दुर्गानाथ शर्मा भन्थे : सरकारी मिडियामा स्वतन्त्र पत्रकारिताको समय आएकै छैन
नेपाली टेलिभिजन इतिहासको प्रारम्भिक अध्यायको अन्त्य
दुर्गानाथ शर्माको निधनसँगै नेपाली टेलिभिजन पत्रकारिता इतिहासको प्रारम्भिक अध्यायको अन्त्य भएको छ । ७२ वर्षसम्मको आयुमा उनले छापा पत्रकार, लोकप्रिय समाचार वाचक, सक्रिय प्रसारण पत्रकार र प्रशासकको भूमिका कुशलतापूर्वक निर्वाह गरे ।
एक महिनाअघि मैले दुर्गा दाइलाई उनको आत्मकथा छाल पठाइ दिएकोमा धन्यवाद ज्ञापन गर्न फोन गरेको थिएँ । हुन त त्यस अघि नै नेपालमा टेलिभिजनको सामाजिक इतिहास झल्काउने एउटा आलेखमा मैले त्यो पुस्तकलाई उधृत गरेको थिएँ । तर उही पुस्तक लेखकको शब्द र हस्ताक्षर सहित हातैमा आइपुगेको क्षण म असाध्यै खुसी भएँ ।
भेट्न जान मिलेन, मैले फोनमै कृतज्ञता ज्ञापन गरें । उनले भनेको एउटा वाक्य मेरा कानमा अहिले पनि गुञ्जिरहेका छन्, तपाईंलाई मन परेछ । मेरो एउटा चीनो तपाईंको र्याकमा रही रहने भयो ।
आर्यघाटमा उनलाई अन्तिम विदाइ गरेर फर्किएपछि मैले त्यो किताबलाई र्याकबाट झिकें र उनको हस्ताक्षरलाई स्पर्श गरें ।
नेपालमा टेलिभिजन पत्रकारिताको इतिहास साढे तीन दशकभन्दा पुरानो छैन । तर छोटो अवधिमै नेपालमा सयौं टेलिभिजन च्यानल स्थापना भइसकेका छन् । दुर्गा दाइले यो परिदृश्यको परिकल्पना गरेका थिए कि थिएनन, मैले सोध्न पाइनँ । तर उनको स्मृतिमा ताजै थियो, राजा वीरेन्द्रको सोखका कारण सुरु भएको टेलिभिजनले परियोजनाकै चरणमा विरोध सामना गर्नु परेको अवस्था । उनी अति गरिब मुलुकमा टेलिभिजनको औचित्यसम्बन्धी वहस चल्ने जमानादेखिको इतिहासका साक्षी थिए ।
दिग्गज सम्पादक चन्द्रलाल झा नेपालजस्तो देशमा टेलिभिजन विलाशिताको विषय हो भन्दै नेपाल टाइम्समा सम्पादकीय लेख्थे । अर्का प्रखर सम्पादक मणिराज उपाध्याय समाज दैनिकमा आफ्नो तर्क राख्थे, टेलिभिजनले शिक्षा र संस्कृतिको उत्थान गर्छ ।
टेलिभिजन परियोजनामा आवद्ध भएपछि दुर्गा दाइ आफ्ना सहकर्मीहरूसँगै टेलिभिजन पत्रकारिताका आधारभूत पक्षहरुको अध्ययन गर्न थाले । चौंतीस वर्षअघि उनैले रमा सिंहसँग मिलेर नेपालमा पहिलो पटक टेलिभिजन समाचार बुलेटिन तयार गरेका थिए । देशको पहिलो पुस्ताका यी टेलिभिजन पत्रकारले अनेकौं दक्ष सहकर्मी तयार गरे, पुस्ता–दरपुस्तालाई टेलिभिजनकलाको उदाहरण देखाए ।
दुर्गा दाइले एकपटक नेपाल टेलिभिजनमा प्रधानमन्त्री मनमोहन अधिकारीसँग छलफल कार्यक्रमको सहजीकरण गरेका थिए । उनले ध्रुवहरि (सर) अधिकारी, म लगायत केही पत्रकारलाई प्रश्न सोध्न निम्त्याएका थिए । श्रृजनशीलता र स्तरीयताप्रति उनको अनुराग थियो । धेरै पछि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षका रुपमा पनि मैले अनुभव गरें, दुर्गा दाइको पुस्ताले तयार गरेका अधिकांश पुराना टेलिभिजनकर्मी आफ्नो कामप्रतिको उत्कट र इमान्दार लगावबाट परिचालित थिए ।
