‘कामीरिताको कीर्तिमान तोड्छु’
हामी जन्मिँदा कामीरिताले हिमाल चढिरहेका थिए । उनको कीर्तिमान अहिल्यै तोड्न कहाँ सक्नु ?

सन् २००७ मा पहिलो पटक सगरमाथा चुचुरो टेकेका थिए, दोर्जी सोलुखुम्बु पाङबोचेका ग्याल्जेन शेर्पाले । त्यसयता एकै आरोहण याममै दुई पटक सर्वोच्च शिखर पुगेका छन्, सन् २०१४ मा हिमपहिरो र २०१५ मा भूकम्पका कारण आरोहण बन्द भएबाहेकका वर्ष । १६ चोटि सगरमाथा चढिसकेका उनी अहिले १७ औँ पुर्याउने क्रममा छन् । आधारशिविरमा रहेका उनीसँगको टेलिफोन संवाद :
कामीरिता शेर्पाको नाममा रहेको सबैभन्दा बढी सगरमाथा चढेको कीर्तिमान तोड्ने चाहना राख्नुभएको हो ?
हामी जन्मिँदा कामीरिताले हिमाल चढिरहेका थिए । उनको कीर्तिमान अहिल्यै तोड्न कहाँ सक्नु ? अब तीनदेखि पाँच वर्षभित्र तोड्छु भन्ने लक्ष्यचाहिँ छ ।
बर्सेनि दुई पटक सगरमाथा चढ्नुको कारण पनि कीर्तिमान राख्नै हो ?
कीर्तिमान राख्ने मात्र होइन । पेसा नै यही हो । बूढो हुँदै गएपछि त चढ्न सकिँदैन । बल भएका बेला चढिहालौँ भनेर ।
कीर्तिमान राख्ने सानैदेखि चाहना थियो ?
होइन । मैले आफ्नो पेसा गरेको हुँ । चढ्दै जाँदा आँट आयो । हामीले कीर्तिमानका लागि हिमाल चढ्ने होइन । हिमाल चढ्नु खेलाँची होइन । आफ्नो बल, समय, मौसम सबैले साथ दिनुपर्छ ।
कति उमेरसम्म चढ्न सकिएला ?
५० वर्षसम्म त सकिएला । तर समयमा भर पर्छ ।
हरेक चोटि सगरमाथा पुग्दा फरक अनुभव हुन्छ ?
पहिलो पटक चुचुरो पुग्दाचाहिँ एकदमै भावुक बनेको थिएँ । संसारै अर्कैजस्तो लाग्यो । सायद सबैलाई यस्तै हुन्छ । त्यसपछि त सधैँ उस्तै । त्यही हिमाल, हिउँ, दुःख, कष्ट ।
त्यसो भए उही हिमाल मानिस किन दोहोर्याएर चढ्छ ?
हामी शेर्पाहरु सोखिन होइनौँ । हिमालका सोखिनको त अर्कै कुरा । जीवन निर्वाहका लागि चढ्नु अलि फरक कुरा हो ।
आरोहण क्रममा बिर्सनलायक दुःखद अवस्था पनि आयो ?
तीन वर्षअघि साह्रै आपद् परेको थियो । आरोहणबाट फर्कने क्रममा निकै दुःख पाइयो । ८ हजार ५ सय मिटरको बाल्कोनी भन्ने ठाउँमा झरेपछि मौसम बिग्रियो र बाटो भेउ पाइएन । २ घन्टा अलमलियौँ । बाटो निर्धारण गरिएको डोरी थियो तर मौसम बिग्रिएर केही देखिएन । बल्लबल्ल झरियो ।
आरोहण पेसामा लाग्नुको खास कारण ?
गाउँघरका सबै यही पेसामा देखेँ सानैदेखि । यतै लागियो । ठूलो भएर आरोही बन्ने सपनै थियो ।