दुर्गानाथ शर्मा भन्थे : सरकारी मिडियामा स्वतन्त्र पत्रकारिताको समय आएकै छैन
नेपाली टेलिभिजन इतिहासको प्रारम्भिक अध्यायको अन्त्य
छापा र प्रसारण दुबैतर्फको कार्यशैलीसँग एकसाथ परिचित हुनु र त्यसमा भिजेर काम गर्न पाउनु चानचुने उपलब्धि थिएन ।
“सञ्चारमाध्यमको सम्पत्ति भनेको समाचारमा विश्वसनीयता हो ।”
दुर्गानाथ शर्माको यो अटल मान्यता उहाँको संस्मरणात्मक पुस्तक छाल (२०७३) मा भेटिन्छ । २०२६ साललाई पत्रकारिता क्षेत्रको प्रवेशवर्ष मानेर हिसाब गर्दा किताब लेख्ने समयसम्म आइपुग्दा उहाँले ४७ वर्षको अनुभव सँगालिसक्नुभएको देखिन्छ, जसमध्येका ४० वर्ष उहाँ गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा क्रियाशील रहनुभयो । उहाँले मुलुकको जेठो अखबार, पहिलो रेडियो प्रसारण संस्था र पहिलो टेलिभिजन प्रसारण केन्द्रमा आबद्ध भएर काम गर्ने दुर्लभ अवसर पाउनुभएको हो । २०६१ मा नेपाल टेलिभिजनको महाप्रबन्धकबाट सेवानिवृत्त हुँदाको प्रसंगमा शर्मा आफैँले लेख्नुभएको छ : ‘सरकारी पत्रकारिताको यो मेरो ४० वर्षको अवधि हो, पेन्सेनविनाको ।’ छापा र प्रसारण दुबैतर्फको कार्यशैलीसँग एकसाथ परिचित हुनु र त्यसमा भिजेर काम गर्न पाउनु चानचुने उपलब्धि थिएन ।
सेवानिवृत्तिपछिका अर्को १५ वर्ष उहाँ पत्रकारितामा सक्रिय रहनुभयो । भनौँ, गत माघ २२ गते परलोक हुनुभन्दा केही दिन अघिसम्म पनि उहाँ क्रियाशील हुनुहुन्थ्यो । अखबारमा समसामयिक विषयमा विवेचनात्मक लेख छपाउँदै पत्रकारिता पढाइ हुने शैक्षिक संस्थाका छात्रछात्राबीच आफ्नो ज्ञान र अनुभव बाँड्दै गरेको अवस्थामा उहाँलाई देख्न सकिन्थ्यो । एक्कासि ‘अब उहाँ रहनुभएन’ भन्ने खबर सुन्दा तुरुन्तै पत्याउन गाह्रो परेको हो, हामी सबैलाई ।
मैले माथि उल्लेख गरेको ‘विश्वसनीयता' बारे शर्माको मान्यता संस्थागत कार्यकालको अनुभवमा मात्र आधारित भने होइन । विभिन्न समयमा भारत र अमेरिकासमेतका मुलुकमा गरेको विषयगत अध्ययन र लिएका तालिम अनि त्यसपछिको निरन्तरको अभ्यासले उहाँलाई पाको पत्रकार बनाएको हो । पढेर जानिने कुराभन्दा परेर जानिने ज्ञानगुन मूल्यवान हुन् । जुन बखत अखबार भनेकै गोरखापत्र थियो र रेडियो नेपाल भनेकै प्रसारण माध्यमको पर्याय थियो, त्यस कालखण्डलाई सन्दर्भमा राखेर पढ्ने–बुझ्नेले ‘सरकारी’ माध्यमको भूमिकालाई सहजै आकलन गर्न सक्छ । देशकाल परिस्थिति भनेकै सम्भवत: यिनै कुरा हुन् । दुर्गाजीले राजा ज्ञानेन्द्रसँग पहिलो टेलिभिजन अन्तर्वार्ता लिएको घटना र त्यसअघि राजा वीरेन्द्रका कतिपय विदेश भ्रमणमा सामेल रहेका प्रसंगलाई तत्तत् परिवेशमा हेरिनु आवश्यक छ । आजको आँखाले त्यस बखतको परिदृश्य हेर्दा अन्याय हुन जान्छ ।
यो पनि पढ्नुस
नेपाली टेलिभिजन इतिहासको प्रारम्भिक अध्यायको अन्त्य
