेजोडको कम्पनकै बेला मेरो मोबाइलमा छोराको टेक्स्ट आयो– ‘हामी सुरक्षित छौँ, तपाईं कहाँ हुनुहुन्छ ?’ त्यतिन्जेल मेरो आँखामा आँसु त थिएन तर मुटु भक्कानिइरहेको थियो । यति लामो र गहिरो सास लिएँ कि आफैँलाई खुसी थाम्न गाह्रो भयो । त्यसपछि मलाई पनि फोन होइन, मोबाइलमा टेक्स्ट गर्ने बुद्धि आयो र कयौँलाई टेक्स्ट गरेँ । जवाफ कतैबाट आएन । त्यसैबीच भाइको सन्देश आयो ‘हामी सबै ठीक छौँ, तपाईंहरूको के छ ?’ जीउ धेरै हदसम्म हलुका भयो । अन्य आफन्तहरू पनि सुरक्षित भएको थाहा हुँदै गयो ।
आफन्तहरू सुरक्षित भएको थाहा भएपछि मभित्र मेरो पेसागत दायित्व हावी भयो । विपदको परिस्थितिमा पत्रकारको भूमिका अस्पतालको आपतकालीन कक्षमा काम गर्ने डाक्टरको भन्दा कम हुँदैन । त्यसैले घर जानु साटो मैले बीबीसीको नक्सालस्थित कार्यालयतिर मोडिनु बढी आवश्यक सम्झिएँ । त्यतिन्जेलमा कार्यालयका सबै साथीहरूको स्थिति पत्ता लगाउने प्रयास पनि सुरु भइसकेको थियो । कमलपोखरी पुगेपछि ‘साँझको प्रसारणका लागि समय धेरै बाँकी छ, म आत्तिन्छु भनेर सबै ठीक छ भनिदिएको हुन सक्छ, एकचोटी घरै पुग्छु’ भन्ने लाग्यो र मोटर घुमाएर भैंसेपाटीतिर लागेँ । बाटोमा कयौँ भत्किएका पर्खाल, सिंहदरबारअगाडि चर्किएको बाटो र केही भत्किएका घरहरू देख्दा मन फेरि अशान्त भयो । भैंसेपाटी कोलोनीमा पुग्दा परिवारका सदस्य र छिमेकी सबै घरबाहिरको सानो खाली ठाउँमा बसिरहेका थिए । धरहरा ढलेको सन्देश आइसकेको रहेछ । त्यो त क्षतिको विवरणको सुरूआत मात्र हो भन्ने प्रस्टै थियो ।
परिवारका सबै सदस्य सकुशल र कोलोनीका सबै घरहरू सग्लै देखेपछि म १५ मिनेटजति बिताएर सिधै कार्यालयतिर हानिएँ । लण्डनस्थित बीबीसीको मुख्यालयबाट गरिएका फोनहरू बेलाबेलामा लागिरहेको थियो र हामीलाई उच्च तहबाट हाम्रो सुरक्षार्थ कार्यालय भवनमा नपस्न कडा निर्देशन दिइएको थियो । तर कार्यालयमा नपसी साँझको प्रसारण र गर्नुपर्ने अन्य कामहरू हुन सक्ने सम्भावनै थिएन । त्यसैले कार्यालयमा जम्मा भएका हामी सबै साथीहरूले यस्तो समयमा ‘त्रासको भावनाभन्दा पेसागत दायित्व प्रधान भएको’ निष्कर्ष निकाल्दै कार्यालय प्रवेश गर्यौँ र पेसागत दायित्व निर्वाह गर्नकै लागि आदेश अवज्ञा गरेको जानकारी लण्डनका सम्बन्धित अधिकारीहरूलाई गरायौँ । त्यसपछि पेसागत रूपमा के–के भए, त्यो छुट्टै निबन्धको विषय हुन सक्छ ।
हामीले पौने नौ बजे बीबीसीको कार्यक्रम प्रसारण गर्दा व्यापक विध्वंसका खबरहरू आइसकेका थिए । राती ११ बजेतिर मोटरमा घर फर्किंदा मलाई ईश्वरबारेको सम्पूर्ण अवधारणादेखि नै दिक्क लागिरहेको थियो । संसारका सबै धर्ममा ईश्वरलाई दया, करूणा र सकारात्मकताको सर्वशक्तिमान प्रतीकका रूपमा हेरिन्छ र पुजिन्छ । तर ईश्वर नै ईश्वरले भरिएको देशको आज यो हाल भएको थियो । भित्रैदेखि भावना मडारिएर आएपछि मैले मोटरमै नोटबुक झिकेर त्यसलाई लिपिबद्ध गरेँ । त्यो दिन लेखिएको कविताबिना यो निबन्ध अपूरो रहनेछ :
भूकम्पपछि
ईश्वर नै ईश्वरले घेरिएको आँगनमा
ईश्वर नै लडेपछि
म कसलाई पुकारूँ !