उनलाई अभिभावकले डाक्टर बनाउने ध्येयका साथ इलामबाट राजधानी पढन पठाएका थिए । आफ्नै कारण त्यो आकांक्षा पूरा नहुने भएपछि साहित्यकार दाजु तारानाथ शर्माले दिएको आश्रय पनि छाडेर उनी विज्ञापन एजेन्सीको जागीरमा होमिए । केही समयपछि उनी गोरखापत्रको विज्ञापन सुपरभाइजर बन्न पुगे । केही महिनापछि नै उनले युवराज वीरेन्द्रको ऐश्वर्यसँग विवाहको तयारी भइरहेको समय, २०२६ सालको उत्तरार्धतिर गोरखापत्रको उपसम्पादक पदमा खुला प्रतिस्पर्धाबाट नाम निकालेर पत्रकारिता आरम्भ गरे ।
ठूलो विज्ञापन छपाउने अन्य अखवार नभएको समयमा उनमा शायद त्यही जागीरले गोरखापत्रप्रति आकर्षण जगायो । उनको धेरै जसो समय गोरखापत्र र नेपाल टेलिभिजनमै बित्यो । गोरखापत्रमा सत्र वर्ष र नेपाल टेलिभिजनमा स्थापनाकालदेखि निवृत्त नहुञ्जेल झण्डै वाइस वर्ष । ०३२ सालदेखि टेलिभिजन प्रसारण सुरु नभएसम्म उनी रेडियो नेपालका समाचार वाचक थिए ।
त्यो आंशिक नियुक्ति थियो । तर रेडियो–समाचार वाचनको ख्यातीले प्रसारण पत्रकारितामा उनको लोकप्रिय छवि निर्माण गर्यो । आफ्नो पत्रकारिता जीवनका बारेमा उनको प्रष्टोक्ति थियो : धेरैजसो समय सरकारी सञ्चार माध्यममा काम गरेकाले मेरो पत्रकारिता आज्ञाकारी पत्रकारिता थियो । शायद यस्तै सम्यक दृष्टिले नै उनलाई सीमितताकै बीच पनि कर्मशील हुन प्रेरित गरिरह्यो । मेधावी, मेहनती र मिलनसार दुर्गा दाइको जीवनपर्यन्तको निष्कर्श थियो : पञ्चायत, बहुदल र पछिल्लो गणतन्त्रकालको पत्रकारिताको अनुभवका आधारमा भन्नु पर्दा नेपालमा साँच्चै स्वतन्त्र पत्रकारिताको समय आएकै छैन भन्छु, सरकारी सञ्चार माध्यममा ।
रेमण्ड विलियम्सले सन् सत्तरीको दशकमा टेलिभिजन: टेक्नोलोजी एण्ड कल्चरल फर्ममा समाजमा यस आमसञ्चार माध्यमले पारेको प्रभावको गहन सैद्धान्तिक समीक्षा गरेका छन् । मैले नेपालमा टेलिभिजन सुरु हुँदाका वखतको सामाजिक मनोविज्ञानलाई दुर्गा दाइकै अनुभवको आलोकमा विलियम्सको सोचको विश्लेषण गरेको थिएँ ।
त्यो देखाउँदै दाइसँग छलफल गर्न चाहन्थेँ । उनको असामयिक अवसानले हामी दुवैको इच्छा अधुरै हुन पुग्यो ।
सम्बन्धित
छापा र प्रसारण दुबैतर्फको कार्यशैलीसँग एकसाथ परिचित हुनु र त्यसमा भिजेर काम गर्न पाउनु चान...
पेन्सनबिनाको ४० वर्षे सरकारी पत्रकारिता
नेपाली टेलिभिजन इतिहासको प्रारम्भिक अध्यायको अन्त्य...
दुर्गानाथ शर्मा भन्थे : सरकारी मिडियामा स्वतन्त्र पत्रकारिताको समय आएकै छैन
अस्ताए पुरानो पुस्ताका अब्बल पुरातत्त्वविद् तारानन्द मिश्र...
बिलाए पुरातत्त्वका तारा
आशा गरौँ, कसजूले विश्वास गरेझैँ जुझारु प्रयोगवादले समयसँगै नौलो र सार्थक जीवनको खोजी जारी ...
विनयशील जीवनको अन्त्य
अस्पतालमा उहाँको स साना जिद्दी देखेर दिक्क हुँदै मैले भनेको थिए, बाबा अब तपाई जे भन्नुस् भ...
सधैंको लागि निःशब्द बाबा
‘माड्साब’ सम्बोधन उहाँमाथि खुल्थ्यो । उहाँ सबैका माड्साब हुनुहुन्थ्यो । अन्त्यसम्म माड्साब...