'पिंक बारमा टन्नै सेलेब्रिटी'
तेस्रो लिंगी मोडल मेघना लामाले ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो । तेस्रो लिंगीद्वारा सञ्चालित नेपालकै पहिलो बारकी सञ्चालिका लामासँगको कुराकानी

चार वर्षअघि वसन्तपुरमा बार खोलेकी थिइन्, तेस्रो लिंगी मोडल मेघना लामा, २६, । ठमेलमा पिंक टिफानी रेस्टुराँ एन्ड बार खोलेको दुई वर्ष भयो । तेस्रो लिंगीद्वारा सञ्चालित नेपालकै पहिलो बारकी सञ्चालिका लामासँगको कुराकानी :
बारका ग्राहकको प्रतिक्रिया कस्तो छ ?
सबैले प्रशंसा गर्नुहुन्छ । नेपालका थुप्रै सेलेब्रिटी आएर मेरो हौसला बढाइरहनुभएको छ ।
कोको आए ?
माल्भिका सुब्बा उद्घाटनमा आउनुभएको थियो । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नायिका सुष्मा कार्की, साम्राज्ञीराज्यलक्ष्मी राणासहित टन्नै सेलेब्रिटी आएका छन् ।
यस्तो बारले तेस्रो लिंगीको जीवनमा केही अर्थ राख्छ ?
ठूलो अर्थ राख्छ । यहाँ धेरै यौनिक अल्पसंख्यक आउँछन्, अचम्मित भइरहेकी छु । यति धेरै तेस्रो लिंगीहरु अहिलेसम्म गुम्सिएर कहाँ बसेका थिए ? संसारदेखि अपहेलित भएर हिम्मत हार्नेहरुका लागि प्रेरणा हो, यो बार ।
बार खोल्नुपर्ने विशेष कारण ?
नामी नाइट क्लब, डान्स बार जाँदा हाम्रो यौनिकता चाल पाएर छिर्न पाइँदैन थियो । एक किसिमले थिचिएका थियौँ । त्यसपछि आफू रमाउने ठाउँ आफैँ बनाउने क्रममा बार जन्मियो ।
बारमा तेस्रो लिंगी कामदार पनि छन् ?
सुरुमा थुप्रै थिए । अरु ठाउँमा राम्रो अवसर पाएर गए । अझै तीन-चार जना छन् । उनीहरुको परिचय नखुलाऔँ ।
परिचय खुल्दा अहिले पनि समस्या हुन्छ ?
कतिपयका अभिभावकले कस्तो बार हो भनेर सोध्छन् । चिकित्सक लगायतका प्रतिष्ठित पेसाका व्यक्ति पनि यहाँ आफ्नो पहिचान खोल्छन्, तर समाजमा खुल्न सक्दैनन् । समस्या छ ।
नेपालमा तेस्रो लिंगी सभासद् नै भइसके । तुलनात्मक रूपमा नेपाल उदार छ होइन र ?
सभासद् पद त संयोगवश पाएको हो । समाज परिवर्तन हुन बाँकी नै छ । राजनीतिक दलले जनमत गुम्दै गएको थाहा पाएपछि जनतालाई आकषिर्त गर्न तेस्रो लिंगीलाई लिएका हुन् । यौनिक अल्पसंख्यकका लागि छुट्टै कोटा छैन ।
अब पूर्ण व्यवसायी बन्ने ?
व्यवसाय र मोडलिङलाई सँगसँगै लैजाने । बारको शाखा पोखरालगायतका सहरमा खोल्ने योजना छ ।