ईश्वर नै ईश्वरले भरिएको देशमा
ईश्वर नै ढलेपछि
म कसलाई गुहारूँ !
आज लाग्दै छ
ईश्वर पनि दुई थरीका छन् यहाँ
एउटा, मान्छेले बनाएका
अर्को, रहस्यमा लुकेका
मान्छेले बनाएका ईश्वर
मान्छेकै विम्ब रहेछन्
ती टुट्छन्, फुट्छन्
ठडिन्छन्, ढल्छन्
मान्छेजस्तै कमजोर छन्
हेर न,
मच्छिन्द्रनाथ, काष्ठमण्डप, कालमोचन
ती कसरी असहाय पछारिएका छन् !
रहस्यमा लुकेका ईश्वरचाहिँ
कहाँ छन्, कहाँ छन्
ती कहिले अनिकाल भएर उदाउँछन्
कहिले अनावृष्टि भएर अस्ताउँछन्
कहिले आँधी भएर छोप्दछन्
कहिले पहिरो भएर बग्दछन्
ती न मान्छेको प्रार्थना सुन्दछन्
ती न मान्छेको व्यथा बुझ्दछन्
‘हे राम, हे राम’ को क्रन्दनमा पनि
ती रहस्यकै गर्भमा लुक्दछन्
आज मैले जसलाई पुकारेँ, ती आफैँ ढलेका छन्
आज मैले जसलाई गुहारेँ, ती मौन बसेका छन्
हे भक्तहरू हो, भन्देऊ न मलाई
साँच्चिकै ईश्वर वास्तवमा कहाँ छन् !
भिन्नभिन्न धर्मका गुरुले यस्ता प्राकृतिक विपद र अन्य वियोगान्त घटनाबाट मानव जगतमा पर्ने असरलाई ‘पाप, पुण्य र पुनर्जन्म’ का जे–जस्ता अवधारणा उद्धृत गर्दै व्याख्या गरे पनि निर्दोषहरूको पीडादायी संहार भएका यस्ता क्षणले मजस्ता ‘एग्नोस्टिक’ लाई ईश्वरको अस्तित्वमाथि थप प्रश्न गर्ने ठाउँ दिन्छ । तर ‘एग्नोस्टिक’ भएकै कारण भक्तहरूले तर्क गर्ने ईश्वरको अदृश्यता र सम्मानलाई पूर्ण रूपमा नकार्न पनि सक्दिनँ र मस्तिष्कमा उब्जिने अनेक प्रश्नका जवाफलाई केवल विज्ञानको दृष्टिकोणबाट विश्लेषण गर्न मनैले मान्दैन । त्यस्तै एउटा प्रश्न हो– यति कठोर भूकम्प यति दयालु कसरी भयो ?