गोरखापत्रमै हो, मैले दुर्गाजीलाई भेटेको र संवाददाता र उपसम्पादक भएर सँगसँगै काम गरेको । पेसागत सहकार्यको क्रममा हाम्रो मित्रता व्यक्तिगत र बाक्लो हुँदै गयो । बिहान रेडियो नेपालमा समाचार वाचन गरेर दिउँसो गोरखापत्रमा आउँदा शर्माले अन्तर्राष्ट्रिय समाचार शीर्षकहरू टिपेको कागज लिएर आउनुहुन्थ्यो, जसले विश्व–समाचार पृष्ठमा राख्ने सामग्रीको छनोट गर्न म र मेरा अन्य सहकर्मीलाई सजिलो हुन्थ्यो । पछि, दुर्गाजीलाई नेपालमा टेलिभिजन प्रसारणको काम थाल्ने जिम्मा पाउनुभएका चलचित्र कलाकार नीर शाहले आफ्नो टोलीमा सामेल गर्नुभयो । शाहले मेरो पनि रुचि बुझ्न डाक्नुभएको थियो तर म मुद्रण माध्यममै बढी रमाउँछु भनेर गोरखापत्रमै बसेँ । सँगै रहँदा गोरखापत्रबाहिर अंग्रेजी लेख–सामग्रीहरू अनुवाद गर्ने काम पाउँदा हातखर्च जुटाउन सकेकोमा हामी बेलाबेलामा मख्ख पनि पर्थ्यौँ ।
दुर्गाजी टेलिभिजनतिर गएपछि पनि हाम्रो मित्रता अटुट रह्यो । नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) मा प्रशिक्षक भएर काम गरियो, पत्रकारिताका पाठ्यपुस्तक सम्पादनमा लागिपर्यौँ । उहाँ एनटिभीको महाप्रबन्धक छँदा २०६० साल असोजमा दोस्रो च्यानल (एनटिभी प्लस) शुभारम्भ गरिने कार्यक्रमको सञ्चालक हुन मलाई आमन्त्रण गर्नुभयो, जतिखेर मैले नीर शाह र सुरेश पुडासैनीजस्ता व्यक्तित्वलाई दर्शकसामु पुन: चिनाउने अवसर पाएँ । यस्ता अविस्मरणीय क्षण र प्रसंग अनगिन्ती छन् । उहाँको कृति छालमा गोकुलप्रसाद पोखरेल, भारतदत्त कोइराला र मनरञ्जन जोशीहरूले दिनुभएका मन्तव्यले नै स्पष्ट पार्छन्, दुर्गाजी मिलनसार, मृदुभाषी, गुणी र उपकारी व्यक्तित्वका धनी हुनुहुन्थ्यो । कोइरालाले उहाँको उच्च मूल्यांकन गर्दै ‘मिडिया आइकन’ नै भन्नुभएको छ । पुस्तकमा शुभेच्छाका दुई शब्द लेख्ने मौका म र फोटो पत्रकार गोपाल चित्रकारले पनि पाएका छौँ ।
मिष्ठभाषी भएकै हुनाले रेडियोबाट गुञ्जिने दुर्गानाथ शर्माको स्वर असंख्य श्रोताबीच प्रिय रह्यो । जन्मले पूर्व मेची अञ्चलको नेपाली भए तापनि समयको अन्तरालमा उहाँको मधुर तर आधिकारिक स्वर सुदूर पश्चिमको महाकालीसम्म परिचित बन्यो । पछिपछि त सूचना प्रविधिमा भएको विकासले शर्माको स्वर देशविदेशमा समेत फैलियो । बेला–बखत अस्ट्रेलियाको सिड्नीमा बस्दा म दुर्गाजीको समाचार–समीक्षा (नेपालीमा) स्थानीय एसबीएस रेडियोबाट उहीँ पनि सुन्न पाउँथेँ । सुखद अनुभूति हुन्थ्यो ।
नेपालमा टेलिभिजन प्रसारणको युग नआउँदैको कुरो हो । सबैको लागि तात्तातो समाचारको स्रोत एउटै थियो– रेडियो नेपाल र समाचारका परिचित वाचक हुनुहुन्थ्यो, दुर्गानाथ शर्मा । त्यसैताका गोरखापत्रमा हाम्रा सहकर्मी (द राइजिङ नेपालमा कार्यरत) कुन्द दीक्षितले कतै लेखेका थिए– कुनै दिन नेपालमा टेलिभिजन आयो भने थालनी सायद यसरी हुनेछ : ‘अब दुर्गानाथ शर्माबाट समाचार हेर्नुहोस्...।’ केही वर्षको अन्तरालमा त्यही भयो । उनको भविष्यवाणी सत्य साबित भयो, दुर्गानाथ शर्मा समाचार प्रस्तोता भएर जनसमक्ष देखा पर्नुभयो ।
छापा र प्रसारण दुबैतर्फको कार्यशैलीसँग एकसाथ परिचित हुनु र त्यसमा भिजेर काम गर्न पाउनु चान...
नेपाली टेलिभिजन इतिहासको प्रारम्भिक अध्यायको अन्त्य...
अस्ताए पुरानो पुस्ताका अब्बल पुरातत्त्वविद् तारानन्द मिश्र...
आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी ...
अस्पतालमा उहाँको स साना जिद्दी देखेर दिक्क हुँदै मैले भनेको थिए, बाबा अब तपाई जे भन्नुस् भ...
‘माड्साब’ सम्बोधन उहाँमाथि खुल्थ्यो । उहाँ सबैका माड्साब हुनुहुन्थ्यो । अन्त्यसम्म माड्साब...