राजाका कवच

- किशोर नेपाल

पटनामा जोगेन्दर सिंहसँग घुमफिरमा रहेका बेला बीपी कोइरालाले डा तुलसी गिरिको हात समाते । त्यसैबेलादेखि यी चिकित्सक कांग्रेसको राजनीतिमा तानिए । राजनीतिमा गिरिको आगमन व्यक्तिका हिसाबले बीपीका लागि र संस्थाका हिसाबले प्रजातन्त्रका लागि अफापसिद्ध भयो । उनले बीपीमाथि विश्वासघात गरे ।

राजा महेन्द्रले आफ्ना अल्पकालीन र दीर्घकालीन राजनीतिक योजना सफल तुल्याउन गिरिकै सहयोग लिए । तर गिरिको सहयोग महेन्द्रका लागि गह्रौँ सावित भयो । उनको सहयोग लिने कसैको पनि फलिफाप भएन ।

गिरिलाई निर्दलीय पञ्चायत व्यवस्थाकी आमा नै भन्थे पञ्चहरू । तर, उनी कुन हिसाबले निर्दलीय पञ्चायतकी आमा थिए, कसैलाई थाहा भएन । पञ्चायत व्यवस्थाको संयोजनमा उनको खासै हात थिएन । सायद हेर्दै खाइलाग्दा, पढेलेखेका, लक्का जवान गिरिले बीपीको व्यक्तित्वलाई राजनीतिक काउन्टर दिन सक्ला कि भन्ने आशा हुँदो हो, महेन्द्रको मनमा ।

‘राजाको नजिक’ रहेर पनि ‘पावर’ मा थोरै पटक र थोरै समय मात्र रहे गिरि । उनका नाममा निकै हल्ला भयो– गिरि शक्तिशाली छन् । तर उनीसँग लोकलाई देखाउन मिल्ने शक्ति मात्रै थियो, प्रयोग गर्न सकिने शक्ति थिएन । राज्यारोहणपछि राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बनाए ।

बाहिरबाट हेर्दा निकै उज्यालो थियो, गिरिको शक्तिशाली अनुहार । तर मन खस्किएको थियो । प्रधानमन्त्री पदको शपथ खुवाएपछि राजाले डा गिरिलाई अन्तपुरमा बोलाएर पेस्तोल देखाउँदै चेतावनी दिएका थिए– ‘यताउति गर्‍यौ भने ठीक हुने छैन ।’

राजा वीरेन्द्रले पञ्चायतलाई जनमतसंग्रहमा होमिदिएपछि उनी राष्ट्रिय सभागृहमा पड्किए, ‘...हामी पञ्च कार्यकर्ता श्री ५ बाट– ल आजदेखि तिमीहरू आइमाई भयौ– भन्ने हुकुम भयो भने हामी फरिया लगाएर हिँड्न तयार हुनुपर्छ ।’

गिरिले जनताका लागि कहिल्यै केही गरेनन् । एक त जनताका लागि यताउता गर्दा राजा रिसाउने खतरा थियो, राजाका लागि गर्नुपर्ने काम पनि केही थिएन उनीसँग । उनी राजाका सुरक्षा कवच मात्रै थिए । उनले सधैँ राजाको भाषा बोले । जनताले आफूलाई सम्झिनुपर्ने एउटै मात्र कारण पनि छाडेनन् ।

नेपाली समाजमा देशका लागि काम गर्ने, सोच्ने, पढ्ने र इमानदार जीवन बिताउनेको भाउ छैन । अधिकांश जनता राम्रो लगाउने, मीठो खाने, राम्रो गाडी चढ्ने, सम्पत्तिको थुप्रो भएका मानिसको राम्रै कदर गर्छन् । जनकपुरका डिठ्ठा गौरीनारायण गिरिका नाति, मन्दीप गिरिका छोराको चर्चा गर्नेको कमी कहिल्यै भएन ।

गिरिले एकपटक टिप्पणीकारसँग भनेका थिए, ‘हो त, डाक्टर गिरिले यहाँका राजाले भन्दा पहिले मोटर चढेको थियो, चन्द्रागिरिबाट भरिया लगाएर बोकाएर ल्याएको मोटर । यो कुरा त कसैले भन्दैन । सबै भन्छन्, डाक्टर गिरि यस्तो र उस्तो ।’

गिरि स्वभावले रंगिला थिए । प्रेमिका सारा योञ्जनलाई लिन सिंहदरबार पुग्थे । साराभन्दाअघि पनि उनकी एउटी प्रेमिकासँग मेरो जम्काभेट भएको थियो, जनकपुरको सखुवा, महेन्द्रनगरमा । त्यतिखेर ती कन्या मास्टर्स डिग्रीकी विद्यार्थी थिइन्, राष्ट्रिय विकास सेवामा सेवारत । उनकी जेठी पत्नीबाट छोरा आशीष र अनुराग तथा छोरी मधु र माला छन् । आशीष क्यानडा बस्छन् । दोस्री पत्नी किशोरीबाट निरु र ममता दुई छोरी छन् ।

आफ्ना मुद्दाको हदैसम्म बचाउ गर्थे गिरि । राजा वीरेन्द्रले पञ्चायतलाई जनमतसंग्रहमा होमिदिएपछि उनी राष्ट्रिय सभागृहमा पड्किए, ‘हामी पञ्चलाई श्री ५ बाट जनमतसंग्रहमा धकेलिदिइबक्सिएको छ । हामी पञ्च कार्यकर्ता श्री ५ बाट– ल आजदेखि तिमीहरू आइमाई भयौ– भन्ने हुकुम भयो भने हामी फरिया लगाएर हिँड्न तयार हुनुपर्छ ।’

संसदीय व्यवस्थाविरुद्ध गएकामा गिरिलाई पश्चात्ताप भएको कहिल्यै महसुस भएन । एकपटक उनी विश्वबन्धु थापाको पुल्चोक निवासमा भेटिएका थिए, राजाको जन्मोत्सवमा जान तम्तयार । विश्वबन्धुको बैठकमा बसेर उनी आफूलाई राजाबाट प्राप्त तक्माहरू टल्काउँदै थिए ‘ब्रासो’ दलेर ।

मैले भनेँ, “तक्मा त थुप्रै रहेछन् डाक्टर साहेबका ।” उनले हाँस्दै जवाफ दिए, “कहाँ धेरै हुनु ? निर्दलीय व्यवस्था मैले ल्याएँ । तक्मा पाउनेचाहिँ कीर्तिनिधि र सूर्यबहादुर भए ।” उनको मनभित्रको गहिरो अतृप्ति बताउन पर्याप्त थियो, त्यो हाँसो ।

नेपालको सामाजिक र राजनीतिक परिवेशमा गिरिको उल्लेखनीय योगदान केही देखिँदैन । उनले जुन राजालाई सघाए, ती राजाले उनलाई ‘विश्वासघाती’ भन्दा माथि कहिल्यै राखेनन् । जो मानिस स्वार्थका लागि आफ्नै मेन्टरलाई धोखा दिन सक्छ, त्यसको विश्वास कसरी गर्नु ?

२ पुस बिहान ९३ वर्षको उमेरमा उनको देहान्त भयो, आफ्नै घरको कोठामा । पछिल्लो पटक राजा ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा गठन गरेको मन्त्रिपरिषद्को उपाध्यक्ष थिए उनी । त्यो उनको सार्वजनिक जीवनको अन्त्य पनि थियो ।

प्रकाशित: पुस ६, २०७५

ट्याग: सम्झना
×