[सम्झना] राष्ट्रसंघ भनेकै कोफी अन्नान
कोफी अन्नान हामीजस्ता पनि छन् र हामीभन्दा विशेष पनि छन् ।
संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन पछि म घोत्लिने गर्दछु : उहाँलाई के कुराले विशेष बनायो ?
मेरो मनले निष्कर्ष निकालेको छ : कोफी अन्नान हामीजस्ता पनि छन् र हामीभन्दा विशेष पनि छन् ।
कोफी अन्नान विशिष्ट विश्व नेता हुन् । उनी संसारका जोकोहीले आफैंभित्रै प्रष्ट देख्न सक्ने व्यक्तित्व पनि हुन् । गरिबी, द्वन्द्व र पीडाबाट टाढा पुगेका कसैले पनि उनलाई आफ्नो सहयोद्धाको रुपमा पाउने गर्दछन् । राष्ट्र सङ्घका सबै कनिष्ठ अधिकारीहरू उनका पदचाप पछ्याउँछन् । जीवनको अन्तिम श्वाससम्म पनि उनले युवाहरूलाई भन्न कहिल्यै छोडेनन्,‘सधैं याद राख्नु, तिमी नेतृत्व गर्न कनिष्ठ कहिल्यै होइनौ र तिमी सिक्नको लागि पाको कहिल्यै होइनौ ।’
अन्नानले मानिसहरूलाई एकै ठाउँमा ल्याउन सक्थे, उनीहरूलाई सहज अवस्थामा राख्न सक्थे र हाम्रो मानवताको साझा लक्ष्यको लागि सबैलाई एकै सुत्रमा बाँध्न पनि सक्थे । हाम्रो समयमा त्यस्ता मानिस संसारमा निकै कम मात्र छन् ।
एउटा जोक छ : कूटनीतिक कला भनेको केही पनि अन्तर्वस्तु नभएको कुरा गरिरहनु हो ।
अन्नान सबै कुरा भन्न सक्थे, कहिलेकाहीं त एक शब्द पनि नबोलीकन उनी आफ्ना कुरा भन्न सक्थे । उनीभित्र गहिरो गरी बसेको आत्मसम्मान, नैतिक समझदारी र मानवताले अन्नान धेरै कुरा भनिरहेका हुन्थे । उनीसंग निकै मिठो स्वर थियो, जसले उनलाई सुनिरहेका मानिसहरूको ओठमा हाँसो ल्याउँथ्यो, कुनै संगीत सुनिरहेजस्तो भान पाथ्र्यो । तर उनका शब्द खरा र विवेकपूर्ण हुन्थे । कहिलेकाहीं परिस्थिति जति जति भयावह हुन गथ्र्यो, उनको स्वर त्यत्ति नै सौम्य बनेको हुन्थ्यो । हामी उनका कुरा सुन्न कान ठाडो बनाइरहेका हुन्थ्यौं । संसार उनका कुरा सुन्न आतुर हुने गर्दथ्यो । हामी उनका विवेकपूर्ण कुरा सुनेर धन्य हुन्थ्यौं ।
अन्नान सहासिला थिए । उनी शक्तिसामू सत्य बोल्न डराउँदैनथे । संगै उनी आफूलाई कडा आत्मसमीक्षामा राख्ने गर्थे । राष्ट्र सङ्घका पूर्व महासचिव डाग हाम्मरसोल्ड जस्तै उनमा पनि उखुमको संसारमा उद्भवको शक्तिको रुपमा राष्ट्र सङ्घको भूमिकाबारे झण्डै अलौकिक प्रकारको अन्तश्चेतना थियो ।
यी सबै सकारात्मक पक्षले नै उनीबाट उल्लेखनीय उपलब्धि हासिल हुन सम्भव भएको हो ।
उनको विचारमा भिन्नभाव संसारको लागि सबभन्दा घातक विष हो ।
सहस्राब्दी विकास लक्ष्य र ‘इन लार्जर फ्रिडम’(फराकिलो स्वतन्त्रतामा) शीर्षकको प्रतिवेदनमा प्रस्तुत उल्लेखनीय सुधारजस्ता नयाँ विचार र पहलकदमीको उनीबाटै सुरुवात भएको थियो । उनले संरा सङ्घका ढोकाहरू फराकिलो बनाए । संसारभरका मानिसबीच काम गरिरहेका संगठनहरूलाई नजिक ल्याएर वातावरण संरक्षण, मानवअधिकार रक्षा र एचआईभी–एड्सलगायत अरु प्राणघातक रोगहरूविरुद्ध लड्न नयाँ साझेदार संगठनसंग सहकार्य गरे ।
कोफी अन्नान भनेकै राष्ट्र सङ्घ थियो र राष्ट्र सङ्घ भनेकै कोफी अन्नान थिए ।
उनी मेरा पनि असल मित्र थिए । हामी जीवनका धेरै बाटा संगसंगै हिंडेका छौं ।
टिमोर–लेस्टेका जनताले आत्मनिर्णयको अधिकार खोजिरहेको समयमा हामीले संगै काम गरेका थियौं । उनले राष्ट्र सङ्घको प्रतिनिधित्व गरेका थिए भने म पोर्चुगलको प्रधानमन्त्रीको हैसियतमा उनीसंगै काम गर्ने अवसर जुरेको थियो । टिमोर–लेस्टेका जनताको चाहनाको शान्तिपूर्ण समाधान निकाल्न हामीले संगै काम गरेका थियौं ।
