‘घरघरमा उद्यमी जन्माउँछौँ’
सीप भएका सबैले बराबर अवसर पाइरहेका हुँदैनन् । तर, हामीले समान अवसर दिन्छौँ । हामी घरघरमा उद्यमी जन्माउन चाहन्छौँ ।
रोहित तिवारी, २६, ले इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढे । काम गरिरहेका छन्, फुड कल्चर बदल्ने । यी तन्नेरीको कुनै रेस्टुराँ छैन । तर, स्वादिला परिकार तपाईंको टेबुलमा सर्भ गर्छन् । तिवारीको फुडम्यारियो नामक स्टार्टअप कम्पनीले घरेलु भान्सामा पाकेका खानेकुरा बजारसम्म पुर्याइदिन्छ । उनको यही सिर्जनशील सोच पुरस्कृत पनि भयो । संयुक्त राष्ट्रसंघीय विकास नियोगले थाइल्यान्डमा आयोजना गरेको युथ को–ल्याबमा एसिया प्यासिफिक क्षेत्रका एक हजारभन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै तिवारी ‘टपटेन’ सूचीमा परे । सात महिनाअघि मात्रै खुलेको कम्पनीका संस्थापक तिवारीसँग यसै सन्दर्भमा गरिएको कुराकानी :
घरको भान्सामा पाकेका खानेकुरा बजारमा पुर्याउने यो आइडिया कसरी उब्जियो ?
मलाई उद्यमशीलताबारे सिकाउने एक जना गुरु हुनुहुन्छ । उहाँले ‘लौ न यो रेस्टुराँमा खानपिन गर्ने शैली बदल्न केही गरौँ’ भन्नुभयो । अनि, सोच्दासोच्दै अचानक मेरो दिमागमा यस्तो विचार आयो ।
यसको खास विशेषता के हो ?
हरेक घरमा ३०/४० वर्षदेखि विभिन्न परिकार बनाउने अनुभवी व्यक्ति हुनुहुन्छ । सौखिन पनि उत्तिकै हुनुहुन्छ । उहाँहरूको अनुभव र सीप त्यत्तिकै खेर गइरहेको छ । त्यसलाई उपयोग गरेर आम्दानी गर्नु नै यसको खास विशेषता हो ।
फुडमान्डुकै परिमार्जित रूप हो यो ?
फुडमान्डुभन्दा धेरै फरक छ । फुडमान्डुले रेस्टुराँको खानेकुरा पुर्याउँछ । खाना पुर्याएको पैसा लिन्छ । हामी घरको खाना, खाजा पुर्याउँछौँ । पैसा लिँदैनौँ ।
घरघरमा छरिएकालाई कसरी बजारसँग जोड्नुहुन्छ ?
खासमा यो घरमा बसेर परिकार पकाउन सिपालुहरूको व्यवसाय हो । हामी उहाँहरूका लागि प्लेटफर्म मात्रै हो । हाम्रो वेबसाइटमा लगइन गरेपछि आफूले बनाउने परिकार मूल्यसहित राख्न सक्नुहुन्छ । त्यो हेरेर ग्राहकले अर्डर गर्छन् । अनि, हामी डेलिभरी गर्छौं ।
यस्ता खानेकुरा स्वस्थ हुन्छन् भन्ने आधार के छ ?
सेफका रूपमा लगइन गरेपछि हामी उहाँहरूको भान्सा निरीक्षणमा जान्छौँ । सामान्यत: घरमा पञ्जा र टोपी लगाएर खाना पकाइँदैन । हामी उहाँहरूलाई यी कुरा अनिवार्य गर्छाैं । यस्तो परीक्षण १०/१५ दिनको फरकमा गरिरहन्छौँ । रेस्टुराँको भन्दा घरको भान्सा सफा हुन्छ ।
पैसा कमाउनुबाहेक यसको फरक उद्देश्य के हो ?
सीप भएका सबैले बराबर अवसर पाइरहेका हुँदैनन् । तर, हामीले समान अवसर दिन्छौँ । हामी घरघरमा उद्यमी जन्माउन चाहन्छौँ ।
अहिले कति घरेलु सेफ छन् र तिनीहरूले कस्ता खानेकुरा तयार गर्छन् ?
१५ जनाले १ सय ५० परिकार तयार गर्छन् । घरमा जे पाक्छ, त्यही नै हाम्रो मेनु हो । दालभात, म:म, चाउमिनदेखि योमरी, फापर, कोदोको रोटीजस्ता हम्मेसी नपाउने स्वादका खानासमेत छन् । अचेल रेस्टुराँमा शुद्ध शाकाहारी खानेकुरा पाउन मुस्किल छ । तर, हामीकहाँ पूरा घर शाकाहारी भएका सेफसमेत छन् ।
बढीजसो कस्तो स्वाद मन पराउँदा रहेछन् ?
दाल, भात र तरकारी नै हो । हलुवा धेरैको रोजाइमा पर्ने गरेको छ ।
अहिलेसम्मको सरप्राइज अनुभव केही छ ?
हामीसँग यस्ता सेफ पनि छन्, जसले एक सातामै १ लाख ६ हजार रुपियाँका खानेकुरा बेचे । यसले हामीलाई आश्चर्य र हौसला दुवै दिलायो । उनी नीता राई हुन् । उनले दाल, भातदेखि म:म, चाउमिन, फ्रेन्च फ्राइ जम्मै पकाउँछन् ।
सबै गृहिणी मात्रै हुन् सेफहरू ?
होइन । हामीसँग भर्खर पढ्दै गरेका विद्यार्थीसमेत छन् । एक जना त यति सौखिन सेफ पनि छन्, उनी खाना नबनाई बस्नै सक्दिनन् ।
नेपालीको खानपिन शैलीमा केही परिवर्तन आएको हो ?
मौलिक परिकार खोज्नेहरू बढेका छन् । फापर, कोदोको रोटी चाख्ने र त्यसैलाई निरन्तरता दिनेहरू पनि छन् । विविध जातिका आफ्नै संस्कार अनुसारका परिकार बनाउने हो भने धेरै चल्छजस्तो लाग्छ ।
–मनबहादुर बस्नेत
सम्बन्धित
हामी २७ दिन नै गर्न चाहन्छौँ तर सबै निकायको सहयोग चाहिन्छ । मिडियाले पनि नाचको समाचार मात्...
कसरी सुरु भयो कार्तिक नाच ? [किरण चित्रकारलाई ८ प्रश्न]
नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह । उनी नयाँ दिल्लीको सर गंगाराम अ...
‘बाथमा मुख बार्नुपर्दैन’
हामी जन्मिँदा कामीरिताले हिमाल चढिरहेका थिए । उनको कीर्तिमान अहिल्यै तोड्न कहाँ सक्नु ?...
‘कामीरिताको कीर्तिमान तोड्छु’
सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उक...
'अब कसले स्कुल खोल्छ ?'
यो गीत पदयात्रीबीच एकदमै प्रिय भयो । उनीहरुमार्फत विदेशीसम्म पुग्यो । सारंगी मात्र, मादल म...
'रेसम फिरिरि...मा ब्रह्माण्डीय धुन'
तेस्रो लिंगी मोडल मेघना लामाले ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो ।...