'अब कसले स्कुल खोल्छ ?'
सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उकास्न चाहेको हो । निजी र सरकारी हुँदा शिक्षक-शिक्षकबीच अनि अभिभावक-अभिभावकबीच द्वन्द्व थियो, धनी र गरिब भन्ने । यो द्वन्द्व विद्यार्थीको कलिलो मस्तिष्कमा समेत पस्यो ।

पाल्पाको पूर्वखोला र गुल्मीको गुल्मीदरबार गाउँपालिकामा निजी विद्यालयलाई सरकारीमा गाभिएको छ, यसै शैक्षिक सत्रमा । पूर्वखोला गाउँपालिका अध्यक्ष एवं गाउँ शिक्षा कार्यदलका संयोजक नुनबहादुर थापासँग कुराकानी :
निजी स्कुललाई सरकारीमा गाभ्नुको कारण के हो ?
सरकारी विद्यालयमा विद्यार्थी संख्या घटेको छ । तर यही कारण गाभेको होइन । शैक्षिक गुणस्तर उकास्न चाहेको हो । निजी र सरकारी हुँदा शिक्षक-शिक्षकबीच अनि अभिभावक-अभिभावकबीच द्वन्द्व थियो, धनी र गरिब भन्ने । यो द्वन्द्व विद्यार्थीको कलिलो मस्तिष्कमा समेत पस्यो ।
निजीलाई सरकारीमा गाभेर कसरी गुणस्तर उक्सिन्छ त ?
सरकारी स्कुलका कतिपय शिक्षकले पढाउने तर बुझाउन सकेनन् । अब विद्यालय व्यवस्थापन समितिअन्तर्गत पढाइबारे नियमन गर्ने उपसमिति बन्छ । गाउँपालिकाले अर्को अनुगमन टोली बनाउँछ । निरन्तरको नियमनले पढाइ सुध्रिन्छ ।
अब यो गाउँपालिकामा निजी स्कुल खोल्नै नपाउने हो ?
निजी स्कुल खोल्नुपर्ने आवश्यकतै नहोस् भन्ने वातावरण बनाउँछौँ । व्यापार नहुने भएपछि त निजी स्कुल खुल्दै खुल्दैनन् ।
गाभिएपछि शिक्षाको गुणस्तर माझिन्छ भन्ने ग्यारेन्टी छ ?
सुरुमा हामीले नेपाली र अंग्रेजी दुवै माध्यममा पढाउँछौँ । पछि विस्तारै अंग्रेजी माध्यममा जान्छौँ । प्रतिस्पर्धी बन्न पनि अंग्रेजी माध्यममा जानैपर्छ ।
अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै भवनमा पढाइ हुने भएपछि त गाउँपालिकाले नै निजी र सरकारी स्कुल चलाएजस्तो भएन ?
लामो समय त्यसरी जान दिँदैनौँ । अभिभावकले दुई-तीन वर्ष परीक्षण अवधि मागेकाले छुट्टाछुट्टै माध्यममा पढाउनुपरेको हो ।
यो मोडल प्रभावकारी हुन्छ भन्ने आधार के ?
निरन्तर अनुगमन । त्यो सँगसँगै अब शिक्षक नभएर पढाइ रोकिँदैन । गाउँपालिकाले अतिरिक्त पाठ्यक्रम पनि बनाउने तयारी गर्दैछ ।
निजी विद्यालयका शिक्षक, कर्मचारी व्यवस्थापन कसरी हुन्छ ?
निजीका ५०/५२ शिक्षकको खाइपाई आएको सुविधा यथावत गरेर राख्छौँ, आन्तरिक स्रोतबाट । उनीहरुका लागि गाउँपालिकाले तालिमलगायतका वृत्तिविकासका कार्यक्रम ल्याउँछ ।
कार्यदलमा बसेर अध्ययन गर्दा सामुदायिक विद्यालयको मुख्य समस्या के देखियो ?
भवन, खेलकुद मैदान, फर्निचरजस्ता पूर्वाधारमा जोड दिने तर शैक्षिक योजना कार्यक्रम नबनाउने । अधिकांश शिक्षकले आफ्नो पेसालाई प्राथमिकतामा नराख्ने देखियो ।
अब नपढाउने शिक्षकलाई कसरी तह लगाउने त ?
शिक्षक डायरी अनिवार्य गराउँछौँ । उनीहरुले विद्यार्थीको व्यक्तिगत अभिलेख दुरुस्त गर्नुपर्छ । त्यसपछि विद्यार्थीको आर्थिक, शैक्षिक पृष्ठभूमिलाई ध्यान दिएर पढाइ सुधार्छन्, शिक्षकले ।
विद्यालय गाभ्ने निर्णयमा सबैभन्दा बढी कसलाई मनाउन गाह्रो भयो ?
सामुदायिक विद्यालयका शिक्षकलाई । त्यसपछि निजी विद्यालयका सेयरहोल्डर र अभिभावकलाई ।