बिलाए पुरातत्त्वका तारा
अस्ताए पुरानो पुस्ताका अब्बल पुरातत्त्वविद् तारानन्द मिश्र
जीवनको अन्तिम उत्खनन् परियोजना भइदियो, रौतहटको मौलापुर । पुरातात्त्विक स्थलको खुदाइ क्रममा टेन्चमै थिए । पुसको ठन्डी अनि तराईको अत्यधिक चिसो, त्यसमा पनि उत्खननका क्रममा आकस्मिक रुपमा भर्याङको दुइटा सिँढीबाट पाउ अनियन्त्रित भएर भुइामा ढले । हप्तौँसम्म बिराम परी बेहोसै थलिए र आखिर ८१ वर्षको उमेरमा सदाका लागि यो धरा छाडेर गए, १९ पुस साँझ ।
बेलाबेला रामशाहपथस्थित कार्यालयमा पाउ भर्ने पुरानो पुस्ताका अब्बल पुरातत्त्वविद् तारानन्द मिश्रको पार्थिव शरीरले अब पुरातत्त्व विभाग कहिल्यै टेक्ने छैन ।
वीरगन्ज, बिर्ताबजारमा जन्मेका मिश्रले नेपालको पुरातात्त्विक अन्वेषण र उत्खनन्को क्षेत्रमा आधा शताब्दीभन्दा बढी योगदान दिए । अर्को अर्थमा आफ्नो सारा जीवन पुरातात्त्विक अध्ययन, अन्वेषण एवं उत्खननमै खर्चिए । कोलम्बो प्लानअन्तर्गत भारतको पटनाबाट प्राचीन इतिहास विषयमा स्नातकोत्तर र पुरातत्त्वमा पोस्ट ग्रयाजुएट डिप्लोमा गरेका उनी १६ भदौ ०२१ मा पुरातत्त्व विभागको सेवा प्रवेश गरेका थिए । ०५१ मा विभाग औपचारिक रुपमा छाडे पनि उनले ५५ वर्षसम्म निरन्तर उत्खनन्को कर्ममै तल्लीन रहे ।
यो पनि पढ्नुस्ः कैलाशकूट भवन: स्वर्ण युगको स्वर्ण दरबार
मिश्रले काठमाडौँको लिच्छविकालीन बस्ती हाँडीगाउँ र धुम्बाराहीको उत्खनन् गरी प्राप्त प्रमाणका आधारमा विशालनगरलाई राजधानी सहरका रुपमा दाबा गरे । उनको नेतृत्वमा ०२३ देखि नियमित रुपमा ६ वर्षसम्म कपिलवस्तुको पुरातात्त्विक उत्खनन् भयो । त्यसबाट मृण्मय खैरो रङका भाँडावर्तनका साथै पूर्वी र पश्चिमी द्वारसमेत फेला परे । त्यसले भारतीय पुरातत्त्वविद् देवला मित्राले उत्खनन् गरी अपूरो र भ्रमात्मक रिपोर्ट प्रकाशन गरी चर्किएको विवादलाई मत्थर मात्र गरेन कि प्राप्त यथेष्ट प्रमाणका आधारमा कपिलवस्तुको प्राचीनता ईसापूर्व सातौँ शताब्दी कायम हुन गयो ।
कपिलवस्तुको भ्रमणपछि चिनियाँ यात्रीहरूले आफ्नो यात्रा वृत्तान्तमा वर्णन गरेबमोजिम कपिलवस्तुबाट धौलागिरि हिमाल देखिने र वाणगंगा नदी बग्ने थप पुष्टि भयो ।
भवानीपुरमा उत्खनन् गरिएको पुरातत्त्वस्थल । तस्बिर सौजन्यः पुरातत्त्व विभाग
मिश्रले ०२३ देखि ०२९ सम्म पुरातात्त्विक स्थल तिलौराकोटदेखि उत्तरतर्फ वाणगंगाको बाढीले ल्याएको माटोले पुरिएर रहेका धमनीहवाका एक जोडी स्तुपका अवशेषसमेत फेला पारे र तिनको उत्खनन् एवं अध्ययन गरी प्राचीन नेपालमा प्रकाशित गरे । भनिन्छ, यी स्तुप भगवान् बुद्धका माता र पिताको सम्झनामा बनाइएका हुन् ।
