कर्णालीको कुरा बजारमा लैजाँदा 'वाहवाह !' भने तर सिकेनन् – रंगकर्मी हीरा बिजुली

- मनबहादुर बस्नेत

 नाटकमार्फत काठमाडौँलाई कर्णालीको कहर देखाइरहन्छन्, मुगुका रंगकर्मी हीरा बिजुली नेपाली । यसपटक अन्तर्राष्ट्रिय नाटक महोत्सवमा गर्भ छिटा लिएर आए, हीरा । काठमाडौँले नाटक यस्तरी मन परायो कि महोत्सवपछि पनि मण्डला थिएटरले साता दिन मञ्चन गरिदियो । निर्देशक हीरासँगको मन्थन :


लोककथामा आधारित नाटकलाई आधुनिक रंगमञ्चमा कसरी ढाल्नुहुन्छ ?

लोककथाको कथनपद्धतिलाई वर्तमानसँग मिलाएर पस्कने अभ्यासमा छौँ ।

यसो गर्न कत्तिको गाह्रो ?

लोकशैलीका लागि जनजीवनबाटै कलाकार खोज्नुपर्छ । उनीहरुलाई व्यावसायिकता र आधुनिक प्रविधि बुझाउनुपर्ने समस्या पनि छ ।

कलाकारको संकट

पछि फिल्म खेल्न पाइने लोभमा कलाकार आउँछन् । हाम्रो उद्देश्य त्यो होइन । नाटक खेल्न आउँछन् तर दमाहा बजाउनुपर्ने चरित्र आयो भने भाग्छन् । गर्भ छिटामा पनि कलाकार पाउन २/३ महिना दुःख गर्नुपर्यो ।

कलाकार छनोट कसरी गर्नुहुन्छ

कार्यशाला गर्छौं । 

मुगुमा थिएटर चलाइरहनुभएको आर्थिक रूपमा कसरी टिकिरहनुभएको ?

सडक नाटक गर्छौं । गर्भ छिटाका लागि सडक नाटकबाटै २ लाख रुपैयाँ जोगिएको थियो । केही संघसंस्थाको सहयोगमा विभिन्न स्कुलमा कार्यक्रम गर्दै जेनतेन चलाइरहेका छौँ । 

अनूदित नाटकको बिगबिगीमा मौलिक नाटक बनाइरहनुभएको चुनौती के छन्

हाम्रा ९० प्रतिशत नाटक अनुवादित छन् । नेपाली मौलिक नाटकलाई प्रवर्द्धन गरेका छैनौँ । कर्णालीको कुरा बजारमा पुर्याउने क्रममा मलाई सबैले 'वाहवाह !' भने । तर यसलाई कसैले पनि सिकाइको रुपमा लिएनन् । कुनाकाप्चाका सांस्कृतिक प्रवर्द्धनकर्मीलाई सहज छैन । मूलधारको रंगमञ्चका कलाकार अगाडि बढे, 'स्टार' बने । तर ती रंगमञ्चमै नअडिएर फिल्म उद्योगतिर हाम फाले । बजार नफस्टाएपछि को अघि सर्ने ?  

काठमाडौँबाहिर रंगमञ्चको अवस्था कस्तो ?

काठमाडौँकै बजार भयावह देख्छु, बाहिरको के कुरा ! स्टारडमका कारण नाटक छायामा परेको देख्छु । सांस्कृतिक थिममा काम गर्ने हामीलाई स्टारडम चाहिँदैन । विषयवस्तुको ज्ञान र अभिनय क्षमता भएको पात्र चाहिन्छ । तर बजारले स्टारडम खोज्छ । उसै त रंगमञ्चको बजार सानो छ, अनि यस्तोमा कसरी फस्टाउँछ नाटक ?  

प्रकाशित: चैत्र ६, २०७५

ट्याग: अचानक
×