यदि यो भूकम्प राती आइदिएको भए वा यदि यो भूकम्प दिउँसो स्कुल लागेको बेलामा आइदिएको भए के हुन्थ्यो ? दुईवटा भयावहपूर्ण कल्पना मेरो मनमा अझै पनि आइरहन्छ । भूकम्पमा पाँच लाखभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् । यो भूकम्प मध्यदिनमा नआएर मध्यरातमा आएको भए के हुन्थ्यो ? राती आउँदा मानिलिऔँ, पूर्ण रूपमा नष्ट पाँच लाख घरमध्ये अढाई लाख घरमा एक जनाको पनि ज्यान गएन रे । मानिलिऔँ, बाँकी अढाई लाख घरमा औसत हिसाब गर्दा एक–एक जनाको मात्रै मृत्यु भयो रे । यसरी असाध्यै ‘कन्सरभेटिभ’ हिसाब गर्दा पनि रातीको समयमा यो भूकम्प आएको भए अढाई लाख नेपालीको ज्यान जाने देखिन्छ ।
अब यो भूकम्प स्कुल लागेको दिनमा आएको कल्पना गरौँ । भूकम्पबाट लगभग ५ हजार स्कुल पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ । मानिलिऔँ, त्यसमा दुई हजार स्कुलमा एक जना विद्यार्थीको पनि ज्यान गएन रे । बाँकी अढाई हजार स्कुलमा औसत २५/२५ जना विद्यार्थी मात्र हताहती भएको हिसाब गर्ने हो भने पनि सम्भवत: ७५ हजार बालबालिकाको त हामी लास मात्र निकालिरहेका हुन्थ्यौँ ।
हो, जो–जो प्रभावित भए तिनका लागि उनीहरूको जीवनमा यो भूकम्पभन्दा निर्मम संभवत: अर्को केही हुन सक्दैनथ्यो । तर समष्टिगत रूपमा फर्किएर हेर्दा नेपालको परिप्रेक्ष्यमा त्यति शक्तिशाली भूकम्प त्यति धेरै दयावान हुनै सक्दैनथ्यो तर भइदियो ।
विज्ञानवादले भाग्यवाद मान्दैन, अध्यात्मवाद पनि मान्दैन । तर जीवन–जगतलाई विज्ञानको आधारमा मात्र विश्लेषण गर्न खोजियो भने त्यो अपुरो हुनेछ । विज्ञान यो सृष्टिको एउटा सानो अंश मात्र हो । त्यसको अर्थ सृष्टिको विश्लेषण अध्यात्मवादबाट हुन सक्छ भन्ने होइन । अध्यात्मवादको दायरा पनि विज्ञानको भन्दा फराकिलो छैन । पूर्णता सृष्टिमा मात्र छ, त्यसका अंशमा होइन । तर सृष्टि रहस्यमयी छ । तसर्थ रहस्यमा निहित अध्यात्मवाद र विज्ञानवाद मेरा लागि रहस्यकै विषय हुन् । मैले ‘कम्प्युटर’ मा ‘किबोर्ड’ चलाउँदा ‘स्क्रिन’ मा अक्षरहरू लेखिन्छ । हर साँझ म काठमाडौँको ‘रेडियो स्टुडियो’ मा बसेर बोल्दा देशभरि त्यो आवाज सुनिन्छ । छेउमा भएको ‘मोबाइल’ उठाएर नम्बर थिच्दा सात समुन्द्रपारिको व्यक्तिसँग कुरा गर्न सकिन्छ । अध्यात्म र विज्ञानले यसको जतिसुकै व्याख्या गर्न खोजे पनि यसको सिर्जना मात्र होइन, त्यो सिर्जना गर्न सक्ने मान्छेको अस्तित्व पनि मेरा लागि रहस्यकै विषय हो ।
तसर्थ वैशाख १२ गतेको भूकम्पबारे न अध्यात्मवादले मेरा सारा जिज्ञासा मेटाउन सक्यो, न त विज्ञानवादले । जो दिवंगत भए या घाइते भए, त्यसलाई पूर्वजन्मको फल मान्ने हो भने अध्यात्मवादको हरेक बहसलाई त्यसैमा टुंगाइदिए हुन्छ । होइन भने धरहराको टुप्पोमा पुगेको जोडी धरहरासँगै भुइँमा बजारिँदा बाँचेको अनि मोटरमा गइरहेकी महिला सडकछेउका सबै घरहरू सग्लै रहँदा एउटाचाहिँ भत्केर त्यसैमा पुरिएर मरेको तथ्यलाई न अध्यात्मवादले व्याख्या गर्न सक्छ, न त विज्ञानवादले ।
