‘बाथमा मुख बार्नुपर्दैन’
नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह । उनी नयाँ दिल्लीको सर गंगाराम अस्पतालमा र्युम्याटोलोजी एन्ड क्लिनिकल इम्युनोलोजीकी फेलो हुन् ।

नेपालमा थोरै बाथरोग विशेषज्ञमध्ये पर्छिन्, डा अभिलाषा शाह । उनी नयाँ दिल्लीको सर गंगाराम अस्पतालमा र्युम्याटोलोजी एन्ड क्लिनिकल इम्युनोलोजीकी फेलो हुन् । इन्टरनल मेडिकलसम्बन्धी राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौँ आएकी डा शाहसँग कुराकानी :
बाथ कस्तो खालको रोग हो ?
बाथले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँछ । नेपालमा यस रोगबारे धेरै भ्रम छ ।
कस्तो भ्रम ?
यो रोग बूढाबूढीलाई मात्र लाग्छ भन्ने भ्रम छ । तर सानै उमेरदेखि लाग्न सक्छ । लक्षणचाहिँ २० देखि ३० वर्ष उमेर पुगेपछि देखिन्छ । र, अर्को कुरा बाथ रोग लागेपछि खाना बार्नुपर्छ भन्ने विश्वासले थप रोग लाग्छ ।
बाथ रोगमा खानाको भूमिका हुँदैन त ?
सयभन्दा बढी प्रकारका बाथ रोगमध्ये युरिक एसिडबाट हुने ‘गाउट’ बाहेक कुनैमा पनि मुख बार्नुपर्दैन । तर बाथ भन्नासाथ खाना बार्दा जीउलाई चाहिने खाना नपुगेर अन्य समस्या देखिने गरेको धेरै छ ।
नेपालमा कुन खालका बाथ रोगी धेरै छन् ?
गठिया । यसमा शरीरका जोर्नीहरु बांगिने भएकाले एकदमै दुख्छ । बांगिएका अंग सीधा बनाउन अप्रेसनबाहेक सम्भव छैन । जुन अवस्थामा छ, त्यसबाट बढ्न नदिन भने सकिन्छ ।
यो रोग के कारण लाग्छ ?
यसको कारण अहिलेसम्म पत्तो लागेको छैन । धेरैलाई त बाथ रोग लागेको नै थाहा हुँदैन । नेपालमा चेतनाको ठूलो अभाव छ । जसरी मधुमेह लागेपछि बिरामी उपचारमा जान्छ, बाथ रोगको त्यो अवस्था छैन ।
बाथ रोग पढ्नुको विशेष कारण केही छ ?
नेपालमा यो रोगका डाक्टर थोरै छन् । १५/२० जना मात्र होलान् । तर बिरामी कति छन्, थाहै छैन । यो तथ्य खोतल्न र रोग निदानका लागि केही गर्न सकिने सम्भावना देखेर पढेकी हुँ ।
त्यसका लागि केही योजना पनि बनिसक्यो ?
बन्दैछन् । मेरो पुर्ख्यौली थलो जाजरकोटबाट यसबारे जनचेतनाको कार्यक्रम सुरु गर्ने सल्लाह भइरहेको छ । धेरै कुरा अहिल्यै नभनौँ ।
धेरै नेपाली बिरामी उपचारका लागि दिल्ली जानुको कारण के हो ?
विश्वास नै हो । त्यहाँ हुने उपचार नेपालमा पनि हुन्छ । गुणस्तरका हिसाबले फरक छैन । खर्चमा केही भिन्नता होला । मुख्य कुरा मनशान्ति नै हो जस्तो लाग्छ ।