राष्ट्र सङ्घको शरणार्थी एजेन्सीलाई नयाँ नेतृत्वको खाँचो परेको बेला अन्नानले विश्वासका साथ त्यो भूमिकाको लागि आग्रह गरे । अनि कमजोरहरूमध्ये पनि कमजोर जनताको सुरक्षा र घरवासको बन्दोबस्त गर्न अथक रुपमा आफैं पनि लागे ।
कुनै बेला अन्नान बस्ने गरेको कुर्सीमा आज म छु । म लगातार उनका एकताभाव, व्यापकता र समर्पणबाट प्रभावित छु ।
उनको विचारमा भिन्नभाव संसारको लागि सबभन्दा घातक विष हो ।
महासचिवको रुपमा आफ्नो कार्यकाल सम्पन्न गरिसकेर पनि उनले कूटनीतिको अग्रमोर्चामा लडाई सम्हाल्न छोडेनन् । केन्यामा निर्वाचनपश्चात भडकिएको द्वन्द्व समाधान गर्न उनी दौडिए । सिरियामा भएको निर्मम युद्धको राजनीतिक समाधान खोज्न दिलोज्यान दिएर लागे । म्यान्मारका विस्थापित जनताको लागि न्याय र अधिकार सुनिश्चित गर्न बाटो खन्ने काम अन्नानबाटै भयो ।
जब–जब हामी समस्या र कठीन समयको सामना गरिरहेका हुनेछौं, तब–तब हामी सधैं कोफी अन्नानका विरासतबाट प्रेरणा लिइरहौं ।
अन्नानले थुप्रै संसार भोगे, उत्तर र दक्षिण, पूर्व र पश्चिम । तर उनले आफ्नो सबभन्दा बलियो जरा भने आफ्नै अफ्रिकी जार र पहिचानमा भेटाए ।
महान् नेल्सन मण्डेलालाई ‘मादिबा’ उपनामले पनि बोलाइन्छ । अन्नानको लागि मण्डेलाको अलगै उपनाम थियो । उनी अन्नानलाई ‘मेरो नेता’ भनेर बोलाउँथे । यो कुनै ठट्टा थिएन । अन्नान हाम्रा पनि नेता थिए ।
अन्नानको निधनभन्दा केही समयमात्र अघि मैले उनलाई राष्ट्र सङ्घमा देखेको थिएँ । त्यत्तिबेलाको उनको भंगिमा म सधैं सम्झिरहन्छु: सौम्य तथा प्रतिबद्ध, हाँस्न कुनै पनि बेला तयार तर सधैं कामको गुरुत्वाकर्षणले तानिएका व्यक्तित्व ।
आज उनी हामीबाट टाढा गएका छन् । हामी उनलाई सधैं गहिरो सम्झना गरिरहनेछौं । तर मलाई विश्वास छ, यदि हामीले अझै ध्यानपूर्वक सुने, अझै पनि हामी कोफी अन्नानका शब्द र बुद्धिमत्तापूर्ण सल्लाह सुन्न सक्दछौं ।
‘कृपया अघि बढ्नुहोस् ।’, उनले भनेका शब्दहरू अहिले पनि मेरा कानमा गुञ्जिरहेका छन् । ‘के गर्नुपर्ने हो, तपाईलाई राम्ररी थाहा छ । एकआपसमा माया गरौं । हाम्रो पृथ्वीलाई माया गरौं । सबै मानिसभित्र हुने मानवतालाई चिनौं । अनि समस्याहरूको समाधान निकाल्न र सुन्दर भविष्य निर्माण गर्न हामी सबै जना आएको ठाउँ राष्ट्र सङ्घलाई सहयोग गरौं ।’
भावना र तर्कको आवाजलाई अझ अघि बढाइरहौं । नैतिकता र ऐक्यबद्धताका आवाजलाई अझ बिस्तार गरिरहौं ।
संसारलाई यसअघिको कुनै पनि समयभन्दा अहिले त्यसको आवश्यकता छ ।
जब–जब हामी समस्या र कठीन समयको सामना गरिरहेका हुनेछौं, तब–तब हामी सधैं कोफी अन्नानका विरासतबाट प्रेरणा लिइरहौं । उनले हामीलाई सिकाउने गरेका ज्ञानबाट निर्देशित भएर काम गरिरहौं । उनले आफ्नो जीवन समर्पण गरेको र संसारमै परिवर्तन ल्याएको लक्ष्य हासिल गर्न उनले दिएका विचारप्रति हामी अघि बढौं ।
अनुवाद : नीरज लवजू
–चाइना डेलीबाट
सम्बन्धित
छापा र प्रसारण दुबैतर्फको कार्यशैलीसँग एकसाथ परिचित हुनु र त्यसमा भिजेर काम गर्न पाउनु चान...
पेन्सनबिनाको ४० वर्षे सरकारी पत्रकारिता
नेपाली टेलिभिजन इतिहासको प्रारम्भिक अध्यायको अन्त्य...
दुर्गानाथ शर्मा भन्थे : सरकारी मिडियामा स्वतन्त्र पत्रकारिताको समय आएकै छैन
अस्ताए पुरानो पुस्ताका अब्बल पुरातत्त्वविद् तारानन्द मिश्र...
बिलाए पुरातत्त्वका तारा
आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी ...
विनयशील जीवनको अन्त्य
अस्पतालमा उहाँको स साना जिद्दी देखेर दिक्क हुँदै मैले भनेको थिए, बाबा अब तपाई जे भन्नुस् भ...
सधैंको लागि निःशब्द बाबा
‘माड्साब’ सम्बोधन उहाँमाथि खुल्थ्यो । उहाँ सबैका माड्साब हुनुहुन्थ्यो । अन्त्यसम्म माड्साब...