२०३७ सालमा सुदूरपश्चिम नेपालमा ६.५ रेक्टर स्केलको ठूलो भूकम्प गयो । त्यति बेला म दार्चुला खलंगाको महेन्द्र माध्यमिक विद्यालयमा पढथेँ । मेरो अंकल सरकारी जागिरे हुनुहुन्थ्यो । अंकलको छोरा करिब ३ वर्षको थियो । अंकल, म र मेरा केही साथीहरू दिनदिनै बेलुका ब्याडमिन्टन खेल्थ्यौँ । एक दिन ब्याडमिन्टन खेलिसकेपछि म र मेरो अंकल चौरको हरियो घाँसमा लमतन्न परेर पल्टिएका थियौँ । अंकलको छोरो राजेश आफ्नो बुबाको पेटमा घोडा चढेर खेलिरहेको थियो । उसले अंग्रेजी सिकोस् भनेर हामी उसको अगाडि र ऊसँग प्राय: अंग्रेजी बोल्ने गथ्र्याैं । पेटमा घोडा चढिरहेको राजेशले कुनै सन्दर्भविना फ्याट्ट ‘टुडे वी विल गो अपस्टेर्स, इट विल रेन हेभिली एन्ड वी विल डाई’ (आज हामी माथि जान्छौँ, भारी वर्षा हुन्छ र हामी मर्छौं) भन्दियो । यो वाक्य म कहिल्यै बिर्सन सक्दिनँ ।
उसको भनाइबाट हामी चकित त पर्यौँ नै तर हामी झस्कियौँ पनि किनभने दार्चुलामा बेलाबेलामा भूकम्प गइरहन्थ्यो । भाइले त्यसो भनेको एक छिनपछि नै एउटा भूकम्प गयो, जसले नजिकैको टुँडिखेल वरिपरि लगाएको पर्खालको केही भाग भत्काइदियो । दार्चुला बसुन्जेल त्यति ठूलो भूकम्प हामीले महसुस गरेका थिएनौँ । सो भूकम्पपछि हाम्रो डर झन् बढ्यो । त्यसका अन्य कारण पनि थिए । सन् १९७० को दशकमा चीनमा ७ रेक्टर स्केलभन्दा माथिका ५ वटा भूकम्प गएका थिए । त्यसैताका वैज्ञानिकहरूले भूकम्प जानुअगाडि जनावर र चराचुरूंगीले देखाउने असामान्य व्यवहारबारे लेखेको एउटा अनुसन्धानमूलक लेख मेरो अंकलले पढ्नुभएको रहेछ । केही समयदेखि हामी बसेको वरपर दिउँसै स्यालहरू कराउँदै दौडिने, जमिनबाट एकदमै धेरै सर्पहरू निस्कने र गिद्धहरू पहाडबाट नजिकैको मालिकार्जुन मन्दिरका रूखमा आएर बास बस्ने गरिरहेका थिए, जुन एकदमै असामान्य थियो । त्यो उल्लेख गर्दै अंकलले ‘भैंचालो जाने हो कि क्या हो’ भन्ने गर्नुहुन्थ्यो ।
त्यति बेला दार्चुला खलंगामा बनेका घरहरू अधिकांश ढुंगामाथि ढुंगा राखेर बनाइएका हुन्थे, जसलाई जोड्न माटो या सिमेण्ट केही पनि प्रयोग गरिएको हुन्नथे । हाम्रो घर दुई तले थियो । तल अंकलको कार्यालय र माथि क्वाटर भएको । हामीले त्यो दिन फेरि भूकम्प आयो भने तल सुत्दा भाग्न सजिलो होला या माथि भनेर छलफल गर्यौँ र माथि सुत्दा दौडेर सिधै बाहिरको भर्याङबाट भाग्न सजिलो हुने निष्कर्ष निकाल्यौँ । खान खाएपछि करिब साढे आठ बजेतिर मेरी आन्टीले मलाई कम्मर दुख्ने समस्या भएकोले तेल तताएर लाइदिँदै हुनुहुन्थ्यो, भूकम्प आयो । हामी अर्को कोठामा सुतेकी बहिनीलाई पनि लिएर चिच्याउँदै भर्याङतिर हुत्तिएर दौडियौँ । मदिरा पिएर लडखडिएको जँड्याहाजस्तै हल्लिँदै घरबाट अलि टाढा पुग्यौँ । घर गल्र्यामगुर्लुम भत्कियो । बाल–बालले बाँचियो ! कसैलाई केही भएनछ । आन्टीको औँलामा सानो चोट लागेछ र धोती च्यातिएछ । त्यसपछि ‘हामी बाँच्यौँ, हामी बाँच्यौँ’ भनेर म चिच्याएको कुरा अहिले पनि कहिलेकाहीँ अंकल–आन्टी उल्लेख गर्नुहुन्छ ।
यहाँ मैले कम्पनको पुरानो कथा सुनाउनुको कारण के हो भने त्यो दिन यदि ३ वर्षको भाइले अनायासै ‘आज हामी माथि जान्छौँ, भारी वर्षा हुन्छ, र हामी मर्छौं’ नभनेको भए सम्भवत: हामीले माथिल्लो तल्लाको ढोकाको चुकुल चाँडै नै लगाइसकेका हुने थियौँ, जुन खोल्न जहिले पनि सकस हुने गथ्र्याे । त्यस दिन त्यो चुकुल लगाएको भए हामी बाँच्ने सम्भावनै रहने थिएन । तर भाग्यको कुरा, हामी बाँच्यौँ !