मिश्रले विराटनगरनजिकको भेडियारी पुरातात्त्विक स्थल सन् १९६९–७० मा उत्खनन् गरे । यो पूर्वको सर्वप्रथम उत्खनन् भएको प्राचीन र प्रसिद्ध स्थल हो । यस स्थलको उत्खननबाट पञ्चमार्क मुद्रा, इँटा निर्मित भवनका अवशेष, ठूल्ठूला इँटाका फलक, प्रशस्त मात्रामा मृण्मय सामग्री, पाशा, बहुमूल्य पत्थर एवं दुर्लभ मालारुपी गहना तथा सुंगकालीन अष्टकोणाकार मन्दिरका अवशेष नै फेला परे । झापाको किचकबध र भेडियारी ईसापूर्व प्रथम शताब्दी वा समकालिक स्थल मानिन्छन् ।
नेपाली पुरातत्त्वमा सबैभन्दा पहिले प्रशिक्षण लिएका पुरातत्त्वविद् मिश्रले प्राचीन नेपालको सम्पादन गरे । तेस्रो शताब्दीतिर नेपाल भ्रमणमा आएका तिब्बती भिक्षु धर्मस्वामीको जीवनीलाई नेपालीमा अनुवाद गरे । द कन्जरभेसन एन्ड हेरिटेज प्लानिङ अफ बौद्धनाथ स्तुप सम्पादन गरे । द लोकेसन अफ कपिलवस्तु एन्ड आर्कियोलोजिकल एस्काभेसन, सर्भे अफ आइकोनोग्राफी अफ काठमाडौँ भ्याल्ली, बुद्धिष्ट कलेक्सन अफ नेसनल म्युजियमजस्ता पुस्तक प्रकाशित छन् ।
यो पनि पढ्नुस्ः राज्यकै संरक्षणमा सखाप सम्पदा
मिश्रले लुम्बिनीको मायादेवी मन्दिर प्रांगणमा समेत उत्खनन् गरे । यहाँ ६ वटा तह (खसिया मल्लकाल, गुप्तकाल, कुषाणकाल, सुंगमित्राकाल, अशोककाल र अशोकपूर्वको काल) को उत्खनन् गरी हेर्दा ६ वटै सांस्कृतिक कालखण्डको अस्तित्व फेला पर्यो । उनीपछिका उत्खनन्ले लुम्बिनीको प्राचीनता ईसापूर्व छैटौँ शताब्दी कायम गरेको छ ।
आफ्नो खोजबारे जानकारी दिँदै गरेका मिश्र । तस्बिर सौजन्यः पुरातत्त्व विभाग
साहित्यिक ग्रन्थमा वर्णित ‘प्राचीन देवदह’ र ‘मायादेवीको माइती’ का रुपमा परिचित रुपन्देहीको भवानीपुरमा समेत मिश्रले उत्खनन् गर्दा मूर्ति, भग्नावशेषका साथै प्रशस्त मात्रामा मध्यकालीन माटाका भाँडाकुाडाका नमुना फेला परे ।
सन् २०१५ को भूकम्पपछि उनी बुङमतिको रातो मच्छिन्द्रनाथ उत्खनन्मा संलग्न भए । कपिलवस्तु, लुम्बिनी, भेडियारी, भवानीपुरजस्ता मुख्य पुरातात्त्विक स्थलको पहिचान एवं प्रमाणीकरणमा मिश्रको देन इतिहास र भावी पुस्ताले कहिल्यै भुल्ने छैन ।
लेखक पुरातत्त्व अधिकृत हुन् ।
नेपाल म्यागजिनले पुरातत्त्वविद् तारानन्द मिश्रको स्मरण प्रकाशित गरेको थियो । पढ्नुस्ः
सम्बन्धित
छापा र प्रसारण दुबैतर्फको कार्यशैलीसँग एकसाथ परिचित हुनु र त्यसमा भिजेर काम गर्न पाउनु चान...
पेन्सनबिनाको ४० वर्षे सरकारी पत्रकारिता
नेपाली टेलिभिजन इतिहासको प्रारम्भिक अध्यायको अन्त्य...
दुर्गानाथ शर्मा भन्थे : सरकारी मिडियामा स्वतन्त्र पत्रकारिताको समय आएकै छैन
अस्ताए पुरानो पुस्ताका अब्बल पुरातत्त्वविद् तारानन्द मिश्र...
बिलाए पुरातत्त्वका तारा
आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी ...
विनयशील जीवनको अन्त्य
अस्पतालमा उहाँको स साना जिद्दी देखेर दिक्क हुँदै मैले भनेको थिए, बाबा अब तपाई जे भन्नुस् भ...
सधैंको लागि निःशब्द बाबा
‘माड्साब’ सम्बोधन उहाँमाथि खुल्थ्यो । उहाँ सबैका माड्साब हुनुहुन्थ्यो । अन्त्यसम्म माड्साब...