जीवन मेरा लागि भाग्य हो । न कुन भूगोलमा जन्मिने हाम्रो वशमा छ, न त कुन जात, धर्म या वर्गमा जन्मिने हाम्रो वशमा छ । न जन्म, न मृत्यु नै हाम्रो वशमा छ । समय सँगैसँगै हामी भाग्यमा भूगोल, जात, धर्म र वर्गका रेखा कोर्दै र रंग लगाउँदै जान्छौँ । तिनै रंगरेखा कोर्ने क्रममा अध्यात्मवादी पनि बन्छौँ, विज्ञानवादी पनि बन्छौँ । अन्यथा, जीवन भाग्य नै हो । भूकम्पले मात्र होइन, अन्य कारणले पनि कतिपयको सुन्दर संसार एक निमेषमै चकनाचुर भएको, सुन्दर परिवार एक क्षणमै वियोगमा विक्षिप्त भएको हामीले देखेका छौँ । कुनै अध्यात्म या विज्ञानले त्यसलाई व्याख्या गर्न सक्दैन । कतिपयले भन्छन्, ‘भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर अड्छ त ?’ अड्दैन, हामी सबैलाई थाहा छ । तर भाग्यमा छैन भने मैले यो वाक्य पूरा पनि गर्न नपाउँदै भुक्लुक्कै ढलेर यो जीवन अन्त्य हुन सक्छ भन्ने पनि हामीलाई थाहा छ ।
भाग्यवादी हुनु नराम्रो होइन । भाग्यवादीमा जीवनको क्षणभंगुरताको अनुभूति हुन्छ । हाम्रा हरेक पाइला अनिश्चित धरातलमा चालिइएको हुन्छ, जुन कुनै पनि बेला भासिन सक्छ भन्ने ज्ञान हुन्छ । मृत्युबोधको प्रबल चेतना हुन्छ । मेरी श्रीमतीले मलाई बारम्बार भन्ने गर्छिन्, ‘आखिर मरेर जाने त हो ।’ पहिले–पहिले एक–दुई पटक सुन्दा मैले त्यसलाई सामान्य अभिव्यक्तिका रूपमा लिएँ । पछिपछि मेरो भाग्यवादी मनोविज्ञानले ‘आखिर मरेर जाने त हो’ लाई मेरो जीवन दर्शनको एक अभिन्न पाटो बनाइसकेको मैले थाहै पाइनँ । आजभोलि म धेरै सामाजिक अन्तरक्रियाहरूमा सो वाक्यलाई उद्धृत गर्ने गर्छु । तर निराशा जगाउन होइन, आशा र प्रेरणा जगाउन । यस्तो लाग्न थालेको छ, मृत्युबोध सकारात्मक प्रेरणाको सबभन्दा ठूलो स्रोत हो, जसमा मृत्युचेतना हरेक क्षण मस्तिष्कको पछाडि शान्त र सौम्य रूपमा बसेको हुन्छ, उसमा सकारात्मक शक्तिको बास हुन्छ । उसले समाजलाई हानि गर्ने काम गर्ने सम्भावना अत्यन्त न्यून रहन्छ किनभने सधैँ उसलाई लाग्छ, ‘आखिर मरेर जाने त हो ।’ जसरी मृत्युको नजिक पुगेको व्यक्तिमा सामान्यतया ठगी, लोभ, ईर्ष्या, प्रतिशोध र आक्रोशको भावना हुँदैन, त्यसैगरी मृत्यु चेतनालाई सधैँ मस्तिष्कमा बास दिने व्यक्तिमा त्यस्ता कुभावहरूले जन्म लिने सम्भावना कम हुन्छ । निरन्तरको मृत्युबोधले जन्माउने सकारात्मक सोच, सुकर्म र शान्ति नै ‘निर्वाण’ हो । तसर्थ यो संसारमा मृत्युभन्दा ठूलो अर्को प्रेरणाको स्रोत हुनै सक्दैन । तर दु:खको कुरा, घाटमा आफन्तको लास जलिरहेको बेलामा मात्र हामीमा मृत्यु–चेतना प्रबल हुन्छ । अन्य अवस्थामा दलाई लामाको शब्दमा भन्ने हो भने ‘हामी यसरी जीवन जिउँछौँ कि मानौँ– मृत्यु कहिल्यै आउँदैन र हामी यसरी मर्छौं कि मानौँ– हामीले जीवन कहिल्यै जिउँदै जिएनौँ ।’
आजभोलि म हरेक क्षण काठमाडौँको घरघरमा, कुनाकाप्चामा, बाटोबाटोमा मृत्यु देख्छु । भूकम्पको भूत देख्छु । तर म भाग्यमा विश्वास गर्छु । मर्न नपर्ने मान्छेहरू मरेको र मर्नु पर्ने मान्छेहरू बाँचेको धेरै कथा मैले सुनेको र पढेको छु । ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पाउमा त्यो बिन्ती सुन्दैन त्यो’ कवि शिरोमणि लेखनाथ पौड्यालको दुई हरफ मलाई आज मात्र होइन, धेरै पहिलेदेखि कण्ठस्थ छ । त्यसैले मलाई लाग्छ, मभित्र भय पाल्नुको कुनै अर्थ छैन । यसको अर्थ भूकम्प आउँदा पनि घरबाट बाहिर ननिस्कौँ या भवन निर्माण आचारसंहिता लागू नगरौँ वा आचारसंहिता लागू गर्नुपर्छ भनेर सरकारलाई दबाब नदिऔँ भन्न खोजेको होइन । गर्नुपर्ने कर्म त गर्नै पर्ने हुन्छ । तर कर्मले भाग्यका हरेक पक्षलाई बसमा राख्न सक्दैन भन्ने तथ्यलाई जति विश्वासका साथ स्वीकार गर्यो, जिन्दगी त्यति नै बढी सहज, शान्त र खुसी हुन्छ भन्नेमा शंकै छैन । भाग्यवाद मृत्युचेतना पनि हो, जसले हर क्षण मान्छेलाई कुकर्म गर्नु हुन्न, ‘आखिर मरेर जाने त हो’ भन्ने सम्झना दिलाइरहन्छ ।
भूकम्पपछिको समयलाई फर्केर हेर्दा मलाई यस्तो लाग्छ, म मान्छे कमजोर प्राणी हुँ, प्रकृतिका सामान्य नियमलाई म तोड्न सक्छु । जाडोमा न्यानो लुगा लगाउन सक्छु । भूकम्प प्रतिरोधी घर बनाउन सक्छु । तर प्रकृतिका असामान्य नियमहरूलाई तोड्ने प्रकृतिमा कसैको ताकत छैन । त्यो विश्वासलाई वैशाख १२ को भूकम्पले झनै प्रबल बनाइदिएको छ । भाग्य र मृत्युबोधको भावना ममा झनै प्रबल बनेर आएको छ ।
(लेखक तथा समीक्षक राजकुमार बानियाँद्वारा सम्पादित २०७२ सालको भूकम्प अनुभूतिहरू संगालिएको निबन्ध संग्रह अप्रिय एप्रिलबाट साभार ।)
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...